19th October | 2018 | Friday | 4:14:47 AM

देशद्रोहलाई पनि स्याबासी !

राजन कार्की   POSTED ON : Thursday, 27 September, 2018 (3:01:00 PM)

देशद्रोहलाई पनि स्याबासी !

राष्ट्रियताको अनुपस्थितिमा प्रजातन्त्र मौलाउन सक्दैन भनेर लेख्ने गुननार्गिदेलले नोबल पुरस्कार पाएका थिए । नेपालमा राष्ट्रियताको चिहान खनेर विषालु तरकारी खेती गरेझैँ लोकतन्त्रको विकासे खेती हुर्किन थालेको छ । यसरी हुर्काउन सत्तासीन रहेका प्रचण्ड यतिबेला गिरिजा बाँचेको भए मैले नोबल शान्ति पुरस्कार पाउने थिएँ भनेर आत्मरती गर्न थालेका छन् । नोबल पुरस्कार विजेताले व्यर्थको कसरत भनेको विषयलाई नेपाली नेताहरू राजनीतिक आविस्कार सावित गर्न खोजिरहेका छन् । राष्ट्र बेचेर भोज खाने र मोज गर्ने राजनीति सही हो कि राष्ट्रियताको जगमा मात्र लोकतन्त्र बाँच्छ भन्ने नोबल पुरस्कार पाउने र दिने सही हुन् ¤

नेपाली राजनीति टाउकाले टेकेर हिँडिरहेको देख्दा जिल खाइन्छ । नेपालको राजनीति नेपालको अस्तित्व र सतित्व, स्वतन्त्रता र स्वाधीनताका लागि धरहरा कहिले बन्यो ? जहिले हेरे पनि भिजेको परालखुट्टे राजनीति गर्नेहरू अव नोबल शान्ति पुरस्कारको दाबी गर्न थालेका छन् । यस्तो दाबी केपी ओलीले पनि गर्न सक्छन् । उनी पनि उही ड्याङका मूला हुन् । कहिले अरिंगाल भन्छन्, कहिले माहुरी । पार्टीको अध्यक्ष पद जित्नासाथ बाँकी जीवन देश र जनताका लागि बिताउँछु भनेर पार्टी अफिस पुगेर आँसु खसाल्ने ओली राष्ट्रवादको जगमा दुई तिहाईको सरकार प्रमुख त बन्न सफल भए, उनको त्यो ऐतिहासिक शक्ति न देशका लागि काम लाग्यो, न जनताका लागि । उनी सत्तासीन भए, आफ्ना लागि शक्ति आर्जन गरे, बस् ।

सडकको खाल्डा पुर्न कर्मचारीले टेरेनन्, ठेकेदार र कमिशन एजेण्टका पक्षमा, अपराध छोपेर अपराधीको पक्षमा, तस्कर र माफियाको पोल खोल्दा पार्टीका मान्छेको मुखुण्डो उत्रने भएपछि अनुसन्धान र फाइलै गायब गर्न सक्ने प्रधानमन्त्री ओलीको बाँकी जीवन देश र जनताका लागि रहेछ कि कसका लागि भन्ने प्रष्टै देखियो अव ।

ओली सरकारको सुशाासन र समृद्धि भनेको ठेकेदार, तस्कर, कमिशनखोराय नमः हो । भारतका हस्तक्षेप र अतिक्रमणका सम्बन्धमा मौनम स्वीकृति लक्षणम् हो । यस्तो दृश्य अर्थात हलेदो भनेर थाहा पाएपछि कोट्याइरहनु पर्ला र ¤

पञ्चायत निरंकूश थियो, खुला समाजशास्त्रसहित बहुदल आयो । बहुदल भ्रष्ट भयो, देशलाई स्वर्गै बनाउने सपना बोकेर लोकतन्त्र आयो । यतिबेला लोकतन्त्र झिकिदे गाँडभन्दा थपिदे गाँड भएको छ । एउटा सरकार पाल्न सक्ने हुती छैन, ७६१ सरकार पाल्न जनता रगत मासु काटेर कर तिर्न थालेका छन् । यति हुँदा पनि नेपालको राजनीति नेपालमुखी हुन सकेन, विदेशीको भाटगिरी लोकतन्त्रको मियो बनेको छ ।

