19th November | 2018 | Monday | 2:33:47 AM

कथा – मोबाइलबाट नचिनिने साथी

ज्योति दाहाल   POSTED ON : Sunday, 04 November, 2018 (8:34:40 PM)

कथा – मोबाइलबाट नचिनिने साथी

इलामको चिया बगान हेर्दै हुर्किएकि ‘माया’ पढाइ लेखाइमा निकै अब्बल छ । प्राकृतिक सुन्दरताले नै होला उसको शारीरिक आकर्षण उस्तै राम्रो छ । हेर्दै सबैका नजरमा माया लाग्दि देखिने माया गुरुवर्गसँग मात्र होइन गाउँघरका सबैसँग मुसुक्क मुस्कुराएर बोलेपछि कस्को के लाग्थ्यो  र ! 

मायालाई कुनै पनि विषयका जुन सुकै समस्याहरु सहज लाग्छन् । गुरुहरु अनि सबै साथीभाइकी निकै प्यारी छे माया । आमा बाबुकी इज्जत हो माया । गाउँभरीका अरु छोरीहरुका लागि उदाहरण हो माया ।  नयाँ विषय कम्प्युटरमा पनि उस्लाई धेरै कुराहरुको ज्ञान् छ । साथीहरू अनि आफ्ना भाइ बहिनी सबैलाई कम्प्युटरका हरेक काम सहजै गर्न सहयोग गर्छे । स्कुले जीवन सकिदै जाँदा उस्का बाबुले आफ्नी छोरीको उत्साह जगाउन जिल्ला टप गरिस् भने एउटा राम्रो मोबाइल किनिदिन्छु भन्ने उत्प्रेणाले मात्र होइन, उसको लगनशिलता नै पृथक छ । त्यही प्रेरणा र जिल्ला टप गर्ने चाहना बोकेर अघि बढेकी मायाले सबैलाई चकित पार्दै साँच्चिकै जिल्ला प्रथम बनि । त्यो सफलतामा परिवार मात्र होइन, गाउँनै खुशी भएको थियो ।

पढाइमा आफुले चाहेको जस्तै रिजल्ट आएपछि मायाका बा त्यही दिन गएर मोबाइल किनेर ल्याइदिए । माया पनि अत्ति नै खुशी हुन्छे । दुई चार वटा फोटो खिच्छे, सबैलाई संगै राखेर नयाँ नयाँ एप्लिकेसन खोज्न हेर्न थाल्छे । उस्ले साथीहरुले फेसबूक इन्स्टाग्राम अनि अरु के के को बारे भनेको सुनेकी हुन्छे ती सबैमा आफ्नो नाम राख्दै चलाउन थाल्छे।

उस्लाई धेरै रमाइलो लाग्न थाल्छ । रमाइलो पनि किन नलागोस साँच्चै भन्दा दुर्गमको बसाई, यातायातको असुविधा, संचारको पहुँच नभएको ठाउँमा एउटी कलिली बालिकाको हातमा स्मार्ट मोबाइल । भाइबहिनीलाई पनि यो यस्तो हुने रैछ, यसरी रैछ यस्लाई चलाउने भनेर सिकाउँछे । बा आमालाई पनि देश बिदेशमा भएका आफन्त र नातागोताको फोटो अनि हाल्चाल बताउँछे ।  घरमा सबै खुशी हुन्छन् । मायाका बा आमाले छोरीले टाढा भएका सबैलाई जोड्दै छे, कति बाठी छे हाम्री छोरी सबै चलाउन जानेकी पनि छे भनेर सबैसंगै कुरा गर्दै मख्ख पर्छन् ।

यसरी नै दिनहरु बित्दै जान्छन् । मायाको प्ल्सटूको पढाइ उस्को आफ्नै बिद्यालयबाट बिज्ञान संकायमा सुरु हुन्छ त्योपनि पूरै छात्रवृत्तिमा । उस्ले धेरै नयाँ साथी बनाउँछे, धेरैसंग फेसबुकबाट जोडिन्छे । एकदिन उस्लाई फेसबुकमा म्यासेज आउँछ “तिमी एकदमै राम्री छौ“ लेखिएको । सुरुमा त उस्लाई रिस उठ्छ त्यहि पनि को रहेछ भनेर म्यासेज खोलेर हेर्छे अचम्मै पर्छे। लेखेको हुन्छ ‘लाइफ् अफ लभ’अनि फेरि आफ्नो नाम उस्ले फेसबूक खोल्ने बित्तिकै लभ राखेको सम्झिन्छे ।

