18th July | 2019 | Thursday | 3:22:14 AM

इन्जिनियरिङ शिक्षामा नेक

प्रा.डा. हरिकृष्ण श्रेष्ठ   POSTED ON : आश्विन ९, २०७५ (८:०२ AM)

इन्जिनियरिङ शिक्षामा नेक

नेपाल इन्जिनियरिङ कलेज (नेक) स्थापना भएको २४ वर्ष पूरा भई २५ औं वर्षमा प्रवेश गरेको छ । ‘नेपालमा गैरसरकारी क्षेत्रमा इन्जिनियरिङ शिक्षा सम्भव नै छैन’ भन्ने धारणा नेपालका शिक्षाविद् तथा प्राविधिक विशेषज्ञहरूमाझ व्याप्त रहेको समयमा असम्भवलाई सम्भव पारेर देखाउने आँट नेपाल इन्जिनियरिङ कलेज (नेक) का सातजना संस्थापकहरूले २०५१ सालमा गरेका हुन् । त्यो आँटलाई मूर्तरूप दिने काम नेकलाई विश्वास गरी भर्ना हुन आउने पहिलो भर्ना व्याचका विद्यार्थीले गरे अनि आफ्नो पेशा दाउमा राखी पढाउन आउने शिक्षक र शिक्षिकाले गरे । 

प्रारम्भमा नेकले कयौं कठिनाइहरू सामना गर्नु प¥यो । विश्वासको संकटले अविभावक र शिक्षाविद्हरूलाई नेकमा गुणस्तरीय पढाइ हुने कुरामा शंका थियो । अध्यापनको तरीका फरक हुँदा नेकमा पढेका विद्यार्थीको परिणाम अपेक्षाकृत न्यून हुने सम्भावना प्रवल थियो । यति हुँदाहुँदै पनि केही विद्यार्थी पहिलो सत्रको परीक्षादेखि नै विशिष्ट श्रेणीमा उत्तीर्ण भए अनि पहिलो भर्ना व्याचमै त्रिभुवन विश्वविद्यालयभरिका इन्जिनियरिङतर्फका महिला विद्यार्थीमध्ये सर्वोत्कृष्ट परिणाम ल्याउन सफल भए । विगत २४ वर्षमा यस कलेजबाट सात हजारको हाराहारीमा दक्ष प्राविधिक जनशक्ति उत्पादन भएका छन् ।

कलेज सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत विद्यार्थीले तिर्ने पढाइ शुल्कमात्र हो । यति हुँदाहुँदै पनि आफ्नो सामाजिक दायित्व महसुस गरी कलेजले प्रारम्भदेखि नै विभिन्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । नेपाल सरकारको कुनै लगानी विना कलेज वरिपरिका क्षेत्रबाट मात्र हालसम्ममा तीन सय जनाले छात्रवृत्तिमा पढाइ पूरा गरी देशका विभिन्न निकायमा कार्यरत छन् । सन् २००३ देखि २००५ सम्म विद्यार्थी भर्नामा आएको कमीले बढ्दै गएको आर्थिकभारको बाबजुद कुनै पनि शिक्षक कर्मचारीलाई अवकाश नदिई विद्यार्थी भर्ना संख्यामा आएको ह्रासबाट शिक्षकहरूमा आउन सक्ने निराशालाई ध्यानमा राखी शिक्षकहरूलाई कलेजकै खर्चमा उच्च अध्ययनका लागि विभिन्न विश्वविद्यालयमा पठाइयो ।

नेकको अहिलेको एउटा ठूलो चुनौती आर्थिक व्यवस्थापन हो । विद्यार्थीबाट उठाएको सिमित शुल्कबाट शिक्षक र विद्यार्थीको बढ्दो अपेक्षा पूरा गर्न सम्भव छैन । बजारका निर्माण र परामर्श कम्पनीहरू तथा सरकारी र गैरसरकारी संस्थाहरूमा इन्जिनियरहरूको पारिश्रमिक र बढेको छ जसले गर्दा उच्च गुणस्तरका दक्ष अनुभवी शिक्षकहरूको सेवा लिइराख्न उनीहरूको पारिश्रमिक तथा सुविधाहरू बढाउनुपर्ने हुन्छ । शैक्षिक सामग्री, प्रयोगशालाका उपकरण तथा खेलकुदका सामानको मूल्यमा भएको वृद्धि, विश्वविद्यालयले सम्बन्धन तथा परीक्षा शुल्कमा गरेको वृद्धि, दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्दिका कारणले कर्मचारी तथा शिक्षकहरूले अपेक्षा गर्ने पारिश्रमिक वृद्धिले कलेज सञ्चालन खर्च बढ्नु स्वाभाविक छ । 

कलेजको सामाजिक दायित्व बोध गरी विभिन्न संघ संस्थाहरूले थरीथरीका सामाजिक तथा अन्य गैरशैक्षिक क्रियाकलापहरूको लागि कलेजसँग गर्ने आर्थिक तथा प्राविधिक सहयोगको अपेक्षा अत्यधिक बढेको छ । त्यसमाथि, गैरसरकारी क्षेत्रमा सञ्चालित कलेजहरूले नेपालको शिक्षा विकासमा गरेको योगदानको चटक्कै बेवास्ता गरी मुनाफारहित ढंगले सञ्चालित कलेजहरूलाई आर्थिक तथा शोधकार्यहरूमा सहयोग गर्नुको साटो उल्टो नेपाल सरकारले शिक्षा शुल्क तथा कलेजको आफ्नै खर्चमा थप छात्रवृत्ति दिनुपर्ने प्रावधान रोखको छ । 