साहित्य एकेडेमीको सर्वोत्कृष्ट पुरस्कार अस्वीकार गर्ने अरुन्धती रोयले लिसनिङ टु ग्रास हपर्स पुस्तकमा भारत विश्वको ठूलो डेमोक्र्यासी होइन, डेमनक्रेजी हो भनेर किन लेखिन्, यति कुरा पनि नेपाली नेता बुझ्दैनन् र भारतलाई नेपाली राजनीतिको बैतर्णी मान्छन् । योभन्दा ठूलो दुर्भाग्य नेपालका लागि अरू के हुनसक्छ र ¤

नेपालीलाई कुनै वादमा पूर्वाग्रह छैन । यसपटकको चुनावमा राजतन्त्रवादी र हिन्दुवादीले कांग्रेस र राप्रपासँग चित्त दुखाएर एमालेलाई भोट खन्याइदिएका हुन् । एमालेले भारतको हस्तक्षेप र अतिक्रमण रोक्छ, वास्तविक मित्रता बढाउँछ भन्ने विश्वास राखेकै हुन् । चुनाव जितेपछि एमाले नेकपा बन्यो, नेकपा भारत र भ्रष्टाचारभक्त भयो त यसमा जनताको के दोष ? जनताले स्वाधीनता चाहेका थिए, नकेपाले लोप्पा ख्वाइदियो । संविधानमा चुनिएका नेता फिर्ता बोलाउन सक्ने प्रावधान राखिएको भए वर्षदिनमै परिस्थितिले पल्टा खान सक्थ्यो । अर्को चुनावमा देखिएला जनता के चाहन्छन् ।

अव आएर प्रश्न उठेको छ– समाजवाद, माओवाद, माक्र्सवाद, जनवाद, राजतन्त्रवाद, हिन्दुवाद ः यी सबै वादभित्र राष्ट्रवाद छ । त्यो राष्ट्रवादलाई कुन तŒवले थिच्यो र ज्वालामुखी बन्न सकेन ? नेतृत्वहरू घीउ बेचुवा र तरवार बेचुवाको नाटक गर्छन्, भ्रम छर्छन् र जनतालाई तिरिमिरी झ्याइँ पारिरहेका छन् । देश र जनताका लागि वास्तविक नेतृत्व त जन्मेकै रहेनछ । यहीकारण त सुस्ता गयो, कालापानी गयो, लिपुलेक गयो, राष्ट्रको निशान छापमै नेपाली सीमा भारततिर पारिएछ । राज्यलाई थाहा नभएको होइन, भारतलाई खुशी पार्न राज्य भारतमुखीरूपमा चलेको हो ।

एकधरो कपडाको राष्ट्रिय झण्डा, एक इन्च भूमिका लागि देश देशबीच युद्ध हुन्छ । भएका छन् । हामी झण्डा र देशकै नाम बेच्ने कुरा गर्दा मौन छौँ । ६० हजार हेक्टर भूमि ७१ स्थानबाट लुटिइसक्यो, अतिक्रमण जारी छ, यो विषयलाई हाम्रो संसद, सांसद, सरकार युद्ध मान्दैन, अत्याचार ठान्दैन । यस्तो सरकार स्वाधीनतावादी सरकार बन्नसक्छ ?

यतिमात्र होइन, असोज ३ गते मुख्यमन्त्री, मन्त्रीहरू कालो संविधान भन्दै जुलुसमा निस्के । आफ्नै कार्यालयमा कालोझण्डा फहराए । सीके राउतले मधेश अलग देश भनेर व्यानरसहित जुलुस निकाले, वरिपरि पुसिलले घेरिएर भाषण गरे । सीके लाल मधेश नेपालमा टाँस्सिरहन सक्दैन भनेर लेखिरहेका छन् । राजपाका महन्थ ठाकुर मधेशको माग पूरा हुँदैन भने मधेशले अलग देशको माग गर्छ भनेर आक्रोश पोखिरहेका छन् । कहाँ छ संविधान ? कहाँ छ सरकार ? कहाँ छन् देशभक्तहरू ? देशद्रोहको माग गर्न पाइन्छ कि पाइन्न ? संसारमा नभएको जात्रा हाँडीगाउँमा भनेझैं– देशद्रोह गर्न पाउनु कहिलेदेखि मानव  अधिकार भयो ? यिनकै कुराले मिडिया भरिएका छन्, यिनकै कुरालाई मानवाधिकारवादीहरू उछालिरहेका छन् । विश्वको कुन मुलुकमा देश टुक्र्याउनेहरूले स्याबासी पाउँछन्, तिनलाई सरकारले संरक्षण गर्छ ? संसदले यति गम्भीर विषयमा बेवास्ता गर्छ ?

यो त नेपाल हो, यहाँ जसले जे गर्न पनि छुट पाउँछ । सरकार र संविधान नै देशद्रोहको संरक्षक बन्छ भने यो संविधान कालै संविधान हो । यस्तो संविधानलाई मधेश टुक्र्याउनेले आगो लगाए, नेपाल बचाउनेले पो आगो लगाउनु पर्ने हो । छैनन्, कुनै वाद, कुनै देशभक्त तप्का देशद्रोहविरुद्ध उठ्नै सकेको छैन ।

बल्ल मोहन वैद्यले मुख खोलेका छन्– यो सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो, फेरि बन्दुक उठाउन पर्ने भयो । बल्ल विप्लव कुर्लिएका छन्– यो देशघातक सरकार हो, अर्को जनयुद्ध गर्न जरुरी भयो ।

दश वर्ष लामो जनयुद्धकारीहरू नेकपा बनेर सरकारमा छन्, यो अचम्मको शक्ति राष्ट्रशक्ति बन्न तयार नै छैन । भुरे टाकुरे शक्तिहरू तितरबितर छन्, तिनले आन्दोलनको आँधी कहिले निकाल्ने ? चुरो कुरो, बुद्धिजीवी, संचेतन वर्ग हुन्, नागरिक समाज र अधिकारकर्मी हुन्, तिनले देशको कुरा कम जातीय, वर्गीय, क्षेत्रीय कुरा उठाएर राष्ट्रिय मामिलाहरूलाई मूल मुद्दा बनाएकै छैनन् । राष्ट्र बचे न, सबै कुरा अट्छ । राष्ट्रै नभए के राख्ने, कहाँ राख्ने ?

दुइटा कुरा प्रष्ट ग¥यो ओली सरकारले । एक– देशद्रोह अपराध होइन, जसले देशद्रोह गरे पनि हुन्छ, सकेजति गरे हुन्छ । दोस्रो– देशद्रोहीलाई कारवाही गर्ने कि नगर्ने, दिल्लीबाट अनुमति नआएसम्म कुनै कारवाही नगर्ने । हामी यस्तो सरकारलाई पूर्ण बहुमत दिएर सत्ताको शिखरमा विराजमान गराइरहेका छौं । राजतन्त्रको निरंकूशता ठीक कि लोकतन्त्रको राष्ट्रघात ? निरंकूशता तत्काल सच्याउन सकिन्छ, सच्याउनु पर्छ । राष्ट्रघातले राष्ट्रै सफाचेट हुनसक्छ । यता भारतले सिक्किम खायो, क्रिमिया रुसले लग्यो । नेपालमाथि भारतीयकरण यसरी बढेको छ कि नेपालीकरणका लागि बोल्ने मानिसको खडेरी पर्न थालेको छ । हामीलाई भारतको विरोध गर्नु छैन, नेपालीत्वको जगेर्ना गर्नु छ । नेपाली बचाउने नेता, वाद, विद्वान आजको आवश्यकता हो ।

दैनिक ७५ रुपैयाँमा गुजारा गर्ने ८० प्रतिशत नेपालीको अध्ययन गर्ने पीताम्वर शर्मा र डा. पुष्पराज कँडेलले २०६३ साल भदौमै राइकरको सिद्धान्तको विश्लेषण गरेर लेखेका थिए– नेपालको आवश्यकता पार्टी र नेतृत्वको पुनर्संरचना हो, नेतामा नयाँ भिजनको हो । देशको विभाजनको होइन । तर देश विखण्डन र विभाजनतिर लगियो ।

स्मरणीय के पनि छ भने देउथलको युद्धमा भक्ति थापा थिए । नेपाल अस्तित्व रक्षाको देउथलको युद्धमैदानभन्दा भिन्न छैन । फरक यत्ति छ, देउथलमा भक्ति थापा तरवार बोकेर देशरक्षामा उभिएका थिए, वर्तमान नेपाल जो देउथलजस्तै आधुनिक युद्ध मैदान बनेको छ, देशभक्त कुनै भक्ति थापा छैनन् । यहाँ जो छन्, लम्पसारवादी छन् । देशभक्त भक्ति थापा अमर छन्, लोकतान्त्रिक नेता दयाका पात्र बन्न थाले ।

युगद्रष्टा शेखरले लेखेको यो पंक्ति उदाहरण हुनसक्छ– मान्छेले अरूको अनुभवबाट सिक्छ, धेरै कुरा सिक्न सक्छ । पशुले आप्mनै अनुभवबाट मात्र सिक्छ । हाम्रो राजनीतिका डिठ्ठा साबहरू कुन कोटीका होलान्, स्वयम् निर्णय गरौं ।

Views: 53