19th November | 2018 | Monday | 2:38:20 AM

दशैँ तिमी फेरि आउनू

पार्वती निरौला   POSTED ON : Saturday, 27 October, 2018 (3:05:49 PM)

दशैँ तिमी फेरि आउनू

दुःखको आँसु पुछेर गयौ

अभिमानको पोको खोलेर गयौ

यो पालि त बडादशैं तिमी 

महल र झुपडीको असमानता 

तोड्ने प्रयास गरेर गयौ

सधैं अमीरहरू फकिरलाई धम्क्याउँछन् रे

उसलाई एउटा दरिलो पाठ सिकाउने

प्रयास गरेर गयौ

त्यो सानीको आङको जामा फाटेको थियो

देवी भवानीले दिल खोलेर हेरिन् 

आमाको फाटेको मजेत्रो 

अनि बुबाको पुरानो चप्पल 

नजर लाएर आयो दशैं 

विपनामा सपना सजाउने ती मनलाई 

उन्नतिको आशीष बनेर आयौ,

तिमी आउँदा त हर्ष लाग्यो बडादशैं 

तर तिमी सँगसँगै यहाँ 

आडम्बर पनि आयो,

अभिमान आयो, असमानता आयो,

अनि ममा एउटा गहिरो बेचैनी आयो ।

यो वर्ष फरक बनेर आउने आस गरेकी थिएँ 

यी दुर्दशा हट्ने आस गरेकी थिएँ,

दशैं आशीर्वाद बनेर आयौ 

घमण्डको जरा होइन 

धमिरा फालेर मौलाउन खोजेको थियो 

यो दशैं तर सकेन

यो दशैंले 

सानीको नयाँ जामा बन्ने सोचेको थियो 

आमाको सुकिलो मजेत्रो बन्ने 

कल्पना गरेको थियो 

र बुवाको 

नरम चप्पल बनेर गोडामा सजिन

खोजेको थियो ।

मैले यही चाहेकी थिएँ तर

यो दशैंले पनि सधैँझैँ 

परम्परा मात्र धानेर गयो  

सबैलाई आशीर्वाद दिएर गयो 

कसैलाई दशैंको आशीष आशिष बन्यो 

उमंग बनेर छायो 

तर विडम्बना कसैलाई यही दशैं 

अभिसाप बन्नपुग्यो 

म कामना गर्छु 

अर्को दशैं सबैलाई 

समान खुसी छर्दै आओस्,

सबैमा मुस्कान छरेर जाओस् ।


Views: 187