22nd January | 2019 | Tuesday | 9:31:54 AM

शिक्षाले दिएको परिवर्तन

सविना कार्की   POSTED ON : Wednesday, 19 December, 2018 (7:14:50 PM)

शिक्षाले दिएको परिवर्तन

कल्पना गाउँमा जन्मिन् । गाउँको खोला, नाला, पाखा, पखेरा, छाँगा, छहरामा खेल्दै प्रकृतिसँग रमाउँदै आमाको काखमा हुर्किन्  । उनको परिवारमा एक छोरी मात्र भएकाले उनका बाबुआमाले छोरी पनि छोराभन्दा कम हुदैँनन् भन्ने गर्थे ।

कल्पना बुबा रातोदिन पसिना बगाएर खेतमा काम गर्नुहुन्थ्यो । उनको एउटै इच्छा थियो–  छोरीलाई राम्रो पढाउने र भविष्यमा नर्स बनाउने  । गाउँका सबैले छोरा जन्माउनुपर्छ भन्दा पनि उनले छोरी नै मेरो लागि छोरा सम्मान हो भन्ने गर्थे । मलाई यसले नै पाल्छे, भन्थे । सानैदेखि भविष्यमा बुबाआमाको लागि केही गर्नुपर्छ भन्ने उच्च सोच राख्ने कल्पना हुने विरुवाको चिल्लो पात झै थिइन् ।

कल्पना सोच्ने गर्थिन् बुबाले मेरालागि गर्नुभएको कडा मेहनतको उच्च सम्मान गर्छु । रात दिन खेतीपाती गरेर पनि मेरा बुबाले दिनु भएको खुशी कहिल्यै भुल्ने छैन ।

उनी करिब सात वर्षको थिइन् । एक दिन कल्पनाका बुवालाई हर्ट अट्याक भयो। गाउँको ठाउँ अस्पताल थिएन । कल्पनाको बुवाको यसैको कारण निधन भयो । कल्पना आफू अहिले पनि सम्झन सक्दिनन् त्यो कारुणिक घटना । 

बुबाको मृत्युपछि पारिवारिक जिम्मेवारी कल्पनाकी आमाको काँधमा पर्यो । गरिवी भित्रको पीडासँगै अब उनीहरु सहारा विहिन हुन पुगे । जिनेतिने कल्पनाकी आमाले बुवाको अभाव हुन नदिन अनेक प्रयत्न गर्थिन । तरपनि कहाँ उनलाई आरक्षण मिल्थ्यो र बाबाको छत्रछायाँको । समाजले नै उनीहरुलाई हेप्ने, पेल्ने र सधै निमुखो व्यवहार गर्न थाले ।

बेला बेला कल्पना बुवाको अभावमा बिचलित हुन्थिन् । पुराना कुराले उनलाई घोचिरहन्थ्यो । केही समय अघि बाबाले हात समाएर डोर्याएको, हाटबजारबाट फर्किदा सधै पैसा भए नभए जसरी पनि मिठाइ–चकलेट मात्र होइन कल्पनालाई मन पर्ने चिज किनेर ल्याइदिएको ।

 हरेक बुवाहुँदाका परिघटना कल्पनालाई ताजै छन् । सानो उमेरमा बुबालाई गुमाउँदा मन कसको नरोला र ? तर, आमाको छेउमा उनी कहिल्यै दुखी भइनन् । आमाले उनलाई कहिल्यै बुबाको याद बल्झाउनु भएन । सन्तानको नाममा उनी एक्ली छोरी थिइन् । तीन जनाको उनको परिवार बुबाको मृत्युपछि आमा–छोरी मात्र भए । आमाले सधै भन्नुहुन्थ्यो, ‘छोरी राम्रो पढ्नु, ठुलो मान्छे बनेर सबैको सेवा गर्नु है ।’ 

निमुखाको को नै होला र ? समाजबाटै हेलित हुनुपर्ने । त्यहाँमाथि उमेरमै विधुवा हुन पुगेकी एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण नै बेग्लै । कोहीसँग बोल्नै नहुने, बोलोकी बात लागि हाल्ने । एकल महिलालाई हरेक घरव्यवहार सञ्चालनका लागि कसैन कसैको साथ चाहिन्छ । यसैलाई निहुँ बनाएर समाजले उनलाई बात लगाउछ । यही नै हो हाम्रो समाजको विडम्बना । 