इन्जिनियरिङ उच्च शिक्षा सकेसम्म सर्वसाधारणको सरल पहुँचमा पु¥याउन स्थापित संस्थाहरूले कलेजले विद्यार्थीहरूसँग लिने शुल्कमा वृद्दि नगर्न र अझ सके घटाउन दवाव दिँदै आएका छन् । शिक्षामा बढ्दो राजनीतीकरण नेकले सामना गर्दै आएको चुनौतीको अर्को आयाम हो । राजनीतिक पार्टीका नेताहरू र विद्यार्थी तथा कर्मचारी नेताहरू बीचको आवश्यकताभन्दा बढी घनिष्ट सम्बन्ध र त्यसले निम्त्याउने अराजकताको शिकार नेपालका सबै इन्जिनियरिङ कलेजहरू हुँदैछन् । 

नेकले सामना गरेको सवबभन्दा पछिल्लो चुनौती यस कलेजका संस्थापकहरूबीच हालसालै (२०७४ साउनदेखि) बढेको आपसी असमझदारी हो । यस विवादबीच पनि कलेज सामान्यरूपले सञ्चालन हुनुबाट कलेजको स्थिरतालाई संकेत गर्दछ । सिमित आर्थिक स्रोतभित्र पारिश्रमिक तथा सुविधा बढाउनुपर्ने र शुल्क बढाउन नहुने विरोधाभासपूर्ण दवावहरू छन् । यति हुँदाहुँदै पनि बजारको वास्तविकताको सही मूल्यांकनका साथ गुणस्तरीय प्राविधिक शिक्षाको विभिन्न आयाममा आएका चुनौतीहरूको सामना गरी नेपालमा उच्च गुणस्तरको इन्जिनियरिङ उच्चशिक्षाको क्षेत्रमा अगुवाको भूमिका नेपाल इन्जिनिरिङ कलेजले निर्वाह गर्दै आएको छ ।

नेपालमा इन्जिनियरिङ उच्चशिक्षासँग सम्बन्धित व्यक्तिहरूलाई यस क्षेत्रमा नेकको भूमिकाबारे खासै व्याख्याको जरुरत छैन । गैरसरकारी क्षेत्रमा प्राविधिक उच्चशिक्षा सम्भव नै नभएको विचारको बोलवाला भएको समयमा उक्त विचारलाई सधैँको निम्ति नेकले परास्त गरको हो । नेकको सफलताबाट प्रेरणा लिएर नेक स्थापनाको चार वर्षपछि निजी लगानीका अन्य कलेजहरू स्थापना भएका हुन् । हाल नेपालमा सञ्चालित चार दर्जनभन्दा बढी इन्जिनियरिङ कलेजहरूका अगुवा नेक हो ।

आफूलाई अध्ययन अध्यापनमा मात्र सिमित नराखी प्राविधिक शिक्षाको समग्र विकासका लागि नेकले प्राविधिक जर्नल पनि प्रकाशित गर्दै आएको छ । ‘साइटेक नेपाल’ नामक प्राविधिक जर्नल सन् १९९५ देखि लगातार अर्धवार्षिक रूपमा प्रकाशित छ । स्थानीयमात्र नभई विदेशी शिक्षकहरूबाट पनि ज्ञान तथा अनुभव हासिल गर्दा विद्यार्थीको दृष्टिकोण फराकिलो हुने भएकोले यस कलेजले सन् १९९६ देखि रूपमा विदेशी शिक्षकको पनि सेवा लिँदै आएको छ । प्राविधिक ज्ञान फैलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गोष्ठीहरू अपरिहार्य हुने भएकोले कलेजले सन् १९९५ देखि हरेक वर्ष यस प्रकारका गोष्ठीहरूको आयोजना गर्दै आएको छ । ती गोष्ठीहरूबाट प्राप्त ज्ञानमा सबैको सहज पहुँच होस् भनी गोष्ठी–पुस्तक तथा कलेजले बेलाबेलामा प्रकाशन गरेका अन्य शैक्षिक सामग्रीहरू कलेजको वेबसाइटमा राख्ने गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरका शोधकार्यहरू इन्जिनियरिङ शिक्षाको वास्तविक विकासका लागि नभई नहुने भएकाले नेकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था तथा विश्वविद्यालयहरूसँग सहकार्य गरी शोधकार्यहरू सञ्चालन गर्दै आएको छ । नेक सञ्चालन प्रक्रियाको सुक्ष्म विश्लेषणपछि अधिकार प्राप्त अन्तर्राष्ट्रिय निकायले यस कलेजलाई आइएसओ प्रमाणपत्र प्रदान गरेको छ । त्यस्तै, नेकले प्रदान गर्ने शिक्षाको गुणस्तरको वर्षौंसम्म मूल्याङकन तथा अनुगमन गरी नेपाल सरकारको नेपाल इन्जिनियरिङ काउन्सिलले यस कलेजमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई स्थायी स्वीकृति प्रदान गरेको छ । नेकमा अध्ययन गरी त्रिवि र पोविबाट स्नातक तथा स्नातकोत्तर उपाधि हासिल गरेर नेकका हजारौं भूतपूर्व विद्यार्थीहरू नेपालका अतिरिक्त जापान, अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकासम्म उच्च अध्ययन तथा प्राविधिक सेवामा छन् । सरकारको लगानीविना स्थापित र सञ्चालित नेकका विद्यार्थीहरूको सफलताबाट नेपालमा इन्जिनियरिङ शिक्षाको विकासमा नेकको भूमिका प्रष्ट हुन्छ ।

(श्रेष्ठ नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य हुन् ।)


Views: 125

सम्बन्धित सामग्री:

कथा–उपहार

राजेश अधिकारी : असार २३, २०७६ (४:५७ AM)