24th March | 2019 | Sunday | 8:27:41 AM

ढल्दो उमेरको बढ्दो तृष्णा, सेवामा तल्लीन मित्रसेन

विनोद दाहाल   POSTED ON : पुष २१, २०७५ (९:०७ AM)

ढल्दो उमेरको बढ्दो तृष्णा, सेवामा तल्लीन मित्रसेन

उनी संयोगले काठमाडौंस्थित सरस्वतीनगरकै घरमा भेटिए । आजकाल उनी धेरैजसो लप्सेफेदीको ‘जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम’ मा बस्छन् । यसै साताको एकदिन साँझ सात बजे उनको निवासमा पुग्दा उनी कोठामा कुनै काममा तल्लीन थिए । उनका लागि यो सामान्य हो । आश्रम निर्माण क्रममा राति ९ बजे प्रायः मान्छेको सुत्नेबेला भइसक्दा पनि उनलाई फोन गर्दा लप्सेफेदीमै हुन्थे । सुत्न राति ११ बजेतिर सरस्वतीनगरस्थित घरमै आउँथे । 

उनका कोठाका भित्ताभरि तीन–चार हजारको संख्यामा अतिथि ब्याच टाँगिएका छन् । अहो ¤ कति धेरै कार्यक्रममा सहभागी हुँदारहेछन् ¤ उनी मिर्गाैला प्रत्यारोपण गरेका व्यक्ति हुन् । योबाहेक पनि शरीरमा अनेकथरि रोग छ भन्छन् । खानपानमा पथ परहेजमा रहनुपर्छ । समाजसेवाका काममा व्यस्त रहँदा आफू रोगी छु भन्ने बिर्सिन्छु भन्छन् । 

उनी अर्थात् समाजसेवी मित्रसेन दाहालको शारीरिक, मानसिक व्यस्तता र सोच साँच्चै अनौठो छ ।

चियासँगै हाम्रो अन्तरंग सुरु हुन्छ । जयप्रसाद दाहाल र डम्बरकुमारीका काहिँला छोरा मित्रसेन अहिले आफ्नो पहलमा बनाएको मैत्री आश्रममा ज्येष्ठ नागरिकको व्यवस्थापनका काममा व्यस्त छन् । लेखनका केही काम पनि गर्दैछन् उनी । कर्मयोग, ज्ञानयोग र भक्तियोग उनको उनको मार्ग दर्शन हो । 

मित्रसेन सानैदेखि समाजसेवा गर्न चाहन्थे । पूर्वीय संस्कारमा समाजसेवाको ठूलो महŒव देखेका रहेछन् उनले । सेवा हराउँदै गएको र बचेकामा पनि विकृति थपिएको देखेर उनलाई चिन्ता लागेको छ । ‘मातृ, पितृ, गुरु, अतिथि देवो भवः’ पनि हरायो । संयुक्त परिवार खण्डित हुन थाल्यो । आमाबाबु पाल्ने संस्कार हरायो । बूढाबूढीहरू एक्लिन थाले । उनीहरूले आदर सम्मान र माया पाउन छाडे । यही परिवेशले सम्पूर्ण सुविधासहितको आश्रम बनाउने सोच उनमा आयो । पुस्तकालय, अस्पताल, ध्यानकेन्द्र लगायत सुविधा भएको नमुना आवासको परिकल्पना गरे उनले । त्यही परिकल्पनाको साकार रूप हो ‘जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम’ ।

मित्रसेनले आफ्ना पिताका नाममा स्थापना गरेको जेपी प्रतिष्ठानले नेपाल सरकार र नेपाली सेनासमेतको सहकार्यबाट काठमाडौंको शंकरापुर नगरपालिकास्थित लप्सेफेदीमा उक्त आश्रम तयार गरेको छ । उनको सपना अलिकति साकार भयो । नेपाल सरकारको सार्वजनिक साझेदारीमा त्यहाँ साना ठूला १० वटा घर बनेका छन् । यसैगरी नेपाली सेनाको सहयोगबाट १० वटा साना र जेपी प्रतिष्ठानको पहलमा ११ वटा साना–ठूला गरी जम्मा ३१ वटा घर बनेका छन् । यो काम अझै पूर्ण भइसकेको छैन । ज्येष्ठ नागरिक व्यवस्थापनको काम बाँकी छ । दोस्रो चरणमा प्राविधिक काम भइरहेको छ । बाँकी भौतिक निर्माण आगामी वैशाखमा सुरु हुन्छ । 

अहिलेको मूल्यांकनमा एक अर्बभन्दा बढीको निर्माण कार्य भयो यो आश्रमका लागि । अहिले प्रतिष्ठानसँग ५३ रोपनी जग्गा छ । थपेर दुई सय रोपनी पु¥याउने लक्ष्य छ । सबै जग्गा किनेको हो, कसैबाट प्राप्त होइन । यो निकै दुरुह काम हो । अनेक समस्या झेल्दै पहिलो चरणको काम सम्पन्न भयो । आश्रममा अझै धेरै काम गर्नु छ । आश्रममा सुविधा थप्दै जानु छ । उनी यसमै तल्लीन छन् अहोरात्र । 

पूर्वी पहाडको एउटा मध्यम वर्गीय किसान परिवारका बाबुआमाका ६ जना छोरामा चौथो हुन् मित्रसेन । उनकी एउटी दिदी छन् । झापाका मीनप्रसाद खतिवडाकी छोरी शकुन्तलासँग बिहे गरेपछि श्रीमान्–श्रीमती समान धर्म–कर्ममा व्यस्त छन् । उनीहरूका एक छोरी एञ्जिला अनि दुई छोरा लवसेन र कुशसेन पढाइका सिलसिलामा विदेशमा छन् । दम्पतीले यहाँ ज्येष्ठ नागरिक सेवाका लागि फुर्सद पाएका छन् । उनले पुख्र्यौली सम्पत्तिमध्ये केही समाजसेवामै लगाए । 

समाजसेवा आत्मसन्तुष्टिका लागि गर्छु भन्छन् मित्रसेन । आफ्ना लागि त जसले पनि केही न केही गर्छ नै । अरूको भलाइका लागि पनि केही गर्नुपर्छ भन्ने सोचले डोहो¥याएर उनलाई यहाँसम्म ल्याएको हो । आफ्नै मन शुद्ध र चित्त चंगा पार्न आफू समाजसेवामा लागेको उनी बताउँछन् । हाम्रा शास्त्रहरूले पनि परोपकारलाई धर्म ठानेको छ । ‘सेवा हि परमो धर्म’ भन्ने शास्त्रोक्ति छ । यसैअनुसार मित्रसेन दिनरात तल्लीन छन् । सकारात्मक सोच छ । त्यसैले आफू रोगी वा बिरामी छु भन्ने उनी सम्झिँदैनन् । इच्छाशक्ति र क्रियाशीलता नै उनलाई नामजस्तै काम दिएको छ– मित्रसेन । 

मित्रसेन व्यवसाय, लेखन, राजनीति र समाजसेवाजस्ता विविधि क्षेत्रमा सक्रिय थिए । अहिले समाजसेवा बाहेकका क्षेत्रमा उनको सक्रियता कम हुँदै गएको छ । ‘निजी काम र स्वआर्जनका काम त्यागेँ’ भन्छन् । राजनीति पनि छोड्न चाहन्छन् तर यसप्रतिको तृष्णा बाँकी नै छ । राजनीति नीतिको पनि नीति हो । यो पनि समाजसेवा नै हो भन्ने उनको निष्कर्ष छ तर लोभ र लालचले हाम्रो देशको राजनीति बिग्रिएको हो भन्ने ठान्छन् । राजनीतिका विकृतिको शुद्धीकरणका लागि पनि आफूले राजनीति नछोडेको हुँ भन्छन् । साथीभाइको आग्रहले पनि उनलाई राजनीतिमा अल्झाइरहेको छ । यसो भए पनि उनलाई आफ्नो स्वभाव राजनीति लागि सुहाउँदो छैन भन्ने लाग्छ । भन्छन्, ‘वास्तवमा म राजनीतिज्ञभन्दा पनि समाजसेवी नै हुँ ।’ उनले विज्ञापन सेवा चलाए, प्रेस र सहकारी पनि चलाए । अहिले यस्ता व्यावसायिक काममध्ये केही छोडे र केहीमा निष्क्रिय छन् । धेरै संघसंस्थामा उनको संलग्नता छँदैछ । 

मित्रसेन नेपाली कांग्रेसले २०४२ सालमा चलाएको सत्याग्रहमा सहभागी भएर जेल पनि बसे । उनी डेढ वर्षजति जेल बसे राजनीतिक कारणले । विश्वका २५ राष्ट्र घुमेका छन् । आफ्नो देशका ५५ जिल्ला घुमेका छन् । 

उमेरले मित्रसेन ५६ वर्षका भए । उमेरसँगै अरू तृष्णा कम हुँदै गए पनि समाजसेवाको तृष्णा झन् खरो हुँदै गएको छ । 

मित्रसेन कलिलै उमेरदेखि लेखनमा लागे । उनको पहिलो पुस्तक २०४९ सालमा प्रकाशित भयो । यसपछिको उनको लेखन यात्रा निरन्तर छ । हालसम्म १५ वटा पुस्तक प्रकाशित छन् । उनले कविता, कथा, निबन्ध, चिन्तन र विचारमा कलम चलाएका छन् । नेपालमा विज्ञापन व्यवसाय सिद्धान्त र अनुभव, चिन्तन र अनुभूति, नेपाली कांग्रेसको पराजय ओखलढुंगाको सन्दर्भमा, समसामयिक चिन्तन प्रवाह, कथा र व्यथाको यात्रा, मिर्गाैला रोग र समाधान, स्मृतिमा केही व्यक्तिहरू, सममसामयिक विचार प्रवाह, कांग्रेस हिजो र आज, गाउँ बने शहर बन्छ (कविता संग्रह), सार्थक र समृद्ध जीवन, मान्छे बाँचिरहँदैन (कविता संग्रह), आमा (निबन्ध संग्रह) र चाँदनीको शहर (कथा संग्रह) प्रकाशित कृति हुन् । समसामयिकताभित्र मित्रसेन (अन्तर्वार्ता संग्रह) पनि छ । 

मित्रसेन राजनीतिबाट आफूले केही प्राप्त नगरेको बताउँछन् । भन्छन्, ‘१३ वर्षको उमेरदेखि निःस्वार्थ भावले राजनीतिमा छु तर केही प्राप्तिका लागि गरेको होइन र प्राप्ति केही गरिनँ ।’ उनी नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला कार्यसमितिको सचिव र महासमिति सदस्य भए । केन्द्रीय समितिमा सदस्यका लागि दुई पटक प्रतिस्पर्धा गरे तर पराजित भए । गतवर्ष प्रदेशसभा सदस्यका लागि कांग्रेसका तार्फबाट प्रतिस्पर्धा गरे । त्यहाँ पनि जितेनन् । यो हारले उनलाई खल्लो महसुस भयो । भन्छन्, ‘निर्वाचनमा पराजयको कारण वाम एकता त छँदैथियो तर योमात्रै कारण थिएन, आफ्नै पार्टीका जिम्मेवार साथीहरूले हराए ।’ 

मित्रसेन पार्टीमा पराक्रम गर्नेहरूभन्दा नेताको परिक्रमा गर्नेहरूको झुण्ड बलियो देख्छन् । यो सबै पार्टीमा छ । नेपालको राजनीति यसरी बिग्रिनुको कारण यही हो भन्छन् । कुनै गुट र उपगुटमा नलागेको हुनाले पार्टी केन्द्रीय समितिमा पराजित भएको उनको ठहर छ । तयारी पनि कम भयो भन्छन् । भन्छन्, ‘कुनै सूचीमा नाम लेखाएको भए मेरो विजय सुनिश्चित हुन्थ्यो । सूचीमा नाम नलेखाउने सबैको अवस्था यस्तै हुन्छ ।’ 

कांग्रेस पार्टी बिग्रिनुमा समूहगत र व्यक्तिगत स्वार्थको खेल देख्छन् मित्रसेन । भन्छन्, ‘पार्टीमा आफ्नो मान्छे खोजी भयो, पदहरू बिक्री भए, प्रजातन्त्र पुनस्र्थापनादेखि नै सही मान्छेलाई सही ठाउँ दिइएन, जसको जे क्षमता छ त्यसलाई त्यही ठाउँ दिनुपथ्र्यो तर त्यसो गरिएन ।’ कांग्रेसले त जहिलेजहिले सत्ता पायो तब त्यसको दुरुपयोग गरेको उनको ठहर छ । हतियार भएको र नभएको पार्टीको चुनावी प्रतिस्पर्धा कहीँ नभएको जात्रा थियो भन्छन् मित्रसेन । उनका विचारमा कांग्रेस पार्टी निकै बिग्रिसकेको छ तर सुधार गर्नै नसकिने होइन । सुधारका लागि आमूल परिवर्तन आवश्यक छ । आफूमात्रै हुनुपर्छ भन्ने अहंकार त्याग्नु अनिवार्य छ । हालै कांग्रेसको महासमिति बैठक भयो । यसले पनि कार्यकर्ता र नेताहरूमा ऊर्जा भर्न सकेन । व्यक्तिले होइन नीति र सिद्धान्तले पार्टी चल्नुपर्छ भन्ने उनको मान्यता छ । 

मित्रसेनलाई राजनीतिमा लागेर जीवन बरवाद गरिएछ कि जस्तो पनि लाग्छ कहिलेकाहीँ । त्यो समय र ऊर्जा समाजसेवामै लगाएको भए अझै बढी काम हुने थियो कि ¤ तैपनि उनलाई समाजसेवामा जति भएको छ त्यसमा केही सन्तोष अवश्य छ । उनी जुन परिवेशबाट यहाँसम आए त्यसको तुलनामा कम होइन जस्तो लाग्छ उनलाई । भन्छन्, ‘हामी कसैद्वारा बनाइएका होइनौँ, आफैँ बनेका हौँ ।’ उनलाई ईश्वमा पनि त्यतिकै आस्था छ । यहाँसम्म आइपुग्नमा भगवानको कृपा पनि हो कि जस्तो लाग्छ उनलाई । मैत्री सेवा आश्रमका माध्यमबाट देवऋण, पितृऋण, गुरुऋण भुक्तानी गर्ने उनको ध्येय छ । 

मित्रसेनलाई कसैप्रति केही गुनासो छैन । भए पनि कसलाई सुनाउनु छ र ¤

नेपाल धर्म, संस्कृति, देवदेवता, सगरमाथा आदिको देश हो । यी मौलिकताहरू गुम्दै गएजस्तो लाग्छ मित्रसेनलाई । आफ्नो मौलिकता जोगाउनु आवश्यक छ भन्छन् उनी । संस्कार र संस्कृतिको पुनर्जागरण आवश्यक छ । अहिलेको आयातीत शिक्षाका ठाउँमा मौलिक शिक्षा चाहिन्छ । 

मित्रसेन पार्टीका अग्रजहरूलाई भन्न चाहन्छन्– सन्ततिका लागि त्यागपूर्ण राजनीति आवश्यक छ । अनुजहरूलाई पनि अग्रजलाई सम्मान गर्दै आफूमा भएको क्षमता उपयोग गर्न उनको सुझाव छ । आधुनिक प्रविधिको सकेसम्म बढी उपयोगबाट लाभ लिन सक्नुपर्छ भन्ने मान्यता छ उनको । अबको नेतृत्व युवा पुस्ताले लिनुपर्छ । 

मित्रसेनको ध्येय छ– सकारात्मक बनौँ, सके समाज र राष्ट्रका लागि केही राम्रो काम गरौँ, नसके अरूलाई असहयोग नगरौँ । 

यही ध्येयले मित्रसेन आज यहाँ छन् जहाँ उनी छन् । 


Views: 107

सम्बन्धित सामग्री: