25th June | 2019 | Tuesday | 11:53:14 AM

एउटा दुर्घटनाले दिएको पीडा

सरिशा अछामी   POSTED ON : मंसिर २७, २०७५ (२:०८ PM)

एउटा दुर्घटनाले दिएको पीडा

 म माइक्रोको पखाईमा थिए । आज मलाई अलि हतार थियो । दैडिएर जान सक्ने अवस्था र समय दुबै थिएन । हातमा फोन थियो । कोहीसंग बोल्न मन थिएन । सायद बोल्ने पनि कोही थिएनन् । हातमा फोन हल्लाउँदै माइक्रो आउने बाटो तिर आँखा तान्दै थिए । हतार भएको बेला माइक्रो के आइदिन्थ्यो र!

 म लगभग एक घण्टा अघिदेखि माइक्रो पर्खिरहेको थिए । टिचिङको माइक्रोबस रोक्ने स्थानमा । दुई बज्न लागिसकेको थियो । दुई बजे मध्यबानेश्वर पुग्नु थियो । जहाँ मेरो कार्यस्थल थियो । हतारको समयमा केही कुराले पनि साथ दिँदैन । यस्तै यस्तै मेरो मनमा खेलिरहेको थियो । वरपरका मानिसहरु पनि गाडी नआएर छट्पटिदै थिए । मलाई मात्र होइन सबैलाई हतार थियो । आफ्नो आफ्नो गन्तव्यमा पुग्नको लागि ।

 म एकोहोरो भएर आफु भित्र नै हराउँदै थिए । छ्या! समयमा पुग्न पनि सकिँदैन । यहि कुराले रीस उठेको थियो । आफुसंग सवारी साधन नभएका कारण झन आफैसंग यति रीस उठेको थियो । आफ्नो हातको औंलालाई कसेर मुठ्की बनाउँदै रीसलाई शान्त बनाउन कोशिस गरे । तर, रिसलाई सम्हाल्न गाह्रो भयो । आँखा बन्द गर्दे मनमनै घरमा ममि र बाबालाई गालि गरे । किनकी बाबाले स्कुटी लिईदिन्छु भन्नु भएको थियो । मम्मीले हुन्न, तपाईकी छोरी जिद्धी छे, रिसाएको बेलामा एउटा बस मुनी लगेर हाली दिन्छे । ममिको यो एउटा कुराले गर्दा बाबाको मन एकै छिनमा परिवतन भई दियो । बाबाले मलाई सम्झाउँदै भन्नुभएको थियो –छोरी बसमा नै यात्रा गर बरु म तिमीलाई लाग्ने भाडा भन्दा दोब्बर दिन्छु भन्दै फकाउनु भएको थियो । त्यो दिन बाबासंग मलाई रीस उठेन । ममिसंग धेरै रिस उठ्यो । ममिको कारणले गर्दा नै बाबाले स्कुटी नकिन्दनु भएको हो । कति पटक बाबाले स्कुटी किनदिने कुरा गर्दा बाबा र ममिको झगडा समेत भएको थियो । बाबाले मेरो दैनिक यात्रामा पुगेको असहज देख्नु भएको थियो ।  ममिको कारणले गर्दा नै मैले यस्तो दुख पाएको भन्दै सबै रीस ममिमा नै थुपारिदिएँ । लामो सास फेर्दै आँखा विस्तारै खोल्दै आफुलाई सम्हाल्ने कोशिस गरे । ममीलाई के थाहा ? हामीलाई कलेज जान काम गर्न स्थानमा जानको लागि दैनिक यात्रा गर्दा कस्तो हुन्छ भनेर मनमनले फेरी गाली गर्र्र्दै थिए । एक्कासी मेरो नजिकै कसैको ठुलो स्वरमा ममि भनेर चिच्चाएको आवाज आयो । एक धुनमा थिए म झसङग भएछु । मेरै अगाडि लगभग २८ /२९ वर्षको महिला चिच्चाएर रुँदै सडकको पेटिमा नै लडीबुडी गर्न थालिन् । उनी कहाँबाट त्यहाँ आइपुगेकी थिइन् । उनि रोएको सुन्दा म आत्तिए । उनलाई उठाउन जान तिर होइन । म डराउन तिर लागे । मेरो मुटुको धड्कन तिव्र भयो । के गरौं के गरौं भनेर सोच्दै थिए । एकैछिनमा ट्याक्सीबाट ३ जना महिला झरे । उनीहरुलाई देखेर ती महिला झन आत्तिदै रुन थालिन् । म हेरिमात्र रहेँ । सडकको पेटीमा रुँदै गरेको महिलालाई सम्हाल्न तिर कोही लागेन । ट्याक्सी झरेको महिलाहरु पनि झन जोड जोडले रुन थाले । साह्यै पीडा भएको हुँदो हो, तिनलाई । सडकको पेटीमा लडेको महिला आफ्नो दुबै हातले छातिमा मुड्कीले हान्दै मेरो बाबा नी भन्दै झन चिच्चाउन रुन थालिन् । केही महिलाहरु उनीलाई सम्हाल्न तिर लागे । रुवाईको गति तिव्र थियो । वरीपरी भएका सबैको आँसु झरिरहेको थियो । सबै सडकको पेटीमा लड्ने महिलाको आफन्त हुनुपर्छ, मलाई त्यस्तै लाग्यो । एकाएक रुनेको संख्या बढ्दै गयो । साना नानीहरु देखि लिएर महिला, वृद्धा समेत थिए । गन्तिमा १२ /१५ जना एकैछिनमा जम्मा भए ।

सबै एक अर्काेलाई अङगालो हाल्दै रुन थाले । चिच्चाई चिच्चाई रोएको दृश्य देखेर हेर्ने मानिसहरुको एकै छिनमा भिड लाग्यो ।  टिचिङको पछाडि पट्टीको कान्ति बाल अस्पताल अगाडिको बाटोबाट एम्बुलेन्स ठुलो स्वरमा साइरन बजाउँदै भिड तितरवितर पार्दै छिर्यो । मानिसहरु एम्बुलेन्सलाई बाटो छोड्न थाले । पेटीमा लडेको महिला भने एम्बुलेन्सको पछाडि दैडिन लागिन् । मेरो बाबु भन्दै । उनलाई समाल्न तिन दुई चार जना महिला पछि लागे । उनलाई समाल्न गएका महिलालाई पछार्दै ती महिला दैडिन थालिन् । वरपरका मानिसहरुकोे उनलाई समात्न साथ दिए । कोही रुर्दै अस्पतालको भित्ता तिर फर्किन थाले । केही महिलालाई सम्हाल्न तिर लागे । संहाल्न सक्ने अवस्था नै थिएन । एक्कैछिनमा ती महिला बेहोस भएको जस्तो देखिन् । कोही उनीलाई पानी झर्किन थाले । कोही कागजको कुटले उनलाई हम्किन थाले । धेरै मनिसहरु जम्मा भएका थिए त्यहाँ ।

यतिकैमा भिडको एक साइटबाट एउटा आवाज आयो । विचरा भर्खरको थियो रे ! म त्यहि आवाज तिर केन्द्रित भए । २५ वर्षको मात्र थियो रे ! वाईक चलाउन थालेको दुई तीन महिना मात्र भएको थियो रे भिडमा यस्तै कुरा हुँदै थियो । ला ! के भएको रहेछ । मलाई पनि बुज्न मन लाग्यो । म भिडको कुनामा भएको कुराकानी तर्फ मोडिए । बिहान अफिस जाने क्रममा दुर्घटना भएको रे । स्कुलमा पठाउनु हुन्थ्यो रे पढाउनको लागि जाँदै हुनुहुन्थो रे टिफरले हान्यो रे । हतार हतारमा नुवाकोटबाट टिचिङ्ग अस्पताल ल्याएको रे । ती मृतक ती दिदीको एक्लो भाइ रहेछ । सडकको पेटीमा सम्हालि नसक्नु भएको महिलालाई देखाउँदै अर्की उनका जानकार एउटी दिदीले भनिन् । बिचरा कसरी सहनु यस्तो अवस्थामा ? बाबु आमा घरमा बेहोस छन् रे ! आफन्त हुर्नुपर्छ । एकअर्कालाई संहाल्न होइन । सब चिच्चाउँदै रुन लागे । एम्बुलेन्समा भर्खर शव निकालिएछ । त्यसैले ती दिदी चिच्चाएर एम्बुलेन्सको पछाडी गएकी रहिछिन् । 

आजकालको केटाकेटी बाइक, स्कुटी पाएपछि हवाईजहाज नै पाएको जस्तो गरी कुदाउँछन् । कसैको ध्यान नै हुँदैन । सबारी साधन चलाउँदा । के गर्नु साधन नभए पनि नहुने भएपनि नहुने । सवारी साधन चलाउँदा तिव्र गतिमा चलाउनु हुन्न भन्दै एकजना पाको उमेरका मानिसले त्यसो भन्दै थिए ।  उनले फेरि थपे, ‘दुर्घटना हुँदा एक व्यक्तिको सास मात्र जाँदैन । एक परिवार, बाबु आमाको काख खाली हुन्छ । एक दिदि बहिनी तथा दाजुभाईको निधार खाली हुन्छ । खुशी सुख सबै हराउँछ ।’ 

उमेरले ६० नाघेका ती बुवाको कुरा सुन्दै म पनि गह्यौ मन लिएर आफ्नो गन्तव्य लाग्नुको विकल्प थिएन मसँग । अनि, अहिलेका युवा किन सवारी साधन चलाउँदा ध्यान दिएर चलाउन सक्दैनन् ? मनमनमा प्रश्न गर्दै आफ्नो आँखामा आएको आँसुलाई भित्रै दबाएर म पनि भिडबाट बाहिरिए । 


Views: 544

सम्बन्धित सामग्री:

बाको मनै चिराई

मुना दाहाल : असार ७, २०७६ (७:०६ AM)