22nd August | 2018 | Wednesday | 1:33:54 AM

पाणिनि तपोभूमि

कृष्णप्रसाद बेल्वासे   POSTED ON : Saturday, 11 August, 2018 (3:49:01 PM)

पाणिनि तपोभूमि

पाणिनि संस्कृतका पारङ्गत तथा संस्कृत व्याकरणका रचयिता विद्वान् ऋषिको नाम हो । दाचि ऋषिका छोराको रूपमा पाकिस्तानको लाहोर भन्ने ठाउँमा उनको जन्म भएको भन्ने कुरा ग्रन्थहरूमा पाइन्छ । उनी एक साधारण व्यक्ति थिए । अलिक मन्द बुद्धिका पनि थिए । गुरुलाई समेत उनलाई कुरा बुझाउन कठिन पथ्र्यो । पाणिनि र कात्यायन दुई जनाले ऋषिसँग एकसाथ शिक्षा लिएका थिए । कात्यायन अलि तीक्ष्ण बुद्धिका र कूटिल व्यक्ति थिए । मिहिनेती शिष्यलाई गुरुको माया र सद्भाव बढी मिल्नु स्वाभाविक हो । कात्यायन गुरुका प्रिय शिष्य थिए । पाणिनिले गुरुबाट पनि गाली खानु पथ्र्यो अनि आफ्नै सखा कात्यायनबाट हेपिनुपथ्र्यो । यी कारणले उनी विक्षिप्त बन्न पुगे । उनी ज्ञान प्राप्तिका खातिर उनले तपस्या गर्ने निधो गरी गुरुकुलबाट निस्के ।

करिब ईपू बाह्रौं शताब्दीतिर पाणिनि प्रयागराज तीर्थ हुँदै नेपालको अर्घाखाँची पुगेर घोर तपस्या गरे (केही पाश्चात्य एवं आधुनिक विद्वानहरू पाणिनिको समय ईशापूर्व ५०० वर्षलाई मान्दछन्) । उनको तपस्या गरेको ठाउँ नै पछि पणेना कहलियो भन्ने जनश्रुति छ । उनको तपस्याबाट प्रसन्न भएर भगवान शिवजी दायाँ हातमा त्रिशूल बोकेर बायाँ हातले डमरु बजाउँदै ताण्डव नृत्यमा प्रकट भए जो उनको अत्यन्तै खुसीको मुद्रा थियो । 

नृत्तावसाने नटराजराजो ननाद ढक्कां नवपञ्चवारम् ।

उद्धर्तुकामः सनकादिसिद्धानेतद्विमर्शे शिवसुत्रजालम् ।।


अर्थात्, शिवजीले नृत्यको अन्तिममा नौ पटक र पाँच पटक डमरु बजाए । यसबाट पाणिनिलाई १४ ओटा सूत्र स्मरण भयो । ती सूत्रको नाम यहाँ प्रस्तुत गर्नु मनासिव छ ।

‘अइउण्, ऋलृक्, एओङ्, ऐऔच्, हयवरट्, लण्, ञमङणनम्, झभञ्, घढधष्, जबगडदश्, खफछठथचटतव्, कपय्, शषसर् , हल् ।’ इति चतुर्दश सूत्राणि माहेश्वराणि भनिएको छ ।

महेश्वर (शिवजी) को कम्पनबाट निस्केका सूत्र भएकोले यसो भनिएको हो । यी सूत्रमात्र उच्चारण गर्नाले पनि वाकशुद्धी हुने र कठिन शब्दसमेत उच्चारण गर्न सकिने हुन्छ । पाणिनि यिनै सूत्रबाट ४२ प्रत्याहार निर्माण गरी जसबाटै सिङ्गो संस्कृत व्याकरण (अष्टाध्यायी) रचना गर्न सफल भए । त्यस ग्रन्थमा प्रत्येक आठ अध्यायमा चार÷चार पाद छन् भने जम्मा सूत्र संख्या ३९९५ छन् । 

‘शब्दज्ञान जनकं शास्त्रं व्याकरणम्’ अर्थात शब्दको ज्ञान नै व्याकरण हो जसको रचना यिनै सूत्रबाट भयो । आजभन्दा करिब २८०० वर्षअघि रचना भएको संस्कृत व्याकरण अद्यापि वैज्ञानिक मानिएको छ । समय सान्दर्भिक पुष्टि भएको छ । अहिले नासाले अन्तरीक्षमा प्रयोगको भाषा संस्कृत हुने पुष्टि गरिसकेको छ । अर्को कुनै भाषा अन्तरिक्षमा पुग्दा अर्थमा फरकपन आउने उल्टोपाल्टो हुने गरेको ठहर नासाले गरेको छ । जस्तै ‘आइ इट राइस’ मा ‘राइस इट आई’ भन्यो भने अर्थमा फरक पार्छ । भातले मलाई खान्छ भन्ने अर्थ लाग्छ यस्तै समस्या अन्य भाषामा पनि छ । संस्कृतमात्रै त्यस्तो वैज्ञानिक भाषा सिद्ध भएको छ जसमा कर्ता, कर्म, क्रियापद जस्तोसुकै हुँदा पनि अर्थ फरक पर्दैन । जस्तै ः अहं ओदनम् खादामि । यसलाई खादामि अहं ओदनम्, अहं खादामि ओदनम् । जसरी भने पनि अर्थ भात खान्छु भन्ने नै हुन्छ । तसर्थ यस्तो वैज्ञानिक भाषाको उत्पतिस्थल पाणिनि तपोभूमिको बारेमा जानकारी राख्नु आवश्यक छ । 

पाणिनि ऋषिका नामबाटै पाणिनि भन्ने ठाउँको नामकरण भएको हो । पाणिनि तपोभूमिका नामले प्रसिद्ध धार्मिकस्थल नेपालको लुम्बिनी अञ्चल हालको पाँच नम्बर प्रदेश अन्तर्गत अर्घाखाँची जिल्लाको साविक पणेना गाविसमा पर्दछ । संघीय संरचनाअनुसार त्यहाँ आसपासका ८ ओटा गाविसलाई गाभेर सिङ्गो पाणिनि गाउँपालिका नामकरण गरिएको छ । पहिलेका ती गाविसअन्तर्गत पणेना, पोखराथोक, खिदिम, मैदान, पटौटी, धातिवाङ, पालि र अड्गुरी पर्दछन् । यसरी धार्मिक सांस्कृतिक महŒव बोकेको नामबाटै गाउँपालिकाको नामकरण हुनु अत्यन्तै सह्रानीय छ । 

यो ठाउँ प्राकृतिक छटाले भरिपूर्ण छ । धार्मिक, सांस्कृतिक, सामाजिक संरचना असाध्यै मिलेको छ । करिब ६००० फिटको उचाइमा रहेको पाणिनि तपोभूमिबाट समथर तराईको अवलोकन गर्न सकिन्छ । जैविक विविधतायुक्त वरिपरिको वातावरण साँच्चै मनमोहक छ । साथै पाणिनिलगायत ऋषिमुनि तथा विभिन्न भगवानका मुर्तिले सजाइएको छ । त्यहाँबाट अढाई तीन घण्टाको पैदल यात्रामा ओरालो लागेपछि सुन्दर बेँसी दुर्गाफाँट पुगिन्छ । त्यसको ठीक माथि घना जङ्गलको बीचमा अत्यन्तै शोभायमान गुफा छ जसलाई साततले गुफा भनिन्छ । किम्बदन्तीअनुसार, परापूर्व कालमा त्यही गुफामा बसेर दुर्वासा मुनिले तपस्या गरेका थिए । यिनैको नामबाट यस स्थानलाई दुर्वा भनिन्थ्यो पछि दुर्गा भनेर चिनिन थाल्यो । करिब तीन सय खुड्किलाको सिँढी चढेर त्यो गुफामा पुग्न सकिन्छ । गुफाभित्र कहिल्यै नसुक्ने र कहिल्यै भरिएर पानी बाहिर नजाने पोखरी छ । बीचमा ठूलो शीलास्तम्भ छ जसलाई मौलो भनिन्छ । गाईका थुनाकृतिबाट निरन्तर दूधजस्तै थोप्याउने विचित्र दृश्य र विभिन्न कलाकृति देख्न सकिन्छ । बाहिर पनि अनेक कलाकृतिका मूर्ति, ढुङ्गाबाट सदावहार बहने धाराले अद्भूत शोभा दिएको छ । 

त्यहाँबाट दक्षिणपूर्वको उचाइमा करिब दुई–अढाइ घण्टाको उकालो चढेपछि मैदानको सल्लेरी भन्ने ठाउँ आउँछ । जहाँ आलमदेवीको मन्दिर छ । विशेष गरी कोजाग्रत पूर्णिमामा पशुवली दिने प्रचलन छ । सोही दिन यहाँ भव्य सरायँ नाच नाच्ने गरिन्छ । यस दिनलाई वर्षौदेखि भेट हुन नसकेका आफन्तसँग भेट हुने अवसरका रूपमा समेत लिइन्छ । वरिपरि सल्लाको घना जङ्गल भएकोले त्यस ठाउँको नाम सल्लेरी रहेको स्थानीयवासीहरू बताउँछन् । ती सल्लाघारीमा रहेका लालीगुराँसले त्यो ठाउँलाई विछट्टै सुन्दर बनाएका छन् । सोही ठाउँमा १२ कक्षासम्म पढाइ हुने श्रीकृष्ण मावि छ । उचो र मध्य स्थान भएकाले यहाँबाट पाणिनि गाउँपालिकाका पूरै क्षेत्र देख्न सकिन्छ । नजिकैको अर्घाखाँची सिमेन्ट उत्पादनको कच्चापदार्थ (चुनढुङ्गा) निकालिने ठाउँ नरपानी देखिन्छ । नरपानी ठाउँ प्रसिद्ध सुपा देउरालीको नजिकै पर्छ । 

पहाडी इलाका भएपनि यातायातका हिसाबले केहीहदसम्म सुविधा पुगेको छ तर पर्याप्त छैन । वर्षामास यात्रुले सास्ती व्यहोर्नुपर्छ । पाणिनिबाट करिब ६५ किलोमिटरको दूरीमा तराई जोड्ने ढोरपाटनको बाटो छ जसबाट पहाड र तराइकोे सिधा सम्पर्क हुन्छ । यसलाई कालोपत्रे गरी व्यवस्थित गर्न सके लुम्बिनी आउने पर्यटकलाई पाणिनिको दर्शन गराउन सकिन्छ । त्यहाँबाट सुपा देउरालीको दर्शन गर्दै ठाडाको प्रसिद्ध डमरु दहको मनमोहक दृश्यावलोकन गरी फर्किने वातावरण मिलाउन सके अर्घाखाँची जिल्ला साँच्चै पर्यटकीय गन्तव्य बन्न सक्छ ।

यसरी, प्राकृतिक एवं सांस्कृतिक महŒवले भरिपूर्ण पाणिनिलगायत ठाउँको उचित प्रचारप्रसार गर्नु आवश्यक छ । स्थानीय संरचनाहरूलाई अझ व्यवस्थित बनाउँदै पर्यटकका लागि होम स्टे सञ्चालन गर्नु आवश्यक देखिन्छ । पाणिनिको महŒव र यिनले यो ठाउँमा गरेको सिद्धिबारे प्रचार गर्नसके, अझ धेरै प्रमाण जुटाउन सके भोलि नासाका वैज्ञानिक यो ठाउँको अवलोकन गर्न आउन सक्नेछन् । पर्यटनबाट यो ठाउँको विकास गर्न सकिने र सिङ्गो देशको आर्थिक विकासको ढोका खोल्नसमेत सकिने प्रचुर सम्भावना छ । यसका लागि जनप्रतिनिधिलगायत यस ठाउँका अगुवाहरूको ध्यान जानु आवश्यक छ । साथै सबैले आफ्नो ठाउँबाट सक्दो हात र साथ दिएर समृद्ध मुलुक बनाउने काममा लाग्नु आवश्यक छ । 

पाणिनि–५ (मैदान), अर्घाखाँची