दुख सुख जिविको पार्जन गर्दै गरेका कल्पनाका आमा र उनलाई गाउँमा गलत हल्ला चलाइयो । कल्पनाकी आमा त्यतिबेला तीस वर्षकी थिइन । बुबाको मृत्युपछि  गाउँका सबै मिलेर उनकी आमालाई अर्को बिहे गर्न सल्लाह दिए ।

आमालाई कल्पना धेरै सम्झाउथिन् ! आमा म छु ! म पाल्छु !बाबाको सपना पूरा गर्न तपाईँ मेरै साथमा हुनुपर्छ ! तपाईलाई छोडेर म कहिल्यै काहिँकतै जादिन, बुढेसकालको सहारा सम्झनुस् मलाई ! बिन्ती गर्छु, छोडेर नजानु, मैले रुदैँ भने । कल्पनाका यी विनयी वाक्य थिए प्राय सधैं आमालाई भन्ने ।

आमाले उनको अनुरोधलाई मनमनै सोच्नुहुन्थ्यो । सायद यहि सोच्नुहुन्थ्यो होला, ‘अझै लामो समय छ, कसरी एक्लो भएर बाँच्ने ।’ छोरी हो एक दिन पराई घर गईहाल्छे, उसकै संसार बन्ला त्यो बेला म कसको सहारामा बाँच्ने ?’

कल्पना दिनाँनुदिन हुर्कदै छिन् । अब त बिहान बेलुका आमालाई सहयोग गर्ने भइसकिन् ।  पठाईमा पनि उनी अब्बल थिइन् । प्राय कक्षामा पहिलो हुन्थिन् ।

एक दिन स्कुलमा नतिजा सार्वजनिक भएपछि उनी दौडिएर घर आइन् । खाजा पनि नखाई बाबाको तस्वीरमा हेरेर आफ्नो खुसी  साट्थिन । अनि मनै मनै कल्पना कल्पना गर्थिन् , ‘आज मेरो बाबा भइदिएको भए उहाँ कति रमाउनु हुन्थ्यो होला ।’

दिनचर्या त्यसरी नै बित्दै गयो । विं.सं २०६५ सालमा एस.एल.सी परीक्षा दिइन् । उनी एसएलसीमा जिल्लाकै प्रथम भइन् । उनको यस नजिताको श्रेय उनकी आमा नै हुन् । नतिजा राम्रो आएपछि उनकी आमाले उनलाई राजधानीमा नर्सिङ पढ्न पठाउने निर्णय गर्नुभएछ । तर उनी आमालाई एक्लै छोडेर राजधानी जान चाहन्न थिइन् । 

एकदिन अचानक आमाले उनलाई भन्नुभयो, ‘छोरी तिमी बुबाको र मेरोलागि छोरा नै हौ, तिमी नर्स बन्नैपर्छ, यहाँ जतिसुकै चुनौती आएपनि म सहुँला पढ्न जाऊ, छोरी ।’ 

रातको समय थियो । उनी ओछ्यानमा पल्टिइन ! उनी मलिन हुँदै सोच्न थालिन् । एक्ली आमाले यति धेरै खसी, बाख्रा, गाइलाई कसरी हेर्नुहुन्छ होला । धेरथोर भएपनि खेतबारी पनि छ, बाँझो राख्नु भएन । उनी पटकपटक सोच्न थालिन् त्यै पनि निर्णय लिन उनलाई गाह्रो भयो । मरेका बाबुको इच्छा मात्र होइन, कल्पनाको पनि इच्छा थियो नर्स बनेर बिरामीको सेवा गर्ने । सोच्दा सोच्दै बिहान भइसकेछ । पल्लाघरे काकीलाई आमाको ख्याल गरिदिन आग्रह गर्दै उनी पढाइका लागि राजधानी आउने अठोट गरिन् । राजधानीमा उनले कसैलाई चिनेको थिइनन् । कहाँ जाने, के गर्ने कहाँ बस्ने एकदमै चिन्ता हुन थाल्यो । 

घरबाट हिड्ने दिन । आमाले उनलाई पटुकीमा खोतल्दै पाँच हजार रुपैँया हातमा राखिदिनुभयो । उनी आमालाई छिट्टै फर्किने बाचा गर्दै घरबाट निस्किन् । राजधानी आएपछि केही दिन होटलमै बसिन । केही दिनको खोजाई पछि जसोतसो उनले एउटा कोठा भेटिन् ।

