19th November | 2018 | Monday | 2:12:04 AM

कथा–अस्मिताले जितेको दशैं

ज्योति दाहाल   POSTED ON : Thursday, 25 October, 2018 (5:15:52 PM)

कथा–अस्मिताले जितेको दशैं

एक दिन घरको बादर्लीमा बसेर घरैकै वरिपरी हेरिरहेकी छोरी अस्मितालाई आमाले सोधिन्, ‘छोरी ! के हेरेर बसेकी ? अब त दशैँ आयो जा न पिङ खेल्न साथीहरुसँग रमाइलो गर्न किन टोलाएर बसेकी ? ’

आमाको आवाजसंगै झस्किदै अस्मिता बोलिन् “ को सँग जानू आमा कसरी जानू फर्किदा रात पर्छ फेरि यो दशैँमा दशा आउँछ भन्छ्न, बिस्कुट किन्न गएकी मेरी साथी जस्तै म पनि फर्किन भने न्याय माग्दामाग्दै तपाईहरुको उमेर जानेछ ।“

छोरीले यसो भनेछी आमाले फेरी प्रतिप्रश्न गरिनन् । आमा छोरीका वार्तालाप सुनिरहेका बाबा बोल्छन् “ त्यस्तो सोच्नु हुँदैन छोरी, आफूलाइ कहिल्यै कमजोर हुन दिनु हुन्न ।  यो चाडबाडको मुखमा । अब यो गाउँमा त्यस्ता घटना दोहोरिदैनन् । तिमी बितेका कुरा सोचेर निराश बन्न हुँदैन । छोरी भनेको घरको खुशी हो, तिमी नै यसरी बसेउ भने हामीलाई कसरी रमाइलो हुन्छ त । दाइभाइसँग जाउ खेल्न।“

बाबाले त्यति भने पछि जुरुक्क उठेर पिङ देखिए तिर लम्किन्छन अस्मिताका पाइला । मन भारी नै भए पनि आमा बाको निराश मुहार हेर्न नसकेर उनी पिङ खेल्न हिडिदिन्छिन् ।

पिङ भएको ठाउँसम्म पुग्दा उनका मनमा धेरै कुरा खेल्छ्न । धेरै घुम्तिहरुमा मुटु तेजले धड्किन्छ । कोहि मेरो पछि लागेको पो छ कि ! म पनि घर फर्किन नपाउने पो हो कि ! कतै आफैँ बेस्सरी कुद्छिन कतै पछाडि फर्किदै हेर्दै अगाडि बढ्निछन् । कतै कोइ अपरिचित अनुहार देखिँदा पनि कहालिँदै त्यहाँबाट दौडिन थाल्छिन् । यस्तै यस्तै गर्दै पिङ्सम्म पुग्दा त्यो कलिलो मनले धेरै कलिला कुराहरु सोच्छ । 

सबै रमाइ रमाइ खेलेको देख्दा पनि किन हो उनको मनमा कुनै रौनक नै छाउँदैन । उनी साना साना कुरा मनमा खेलाउन थाल्छिन् । उनलाई अस्ति भर्खर गुमाएकी आफ्नी साथीको धेरै याद आउँछ । घोप्टो परेर त्यही पिङको छेउमा रोइदिन्छिन् एकछिन । अनि त्यहीँ साथी हेर्दै फेरि टोलाउँछिन् अलिबार अनि फर्किन्छिन् घर दाइभाइहरुसँगै ।

घटस्थापनाबाट सुरु हुने दशैंले एक दिन दुई दिन हुँदै गाउँको रङ नै बदलिदिन्छ । देश बिदेशमा भएका अनि घरबाट टाढा भएका सबै फर्किन्छ्न आफ्नै गाउँ दशैं मनाउन । तर अस्मितालाई यसपाली किन किन दशैं आए जस्तो लागेन । भुकम्पले भत्केर अहिलेसम्म नबनेको बिर्खेको घर पनि ध्यान दिएर हेर्छिन् । उनको मन फेरि कता कता दुख्छ । सबैले घर बनाउन राहत पाए भन्थे मेरा बाले पनि त घर बनाएकै छ्न । यी बिर्खे बाले घर किन नबनाएका होलान् ? सबैका घरमा छोरा छोरी आउँदा यिनको घरमा किन कहिल्यै कोही आउँदैन होला ? उनी सानै हुँदा हरिया हुने फाँटहरु तिर पनि नजर पुग्छन उनका, जुन फाँट अचेल रुख्खा सुख्खा देखिन्छन । दशैंमा त फुलहरु कति मज्जाले फुल्थे आफू सानोहँुदा, खै त ती फुल यो साल ? यो परिवर्तित वातावरण भर्खर देखियो कि पोहोर पनि यस्तै थियो ? उनी गहिरो सोचमा पर्छिन् । उनले त्यसरी गहिरिएर पहिले कहिल्यै सोच्नै परेको थिएन अनि सोच्दा पनि सोचिनन् तर यो साल उनलाई ठुलै झट्का लागेको झै मानेकी छिन्, आफैँले ।

हेर्दा हेर्दै अष्टमी नवमी आउँछ । सबैले देविलाई पूजा गरेको देखेर मन मनै सोच्छे सबैले पूजा त गर्दा रैछन । दशैमा देबि पनि सबैले मान्दा रैछन अनि के यिनिहरुलाई मान्छे मार्न अरुलाई दुख दिन पनि यिनै देबिले साथ दिएकी हुन त ! छोरीलाई चै कुब्यबहार गर्ने अनि तिनै छोरीको रुपमा भएकी देबिको  पूजा गर्ने रैछन किन यस्तो भएको होला एकहोरो सोचिरहेकी छिन् अस्मिता ।

अष्टमी नवमीको बिहानको लागि भनेर आमाले खोरबाट अस्मितासँग खेलिरहने एउटा बोका लिएर आउँछिन् । अस्मितालाई थाहा थियो पोहोर पनि घरमा देबिको लागि भनेर 'बलि' दिएको । अनि यो साल पनि त्यस्तै हुन्छ । तर किन किन यो पटक भने उनीसँग सधै रमाउने त्यो बोका 'बलि' दिइने बोका 'बलि' दिन लागेकोले होला एकदम माया लाग्छ । आफुलाई सानो घाउ हँुदा कति दुख्छ, त्यो जनावरको पिडा पनि त्यस्तै त हो नि । सबैको भलो चाहने भगवानले मान्छेलाई नै जन्तु मारेर म खुशी हुन्छु त कहिल्यै भन्दैनन होला अनि किन मान्छे भगवानको नाममा हत्या गर्दैछ्न ?  आफ्नो पर्व र महोत्सवमा मारिने सबै जन्तुहरुको उनलाई माया लागेर आउँछ । उनले आमासँग आफ्ना मन भरिका कुरा पनि पोख्छिन् । आमाले के भएको छ यो केटीलाई आज भोलि भन्दै झपार्छिन् । घरमा ल्याएको मासु मिठो पारेर आमाले बनाउँदा जिब्रो पड्काउदै खाने अस्मिता यो पटक मुखमा हाल्न नसकेर रुन थाल्छिन् । उनलाई कसैले खान कर पनि गर्दैनन् । 

नवमीको दिन घरका सबै परिवार मन्दिर जान तयार हुन्छन् । अस्मिता मन्दिर जाँदा आज दुर्गामाता सँग के–के मागौ भनेर सोच्दै जान्छिन् अनि मन्दिर पुगेर पनि धेरै बेर लगाएर हात जोरेर भगवानको सामु उभिन्छिन् । सबैजना उनलाई हेरेको हेरेइ हुन्छन । मन्दिरबाट फर्किदा उनको मुहारमा छुट्टै चमक हुन्छ । 

टिकाको दिन बिहानै एउटा समाचार सुनिन्छ । गाउँ गाउँमा लागू हुने गरि छोरीको सुरक्षाको लागि कानुन बनेको अनि बलत्कारीलाई समाजबाट बहिस्कार गराइ फासिसम्मको सजाय हुन सक्ने खबर संप्रेशित हुन्छ । अस्मितालाई यति धेरै राहत मिल्छ कि ऐनामा आफैलाई हेरेर उनले लामो सास फेर्छिन् । अनि तल कोहि बोलेको आवाज सुन्छिन् । उनका बा, मास्टर थिए गाउँमा आउने धेरै लाहुरे टीकाको अघिल्लो दिन घर आएर भोलि पल्ट बिहानै उनकै बालाई भेट्न आउँथे हरेक साल ।

