17th December | 2018 | Monday | 1:32:13 AM

कविता : स्वार्थी संसार

पार्वती निरौला   POSTED ON : Saturday, 22 September, 2018 (5:57:48 PM)

कविता : स्वार्थी संसार

यो बजारमा म जताततै 

मानवता हराएको देख्छु 

आफैँले लाज र तिरस्कार मनमनै छेक्छु 

हात उठाउँदा उठाउँदै,म

फेरि अर्को अपमान भोग्छु

कति कुरा दबाएर पैतालाले टेक्छु ।

के खपिसक्नु छ र यो बजारमा ?

म आफूलाई यो भीडमा एक्लै देख्छु 

अनि मनमनै भन्छु फेरि, 

यो मानवता हराएको शहर हो 

त्यसैले यहाँ म आफूलाई स्वार्थी भेट्छु ।

छातीभित्र लुकाएर आफैँलाई

भीडभाडमा फेरि खोज्छु अचेल

आउनेजाने हजारभन्दा

भगवान्लाई सोध्छु अचेल ।

मुटुभित्र छुट्टै घर बनाइराखे पनि

कति भारी रहेछ मनमनै जोख्छु अचेल ।

गुनासो त विधातालाई छोडिदिएकी छु मैले

चाँदनीको छेउ बसी 

दुःख पोख्छु अचेल

भागीजाने मनलाई कसरी सम्झाऊँ 

यहीँ दिलको झ्यालखानामा 

आफूले आफैँलाई कोच्छु अचेल ।


Views: 121