25th April | 2019 | Thursday | 2:18:22 PM

कविता–दोषी समय

पार्वती निरौला   POSTED ON : माघ १३, २०७५ (१०:५४ AM)

कविता–दोषी समय

आफ्नो फुर्सदमा खुसुक्क उदाउँछौ तिमी

र उभ्याउँछौ अनुपस्थितिका 

हजारौं बाहनाका पर्खालहरू 

म चुपचाप सुनिदिन्छु 

जसरी तिमी चुल्याउँछौ 

झुटा शब्दहरूका पहाड

मनले नलिने 

हजार शब्द सुन्दै फ्याँकिदिन्छु

र भन्छु मनमनै 

तिमीले यस्तो हुन सिकायौ मलाई

घरि तिमी परिस्थितिलाई दोषी बनाउँछौ 

घरि तिमी समयलाई 

आफ्नो मनमनै फुस्फुसाउँदै गरेको 

तिमीलाई थाहै हुँदैन 

समय र परिस्थिति निर्दाेष छन्

दोषी त तिम्रा नजरहरू हुन्,

तिम्रा विषालु हेराइहरू हुन् । 

निर्वाह गर्न नजान्ने सम्बन्ध

त्यसको कुनै काम थिएन 

तिम्रा बहकाउमा बहकिँदै

झुटा आश्वासनमा अल्झिदै 

निर्वाहको पर्खाल उठाउँदै लानुपर्दा 

विश्वासको धरातल बनाउनुुपर्दा

संघर्ष गर्नुपर्दा र लड्नुपर्दा 

आफैँलाई देखेर रीस उठ्छ 

आक्रोस पैदा हुन्छ ।

तर तिमीले अझै मलाई त्यस्तै देखेका छौँ 

त्यसैले त आफ्नो फुर्सदमा मात्र झुल्किन्छौ 

र बारबार परिस्थितिलाई 

दोषी बनाउँछौ ।


Views: 252

सम्बन्धित सामग्री:

कविता : म रोएकी छैन

मुना दाहाल : बैशाख ७, २०७६ (७:१८ AM)