एकदिन उनले आमालाई फोन गरेर भनिन्  आमा पैँसा सकियो, कलेज पढ्न धेरै पैँसा लाग्छ रे म पढदिन ल ? पैसाको अभाव भन्दा पनि उनलाई आमाको यादले सताउन थाल्यो । भकानिदैँ फेरि उनले भनिन् ‘आमा म गाउँ आउँछु एक्लै बस्न गाह्रो भइरहेको छ ।’ आमाले मलाई शान्तावना दिँदै भन्नुभयो ‘केही समयमै पैंसा पठाइदिन्छु, चिन्ता नलिइ बस्नु ।’ 

घरमा आम्दानीको स्रोत थिएन । आमाले कसरी पैंसा पठाउन सक्नुहुन्थ्यो र ! उनी फेरि सोच्न सोच्न थालिन् । तर, आमाले उनलाई महिनैपिच्छे पैंसा पठाउन थाल्नुभयो । उनी नर्सिङ पढ्नका लागि मेडिकल कलेज भर्ना भइन् । कलेज जाँदा साथीहरु सबैजना चिटिक्क परेर आउथेँ, उनी सधै साधारण भएरै जान्थिन् ।

सुरुमा उनी सँग साथी बन्ने कोही थिएनन् । अझ गाउँले, पाखे भन्दै गिज्जाउथे । जब उनी नतिजामा कक्षाकै पहिलो छात्रा भइन् त्यसपछि सबैजना उनी सँग साथी बन्न आउन थाले । उनले सोचिन् ‘सफलताको पछि लाग्ने धेरै हुँदा रहेछन् ।’

त्यसपछि साथीसँगै कलेज जाने, कोठा आउने, घुम्न जाने गर्न थाले । साथीहरु सबैको घर काठमाडौंमै थियो । उनीहरुलाई केही कुराको पनि आवश्यक थिएन । तर, उनी जब केही खाँचो पथ्र्यो, आमालाई फोन गर्न थाल्थिन् ।

उनी समयसँगै परिवर्तन हुँदै गईन् । बिस्तारै अरुको नक्कल गर्ने बानी पर्यो, हुँदाहुदै कसैको मायाको आवास हुन थाल्यो । सानैमा बुबा बित्नुभयो, आमाको मायाबाट टाढा भएर बस्नथालेको केही दिनमै उनी अरु कसैसँग नजिक हुन थालिन् । 

उसले पनि उनलाई धेरै माया गथ्र्यो । कलेज सँगै पढ्ने भएर होला उनीहरुको सधै भेट हुन्थ्यो । उसको मायामा कल्पना साँच्चनै हराउन थालिन् । आमाको सपना तथा उनको जिम्मेबारीलाई उनले भुल्न थालिन् । कसैको मायामा कल्पना यति सम्म हराइन की गाउँमा भएको आमालाई समेत विर्सिन थालिन् ।

त्यसपछि उनले पढाइतिर खासै ध्यानदिन छोडिन् । उनलाई पढ्न मन लाग्न छोड्यो । द्धितिय वर्षको नतिजा आउँदा उनी फेल भइन् । त्यसपछि उनलाई झनै पढ्न मन लागेन । बिचमै कलेज जान छोडिन । कलेज जान छोडेपछि अरु के गर्ने ? एउटै बिकल्प थियो बिहे गर्ने ।  एकल निर्णयमा उनीहरुले विहे गरे ।

विहे पछि एकदिन कल्पना आफ्नो दुलाहालाई लिएर आमालाई भेट्न गाउँ गइन् । ज्वाईसँगै लिएर जाँदा आमा खुसी हुनु होला भनेर कल्पनाले सोचेकी थिइन् । हेर्दा पनि लरक्क परेको उनको दुलाह । गोरो अग्लो, देख्दै शालिन परेको दुलाह लिएर कल्पना आफ्नो बाल्यकाल गुजारेको डाँडापाखा हुँदै माइति घर लागिन् । 

घर पुग्दा आमा एक्कासी रुन थाल्नुभयो । उनले सोचिन आमाको त्यो आँशु पक्कै पनि खुसीको आँशु हो । तर, आमा साँच्ची नै भावविह्वल हुनुभयो । गाउँका सबै मानिसहरु एकाएक भेला हुन थाले । 

घरभित्र पस्नुअघि गाउँलेले उनलाई प्रश्न गरे, ‘के थर हो केटाको’ उनले भनिन्, ‘नेपाली’  गाउँका सबैले एउटै स्वरमा भन्न थाले, ‘घरमा पस्न दिनुहुन्न’ । गाउँलेले उनकी आमालाई भन्न थाले यदि तिमीले छोरी ज्वाईलाई घर भित्र पस्न दिए तिम्रोमा हामी पानी समेत खाँदैनौं । उप्रान्त तिमीलाई परिआएको सरसहयोग समेत नगर्ने गाउँले चेतावनी दिए । 

कल्पनाले सबैलाई सम्झाउन थालिन् । तर त्यहाँ उनकोे कुरा सुन्ने कोही थिएन  उल्टो उनलाई एकाएक भन्न थाले, ‘सहर पसेपछि ठुली भइस्’ बाबुआमाको दुख, पसिना र मेहनतलाई एकपलमा भुलिस् ।’ समाजको त के बाबु आमाको नाक सम्म राख्न सकिनस् ।’

यति सुनेपछि कल्पना घरभित्रै नपसी सहर फिर्ने भन्दै दुलाहलाई लिएर हिडिन् । 

समय निमेश सेकेण्ड, मिनेट घण्टा गरी आफ्नो पथमा दौडिरहेछ । कल्पना सहरमा पुगेर मेहनतका साथ पुनः नर्सिङको पढाई सुरु गरिन् । नभन्दै उनले नर्सिङमा नेपाल टप गरिन् । उनको अठोट मुताविक उनले आफ्नै जन्म गाउँमा सेवा गर्ने उद्धेश्यले आमा भएको गाउँमा गएर सरकारको स्वीकृतिमा स्वास्थ्य चौकी स्थापना गरिन् । उनका हरेक कामालाई नजिकबाट उनका श्रीमानले साथ दिने गरेका थिए । दुबै मिलेर त्यस गाउँमा स्वास्थ्य सेवा पुर्याएका थिए । तर उनी आफ्नो माइती घरमा भने जाने गरेकी थिइनन् । जाउन पनि कसरी यदि उनी आमाको घरमा गइन भने गाउँलेले उनकी आमालाई काढ्ने चेतावनी दिएका थिए । उनी आमाको त्यो दुर्दशा देख्न चाहन्न थिइन् ।

 विरामी गाउँलेलाई सेवा प्रदान गर्दै गइन् । एक दिन दुर्गम गाउँमा सेवा गरे वापत सरकारले उनलाई सम्मानको कार्यक्रमको आयोजना गरेको थियो । त्यस अवसरमा उनको आमालाई समेत निमन्त्रणा गरिएको थियो । तर, अफ्सोच आमा र उनको बर्षौदेखि बोलचाल भएको थिएन । तर त्यो दिन उनकी आमा समेत छोरीको प्रगति नजिकबाट नियाल्न आएकी थिइन् । 

कार्यक्रममा कल्पनाको खुब तारिफ भयो । उनलाई घरभित्र पस्न नदिने केही ब्यक्तिकै अघिल्तिर दुर्गम गाउँमा स्वास्थ्य सेवा प्रदान गर्ने कल्पनाले राज्यका उपल्लो तहका ब्यक्तिबाट प्रशंसा पाइन् ।  उनको चौतर्फी गुनगान भयो । राष्ट्रिय अखवारले उनको त्यो सम्मान पाएको खवर र उनले पुर्याएको सेवाको समर्थनमा अखवार बनाए । देश तथा विदेशमा समेत उनको चर्चा भयो । गरिव दुखि जनताप्रति स्वार्थरहित सेवा पुर्याए बापत एक दिन उनी विश्व प्रशिद्ध पुरस्कार ‘सिएनएन हिरो’ बाट समेत पुरस्कृत भएसँगै के गाउँ के सहर सबैतिर उनको चर्चा भयो । हिजो घर भित्र पस्न बञ्चित गर्ने गाउँलेहरु गल्ति स्वीकारगर्दै क्षमा माग्न थाले । उनीहरुकै पहलमा कल्पना र उनको श्रीमानको हिन्दु संस्कार मुताविक विवाह समेत भयो । गाउँलेकै अगुवाईमा कल्पनाकी आमा र कल्पनाको पुनर्मिलन गराए ।


 


Views: 320