19th December | 2018 | Wednesday | 2:00:00 AM

आमाले सुनाएका कथाले देखाएको संसार

रमा लुइँटेल   POSTED ON : Saturday, 24 November, 2018 (3:39:53 PM)

आमाले सुनाएका कथाले देखाएको संसार

मुलुकको पुरानो र प्रतिष्ठित ‘मदन पुरस्कार’ पाउँदा नीलमको मनको अन्तरकुन्तरमा कतै डर उब्जियो । जिम्मेवारी बोध भयो । त्यो डर कस्तो डर हो त ? उनले प्रष्ट पारिन्, ‘म भित्रको त्यो डर यो सम्मानको सम्मान गर्न सकूँला वा नसकूँला भन्ने हो ।’ 

आफूभित्र उब्जिएको डरले लेखनमा अझ बढी जिम्मेवार बन्न सघाएको नीलमले अनुभव गरेकी छन् । नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कार पाएपछि उनमा साहित्यको साधक बन्ने थप ऊर्जामा बढोत्तरी भएको छ । प्रोत्साहन मिलेको छ पुरस्कार र सम्मानले व्यक्तिलाई जिम्मेवार बनाउँछ भन्ने बुझेकी छन् नीलमले । उनले आजन्म साहित्य साधनामा लागिराख्ने प्रण गरेकी छिन् मनमनै । आफ्नो प्रणमा उनी विश्वस्त पनि छिन्, पूरा गर्छु भन्ने । 

छोराहरूको विदाको समय पारेर नेपाल आएकी थिइन् । केही दिनको अलमलपछि अमेरिका फर्केकी मात्रै थिइन् नीलम । त्यो दिन, छोरालाई विद्यालय पु¥याउन मोटर ड्राइभिङमा थिइन् । मोबाइल फोनको घण्टी बज्यो । यसो हेरिन्, त्यो नेपालको नम्बर थियो । नेपालको नम्बरदेखिपछि सकेसम्म फोन उठाउँछिन् । त्यो फोन पनि उठ्यो । साङ्ग्रिला पब्लिकेशनका मणि शर्माको फोन रहेछ । ‘नीलमजी ¤ मदनपुरस्कार घोषणा भयो नि ¤,’ मणिले भने, ‘योगमायाले पायो ।’ जवाफमा उनले खुसी प्रकट गरिन्, ‘ए हो र ¤’ 

‘योगमाया’ ले मदन पुरस्कार पाएपछि धेरै चर्चा परिचर्चा भयो । नीलमको यसअघिको कृति ‘चीरहरण’ ले नै पाउनु पथ्र्यो, योगमायाले पायो राम्रो भयो भन्नेहरू धेरै भयो । कसैले चीरहरणले नपाएको क्षतिपूर्तिका रूपमा पनि लिए । चीरहरण अर्को पुरस्कार पद्मश्रीबाट पुरस्कृत भइसकेको थियो । 

नीलमको कलममा योगमाया

नीलम कार्की ‘निहारिका’ दाहाल यज्ञनिधिले रेडियो नेपालमा सञ्चालन गर्ने ‘साहित्य संसार’ कार्यक्रमकी फ्यान थिइन् । पाल्पामा जन्मिएकी उनी सानैदेखि यज्ञनिधिको उक्त कार्यक्रम सुन्थिन् । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि नीलमलाई यस्तो अवसर जु¥यो जुन उनले कल्पनासमेत गरेकी थिइनन् । त्यो अवसर थियो, दाहालसँगै बोली मिसाएर उक्त कार्यक्रम सञ्चालनमा सहभागी हुने । सञ्चार क्षेत्रको ज्ञान बटुल्न र साहित्यिक क्षमता तिर्खान कोशेढुंगा सावित भयो, साहित्य संसारमा उनको सहभागिता ।

नीलम साहित्य लेखनमा यज्ञनिधिलाई गुरु मान्छिन् । साहित्य संसारमा जोडिएपछि दाहाल नीलमका साहित्यिक गुरु भए । उनी लेखनका बारे यज्ञनिधिसँग बाम्बार छलफल गर्थिन् । कहिले विषयवस्तुमा त कहिले लेखन शैलीका बारेमा । उनलाई दाहाल यज्ञनिधिले योगमायाका बारेमा लेख्न प्रेरित गरे । नयाँ विषय पाएकोमा उनी खुशी भइन् । यो उनको लागि अवसर र चुनौती दुवै थियो । योगमायाका बारेमा अनुसन्धानमूलक आख्यान लेख्नुपर्छ र त्यसमा नीलम नै लाग्नुपर्छ भन्ने यज्ञनिधिको धारणा थियो । 

यज्ञनिधिले नीलमलाई योगमाया कृति लेख्न सुरु गर्नु अघि केही गृहकार्य दिए । त्यो गृहकार्य उनका लागि निकै कठिन थियो । गृहकार्यमा खोज अनुसन्धानको काम थियो । नीलमले मिहिनेत र इमानदारीका साथ काम गरिन् । यो देखेर यज्ञनिधि खुबै खुशी भए । अब त योगमायाबारे उपन्यास लेख्ने काम नीलमकै भयो । उनी लेख्न थालिन् । एक दिन उनले उपन्यास लेखनको काम सकिएको खबर नीलमले यज्ञनिधिलाई सुनाइन् । यो खबरले यज्ञनिधिको खुसीको सीमा रहेन । उनी एक हिसाबले भावविभोर भए । 

