20th December | 2018 | Thursday | 12:33:22 AM

लोपोन्मुख पन्छी : सारस

राजेशमान केसी   POSTED ON : Wednesday, 26 September, 2018 (2:36:43 PM)

लोपोन्मुख पन्छी : सारस

सारसको वैज्ञानिक नाम ग्रस एन्टिगोन हो । अंग्रेजीमा यसलाई क्रेन भनिन्छ । हल्का खरानी रंगको शरीर, लामो र रातो घाँटी, सेतो टाउको अनि लामा खुट्टा हुने यस पन्छीको उचाइ झण्डै ५ फिट र तौल ७ देखि ८ किलोग्रामसम्म हुन्छ । यो पन्छीको औसत आयु ५० वर्ष हुने अनुमान गरिएको छ । यसरी मानिसकै हाराहारीमा अग्लो र लामो घाँटी भएको सारस विश्वकै दुर्लभ पन्छीहरूको समूहमा पर्छ । सामान्य चराभन्दा धेरै लामो र चुच्चो घाँटी हुने यो चरो उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो मानिन्छ । यसको मुख्य आहारा कीरा–फट्यांग्रा र सर्प हो । सारसको महŒवपूर्ण विशेषता पातैपातको गुँड बनाउनु हो र वर्षात्मा गुँड तयार पार्नु हो । वर्षमा दुईवटा अण्डा पार्ने सारसको जोडी जहिल्यै पनि सँगै बस्छन् । र, यसले जीवनभर आप्mनो जोडी फेर्दैन । 

त्यसैले सारसलाई प्रेम र सहकालको प्रतीककारूपमा लिइन्छ । भनिन्छ यो पन्छी कसैको जमिनमा गएर बस्यो अथवा गुँड बनायो भने वर्षभरि नै राम्रो खेतीपाती हुने गर्छ । त्यसो त यसले खेतबारीमा लाग्ने कीराफट्यांग्रा तथा सर्प खाइदिने हुनाले पनि त्यसरूपमा लिएको विश्वास गरिन्छ । 

केही दशक अघिसम्म खेततिर प्रशस्तै देख्न सकिने यो चरो पूर्वी नेपालबाट लोप भइसकेको छ । नेपालमा हाल यो चरो रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली जिल्लामा मात्र पाइन्छ । त्यस्तै नेपालमै पाइने रैथाने प्रजातिको सारस विशेषगरी नेपालका भित्री मधेसका केही ठाउँमा पाइन्छ । रमाइलो कुरा के छ भने विश्वमा पाइने १५ किसिमका सारसमध्ये सात थरिका सारस बसाइँसराइ गर्छन् । तर, नेपालमा पाइने यो रैथाने चरो भने बसाइँ सराइ नगर्ने समूहमा पर्छ । नेपालमै पाइने बसाइँसराइ गर्ने खालको सारस वर्गमा पर्ने चरो भने क¥यांकुरुङ हो । यो र अर्को लक्ष्मण सारस भन्ने सारस पनि यदाकदा भारततिर बसाइँ सर्ने गर्छ । नेपालबाहेक यी पन्छीहरू पाकिस्तान, भारत, बंगलादेश र म्यानमारमा पाइन्छन् । विश्व संरक्षण संघ (आइयुसिएन) को संरक्षित सूचीमा परेको सारसको संख्या नेपालमा करिब पाँच सयको हाराहारीमा रहेका छ । यीमध्ये करिब एकसय जोडी लुम्बिनीमै छन् । प्राप्त जानकारीअनुसार दुर्लभ पन्छी मानिने सारस बचाउन लुम्बिनी–कपिलवस्तु राजमार्ग निर्माण गर्दासमेत निकै सतर्कता अपनाइएको थियो । 

तर, विसं २०१८ सालमा आएर नेपालको तराई क्षेत्रमा मलेरिया उन्मुलन गर्न डिडिटीको व्यापक प्रयोग गरिएपछि भने यो पन्छी संकटापन्न अवस्थामा पुगेको कुरा जीव वैज्ञानिक बताउँछन् । विशेषगरी खेत, धापिलो जमिन र नदीलगायतका स्थानमा विचरण गर्न रुचाउने सारसको विनाश सिमसार क्षेत्रको अतिक्रमण, नदीनालामा औद्योगिक फोहोरको विसर्जन र बढ्दो पर्यावरणीय प्रदूषणको कारणले गर्दा हुन पुगेको हो भन्ने विशेषज्ञको भनाइ छ । नेपालमा अन्य क्षेत्रमा पाइने सारसभन्दा लुम्बिनी क्षेत्रभित्र पाइने सारसको विशेष धार्मिक तथा पर्यटकीय महŒव छ । त्यसैले लुम्बिनी आउने प्रत्येक पर्यटक सारस हेरेरमात्र फर्किने गर्छन् । गौतम बुद्धको कथासँग जोडिएर ऐतिहासिक महŒवसमेत बोकेको सारसलाई कतिपय धार्मिक पर्यटकले भगवान् बुद्धको प्रतीक मान्ने, अझ भियतनामीहरूले त यस पन्छीलाई भगवान्कै रूपमा पूजा गर्नेजस्ता कारणले सारस हेर्नकै लागि पनि कतिपय पर्यटक नेपालको लुम्बिीनीमा पुग्ने गर्छन् । 

