25th April | 2019 | Thursday | 1:38:10 PM

युवा ऊर्जाकी गायिका ज्ञानु

रमा लुइँटेल   POSTED ON : माघ १२, २०७५ (८:१३ AM)

युवा ऊर्जाकी गायिका ज्ञानु

शनिबारका लागि के लेख्ने ? विषय टुंगो लागिसकेको थिएन । स्वर किन्नरी तारादेवीको सम्झनामा बुधबार आयोजना गरिएको कार्यक्रमको निम्तो थियो । त्यो कार्यक्रममा कोही पात्र भेटिन सक्ने सम्भावनासहित त्यहाँ पुगेकी थिएँ । निर्धारित समयमै त्यहाँ पुगेकी मैले धेरै पुराना तर ऊर्जाका आधारमा नयाँ जस्तै लाग्ने गायक गायिकाहरू भेटेँ । तारादेवीले गाएका गीत गाउँदै, शब्दमार्फत उनलाई सम्झिँदै उनलाई सम्झने फरक तरिका थियो उक्त कार्यक्रमको । उमेरले चाँडै ७० को दशकमा टेक्ने तरखर गर्दै गरेकी ज्ञानु राणा तारादेवीले गाएको यो गीत गाउने कार्यक्रम रहेछ । श्यामप्रसाद उपाध्यायको शब्द र नातिकाजीको संगीतमा रहेको उक्त गीतको बोल यस्तो थियो :

टाढाबाट बोलाएको तिमीलाई नै हो मैले 

वल्लो बाटो पर्खिएको तिमीलाई नै हो मैले 

माइक समातेर ज्ञानु राणाले गीतको माथिको हरफ के पूरामात्रै गरेकी थिइन्, मैले यो पटक उनैसँग भलाकुसारी गर्ने निधो गरेँ । उमेर ६७ वर्ष गायकी ऊर्जा युवावयको । ज्ञानुले कार्यक्रममा त्यही युवा ऊर्जामा गाइन् । ज्ञानुको त्यो ऊर्जा देख्दा लाग्थ्यो, उनमा तन्नेरी जोश अझै उस्तै छ । अन्य गायकगायिकाले पनि तारादेवीले गाएका अन्य गीत उक्त कार्यक्रममा गाएर उनीप्रति श्रद्धासुमन व्यक्त गरेका थिए । दर्शकदीर्घामा बसेकी ज्ञानुलाई मैले खुसुक्क कार्यक्रमस्थलबाट एक्कैछिन बाहिर गएर मसँग कुरा गर्न अनुरोध गरेँ । र, केही क्षण भलाकुसारी गरेर सामग्री तयार पार्ने निधो गरेँ । 

जनकविकेशरी धर्मराज थापाकी छोरी ज्ञानुमा संगीत साधना अहिले पनि उत्तिकै छ जति युवावयमा थियो । सबेरै उठ्नु, संगीतका धुनहरूमा अभ्यास गर्नु उनको दैनिकीको सुरुवात हो । बिहान केही रागहरू अलापिनन भने उनलाई दिनभर असजिलो हुन्छ रे । भन्छिन्, ‘मलाई त के दिनभर विसञ्चो जस्तै हुन्छ, के भएन, भएन जस्तो लागिरहन्छ ।’ त्यसपछिको समय उनी पूजा पाठलाई छुट्याउँछिन् । भगवानको कृपा र बाबु धर्मराजको प्रेरणाले नै आफू गायिका बन्न सफल भएको बताउँछिन् उनी । 

ज्ञानु भगवान् कृष्णकी भक्त हुन् । कृष्णभक्तिमा चुर्लुम्म डुब्न पाउँदा उनलाई संसारकै सबैभन्दा ठूलो सन्तुष्टि मिल्छ । त्यसो त उनी शिव भगवान्प्रति पनि उत्तिकै नतमस्तक छिन् । धेरैवटा भजनमा स्वर दिएकी छन् । ज्ञानुलाई सबैभन्दा राम्रो लाग्ने धार्मिक ग्रन्थ गीता हो । त्यसैले उनी फुर्सद हुने बित्तिकै गीता पढ्छिन् । भन्छिन्, ‘गीताले मान्छेलाई ज्ञानमात्रै दिँदैन, यसले त जीवन जिउने कला र जीवन बिताउने कला सिकाउँछ ।’ मन लगाएर गीता पढ्न ज्ञानुको सुझाव छ । 

