21st November | 2018 | Wednesday | 9:35:46 AM

समृद्धिका लागि जडीबुटी

समृद्धिका लागि जडीबुटी

नेपाल जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको उपलब्धताको दृष्टिकोणले संसारमै अद्वितीय रहेको छ । भौगोलिक एवं पर्यावरणीय विविधताका कारण उपलब्ध जैविक विविधता नेपालको लाभको क्षेत्र रहिआएको छ । नेपालको वानस्पतिक विविधताभित्र समाहित अनकौं उपयोगी वनस्पतिमध्ये जडीबुटी एवं गैरकाष्ठ वन पैदावारहरूको प्रमुख स्थान रहको छ । हाम्रो सामाजिक जीवनका साथसाथै व्यापारिक प्रयोजनका कारण देशको आर्थिक विकासमा समेत जडीबुटीहरूको उल्लेखनीय भूमिका रहिआएको देखिन्छ । नेपालमा हाल करिब ११८ किसिमका पारिस्थितिकीय प्रणाली रहेका छन् । 

नेपालमा ५ हजार ८८४ प्रजातिका फूल फुल्ने र अन्य फूल नफुल्ने गरी जम्मा १० हजार ९१ प्रजातिहरू वनस्पति सूचीकृत भइसकेका छन् । यीमध्ये करिब ७०० प्रजातिहरूको औषधीय महŒव पत्ता लागेको छ । यीमध्ये २३८ किसिमका वानस्पतिक प्रजातिहरूको रासायनिक परीक्षणसमेत भइसकेको छ । हालसम्म ३० वटा प्रजातिका महŒवपूर्ण जडीबुटीहरूलाई नेपाल सरकारले नेपालको आर्थिक विकासका लागि प्राथमिकता दिएको छ ।

हामो देश नेपालमा परापूर्वकालदेखि स्वास्थ्य उपचारमा प्रयोग हुने विभिन्न जडीबुटीहरू अमूल्य सम्पदाका रूपमा रहेका छन् । आजभन्दा तीन हजार वर्षपहिला नै विकास भइसकेको आयुर्वेद र आदिकालदेखिको विभिन्न जातजातिहरूको पारस्परिक ज्ञानहरूको संगमस्थल नेपालमा जडीबुटीहरूको अधिकांश मात्रा जंगली स्रोतबाट नै संकलन गर्ने, प्रयोग गर्ने र व्यापार व्यवसाय गर्ने चलन छ । पछिल्ला दशकहरूमा वातावरणीय स्वच्छतामा निरन्तर ह्रास आइरहेको अवस्थामा प्राकृतिक स्रोतको बढ्दो प्रयोगले गर्दा यस्ता जडीबुटीहरूको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गइरहको छ । यसले जडीबुडीको महŒव अझ बढाएको छ र प्रयोग बढ्दै गएको छ । 

बढ्दो सामाजिक उपयोग र जनसंख्या वृद्धिका कारण प्राकृतिकरूपमा पाइने यस्ता जडीबुटीहरूको उपलब्धतामा कमी आउन थालेको छ । यस्तो अवस्थामा आइरहेकोले जडीबुटीहरूको वैज्ञानिक व्यवस्थापन, खेती प्रविधिको विकास तथा प्रसार र दिगो सदुपयोग गर्न जरुरी रहेको छ । दिगो व्यवस्थापन एवम् बुद्धिमतापूर्ण उपयोग भएको खण्डमा नेपालको समानुपातिक विकासमा यस क्षेत्रले अत्यन्तै ठूलो योगदान पु¥याउन सक्ने देखिन्छ । उपलब्ध स्रोतको बुद्धिमतापूर्ण उपयोग र व्यवस्थापनको सन्दर्भमा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले समय समयमा विभिन्न नीतिगत व्यवस्था गरेको पाइन्छ ।

वनस्पति विभागले जडीबुटीहरूको वैज्ञानिक अध्ययन अनुसन्धान गर्ने गरेको छ । यसका साथै प्रतिबन्धित प्रजातिका जडीबुटीहरू विदेशमा निर्यात गर्न नियमानुसार सिफारिस गर्ने गर्दछ । वन विभागले नै वैज्ञानिक व्यवस्थापन गर्ने गर्दछ । वन ऐन २०४९ तथा वन नियमावली २०५१ मा जडीबुटीको संकलन, व्यवस्थापन तथा विक्रीवितरण गर्ने कानुनी व्यवस्था गरेको पाइन्छ । उच्च मूल्यका जडीबुटी एवं गैरकाष्ठ वन पैदावारहरूको संरक्षण र सम्बद्र्धनबाट अर्थ व्यवस्थामा ठोस योगदान पु¥याई आगामी सन् २०२० सम्म अन्तर्राष्ट्रिय जगतमा नेपाल राज्यलाई जडीबुटी एवं गैरकाष्ठ वन पैदावारको बृहत् भण्डारको रूपमा परिचित तुल्याउनु जडीबुटी एवं गैरकाष्ठ वन पैदावार विकास नीति, २०६१ को दीर्घकालीन सोच रहेको छ ।

विपन्न तथा पिछडिएका वर्गले औषधीय महŒवका जडीबुटी स्रोतहरूको दिगो संरक्षण र विकासका लागि परम्परादेखि यसको संकलनबाट जीविकोपार्जन गर्दै आएका छन् । उनीहालाई खेती विस्तार र उद्यम विकासमा सहभागी गराई आयआर्जनका अवसरबाट गरिबी न्यूनीकरण र समतामूलक विकासमा समेत सघाउ पु¥याउन सकिन्छ । यही सोचका साथ आर्थिक वर्ष २०६६/६७ देखि नै नेपालमा जडीबुटी विकास कार्यक्रम सञ्चालनमा रहेको छ । आर्थिक वर्ष ०६८÷६९ देखि नेपाल सरकारले यस कार्यक्रमलाई राष्ट्रिय प्राथमिकताप्राप्त (पि वन) कार्यक्रमको रूपमा सञ्चाल गर्दै आएको छ । नेपालको करिब ५० भन्दा बढी जिल्लाहरूमा जडीबुटीको विकास, प्रबद्र्धन, खेती विस्तार, व्यवस्थापन कार्यक्रमहरू वन विभाग मातहतका जिल्ला वन कार्यालयहरूमार्फत सञ्चालन हुँदै आएका छन् ।

एउटा उदाहरण हेरौँ । ती जिल्लाहरूमध्ये एउटा जिल्ला हो सिन्धुपाल्चोक । यस जिल्लामा पनि जडीबुटी विकास कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । सिन्धुपाल्चोक जिल्लामा रहेका सामुदायिक वन तथा सरकारद्वारा व्यवस्थित वनमा विभिन्न प्रजातिका जडीबुटीहरू पाइन्छन् । भौगोलिकरूपमा उष्ण जलवायुयुक्त बेँसी, फाँट तथा तल्लो तटीय खोँचहरूदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको हुँदा जैविक विविधतामा धनी यो जिल्लामा प्रशस्त जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरू पाइन्छन् । तल्लो भागमा अमला, सर्पगन्धा, कुरिलो, नुनढिकी आदि जस्ता जडीबुटीहरू पाइन्छन् । 

मध्यभागमा अर्गेली, अल्लो, लालीगुराँस, नागबेली लहरा, धसिंगरे, ठूलो ओखती, टिमुर, इन्द्रेनी लहरा, मजिठो, बाँस, निगालो, केतुकी (हात्तिबार) आदि पाइन्छन् । माथिल्लो भागमा लोठसल्ला, कुटकी, झ्याउ, पदमचाल, जटामसी, यार्सागुम्वा, चिराइतो, सुनपाती, निर्मसी, विष आदि जस्ता जडीबुटीहरू पाइन्छन् । यी जडीबुटीहरूको उचित व्यवस्थापन तथा सही रूपले उपयोग गर्नसकेमा जिल्लामा आयआर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा टेवा पुग्ने कुरा निर्विवाद छ ।

सिन्धुपाल्चोक जिल्लामा जडीबुटी विकास तथा विस्तार कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । जडीबुटी तथा गैरकाष्ठ विकास कार्यक्रम अन्तर्गत जडीबुटी नर्सरी स्थापना तथा विरुवा उत्पादन, जडीबुटी नमुना प्लट व्यवस्थापन, जडीबुटी खेतीकर्ता समूह गठन, लप्सी प्रशोधन स्थान स्थापना, आदि छन् । यसैगरी पकेट क्षेत्रमा लौठसल्ला, चिराइतो, सतुवा विस्तार, जडीबुटी खेती विस्तार तथा व्यवस्थापन, जडीबुटी खेतीसम्बन्धी प्रचारप्रसार, प्राकृतिक जडीबुटीहरूको वासस्थान संरक्षण, जडीबुटी गोडमेल तथा स्याहार सम्भार, बाँसका विरुवा रोपण कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 

लौठसल्लाको प्राकृतिक स्थान संरक्षण, खेती तथा विस्तारका लागि दादर सामुदायिक वन उपभोक्ता समूह, त्रिपुरा सुन्दरी गाउँपालिका–४, ओखरेनी जडीबुटी समूह, इन्द्रावती गाउँपालिका–१, साविक गोल्चे गाविसमा गोब्रे जडीबुटी तथा कृषि समूह, हिमालय जडीबुटी समूह आदि स्थानहरूमा कार्यक्रम सञ्चालन भएका छन् । 