बौद्धधर्म ग्रन्थअनुसार सिद्धार्थ गौतम दरबारको बगैँचामा बसिरहेका बेला एउटा घाइते सारस उनको काखमा खस्यो । त्यो सारसलाई उनका काकाको छोरा देवदत्तले बाँण हानी घाइते बनाएका थिए । पछि देवदत्त त्यो सारस माग्न आउँदा सिद्धार्थ गौतमले मर्न लागेको सारसलाई आपूmले बँचाएको दाबी गर्दै दिन मानेनन् । दुई भाइको यो विवादपछि त्यसको फैसलकाका लागि राजा शुद्धोधनकहाँ पुगे । राजाले भने मार्न खोज्नेको भन्दा बचाउँनेको अधिकार बढी हुने बतउँंदै त्यो सारस सिद्धार्थ गौतमकै हुने फैसला सुनाएपछि गौतमले त्यसलाई पालेका थिए । 

बौद्ध धर्मग्रन्थमा त्यो चराको नाम ‘सरहंस’ उल्लेख गरिएको भए पनि स्थानीय भाषामा यसलाई सारस भनिँदै आएको छ । लुम्बिनी क्षेत्रअन्तर्गत मायादेवी मन्दिर, विश्व शान्ति स्तूप तथा विभिन्न देशद्वारा तयार पारिएका स्तूप वरिपरिको लुम्बिनी विकास कोषको खास क्षेत्रभित्र पर्यटकका लागि सारस एक महŒवपूर्ण आकर्षण बनेको छ । लुम्बिनी आउने प्रत्येक पर्यटक यी ठाउँमा पुग्न छुटाउँदैनन् र सारस नहेरी फर्कंदैनन् ।

विशेषगरी घाँसपात, अन्न, कीरा र सरिसृप खाएर बाँच्ने सारस बासस्थानको विनासका कारण दिनप्रतिदिन संकटमा पर्दैछ । यसबाहेक पूmल, मासु र प्वाँखका लागि यसको अवैध व्यापार हुने गर्छ । हाल तराई क्षेत्रमा बढेको वातावरणीय प्रदूषण, अव्यवस्थित विद्युतीय तार, सिमसार क्षेत्रको विनाश र यसका बच्चा चोरी गरी घरमा पाल्न लैजाने प्रवृत्तिका कारण पनि सारस संकटमा परेको हो । साथै लुम्बिनी क्षेत्रमा रहेका बिजुलीका नांगा तारमा अल्झिएर यी पन्छी मर्ने गरेका छन् । त्यस्तै, त्यहाँ अव्यवस्थित उद्योगबाट भइरहेको प्रदूषणले पनि सारसको कुल संख्यामा ह्रास आइरहेको विशेषज्ञ बताउँछन् । यसरी नेपालमा सारसको संख्यामा ह्रास आइरहेको अवस्थालाई दृष्टिगत गर्दै सारस संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सारसलाई संकटापन्न पन्छीका रूपमा संरक्षित चराको अनुसूचीमा सूचीकृत गरेको छ ।

तसर्थ धार्मिक, पर्यटकीय र पर्यावरणीय दृष्टिले अत्यन्त उपयोगी मानिने दुर्लभ पन्छी सारसलाई लोप हुनबाट जोगाउन सम्बद्ध सबै पक्षबाट इमानदारीपूर्वक प्रयास हुनपर्ने खाँचो देखिएको छ । बासस्थानको संरक्षण र व्यवस्थापनतर्फ यथोचित ध्यान पु¥याउन आवश्यक छ । खासगरी सिमसार क्षेत्र र धापिला जमिन वरपरका ठाउँको उचित संरक्षण एवं व्यवस्थापनतर्फ सरकार र अन्य सम्बद्ध निकायको ध्यान पुग्नुपर्नेमा टड्कारो खाँचो देखिएको छ । 




Views: 79

सम्बन्धित सामग्री: