22nd January | 2019 | Tuesday | 10:31:11 AM

कविता : विश्व बिराजमान छ

मुना दाहाल   POSTED ON : Saturday, 15 December, 2018 (5:06:59 PM)

कविता : विश्व बिराजमान छ

बतासे फुलबाटै उछिटिएका 

चराका बचेराहरू 

कहिलेकहीँ समय नपुग्दै 

डिम्बाभित्रबाटै फुत्किएका पखेटाहरू 

फटफटाउँदै धर्तीको कोलाहल निमोठ्दैछन्

लुटिदैछन्,

शितका लहरहरूलाई छुनै नपाई 

रविको छविमा लुक्नै नपाई 

ममताको आँचलमा बेरिँदै लुकामारी खेल्नै नपाई

गोधुँलीको पहेँलिँदै आएको क्षितिजमा नाच्नै नपाई

धर्तीभित्रै कता हो कता बिलिन हुँदैछ 

अत्यासिलो र उराठिलो बन्दै छ 

करोडौं सूर्यको तापिलो किरणभन्दा 

बढ्ता राप चढ्दैछ 

आरनमा खलाती चलाउँदा चलाउँदै 

निस्किएको ज्वालाबाट 

फलामलाई रातो र तातो पार्दै 

घनले ठोकीठोकी आकार दिने समयमा 

पानीभित्र डुबुल्की मारिदिँदा 

आकारविहीन 

जस्ताकोतस्तै हुँदैछ

तातोरातो भएको सममयमा 

आरनवालाको इच्छा मुताविकको 

आकारमा बाध्यतावश ढल्नुछ उसलाई

आफूभित्रै विश्व बिराजमान भई 

उभिएको समयमा   

आफैँभित्र रमाउँदै त्यसैभित्र हराउँदैछ

आफ्नै रवाफमा 

जलपधारी चम्किला रत्नहरू 

आँखाभित्र भ्रमका रमिता बनाउँदै 

छाडा छोडिएका साँढेहरू सडकभरि 

हुंकार दिँदै हिडेका छन्

उस्तै फेरि उस्तै, 

बतासे र म्याद गुज्रेका डिम्बाहरूको 

हुलले विध्वंश मच्चाउदैछ ।

खोलिएर फुटेका डिम्बाहरू छताछुल्ल हुँदै 

दूर्गन्ध फैलाउँदै माखाहरू भुनभनाएका छन् 

कसैलाई दुर्गन्धले प्रभाव पारेको छैन ।

नाङ्लो ठटाएर हात्ती तर्साउँन खोजिँदैछ । 

तर, बडेमानको यो हात्ती 

तर्सिंदैन कसैको नाङ्लाको आवाजले 

उनीहरू बढेमानको हात्तीको 

टाङमुनि बसेर 

आफ्नै अस्तित्व मेटाउन 

कुखुराका खोलिएका डिम्बाका 

खपटाहरू समेटी चाङ लगाउन

व्यस्त छन्, तल्लीन छन्  ।



Views: 181