घुमसुंगेपुच्छर सामुदायिक वन उपभोक्ता समूह, बलेफी गाउँपालिका–३ मा वनस्पति विभागले नयाँ प्रजातिका वनस्पति रावुवा (स्थानीय नाम) पहिचान गरेको छ । यस प्रजातिले सामाजिक, आर्थिक, वातावरणीय पक्षबाट स्थानीय एवं देशको सम्रग विकासमा खेल्ने योगदानको थप अध्ययन अनुसन्धान हुन जरुरी देखिएको छ ।

सिन्धुपाल्चोकजस्तै देशैभर जडीबुटीको प्रचूरता छ । 


मूल लक्ष्य गरिबी निवारण

जडीबुटी विकासले मुलुकको समृद्धिमा महŒवपूर्ण योगदान पु¥याउन सक्छ । विभिन्न कारणहरूले गर्दा यसको उचितरूपमा व्यवस्थापन र विकास हुन नसकेको अवस्था छ । हालका दिनहरूमा औषधिको रूपमा जडीबुटीको प्रयोग बढ्दै गएको छ । जडीबुटीको प्रयोग वहुआयामिक हुँदैछ । सौन्दर्य प्रशाधनमा समेत प्राकृतिक वनस्पतिजन्य उत्पादनहरूप्रतिको बढ्दो आकर्षणले गर्दा यस वन सम्पदामाथि थप दबाब परेको छ । 

यसले गर्दा जडीबुटी सम्पदाको अत्यधिक दोहन हुन पुगी उत्पादनमा समेत कमी हुँदै गएको छ । यो दबाबले जडीबुटी निवाश बढ्दै गएको छ । जडीबुटीको पहिचान, उपयोग, निश्चित मूल्य, माग आदिबारे उचित ज्ञान नहुनु पनि यसको व्यवस्थापन र विकासको बाधाको रूपमा रहेको छ । आगलागी, डढेलो, अति चरिचरण, कलिलो अवस्थामा जडीबुटी संकलन, क्षमताभन्दा बढी संकलन, चोरी निकासी यसका मुख्य समस्या रहेका छन् । संकलन अधिक हुने तर उत्पादन र विस्तार क्रमशः घट्ने क्रममा छ । 

गरिबी निवारणको लागि जडीबुटी व्यवस्थापन र विकासले अहम् भूमिका निर्वाह गर्ने हुँदा सरकारको प्राथमिकताभित्र राखी निजीस्तर, जिल्लास्तर, र केन्द्रले यसको विकासमा ध्यान दिन आवश्यक देखिन्छ । संकलनका चित प्रविधि, उपयुक्त समय र प्रशोधन आदिको जानकारी आवश्यक छ । जडीबुटीको आवश्यकता र महŒवबारे स्थानीयस्तरमा व्यापक प्रचारप्रसार र संरक्षणबारे जनचेतना अभिवृद्धि आवश्यक छ । न्यूनतम मूल्य (समर्थन मूल्य) कायम गरी खरिदको ग्यारेन्टी, खेती प्रविधि र बजार व्यवस्थापनबारे जानकारी आवश्यक छ । यसैगरी संकलन र बजारबीचको दुरी घटाउनु र खरिद बिक्री प्राक्रिया सहज बनाउनु उत्तिकै आवश्यक छ । ऋण, प्रविधि, बिउ सहयोग, प्रशोधन उद्योगको विकास आवश्यक छ । मागमा आधारित संकलन प्रणाली अन्त्य गरी स्रोतमा आधारित संकलन प्रणालीको विकास गर्नुपर्छ । ऐन कानुनको सहजीकरण र पालना आदिबाट यस क्षेत्रका समस्याको समाधान निकाल्न सकिन्छ ।

हालसम्म पनि नेपालमा जडीबुटी एवं गैरकाष्ठ वन पैदावारहरूको उत्पादन एवं बेचबिखनजस्ता काम असंगठितरूपमै हुने गरेका छन् । यस परिपे्रक्ष्यमा यसबाट प्राप्त हुने फाइदा सिमित व्यक्तिले मात्रै प्राप्त गर्छन् । लाभ आधिकारिक तुल्याउन व्यापक एवं संगठित प्रयास गरी जडीबुटी खेती उद्योगकै रूपमा विकास गरी आर्थिक समृद्धिका आधारलाई अरू दरिलो र फराकिलो बनाउन आवश्यक छ । सरकारका सहयोगी एवं प्रबद्र्धनकारी भूमिकामा सर्वसाधारण किसान, साना, मझौला र ठूला उद्यमी एवं व्यापारीलगायतका निजी क्षेत्र तथा सहकारी क्षेत्रको सक्रिय सहभागिताबाट मात्र नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाल’ परिकल्पना साकार पार्न मद्दत पुग्छ ।

(महतो जिल्ला वन कार्यालय, सिन्धुपाल्चोकका सहायक वन अधिकृत र शाह वन विज्ञान अध्ययन संस्थान, पोखराका सहायक डिन हुन्)






Views: 16