लेखनको विषय योगमाया छनोट गर्नेदेखि अध्ययन, अनुसन्धानसम्मका मार्ग निर्देशक गुरु यज्ञनिधिले आफ्नो भौतिक उपस्थितिमा ‘योगमाया’ मदन पुरस्कारबाट पुरस्कृत भएको खबर सुन्न पाएनन् । नीलमको मन भित्र कताकता दुख्छ । देहको मृत्यु शाश्वत सत्य हो भन्ने नीलमले बुझेकी छन् । अनि उनी आफूलाई सहृमाल्छिन् । योगमाया पूरा भएको थाहा पाएपछि यज्ञनिधिले भनेका थिए, ‘अब नीलमलाई अर्को विषय दिन्छु लेख्न ।’ 

हाम्रो धर्म दर्शनले देह मरणशील र अनित्य मान्छ अनि आत्मालाई नित्य । दाहाल यज्ञनिधिको दिवंगत आत्मा नीलमको ‘योगमाया’ देखेर दंग परेको हुनुपर्छ । 

आमा त्यस्तो रूप हो, जो आफ्नो अस्तित्व बिर्सेर सन्तानको अस्तित्व स्थापित गर्न चाहन्छ । नीलमकी आमाले पनि छोरीको अस्तित्व साहित्यको क्षेत्रमा स्थापित गर्न धेरै मद्दत गरिन् । सबैभन्दा ठूलो कुरा, नीलमले आमाबाट साहित्य लेखनमा लाग्ने प्रेरणा पाइन् । त्यो प्रेरणाले उनलाई सधैँ ऊर्जाशील बनाइराख्यो । साहित्यमा रुचि राख्ने नीलम मदनपुरस्कार पाउन सफल कृतिको सर्जक बन्न सफल भइन् । 

केही वर्ष अघिको कुरा हो । नीलमको पहिलो उपन्यास तयार भयो । आर्थिक अभावले छपाइको काम बाँकी थियो । उनको मनमा किताब छाप्ने हुटहुटी यथावत नै थियो । छोरीको त्यो हुटहुटी उनले अध्यापन गरी जम्मा पारेको सञ्चयकोषको रकम झिकेर पूरा गरिदिइन् । सञ्चयकोष झिकेको कुरा नीलमकी आमाले गोप्य राखिन् । आमाले किताब छाप्न पैसा हातमा राखिदिदाको क्षण नीलम शब्दमा व्याख्या गर्न सक्दिनन् । 

नीलम सानी छँदा आमा प्रत्येक दिन सुत्नुअघि कथा सुनाउँथिन् । महाभारतका अनेक प्रसंगहरू बालबालिकाले बुझ्ने शैलीमा भन्थिन् । त्यसको छाप नीलममा निकै गाढारूपमा परेको थियो । ती दिन सम्झिन्छिन् नीलम । भन्छिन्, ‘आमाले सुनाएका कथाले ममा कल्पनाशीलता बढायो, साहित्यमा कल्पनाशिलता नभई हँुदैन ।’ तिनै कथाका पृष्ठभूमिमा नीलमले साहित्यको संसार देखिन् ।

गाउँमा कसैले पुराण लगाउँदा नीलम त्यहाँ पुग्थिन्, त्यसको एउटै कारण हुन्थ्यो कथा सुन्नु । सानैमा कथा सुन्ने बानी परेकाले उमेर बढ्दै गएपछि नीलम किताब पढ्न थालिन् । साहित्यमा बढ्दै गएको यो रुचिले उनलाई लेखन लाग्ने हुटहुटी पलायो । यस्तो सोच निकै अघिदेखि नै आएको थियो । तर, समय व्यवस्थापन गर्न नसक्दा लेखन अघि बढ्न सकेको थिएन । जीवनका केही वर्षहरू लेखनलाई छुट्याउने निधो गरेपछि ‘चीरहरण’ र ‘योगमाया’ जस्ता कृति जन्मिए । समय नै छुट्याएर लेखनमा लाग्दा छुट्टै रमाइलो अनुभूति गरेकी छिन् नीलमले । भन्छिन्, ‘लेखनमा डुब्न सकिने रहेछ, विशेष रमाइलो अनुभव गरेँ ।’ चीरहरण महाभारतमा द्रौपदीको प्रसंगसँग सम्बन्धित आख्यान हो । 

योगमाया  आन्दोलन

योगमाया लेखनको क्रममा तथ्यहरू जति जति बाहिर आउँथे, नीलम त्यति नै आन्दोलित हुन्थिन् । जहानियाँ राणा शासनको समयमा क्रान्तिको ज्वाला बनेकी योगमाया प्रजातन्त्र आएपछि किन गुमनाम जस्तै भइन् ? यो प्र्रश्नले नीलमका धेरै रात ननिदाई छ्याड्ग भए । समाज सुधारका कदमहरू इतिहासको पैतालामुनि किन दबाइए ? लेखनको क्रममा उब्जिएका यी प्रश्नले नीलम रन्थनिन्थिन् । 

योगमायालाई नारी मुक्तिसँग मात्रै जोडेर हेर्न चाहन्नन् नीलम । त्यसो गरिए योगमायामाथि ठूलो अन्याय हुन्छ भन्ने उनालाई लाग्छ । निरंकुश राणा शासनमा ज्यानको समेत पर्वाह नगरी समाज सुधारका लागि होमिएकी योगमायाको उद्देश्य धर्मराज्य स्थापना गर्नु थियो, अर्थात सुशासनसहितको राज्य । राणा शासन अन्त्यमात्रैको चाहना योगमायाको थिएन । धर्मराज्य स्थापनाको भिक्षापत्र बोकेर शासकको ढोका ढ्कढक्याउन पुगेकी थिइन् योगमाया । सुशासनसहितको राज्य स्थापनाका लागि योगमायासहित ६७ जनाले जीवनको अहुति दिएका थिए । 

योगमायाका बारेमा धेरै अध्ययन अनुसन्धान गरेपछि मात्रै उपन्यास लेख्न बसिन् नीलम । भन्छिन्, ‘जब योगमायाले परिकल्पना गरेको धर्मराज्य अर्थात सुशासन स्थापना हुनेछ, त्यतिबेला मात्रै उनको युद्धले विश्राम लिनेछ, उनीप्रति सच्चा सम्मान हुनेछ ।’ त्यस्तो राज्य स्थापनाका लागि सबैलाई उनी सक्दो प्रयास गर्न अनुरोध गर्छिन् । त्यस्तो राज्यमा मात्रै महिला स्वतन्त्र हुन सक्ने, हिंसा खेप्न नपर्ने नीलमलाई लाग्छ । 

भोजपुरमा जन्मिएकी योगमायाले समाजमा व्याप्त असमानता, विभेद र राजनीतिक निरंकुशताविरुद्ध जुद्धशमशेरलाई भेटेर कुरा गरेकी थिइन् । उनले परिवर्तनको माग गरेकी थिइन् । तर, उनले भनेजस्तो भएन । योगमायाले आफ्ना अनुयायीसहित अग्निदाहको योजना बनाइन् । त्यो सफल भएन । अग्निदाहको योजना असफल भएपछि उनले केही सहयोगीसहित अरुण नदीमा जलसमाधि लिएर परिवर्तनका लागि जीवन त्याग्ने निर्णय गरिन् ।

आफ्नो ऐतिहासिक उपन्यास ‘योगमाया’ को मुख्य पात्र योगमायालाई नीलम निर्भिक, स्वाभिमानी र आँटिली महिलाको उपमा दिन्छिन् । ‘निरंकुशता, अन्याय र अत्याचार विरुद्ध ज्यान आहुति गर्ने उनी शहीद हुन्, राष्ट्रको गौरव हुन्,’ नीलमले योगमायाको सरल परिचय दिइन् । 

पात्र र विषय सम्झिँदा 

अहिले नीलम अमेरिकामा छिन् । पराइभूमिमा बसेर आफ्नो देशका पात्र र पृष्ठभूमिमा कलम चलाउन कठिन हुने महसुस गरेकी छिन् उनले । स्थलगत अध्ययन गर्नुपर्ने विषयमा झनै गाह्रो हुन्छ । पटक पटक त्यस ठाउँमा पुग्ने रहर र आवश्यकता टाढा हुँदा सम्भव छैन । योगमाया लेख्नुअघि योगमायाको अध्ययन गर्न उनी केही समय नेपाल बसिन् । अनुसन्धान पूरा भएपछि मात्रै उनले उपन्यास लेख्न सुरु गरिन् । 

लेखनका लागि आवश्यक पर्ने एकाग्रता भने नीलमलाई विदेशी भूमिमा मिलेको छ । भन्छिन्, ‘तन अमेरिका भए पनि, मन नेपालमै छ ।’ नेपालका विषयवस्तु र पात्रहरूले लेख्नका लागि उनलाई प्रेरित गर्छन् । कहिले काहीँ त उनी आन्दोलित हुन्छिन् । मनमा थुप्र्रै विषय एकोहोरो दौडिन्छन् । पात्रहरू तँछाड मछाड गर्दै आउँछन् । नीलमको मानसपटलमा केही त्यस्ता विषय र सन्दर्भ छन् । उनी तिनलाई आउँदा दिनमा तिनका कथामा उतार्ने सोचमा छिन् । 

पद्मश्री पुरस्कार प्राप्त कृति चीरहरण भने वर्षांैदेखि सोचेको विषयवस्तुमा आधारित कृति हो । ‘चीरहरणको विषय वर्षौदेखि मानसपटलमा थियो, व्यस्तताले लेख्न भ्याएकी थिइनँ ।’ चीरहरणको रचनागर्भबारे उनले सुनाइन् ।

नीलमको लेख अझै खारिँदै र चम्किँदै जाओस् । हार्दिक शुभकामना ।  


Views: 426