17th October | 2018 | Wednesday | 10:36:34 PM

आखिर यहि रहेछ जिन्दगी

राजबाबु श्रेष्ठ ’सागर’   POSTED ON : Friday, 05 October, 2018 (4:53:13 PM)

आखिर यहि रहेछ जिन्दगी


मेरो यो तस्बिर 

आफ्नो जिन्दगीको सबै भन्दा 

अमूल्य र प्यारो चीज हराए पछि 


एक वर्ष पछिको अर्थात २८ वर्ष हुँदा..... 

 विशेष ठाउँमा खिचिएको दुर्लभ 

फोटो थ्यो यो मेरो । 



खै किन हो किन यतिबेला 

आफूलाई, आफू बिछट्टै राम्रो लागेर आउँथ्यो 

अनि उनीलाई सम्झिन्थें र सुनाउँथें 

म कहिल्यै तिमीलाई काम लगिन भनेर 


अतीतका पानाहरू एक, दुई र तीन गरी पल्टाई 

बाध्यताको परेलीको झरीमा 

विना छाताको अविरल रुझीरहन्थें म । 

हत्केलाको 

कोरिएको भाग्यरेखामा 

संगमका गोरेटोहरु खोजिरहन्थें म

सम्झनाको बगैँचामा टेकेका खुशीका 


गर्हुङ्गो डोबहरू रुवा झैँ हलुका सम्झी 

जिन्दगीको निस्पट्ट अँध्यारो 

अब्राहम लिंकन झैँ कुपोषणले लत्तिहालेको 

आफ्नै अनुहार एकोहोरो कोरिरहन्थें यसरी 

जसरी भविष्यबालकले हातमा अङ्गार लिएर 


आमाले पखालेको सफा सिल्बरको थालमा

देशको मानचित्र कोरिरहन्थे । 


सम्झनाको पुस्तकको 

प्रत्येक पानाहरुमा म मेरीको सुगन्ध 

सुङिरहन्थें यसरी ( जसरी शहीदको रगतको 

प्रत्येक थोपाथोपामा देशको गन्ध हुन्छ 


आज पनि म उनको 

यादको बलिरहेको उज्यालो दियोमा 

खोजिरहन्छु ती उनका स्पर्शका प्रतिबिम्बहरू 

तर अँध्यारो छाँया फगत निराशाको 

अग्राखको रुख झैँ खडा हुन्छ किन सँधै ? 

अँध्यारो छाँया हराउन त दियो निभ्नु पर्ने पो रहेछ 


के जिन्दगी भनेको यस्तै यस्तै हो ? 

बल्ल बुझ्दै छु मैले उज्यालो रहुन्जेल 


छाँयाले कहिल्यै साथ न छाड्ने रहेछ 

छाँया नै हराउनु भनेको त 

आफ्नो अस्तित्वदेखि आफैं हराउनु पो रहेछ 


बल्ल पो बुझ्दै छु मैले 

जिन्दगी भनेको यस्तै यस्तै पो रहेछ 

यादको सिरानीमा निदाउनु जस्तो आनन्द 

अरु केमा पो छ र ? 

बल्ल पो बुझ्दै छु मैले 

जिन्दगी भनेको यस्तै यस्तै पो रहेछ । 




महोत्तरी, गौशाला न. पा. वडा न. १


Views: 66