19th November | 2018 | Monday | 1:53:20 PM

टर्निङ प्वाइन्टको सन्तुष्टि

रमा लुइँटेल   POSTED ON : Saturday, 08 September, 2018 (6:01:16 PM)

टर्निङ प्वाइन्टको सन्तुष्टि

मान्छे यहाँ शरीर र पीडा लिएर भित्रिन्छ । केही दिनको बसाइपछि खुशी लिएर बाहिरिन्छ । जीवनप्रति निराश भएको मान्छे आशावादी भएर फर्किन्छ । दुःख बिर्सन्छ, आनन्द अनुभव गर्छ । हो, यो ठाउँ हो ललितपुरको लेलेस्थित ‘आनन्दवन अस्पताल’ । 

नाम जस्तै काम छ यो अस्पतालको । उपचारका क्रममा धेरैवटा अस्पताल भौँतारिएकाहरू झण्डै अन्तिमतिर यो अस्पताल आइपुग्छन् । अस्पतालले रोग पहिचन गर्छ । औषधि दिन्छ । उपचारपछि रोग निको हुन्छ भन्नेमा ढुक्क बनाएर मनमा आनन्द जागृत गराइदिन्छ । यही काममा अहोरात्र खटिएका छन् डा. इन्द्र नापित । कुष्ठरोगीको उपचार गर्ने यो आनन्दवन अस्पताल ‘लेप्रोसी अस्पताल’ भनेर पनि चिनिन्छ । 

काठमाडौं उपत्यकाको उकुसमुकुस शहरी गन्जागोल छिचोलेर रमणीय प्राकृतिक वातावरणमा रहेको त्यो अस्पताल पुग्दा डा. नापित ढोकामै भेटिए । पार्किडमा सवारीसाधन राखेका मात्रै थियौं, उनले बोलाए । ‘म यता छु, यतै बसौं’ चापागाउँ टाखेलका बासिन्दा कृष्णमुरारी पुडासैनी पनि सँगै थिए । त्यो क्षेत्रमा पहिलोपटक जान लागेकाले सञ्चारकर्मीसमेत रहेका कृष्णमुरारीसँगै जाने निधो थियो । 

डा. नापितको आतिथ्य स्वीकार गर्दै हामी उनको कार्यकक्षतिर लाग्यौं । सामान्य भवन, सामान्य कोठा । तर, असाध्यै सफा । 

अस्पताल जति सफा कोठा त्यसको दाँजोमा झन् सफा । कोठा र अस्पतालभन्दा धेरै डा. नापितको मन सफा । अर्थोपेडिक सर्जरीमा एमडी गरेका उनी पाल्पा तानसेन अस्पतालमा काम गर्दै थिए । उनले आदर गर्ने एक सहकर्मीले एक दिन सोधिन्, लेप्रोसी अस्पताल जाने हो ? 

डा. नापितका लागि यो उपयुक्त प्रश्न थिएन । उनले सोझै जवाफ दिए, नो । हाडजोर्नी पढेको मान्छे, कुष्ठरोगको अस्पतालमा गएर के गर्ने ? उनले आफूभित्रै उठेको यो प्रश्नको उत्तर भटेनन् । उक्त प्रश्न लेप्रोसी अस्पताल जान उनलाई प्रस्ताव नै थियो । हाडजोर्नीका डाक्टर उनले त्यता ध्यान दिएनन् । आधा वर्ष यसै बित्यो । न इन्द्रले चासो देखाए, न त दोस्रोपटक प्रस्ताव आयो । 

एक दिन, आनन्दवन अस्पतालका तत्कालीन कार्यकारी निर्देशक शोभाकर कँडेलले प्रस्ताव राखे । यो पटक उनले ‘नो’ भनेनन् । विचार गर्छु भने । 

डा. नापितको मनमा यो दोस्रो प्रस्ताव आउनु केही दिनअघिमात्र ‘अब तानसेन छोडेर अन्यत्रै जानुपर्छ’ भन्ने विचार आएको थियो । लगातार एकै ठाउँमा बस्नुभन्दा फरक ठाउँको अनुभव बटुल्न चाहन्थे उनी । त्यसलगत्तै शोभाकरले लेप्रोसी अस्पताल आउन प्रस्ताव राखे । डा. नापितले तत्काल निर्णय गर्न सकेनन् । श्रीमतीसँग सल्लाह गरे । श्रीमती र छोराछोरीसहित इन्द्र आनन्दवन अस्पताल गए । श्रीमतीले अस्पताल हेरेपछि मात्रै निर्णय गर्न सुझाव दिइन् । परिवारसहित दोस्रोपटक आनन्दवन पुगेका इन्द्रलाई शोभाकरले अस्पताल घुमार देखाए । वार्डतिर लगे । वार्डका बिरामी भेटेपछि इन्द्रकी श्रीमतीले उनलाई आनन्दवनमै काम गर्न सल्लाह दिइन् । आउने वा नआउने दोधारमै थिए उनी त्यतिबेलासम्म पनि । अब चाहिँ श्रीमतीले जोड नै गरिन् । उनले भने, ‘तिम्रो (श्रीमती) निर्णय हो, तिमी खुशी हुन्छौं भने आइ एम रेडी टु डु वर्क ।’

यो निर्णयलाई जीवनको टर्निङ प्वाइन्ट भन्छन् डा. नापित । यही प्वाइन्टले उनलाई जीवनको खुशी दियो । 

कतिले त मूर्ख भने

पढाइ एकातिर काम अर्कोतिर । डा. नापितको यो निर्णयप्रति धेरैले आश्चर्य प्रकट गरे । ‘अर्थोपेडिक सर्जन के काम गर्न लेप्रोसी अस्पताल आ’को ।’ 

हुन पनि हो, भाँचिएको हाडजोर्नी जोड्ने काम गरिराखेका उनलाई कुष्ठरोगका बारेमा थाहा थिएन । अस्पतालमा आइसक्दा पनि उनलाई यो रोगका बारेमा धेरै थाहा थिएन । काम कसरी थाल्ने भन्ने मेलो पनि बुझेका थिएनन् । जसको प्रस्ताव स्वीकार गरेर उनी यो अस्पतालमा आए, उनले नै उनलाई भारतमा कुष्ठरोगसम्बन्धी एक महिनाको कार्यशालामा पठाए । कार्यशालाको मुख्य विषय रिकन्स्ट्रक्टिभ सर्जरी थियो । त्यहाँ हाडजोर्नी र छालाको रोगका डाक्टर र प्लाष्टिक सर्जरीलगायतका विज्ञहरूको सहभागिता थियो । आफूमात्रै कुष्ठरोगमा काम गर्न आएको जस्तो ठानेका डा. नापितलाई लाग्यो, निर्णय ठीक भएछ, म एक्लै होइन रहेछु ¤ 

कार्यशालापछि एक महिना डा. नापितले भारतको कुष्ठरोग मिसन अस्पतालमा काम गर्ने अवसर पाए । यही अवसरले उनलाई कुष्ठरोगका बारेमा धेरै ज्ञान दियो । कुष्ठरोगमा गरिने शल्यक्रिया त्यही सिके । नयाँ क्षेत्रको ज्ञान र अनुभव बटुल्दा उनी कम्ति खुशी हुँदैनन् ¤ जब बिमारी निको हुन्छ र धन्यवाद दिन्छ त्यतिबेला उनमा खुशीको सागर नै उर्लिन्छ । रोग निको भई डिस्चार्ज भएर घर जाने बेलामा उनी बिमारी अनुहारमा एक किसिमको आभा भेट्छन् । यसले डा. नापितमा हर्षाश्रु छल्किन्छ । बिमारीलाई नयाँ जीवन दिन सकेकोमा मख्ख पर्छन् । 

बिमारपछिको ब्रहृम ज्ञान 

दक्षिण ललितपुरमा बसेर ‘मेडिकल अस्सिटेण्ट’ को जिम्मेवारी पूरा गरिहेका थिए । त्यतिबेला डा. नापित आफैं सिकिस्त बिमार परे । छाला चिलाउने समस्या थियो । त्यो समस्या समाधान गर्न खाएको औषधिको एलर्जी भएछ । उनको उपचारमा संलग्न डाक्टरलेसमेत बाँच्ने आशा मारिसकेका रहेछन् । आमालाई यति गम्भीर अवस्था जानकारी भइसकेछ । डाक्टरहरूको प्रयास सफल भयो । आफू त्यति गम्भीर अवस्थामा पुगेको र मृत्युको मुखबाट फुत्केएको कुरा उनले छ महिना पछिमात्रै थाहा पाए । यही बिन्दुमा उनले ठहर गरे, आफ्नो नयाँ जीवन पैसा कमाउनतिर लगाउदिनँ, नयाँ जीवन खोज्ने गरिब र दुःखीकै लागि समर्पित गर्छु । यही नै उनका लागि ब्रहृम ज्ञान भयो । 

यसपछि डा. नापित तानसेन मिसन अस्पताल पुगे । उनी गरिब दुःखी बिमारीको सेवाकै भावले तानसेन पुगेको बताउँछन् । उनलाई पैसा नै सबै चिज हो जस्तो लाग्दैन । सन्तुष्टि र खुशी ठूलो ठान्छन् । त्यसैले उनले धेरै राम्रा र ठूला ‘अफर’ छोडेका छन् । भन्छन्, ‘अफरको पछि लागेर सन्तुष्टि र खुशीबाट टाढा हुन सक्दिनँ ।’

कुष्ठरोगका बारेमा अझै पनि धेरैको बुझाई गलत छ । दश हजार जनसंख्यामा एकजनामात्र कुष्ठरोगी रहेको अवस्था नभेटेपछि सन् २०१० मा विश्व स्वास्थ्य संगठनले नेपालमा कुष्ठरोग उन्मूलन भएको घोषणा ग¥यो । दश हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी रहेको अवस्थालाई विश्व स्वास्थ्य संगठनले रोग उन्मूलन भएको घोषणा गर्छ । नयही मापदण्डअनुसार नेपाल पनि कुष्ठरोग उन्मूलन भएको देश हो । डा नापित भन्छन्, तर वास्तविता त्यस्तो छैन । 

उन्मूलन भएको घोषणा गरेपछि कुष्ठरोग छैन भन्ठान्छन् । यसका लागि बजेट पनि चाहिँदैन, अस्पताल किन चाहियो, डाक्टर पनि किन चाहियो भन्ठान्छन् । यो सोच डोनर एजेन्सी र नीति निर्माणको तहमा बस्नेसम्ममा छ । उनलाई धेरैले भन्छन्, ‘किन त्यहाँ बस्नु भा’को, अब के काम छ र ¤’ अवस्था त्यस्तो छैन । नेपालमै वार्षिक तीन हजार नयाँ बिमारी फेला पर्ने गरेका छन् । क नन्दवन अस्पतालमै वार्षिक सात हजार कुष्ठरोगी उपचारका लागि पुग्छन् । यो संख्या नेपालको जनसंख्याको हिसाबमा दशहजारमा दुई जनाभन्दा बढी हो । 


अब्बल अस्पताल

कुष्ठरोग पहिचान जति ढिलो हुन्छ त्यति नै उपचार जटिल र कठिन हुन्छ । जति छिटो थाहा पायो, त्यति नै सरल उपचारले पुग्छ । धेरै पछि कुष्ठरोग लागेको थाहा पाए जीवनभर शरीरमा कुनै नै कुनै समस्या आइराख्छ । 

रोग ढिला पहिचान हुँदा नसा बिग्रिन्छ । नसा बिग्रिएपछि हातगोडा लत्रिने, गोडा बाङो हुने, आँखा झिमझिम नहुने समस्या हुन्छ । अन्धोपन पनि हुन सक्छ । नसा बिग्रिएकै कारण गोडामा ठूलो घाउ आउँछ । नसा बिग्रिएका कारण घाउ दुख्दैन । घाउ ठूल्ठूलो हुँदै जान्छ । जति ढिलो भयो त्यति नै घाउ ठूलो हुँदै जान्छ । हात गोडा नै काट्नुपर्ने अवस्था आइपर्छ । 

आनन्दवन अस्पतालले कुष्ठरोगीलाई उच्चस्तरको सेवा दिन सकेकोमा डा. नापित गौरव गर्छन् । कुष्ठरोग उपचारमा नेपालमा यो स्तरको सुविधा र सेवा अन्यत्र नरहेको उनको भनाइ छ । भन्छन्, ‘समस्या पहिचान, उपचार सेवा दिन हामी अब्बल छौं, हामी यो दाबी गर्छौं ।’ 

रोग पहिचान 

कुष्ठरोगका लक्षण कस्ता हुन्छन् ? छालामा रातो, फुस्रो दाग आउन सक्छन् । त्यो ठाउँमा रौ नउम्रन पनि सक्छ । पसिनासमेत नआउन सक्छ । छोएको अनुभव नहुन सक्छ । यस्तो भएमा कुष्ठरोग हो कि भनेर थाहा पाउन बिमारीलाई स्वास्थ्य संस्था जान अनुरोध गर्छन् । अस्पतालमा पुगेपछि चिकित्सकले नसाको अवस्था जाँच गर्छन् । कुष्ठरोग भए नसा सुन्निएको हुन्छ । रक्त परीक्षण गरिन्छ । यी परीक्षणबाट कुष्ठरोग भए नभएको निश्चित हुन्छ । खास किसिमको ब्याक्टेरियाबाट कुष्ठरोग लाग्छ । यो ब्याक्टेरिया यो रोग लागेका बिमारी जसले उपचार पाएका छैनन्, उसको खकारमा हुन्छ । माटोमा पनि यो ब्याक्टेरिया हुन्छ । 

गोदावरी नगरपालिका रहेको आनन्दवन अस्पतालमा कुल ११० शैøया छन् । तीनमध्ये ८० शैøया कुष्ठरोगीका लागि र बाँकी अन्य बिरामीका लागि छन् । हाडजोर्नीको उपचारका लागि अर्थोपेडिक वार्ड, बालबालिकाका लागि पेडियाट्रिक वार्ड, गर्भवती र महिलाको प्रजनन् स्वास्थ्यका लागि प्रजनन् वार्ड सञ्चालनमा छन् । 

डा. नापितका अनुसार सन् २०२० सम्ममा चार शैøयाको आइसीयू कक्ष निर्माण गर्ने योजना छ । ओपिड (बहिरंग विभाग) र आकस्मिक कक्षबाट समेत अस्पतालले बिमारीलाई सेवा दिने गरेको छ । न्यून शुल्कमा बिमारीलाई स्वास्थ्य सेवा दिने आनन्दवन अस्पताललाई ललितपुरको नमुना अस्पताल बनाउने योजना रहेको बताउँछन् उनी । 

डा. नापितले दश वर्ष आनन्दवनमा बिताइसके । उनका आगामी योजना र लक्ष्य पूरा गर्न सफल होऊन् । हार्दिक शुभकामना ¤ 


Views: 173