उनलाई कहिल्यै चाख नलाग्ने कुराहरु तलै गएर सुन्न मन लाग्छ । अरु साल भन्दा यो साल धेरैलाई देख्छिन् आँगनमा । ती मध्ये एउटा मुहार उनले अहिलेसम्म गाउँमा नदेखेको मुहार हुन्छ । कुरा सुन्दै जाँदा उनले थाहा पाउँछिन्, बिर्खे बाका छोरा सबै परिवार लिएर दशैं मनाउन गाउँ आएका रहेछन् । अब उनी बाको लागि बस्ने बन्दोबस्त मिलाएर मात्र शहर फर्किन्छन रे यो सुनेर अस्मितालाई किन किन अर्कै खुशी लाग्छ । 

अनि फेरि पालैसित अरु लाहुरेका कुरा पनि सुन्छिन् । लाहुरबाट आएकाहरु अब जसो तसो गरेर आफ्नै गाउँमा बस्ने । बिदेशमा बसेर कमाएको पैसा देशमै लगानी गर्ने अनि आफ्ना बुढा भएका बाबू आमाको सहारा बन्ने कुरा गर्दै हुन्छन् । अस्मितालाई झन धेरै खुशी लाग्छ । उनले आफ्ना गाउँका सुकेका बाली अनि खाली रहेका खेतबारीमा अब बग्ने पसिनाको कल्पना गर्छिन् । उनलाई धेरै आनन्द आउँछ । मन मनै उफ्रन मन लाग्छ । टिकाको साइतको समय नजिकिदै जाँदा सबै आफ्ना आफ्ना घर जान्छन् ।

अस्मिताका परिवार पनि त्यही तयारीमा लाग्छ । हरेक बर्ष जस्तै यो बर्ष पनि उनको भाइले उहीँ “लरिलरिलरी लै दशैं आयो“ भन्ने गीत घन्काउछ । हरेक दिन बजेको गीत भन्दा अस्मितालाई आजको यो गीतले चाहिँ साच्चिकै दशैं ल्याएको आभास हुन्छ । उनी गाउँभरिको खुशी सम्झिएर एक फन्को लगाउँछिन् आँगनमा । उनकी साथीले पाएको न्यायमा रमाउँछिन् । उनका दाइ भाइ पनि उनको तालमा ताल मिलाउछ्न् । छोराछोरीको यो रमझम यति पछि देख्दा बा आमा गद्गद हुन्छन् ।

उनका बाले यो घरमा अब अर्को पटकदेखि बलि दिइदैन भनेर सबैको अघि भन्छन् । 'बलि' बहिस्कार गरिने प्रण हुन्छ । सबैजनाले हो मा हो मिलाएर अस्मितालाई झनै हौसला दिन्छन् । अस्मितालाई यो पटक आजसम्मकै छुट्टै तरिकाको दशैं आए जस्तो लाग्छ । उनले “मन्दिरमा गएर मागेका सबै कुरा पुग्यो आमा“ भन्दै आमालाई अंगालोमा बेरेर भन्छिन् । आमालाई समाउँदै रमाउँदै, हाँस्छिन् ।

यतिका दिन रानो हराएको माहुरी झैं भएकी आफ्नी छोरी यसरी रमाउँदा उनका बा आमा त्यसै खुशी । दाजु भाइ पनि रमाउँछ्न् अनि रुन्ची भन्दै अस्मितालाई जिस्क्याउन थाल्छन । छोरीलाई दक्षिणा दिने अनि छोरालाई नदिने परम्पराको बिरोध गरेर दाजु भाइ एक छिन आमा बासँग ठुसुक्क पर्छन् अन्ततः सबै मिलेर दशैँको टीका लगाउन बस्छ्न् । आफ्नो घरमा फर्किएको खुशी हेर्दै दशैँ अनि खुशीको कामना गर्छन् ।


Views: 230