22nd January | 2019 | Tuesday | 9:58:27 AM

कविता : आपसमा भिड्दै छौँ

मुना दाहाल   POSTED ON : Saturday, 12 January, 2019 (5:53:22 PM)

कविता : आपसमा भिड्दै छौँ

एउटा विस्मृतिको चेतनाले

सामूहिक चिन्तनको अभावले

अनि सयौं हातले कमाएर

लाखौं हातले खाने भाँडो बनाइएको छ

बौद्धिकता र विद्वताको 

उद्घोष हराएको छ,

हातेमालो गर्दै एकजुट भई

कदम कदममा साथ दिनुपर्ने र

अघि बढ्ने अवस्थामा

भाइ भाइबीच,

अनास्था र अराजकताले 

जरो गाड्दैछ

परचक्रीझैँ एक आपसमा 

सत्तो सराप गर्दैछौँ

आफूले नै आफ्नालाई पराई देख्दैछौँ 

खेल्नेहरूले हामीमाथि 

विभेदको सिर्जना गरिदिएर

सम्प्रदायिक परिधि र विभन्नताको रेखा कोरिदिएर

भाइभाइमा लडाइँ गराउँदैछन्, 

भिडाउँदैछन्

उतातिर,

‘आर्जीमोना मेक्सिकाना’ हुर्केको देखिँदैछ

धेरै समय भएको छैन,

हामी नेपाल आमाका सन्तानबीच

आर्य अनार्यको विभेद बढेको बढ्यैछ

न्याय पाउने आशमा हामी 

नाटककारको इशारामा

राँके जुलुस लिएर सडकपेटीमा

चहारेका छौँ, चिच्याएका छौँ 

साम्प्रदायिक चिन्तनको विस्तार

मुलुकमा जातीय हिंसा जगाएर

मुलुकको अखण्डता लुट्दैछन्,

बुझ्नेहरूले बुझ पचाएका छन्, 

नबुझ्नेलाई हतियार बनाएर

वर्तमान राजनीतिक गतिविधिले

अराजक निम्त्याउने र 

गला रेट्ने स्थिति 

सिर्जना हुँदैछ

क्षणिक स्वार्थको वंशिभूत भई

छिमेकको इच्छापूर्ति हेतु

उतैका विकृति र विसंगति भिœयाउन

हामी तँछाड मछाड गर्दै

हरियो फाँटमा

डढेलो सल्काउन उद्धत छौँ

सप्तकोशी, गण्डकी र कर्णालीको 

स्वच्छ ,चपल छालमा

धवलागिरिको सफा सौन्दर्यमा

दूषित विकीरण फैलाउन

हामी लागिपरेका छौँ,

बेदनाको सुस्केरा पस्केर

एउटा विषाक्त संवेग बोकेर

अख्तियारी हत्याउन

राष्ट्रवादी नेपालीको आस्था विपरीत

अन्यौल र आशंकाको भुँमरी उब्जिँदैछ

सार्वभौमसत्तासँगै राष्ट्रको

मौलिक सामाजिक संरचना जोगाउने

विखण्डनको पाटोलाई गलहत्याउने 

समय आएको छ 

यक्ष प्रश्न चल्मलाएको छ ।   


Views: 102