19th December | 2018 | Wednesday | 2:03:24 AM

तिम्रो शहरमा

सीताआस्था ढुंगेल   POSTED ON : Sunday, 18 November, 2018 (9:57:01 AM)

तिम्रो शहरमा

सायद प्रदुषणले होला

सेतै फूलेका मान्छेहरु !!


लामबद्ध, 

सडकमा जाम गरेर 

मुखामुख गरिराखेका छन्

हतारमा छन्,सोचमग्न छन् ,

कोहि।

पिछाडि अगाडि 

पल्याक पुलुक हेरेर 

एककदम अगाडि 

सर्दै ,

कोही

कोहि एक कदम पछाडि..

यो गति 

यो सुस्त गति संगै 

केही

सेतै फुलेका जीवनहरु 

कालो मेहन्दी घरेस 

यौवनलाई

कृतिम बनाउन खोजिरहेछन्

अनि खण्ड खण्ड फूलेका 

टाउकामा 

आफ्नो उमेर खोजिरहेछन्

तिम्रो शहरमा।


कुनै बेला

सबैका मुख बन्द हुन्छन्

धुलो र धुवाले।

लाग्छ मुखमा झुल लगाएर

मच्छड धपाइरहेछन्।

आकाशमा अनगिन्ती

निर्जिव चराहरु

उडिरहन्छन् हतार–हतारमा,

मान्छेका सपना

अनि

अभाव र बिलासितालाई 

घिसारेर चराहरु

किन यति हतारिएका होलान्??

तिम्रो शहरमा।


दुःख ,अभाव ,दरिद्रिले 

शहर पठाउछ भन्छन्

यौटा अभाव 

ढोकामै आएर ढक्ढकाइरहेछ

अर्को अभाव तिम्रो आकाशको बाटोभएर

मुङ्लान छिर्दैछ

कोहि जीवन भेटेर हराउछन्

कोहि जीवन नभेटी हराउछन्।

हो ,

यो दौडानमा

सपना फूलाउन

बगरमा म पनि हराउन सक्छु

एक दिन 

तिम्रो शहरमा।।


ढोगेर मन्दिरको शहर

सुन्दर सपनाको खोजिमा 

आकाशको बाटो

हिजो उडेर गएको 

यौटा सजिव ,

स्वास 

छोडेर बिदेशी भूमिमा

फेरि फर्कदो रहेछ

निर्जिव बनेर 

उनिएर बाकसमा

उहि आकाशको बाटो 

तिम्रो शहरमा।।


Views: 179