22nd September | 2018 | Saturday | 4:33:16 PM

तीज पहिले र अहिले

शम्भु निरौला   POSTED ON : Friday, 14 September, 2018 (2:33:45 PM)

तीज पहिले र अहिले

पहिले पहिलेको तीजमा एक हप्ता दिनअघिमात्र रौनक देखिन थाल्थ्यो । बजार पनि तीज आउन लाग्ने बेलामा मात्र जाने गरिन्थ्यो । घरमा नभएका आवश्यकीय सामग्री किनिन्थ्यो । चिनी आलुलगायतका खाद्य पदार्थ र चोलो, फरिया, मजेत्रो, पटुका जस्ता लुगाफाटा किनिन्थ्यो । दर्जीलाई सिउन दिइन्थ्यो । उनीहरूको व्यस्तता हेर्न लायकको हुन्थ्यो । घ्यूको जोहो गरिन्थ्यो । बिहानदेखि दूध बेलुकाका लागि राखिन्थ्यो । अँगेनामा आलु उसिन्थे, चुलामा दाल बसाल्थे, कराईमा फिलुंगे भुट्थे, कर्कलाका साँप्रा तास्थे । सिलौटामा जिरो फिलुंगे पिँध्थे । नाङ्लामा कर्कलो माड्थे । नूनखोर्सानी मसला हाल्थे । आरीमा अचार राख्थे र आलुका चाना भुट्थे । पहेंलै बेसार हाल्थे लतत दाल पकाउँथे, अनि झ्वाइँय घ्यूमा झान्थे । भात पकाउथे । फर्सीका मुन्टा भुट्थे । डेक्चीमा दही खन्याउथे । ताइमा घ्यू पगालिन्थ्यो । पटट मेथी पट्काइन्थ्यो । केटाकेटी उधुम रमाउथे । सबैलाई राखेर पस्केर खाने गरिन्थ्यो । मीठो मानी सबैले खान्थे । त्यसको रमाइलो बयान गरी साध्य नै छैन । 

यसरी एकपटकको खाना खाइसकेपछि सन्याकसुनुक चुलो लोटाउथे । बल्ल साँझबत्ती बालिन्थ्यो । भोलि गाउँने संगिनी सम्झना गर्न थालिन्थ्यो । अब फेरि पालो आउँथ्यो रातिका लागि दर तयार पर्ने । अँगेनाका वरिपरि जहान परिवार बस्थे । कुँडेमा बसाउथे, बेलुकाको दूध पनि मिसाउइन्थ्यो । भकभक दूध उमालिन्थ्यो । सरर चामल हालिन्थ्यो अनि । पुन्युले विस्तारै आगोको रापमा चलाएर पाकेपछि आगो ओझाइन्थ्यो । जाइदाना, मरिच, पिँधिन्थ्यो । तीनको धुलो र चिनी हालिन्थ्यो । घोटी घोटी चलाउइन्थ्यो । यसरी पकाइएको खीरको मगमग बास्ना चल्थ्यो । केहीबेर राखेर ओथाएको खीरबाट केही अंश पातमा राखेर देउता र पितृहरूलाई चढाइन्थ्यो । बोक्सी डाइनीका लागि पनि भाग पर सारिन्थ्यो । अलिकति आगामा पनि चढाइन्थ्यो । पहिले निदाउँन लागेका केटाकेटीलाई दिइन्थ्यो । यसरी खाइसकेपछि लोग्ने मान्छेहरू सुत्थे । महिलाजति सबै गफ गरेर बस्थे र मध्यरात हुनुभन्दा पहिले फेरि एकपटक खाएर सुत्थे । यसलाई नै दर खाने भन्ने गरिन्थ्यो । कुँडेको खान्की, केराका कोसा, आरीको अचार, बटुकाको दही बट्टाको चिनी हालेर खान्थे । यसरी दर खाएर सुतेपछि र भालेका डाकमै उठ्थे । 

घरभित्रबाहिर लिपिन्थ्यो । गाउँका जम्मा हुन्थे, नुवाउन कोही कोही कोशी झर्थे, नसक्ने पँधेरा जान्थे । नुवाइधुवाइ सकेपछि नयाँ चोलो, फरिया लाउँथे र पहेंलो पटुका बाँध्थे । नयाँ ओढ्ने ओढ्थे । एकसरो त्यहीँ नाच्थे । विस्तारै उँभो लाग्थे । धानको बोट उखेल्थे । गोपिनी फूल टिप्थे, निबुवाको दानु झार्थे, दिउँसो पूजा लाउथे । विरहको गीत गाउँथे । समूहमा संगिनी नाच्थे । सासूको यातना बखान्थे । पार्वती र माहादेव सम्झन्थे । साँझमा घरभित्र पस्थे । पानी पनि खाँदैनथे । पूर्ण निराहार बस्थे । भोलिपल्ट बिहानै उठ्थे । धारामा गएर न्वाउथे । आएर काँक्रो टिप्थे । यो दिनलाई पार्ना (पारायण) भन्थे र सूर्यलाई दही, दूबो, कुश, तिल, जौं, रातो फूल राखी अर्घ दिन्थेँ । अनि चिरेर काँक्रो खान्थे ।

पहिलाको तीज र अहिलेको तीजमा आकाश पातालको फरक भएको छ । अहिलेको तीजमा एक महिनाअघिदेखि दर सुरु हुन्छ । भेला बैठक हुन्छन् । कार्यतालिका बनाइन्छ । भोज भतेर चल्छन् । होटल र गाउँटोल डुल्ने गरिन्छ । हाटबजार भरिन्छन् । तयारी लुगा किनिन्छन् । फलफूल किनिन्छ । चिकेन, रोस्ट बन्छन् । पुलाउ पकाइन्छ । सलाद तयार हुन्छ । माछा तारिन्छ । कतैकतै ‘रुस्लान’ सेवन पनि गरिन्छ । अधिकारका कुरा हुन्छन् । दिउँसैदेखि दर खाइन्छ । नाचगान गरिन्छ । डिस्को, क्याब्रे पनि नाचिन्छ । चिसोतातो पेय चलाइन्छ । नुवाउँदा स्याम्पु र साबुन प्रयोग हुन्छ । सारी, ब्लाउज, छड्के तिलहरी लगाइन्छ । पानी, चिसोतातो पेय पिउन र फलफूल खानमा रोकावट छैन । यसरी हाम्रै यो तीज पर्व पहिले र अहिले निकै बदलिएको छ । अझै गाउँ र शहरमा यो फरक ढंगले मनाइन्छ । पहिलाको तीजमा विकृति भित्रिएको हो कि आधुनिकता भित्रिएको हो, यसै भन्न सकिँदैन तर फरक चाहिँ धेरै परेको छ । 


Views: 5