यो सम्योग हो या अरु केही उस्ले बुझ्नै सक्दिन। सुरुमा अलि रिस उठेजस्तो भए पनि पछि मुसुक्क मुस्कुराउदै प्रत्युक्तर दिन्छे ।

“को हो?“

उत्तरमा आउँछ“ नाम हेरेनौ र?“


“तेस्तो नि नाम हुन्छ र?“

“तिम्रो पनि त्यस्तै छ त।“

त्यो दिन त्यतिकै हुन्छ। माया मन भरी कुरा खेलाउदै सुत्छे। फेरि बिहानै म्यासेज आउँछ “उठेकी छैनौ?“


उस्ले खोलेर हेर्छे हिजोकै मान्छेको म्यासेज, अनि फेरि उत्तर दिन्छे “किन?“

“तिमिसंग कुरा गर्न“

“किन“

“यो किन बाहेक अरु पनि त सोध , किनको जवाफ छैन मसंग“

“मसंग पनि किन बाहेक अरु कुनै प्रश्न छैन।“

“तिमी सारै कडा अनि तगडा छौ, सुनेको थिए आज थाहा पनि पाए हाहा...नाइस टू मीट यू, ह्याव नाइस डे... 

यति भनेर हरायो मान्छे । यो बिहानीमा तर मायाको मनबाट हराउँन सकेन । Life of love कस्तो राम्रो अर्थ आउने नाम राखेको उस्ले ठ्याक्कै मेरै लागि राखेजस्तोसम्म सोच्न भ्याइसक्छे अनि ऐना हेर्दै आफै लजाउछे । मनभरी खुल्दुली अनि खल्तिमा मोबाईल बोकेर माया पढ्न त जान्छे तर मन ठयप्पै जाँदैन पढाईमा। घरिघरी मोबाईल हेरिरहन्छे कतै फेरि केही म्यासेज पो आयो कि, कतै उत्तर दिन ढिलो पो हुने हो कि भन्दै।

तर त्यो दिन भरी उसलाई कुनै म्यसेज आउदैन। आफैले गर्न उस्को मनले मान्दैन। त्यो दिन घर गएर उस्लाइ पढ्न पनि मन लागेन,राती फेरि म्यासेज आयो

“सुतेउ?“

उस्ले हतारिदै उत्तर दि

“छैन“

“किन नसुतेकी त“

“निद्रा नलागेर“

“हाहा मलाई सम्झिदै थिएउ कि के हो?“

माया केही उत्तर दिनै सक्दिन उस्को ढुक्ढुकी तेजले बढ्छ।

“ओइ रिसाएको त हैन नि म त जिस्केको मात्र हो माइन्ड नगर ल।“

“हैन केही भएको छैन“

यसरी नै सुरु भएको कुराकानी धेरै बेर सम्म चल्छ । त्यो दिन मायालाइ त्यो मान्छेको नाम थाहा हुन्छ । उस्को नाम “जीवन“ रहेछ । मायाको साथीको साथी रहेछ । भोलि पल्ट मायाले जिबनको घर काठमाडौ रहेछ भन्ने थाहा पाउँछे । अर्को दिन उस्लाई पढ्न अनि कमाउन अस्ट्रेलिया गएको रहेछ भन्ने थाहा हुन्छ ।  बिस्तारै उनीहरु बिच धेरै कुरा हुन थाल्छ ।  दिनभरि जसो माया मोबाईलमा नै आँखा गाडेर बसिरहेको रुपमा भेटिन थाल्छे । एकैछिन म्यासेज आउन ढिलो भयो भने छट्पटाउन थाल्छे ।

कक्षाको अघिल्लो सिट्मा बसेर हरेक प्रश्नको उत्तर दिने माया अन्तिम सिट्मा बसेर मुसुमुसु मुस्कुराउदै च्याट्मा ब्यस्त हुने दिन आउँछ । गुरुहरुले धेरै सम्झाउछन, नजिकका साथीहरु उस्को परिवर्तित व्यवहार नियाल्दै बस्छ्न । बिस्तारै मायाको साथिहरुसंग दूरी बढ्छ । उस्लाई त्यो कुराको पनि कुनै हेक्का नै हुँदैन । उस्को जन्मदिनमा उस्लाई एक्दम ठूलो पार्सल आउँछ घरको ठेगानामा, खोलेर हेर्दाे लुगा हुन्छ । आम्मामा हेर्नुस त आमा हेरोनिले लाउने जस्तो लुगा मलाई मेरो साथीले पठाएछ भन्दै माया उफृन्छे।

को साथी कस्तो साथी बा आमाले केही सोध्दैनन । छोरीको खुशीमा नै आफ्नो खुशी हुन्छन् । फेरि प्रेम दिवस, नयाँ बर्ष, नयाँ साल पटक पटक ठुला ठुला उपहार आउँछन् मायाको नाउँमा । जिबनले पठाएको हरेक उपहारमा मायाले न्यानोपन पाउँछे, माया देख्छे अनि आफुलाई धेरै भाग्यमानी सम्झिन्छे ।

परीक्षाका समय सुरु हुन्छ । माया बिहान राता राता आँखा लिएर निक्लिदा उस्का बाबू आमाले रातभरी पढेर छोरीले आफ्नो स्वस्थ्य बिगार्ने भै भनेर धेरै चिन्ता लिन्छ्न । एघारको परीक्षा सकिन्छ । छोरीले राम्ररी पढेकै छ भनेर बा आमा बिस्वस्त रहन्छ्न् । बिदा सुरु हुन्छ तर मायाले यो पटक आमाले बिरामी भएर काम गर्न नसकेको पनि ख्यालै पाउँदिन । बा छोरी यसो छेउमा आएर पहिले जस्तै मन बहलाउने कुराहरु गर्दै मोबाईलमा यस्तो त्यस्तो भन्दै सुनाउँन आउँछे कि भनेर आश गर्छन तर अह माया बाबाको छेउ पनि पर्दिन । भाइ बहिनीले दिदिले गृहकार्य सिकाइदिएर मद्द्त गर्ली भनेर त सोच्न छोडेकै धेरै भैसकेको हुन्छ । मायाले केही कुराको पनि मतलबै गर्न छोड्छे । उस्को दिन रात हर्बखत मोबाइलमा नै बित्छ । अझ घरमा डाटा राम्रो चल्दैन भनेर माथि माथी डाँडामा गएर बस्छे।

घण्टौको च्याट अनि अनलाइन फोटो साटासाटबाट माया जीवनसंग धेरै नजिक भैसकेकि हुन्छे । जीवन महिना विराउँदै मायालाई भेट्न इलाम पनि पुगि रहेको हुन्छ । उस्ले अस्ट्रेलियाको मान्छे मलाई भेट्न कसरी झन्डै प्रत्येक महिनामा इलामसम्म आउँछ एक पटक पनि सोच्दिन । माया जिबनले आफुलाई पठाउने उपहारहरुबाट अनि उस्को जिस्किरहने बानीबाट आकर्षित हुन्छे । दुई चार पटकको भेट घाटमा सारा सामाजिक दायेरा पार गरेर जिबनसङ नै जिन्दगी बिताउने सपना देख्न थाल्छे माया । मायाले साथीकोमा बसेर पढ्छु आज भन्दै पटक पटक जिबनसंग बजारको होटलमा रात बिताएकी थिइ । जिबनले पठाई सके पछि बिहे गरौला काठमाडौ गएर संगै बसौला आफ्नै सुनौलो संसार बनाउँला भनेर मायालाई आश्वासन दिएको छ रे ।

समय, पला, घडी यसरी नै बित्दै जान्छ । मायाले आफ्नो बिगत पल्टाएर हेर्न कहिल्यै जरुरस् सोचेकी हुन्न अनि भविष्य जिबनको हातमा सुम्पिन्छे र त्यही क्रममा अघि बढ्छे। एघारको नतिजा प्रकाशित हुन्छ । मायाको नतिजा देखेर सबै छाँगाबाट खसे जस्तै हुन्छ्न। मायाका बा आमा एक साल अघि जसरी छोरीको सफलतामा रोएका थिए त्यसरी नै रुन्छ्न तर त्यो बिस्मातको आँसु हुन्छ । माया ५ वटा बिषयमा फेल भइ । मायालाई पनि अत्ति नराम्रो लाग्छ तर अब अघि बढ्नु भन्दा उस्ले जीवन भएको ठाउँमा गएर जीवन संगै बस्ने निश्कर्ष निकाल्छे । उस्ले जिबनसंग पनि त्यही कुरा गर्छे। जिबनले पनि समर्थन गर्छ  । 