ऊर्जाको त्यो उद्गम थलो 

विशेष तरिकाले गायिका तारादेवीलाई सम्झन आयोजना गरिएको उक्त कार्यक्रममा मैले भेटेकी ज्ञानुलाई जिज्ञासा राखेँ । ‘तपाईंले तारादेवीलाई कहिले भेट्नुभयो ?’ उनले तारादेवीलाई २०२३ सालमा भेटेकी रहेछिन् । त्यतिखेर ज्ञानुका बाबु धर्मराज रेडियो नेपालमा लोकगीत प्रवर्तकका रूपमा कार्यरत रहेछन् । त्यसैले ज्ञानु रेडियो नेपाल बारम्बर गइराख्थिन् । एक दिन उनले धर्मराज थापाले संकलन गरेको ‘जाने कहाँ होला’ बोलको गीत रेडियो नेपालको लोकलहरी कार्यक्रममा लाइभ गाइन् । गीतको भाकासँगै ज्ञानुको स्वरका खुवै तारिफ भयो । स्टुडियो बाहिर बसेर तारादेवी, हरिप्रसाद रिमाल, जनार्दन समलगायतका कलाकारले ज्ञानुले गाएको गीत सुनिरहेका रहेछन् । स्टुडियोबाट बाहिर निस्केकी ज्ञानुलाई सबैले काँधमा धाप मार्दै बधाई दिएछन् । अनि सबैले एकै स्वरमा भनेछन्, ‘ज्ञानु ¤ तिम्रो स्वर कति राम्रो ¤ कति राम्रो गाएकी ।’ यो प्रशंसाले ज्ञानुमा डर र भर दुवै भरिदियो । डर ठूलाले राम्रो भनिदिए अनुसार राम्रो गर्न सक्छु कि सक्दिनँ भन्नेमा थियो । भर ठूला मान्छेको साथ छ राम्रो गर्न सहयोग पाउँछु भन्नेमा थियो । 

प्रशंसाले उत्साहित भएकी ज्ञानु दिनहुँ रेडियो नेपाल जान थालिन् । बाक्लिदै गएको त्यहाँको बसाइले उनमा संगीत र गायनप्रतिको प्रेम अझै प्रगाढ हुँदै गयो । कलाकारहरूको सामिप्यले उनीभित्रको क्षमता निखारिँदै गयो । आत्मबल बढाउन त्यहाँको भेटघाट उनको जीवनका लागि कोशेढुंगा सावित भयो । 

अमर गुरुडले मालतीमंगले शीर्षकको अपेरा तयारै गर्दै थिए । त्यो अपेरामा गीत गाउनका लागि तारादेवी, नारायण गोपाल समेत आएका थिए । त्यतिबेलाका ज्ञानुको उनीहरूसँग बाक्लिएको भेटले गायन क्षेत्रमा लाग्न थप ऊर्जा दियो ।

बाबु प्रेरणा 

ज्ञानु राणाको आजको परिचय त्यसै बनेको होइन । पर्दा अगाडि र पछाडिका धेरै सहयोगी हातहरूका कारण उनका यो पहिचान बनेको हो । यसको पहिलो श्रेय उनी आफ्ना बाबु धर्मराज थापालाई दिन्छिन् । शायद उनी धर्मराज थापाकी छोरी नभएकी भए आजको पहिचान हुँदैन थियो कि ¤ उनलाई यस्तो पनि लाग्छ । 

धर्मराज थापासँग गीत सिक्न घरमै एकजना चेला आउँथे । हारमोनियम बजाएर उनलाई सिकाएको गीत उनी खुबै सुन्थिन् । उक्त गीतबाट उनी खुबै प्रभावित भइन् । एक दिन त यस्तो पो भएछ, त्यो गीत उनले एक्लै गाइरहेकी थिइन् । गायनशैली र राम्रो स्वरबाट प्रभावित भएका धर्मराजले ज्ञानुकै स्वरमा उक्त गीत रेकर्ड गराएका थिए । गीत संगीतको क्षेत्रमा विशेष चोसो र रुचि देखेपछि उनले छोरी पनि गायन क्षेत्रकै हुन् भन्ने सोचेका रहेछन् । शायद धर्मराजले छोरीको स्वरमा उक्त गीत रेकर्ड गर्नु अघिसम्म पनि ज्ञानु यो क्षेत्रमा लाग्ने सोचेका थिएनन् । 

धर्मराजले जहिलेबाट छोरीको क्षमतालाई नजिकबाट चिने त्यसपछि सधैं लोकगीत गाउन प्रेरित गरे । ‘ह ह माले ह ह’ ‘धुरु धुरु नरोउ आमा’ बोलको गीतले लोकप्रिय भएका बाबु धर्मराजले ज्ञानुलाई सधैं यस्तो भन्थे रे, ‘लोक गीत हाम्रो आधार हो । यसले नै देशलाई बचाउँछ, यो नेपालको पहिचान हो’ बाबुको प्रेरणा र प्रोत्साहनबाट गायन क्षेत्रमा लागेकी ज्ञानुले लोकगीतबाट गायन क्षेत्रको यात्रा सुरु गरेकी थिइन् । बाबुकै क्षेत्रमा लागेकाले ज्ञानुलाई क्षेत्रगतरूपमा झेल्नुपर्ने अप्ठ्यारो कहिल्यै आइलागेन । गीत सिक्न कतै जानु पर्दैन थियो । लोक गीत चाहिने बित्तिकै पाइहाल्थिइन् । छोरीले भन्ने बित्तिकै गीत संकलन गरेर तयार बनाइदिन्थे । यस अर्थमा ज्ञानु धर्मराजलाई बाबुमात्रै नभएर गुरुसमेत भन्न चाहन्छिन् । 

ज्ञानुको मीठो स्वरको प्रशंसक नारायण गोपालले एक दिन उनीसँग यस्तो भनेछन्, ‘ज्ञानु तिमीसँग म एउटा गीत गाउँछु, ल एउटा गीत खोज ।’ ज्ञानुले स्वर सम्राट नारायण गोपालले भनेको यो वाक्य जस्ताको त्यस्तै बाबुलाई सुनाइन् । छोरीले भनेको सात दिनमै धर्मराजले ‘सिरिमा सिरि बतासै चल्यो...’ बोलको गीत तयार पारिदिए । त्यो गीत नारायण गोपाल र ज्ञानु राणाको स्वरमा कालजयी छ । ज्ञानुलाई गीत संगीतका बारेमा सोधखोज गर्न, नजानेका कुरा सिक्न सजिलो थियो । जो अरूलाई थिएन । 

त्यो बेलाको समाजले ‘गीत संगीतमा लाग्ने’ छोरी मान्छेलाई गर्ने व्यवहार उनी सम्झन चाहन्नन् अहिले । त्यस्ता धेरै अप्ठ्यारा र चुनौतीहरू सामना गरेर अघि बढेकी ज्ञानु अहिलेको पुस्तालाई सिक्न, जान्न र बुझ्न निकै सजिलो भएको बताउँछिन् । 

मान्छेको माया यहाँ 

ज्ञानुले लोक र आधुनिक गीत गरेर दुई हजार पाँच सय गीत गाएकी छन् । ती मध्ये उनलाई सबैभन्दा मन परेको गीत ‘मान्छेको माया यहाँ खोलाको पानी जस्तो...’ हो । किन मन प¥यो त यो गीत उनलाई ? मैले प्रश्न गरेँ । उनको उत्तर सामान्य थियो, ‘नारायण दाइ र मैले यो गीत धेरै मिहिनेत गरेर गाएका थियौं । त्यतिबेला धेरै संघर्ष गर्नु पथ्र्यो । अहिलेको जस्तो प्रविधि विकास भएको थिएन ।’

मैले उनको यो उत्तरलाई सतहमा मात्रै बुझेँ । मैले बुझ्न चाहेको प्रसंग केही फरक थियो । मान्छे, माया र खोलाको त्रिकोणात्मक पक्षलाई केलाएर उनीसँग उत्तर माग्ने चाहना थियो तर थप प्रश्न गरिनँ । शायद मैले खोजेको जवाफका लागि प्रश्न बुझाउन सकिनँ कि ¤ यो प्रश्नमा धेरै घोत्लिन चाहिनँ । फेरि सोधें, ‘मन परेको अरु गीत ?, ‘कसैले बुझेन मेरो मनको बहलाई’ र ‘सिरिमा सिरि’ बोलको गीतको पनि उनलाई खुब मन पर्दो रहेछ । यी गीतका बारेमा थप केही सोधिन् । 

ज्ञानुले चौध वर्षको उमेरमा गीत गाउन सुरु गरिन् । ज्ञानु यो यात्रा शरीरमा सास रहेसम्म निरन्तर रहने बताउँछिन् । ज्ञानु भारतीय गायिका लता मंगेस्करबाट पनि उत्तिकै प्रभावित छिन् । भन्छिन्, ‘उमेरले गायनलाई छेक्न सक्दैन, अझै साधना गर्ने शक्ति दिन्छ ।’ जुन कुराले उनलाई आजकी ज्ञानु राणा बनायो, त्यसलाई जोगाउन उनी जीवनको अन्तिम क्षणसम्म पनि मिहिनेत गरिराख्ने उनको प्रण छ । भन्छिन्, ‘त्यसैले गलालाई राम्रो बनाउन म दिनको केही समय छुट्याउँछु ।’ गायन क्षेत्रमा नलागेको भए उनको अन्य क्षेत्र कुन हुन्थ्यो ? ‘होइन, म गायन क्षेत्रमा नै हुन्थेँ’ उनको यो उत्तरमा लक्ष्यप्रतिको अठोट झल्किन्थ्यिो । लक्ष्य र गन्तव्यप्रति सधैं सजग ज्ञानुलाई बाबुको निधनप्रछि आफ््नो संगीतको खम्बा नै ढलेको अनुभव भएको छ । उनी जहाँ जान्छिन्, त्यहीँ बाबुको अभाव खड्किन्छ । एक्लो अनुभव गर्छिन् । तीन वर्षअघि निधन भएका बाबु धर्मराजको रिक्तता उनलाई बाँचुन्जेल खड्किनेछ । तर पनि सम्हालिनु छ । अर्को उपाय त छैन । भन्छिन्, ‘बाबुलाई सम्झँदै, उहाँबाट पाएको आशीर्वाद लिँदै अघि बढेकी छु ।’ 

२००६ सालमा पोखरामा जन्मिएकी ज्ञानुले तीन कक्षासम्म त्यहीँ पढिन् । त्यसपछि काठमाडौं आइन् । पछि पद्मकन्या क्याम्पसमा पढ्न थालेकी उनलाई पोखराको सौन्दर्यले बिथोलिराख्थ्यो । त्यसैले उनी बेला बखत पोखरा पुग्थिन् । पोखराको सौन्दर्यले उनमा सिर्जनशीलता बढाइदिन्छ । त्यतिमात्रै होइन, मन त्यसै त्यसै पुलकित बनाइदिन्छ । अहिले काठमाडौंमा बसेर गायन यात्रा र संगीत साधनमा लागेकी ज्ञानु राणाको गला सधैं सुन्न पाइयोस् । सांगीतिक आकाशमा उनको नाम जाज्वल्यमान भइराखोस् । 




Views: 116

सम्बन्धित सामग्री:

कविता : म रोएकी छैन

मुना दाहाल : बैशाख ७, २०७६ (७:१८ AM)