मायाले बिद्यालय जान पुर्ण रुपले छोडिदिई। बाबा आमाले सम्झाई बुझाई गर्दा पनि उनिहरुलाई गाली गरेर ठुलोठुलो आवाजमा कराइ । जिबनलाई म घर छोड्दिन्छु भनेर सुनाउँदा अहिले हतार नगर भनेर धेरै पटक भनी सकेको थियो तर एकरात उस्ले जिबनले भनेको पनि नसुनेर रिसैरिसमा सबै सुतिरहेको बेला घर गाउँ सबै छोडेर जाने निधो गरि अनि आफ्ना लुगा पोको पारेर बस चढेर काठमाडौ तिर लागि। त्यो रात उस्लाइ कुदृष्टि लगाउने कति भए पछि लाग्ने कति भए तर फेसबुकमा जिबनसँगै कुरा गर्दै, फोनमा आफ्ना मनभरी आउने बह पोख्दै बाटो कटाइ । भोलि देखि सुरु हुने आफ्नो मनोरम जीवन सोचेर माया अघि बढी। जिबनले मेरो भोलि फोन लागेन भने पनि मैले दिएको ठेगानामा आउनु म काम बाट त्यतै आएर भेट्छु त्यहा मेरो घर छ भन्ने जानकारी दिएर फोनबाट बिदा हुन्छ । त्यो बेला देखि उस्को म्यासेज अनि फोनको मात्रा घट्दै जान्छ।

बिहानै बसबाट ओर्लिएर जिबनले दिएको ठेगाना खोज्दै सोध्दै माया पुग्छे तर जिबनले दिएको ठेगानामा एउटा होटेल हुन्छ र उस्ले त्यहाँ गएर जिबनको बारे जानकारी लिन खोज्दा त्यहाँ भेटिने सबै त्यस मान्छेको बारे अनबिज्ञ रहेको थाहा पाउँछे ।  जिबनलाइ फोन गर्न धेरै प्रयास गर्छे अनि फेसबूकमा पनि खोज्छे उस्ले आफ्नो Life of love लाई कतै भेट्दिन । कोहि कतै नचिनेको सहरमा एउटै मान्छेको भरोसामा आएकी मायालाई आकाश खसेर आफू माथी बजारिएको आभास हुन्छ। उस्ले सन्सार अन्धकार देख्न थाल्छे।तै पनि एति छिटो त्यस्तो सोच्न हुदैन मैले जिबनले येहि ठेगानामा आउछु भनेको छ पक्कै आउँछ भनेर उस्कै पर्खाइमा रातिसम्म त्यही होटेल बाहिर बसिरहन्छे। जति राती पर्छ त्यति त्यहाँको चहल पहल बढ्दै गयेको उस्ले थाहा पाउँछे। बिस्तारै त्यहाँ आउने मान्छेहरु “भित्रै जाउँ न मैयाँ बाहिर किन बसेको भन्दै उस्लाई छुन आउँन थाल्छ्न।“ 

अरुको हरेक छुवाइले मन छिया छिया पार्दै माया त्यो ठाउँबाट भाग्छे । उस्लाई त्यो रात बिताउँन धेरै असहज हुन्छ । रातभरिमा आफुले पाएको दुख अनि आफुले बगाएको आँशुले गर्दा बल्ल सबैथोक सुम्पिएको जिबनले उस्लाई धोका दिएको रहेछ भन्ने थाहा पाउँछे । आफुले चालेका हरेक पाइला अनि जिबनसँग हुने कुराहरु एक एक केलाएर अनि आफुसँग भएको पैसाले अलि अलि खाँदै एउटा पार्कमा दिन बिताउन थाल्छे।

बिस्तारै उस्ले जिबनले आफुलाई अस्ट्रेलियामा पढ्छु भने देखिका एक एक कुरा याद आउँछ । अस्ट्रेलिया भएको मान्छे उस्लाइ भेट्न दुई दुई महिनामा इलाम पुगेको सम्झिन्छे, उस्का हरेक भावना अनि शरीरसँग खेल्दै उस्ले देखाएका सपनाहरु उस्का आँखा वरिपरी नाच्न कहिल्यै छोड्दैनन् तर आफुले त्यतिसम्म दुःख पाउँदा पनि आफ्ना बाबा आमालाई फोन गरेर माफी माग्ने अनि त्यो गाउँमा फर्किने हिम्मत जुटाउन सक्दिन । केही दिन पछि मायाले आफुले ल्याएको सबै खर्च सकिन्छ अनि अभाव अनि कोहि चिनेको मान्छे नभएको शहरमा उस्को त्यो पार्क कै बसाइ पनि कठिनाइले भरिपूर्ण हुन थाल्छ। रातको समयमा प्राय उ हस्पिटलको इमर्जेन्सीमा टहलाउँछे ।  

एकदिन हस्पिटलको नजिकै रहेको रुखमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा मायालाई भेटिन्छ । अन्ततः जीवन जिउँदा जिउँदै थाकेर , मायाले एक रात रुखमा झुन्डिएर आफ्नो जिबन नै समाप्त पारी या कंचनपुरकी निर्मलालाई झै नरपशुहरुले बलात्कार पछि झुण्ड्याए अनुसन्धान गर्भमै छ ।  


Views: 223

सम्बन्धित सामग्री: