21st July | 2019 | Sunday | 4:32:44 PM

स्थितिगत्यात्मक साहित्यिक अभियन्ता डा. कृष्णप्रसाद

विनोद दाहाल   POSTED ON : माघ १९, २०७५ (७:५३ AM)

स्थितिगत्यात्मक साहित्यिक अभियन्ता डा. कृष्णप्रसाद

विसं २०४० पछिको दशकमा एसएलसीको पाठ्यक्रममा रहेको ‘आमा’ कविता निकै चर्चित थियो । 

‘धर्तीमै छ सबै चिज खोजे मिल्छ थरीथरी । साँच्चै जन्मदिने आमा पाइँदैन कसैगरी ।’ 

यो कविता त्यही आमा कविताको अंश हो, जुन तल्कालीन विद्यार्थी र अभिभावकको मुखबाट कण्ठस्थ सुन्न पाइन्थ्यो । यति मार्मिक कविताका सर्जक कवि लामो समयसम्म त्यति चर्चामा रहेको पाइएन । ती कवि आज कुन अवस्थामा रहेका छन् र के काममा कसरी व्यस्त रहेका छन् भन्ने जिज्ञासा धेरै व्यक्तिहरूमा रहेको मैले पाएको थिएँ । ममा पनि यसबारे ठूलो जिज्ञासा थियो । त्यसैले उनको टेलिफोन नम्बर पत्ता लगाई सम्पर्क गर्ने प्रयत्न गरेँ तर सम्पर्क हुन सकेन । त्यसपछि उनी बस्ने घरठेगाना सोध्दै खोज्दै काठमाडौंको गौशाला, पिंंगलास्थानस्थित निवासमा पुगेँ । 

२०४१ सालतिर कवि भट्टराई र यो पंक्तिकार बत्तीसपुतलीको एउटै घरमा बस्ने संयोग पनि परेको थियो । शुक्रबार साँझ कोठामा छिरेका कवि भट्टराईले आइतबार बिहानसम्म निरन्तर कविता लेखेको देखेर पंक्तिकार छक्क परेको थियो । उनी त्यसबेला उनले लेखेकका राम्रा राम्रा कविता यो पंक्तिकारलाई सुनाउँथे । उनी नायाँ पिँढीलाई अत्यन्तै माया पनि गर्थे र पंक्तिकार उनीबाटै प्रेरित भएर केही कोर्न सक्ने भएको हो । त्यसै कारण पनि यस पटकको अन्तरंगमा उनी छनौटमा परेका हुन् । 

साँझको समय थियो, उनी घरैमा रहेछन्, उनीसित सहज रूपमा भेट भयो । मैले भेट गर्न आएको उद्देश्य बताएँ । चिया खाँदै हामीले कुराकानीको थालनी ग¥यौँ । हामीबीच अन्तरंग सम्वाद सुरु भयो । 

विसं. २०१५ साल माघ २६ गते ओखलढुंगा जिल्लाको चिसुंखुगढी गाउँपालिकामा पर्ने सेर्नाबेँसीमा जन्मिएका डा. कृष्णप्रसाद भट्टराई यही माघ २६ गते ६० वर्ष पूरा हुने जानकारी पाएँ । उनका पिता पण्डित विद्यापति र आमा रामकुमारी भट्टराई हुन् । उनका पितामाताका सन्तानमध्ये कालिकादेवी, बालकुमारी, बिजुली, भानुभक्त, नारायणप्रसाद र रामप्रसादपछि उनी छैटौं सन्ततिका रूपमा जन्मिएका रहेछन् । उनीपछि बहिनी मैंयादेवी पोखरेल र भाइ हरिप्रसादको जन्म भएको रहेछ । सबैभन्दा कान्छी बहिनीको नाम उर्मिला दाहाल रहेछ । 

दुर्गम क्षेत्रको सामान्य ग्रामीण जीवन पार गर्दै आएका कृष्णप्रसादले २०४२ साल असारमा योगेश्वरी दाहालसित वैवाहिक सम्बन्ध गाँसेका थिए । हाल उनी पत्नी योगेश्वरी, दुई छोरी डा. अनुपमा, डा. ममता र छोरा शशांकका साथमा रमेर आप्mनो साहित्य यात्रालाई एकमात्र कर्मक्षेत्र बनाएर अघिबढिरहेको जानकारी पाएँ । उनको कोठा पुस्तकले भरिएका छन् । हालसम्म लगभग चार दर्जन पुरस्कार र सम्मानपत्रहरू पाइसकेको बताउने कवि कृष्णप्रसादका ‘अन्त्यारम्भ’ र ‘केबलमान’ दुईवटा महाकाव्यहरू प्रकाशित छन् । यस अर्थमा उनी महाकवि पनि हुन् । 

उनका अन्य कृतिहरूमा कविता संग्रह, जीवनी, गीतिकाव्य, अन्तर्वार्ता संग्रह, आधुनिक गीत संग्रह, आद्यात्मिक गीत संग्रह, राष्ट्रिय गीत संग्रह र दार्शनिक चिन्तनसमेत गरी १९ वटा कृति प्रकाशित भइसकेका रहेछन् । यी प्रकाशित कृतिहरूको नाम जीवन खोज, दीप जलाई राख, त्रिवेणी, अन्तर्वीणा, ऊ को होला, स्थितिगत्यात्मक साहित्यिक अभियानको घोषणपत्र, श्री १००८ विशुद्धोपनिषद्, मीनाश्री, विशुद्धविराज संवाद, गीतगंगा, मलाई नछोऊ, नयाँ दुलही, राष्ट्र वन्दना, सुदर्शनमार्ग, सुनाखरी, विद्यापति र स्टेटो डाइनामिक योगजीवन रहेछन् । यीबाहेक उनका प्रशासन, अर्थशास्त्र, नेपाल परिचय र कानुनसित सम्बन्धित पुस्तकहरू १५ वटा प्रकाशित भइसकेका रहेछन् । 

हाल उनी सिर्जनामा लागिरहेका छन् । अहिले उनले पूर्णकालीन स्रष्टाको रूपमा आप्mनो चेतनालाई क्रियाशील बनाएको पाइयो । निकट भविष्यमा केही कृतिहरू प्रकाशित गर्ने तयारीमा उनी लागेका छन् । उनी सिर्जना हुनु ठूलो कुरा हो प्रकाशन जहिले पनि हुनसक्छ उनले विश्वास व्यक्त गर्छन् । यति धेरै कृति प्रकाशित भइसक्दा पनि सारै चर्चामा देखिँदैनन् उनी । सिर्जनामै तल्लीन रहेका कारण उनी बाहिर चर्चा बटुल्न जाँदैनन् । 

उनले वर्तमान साहित्यको प्रवृत्ति प्रतिबद्ध साहित्य र स्वतन्त्र साहित्यमा विभाजित भएको उल्लेख गरे । उनी आफूलाई प्रतिबद्ध साहित्यकार होइन, स्वतन्त्र साहित्यकार भन्न चाहन्छन् । प्रतिबद्ध साहित्यमा ताली र गाली दुवै हुन्छ भन्ने उनी ठान्छन् तर आफ्नोे साहित्यले न तालीको अपेक्षा गर्छ, न गालीको सामना गर्नुपर्छ भन्ने उनलाई लाग्छ । ताली र गाली समयमा आउँछन् र समयमा बिलाउँछन् भन्ने सोच्ने कवि भट्टराई त्यस्तो साहित्यबाट अहिले आफूलाई अलग राख्न चाहन्छु भन्छन् । आप्mनो सिर्जनालाई मन पराउने र खोजी गर्ने युग अवश्य आउनेछ भन्ने कुरामा उनी विश्वस्त छन् । 

विविध विषयका यति धेरै कृति प्रकाशित भए पनि उनी मूलतः आफूलाई कवि भन्न रुचाउँछन् । उनी विद्यार्थी जीवनमा आफू सारै नै परिश्रमी रहेको बताउँछन् । आफू निकै पढैया भएका कारणले आफूले प्रमाणपत्र र स्नातक तहमा विश्वविद्यालयमै प्रथम भएर राजा वीरेन्द्रका नामको छात्रवृत्ति पाएका थिए । उनले पढाइलाई सधैं प्राथमिकतामा राखे । विद्यार्थीकालमा उनले साहित्यलाई उनको रुचिको विषयका रूपमा अंगीकार गरेको थिए भने लोकतान्त्रिक राजनीतिक आन्दोलनलाई सघाउनु एउटा सचेत युवा नागरिकको कर्तव्य पनि ठानेका थिए । 

त्यसैले विसं.२०३६ सालको विद्यार्थी आन्दोलनमा पत्रकार र सक्रिय विद्यार्थीको हैसियतले उनले कार्य गरे । त्यसताका स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालासित विद्यार्थी तथा पत्रकारको हैसियतले प्रत्यक्ष सम्पर्कमा रहेर कार्य गरेको अनुभव पनि छ उनीसँग । 

सडक कविता क्रान्तिमा पनि उनी सक्रिय भए । ‘मैले कविता सुनाउँदै हिँडेको र ताली खाँदै कविता वाचन गरेको हिजै जस्तो लाग्छ,’ उनी भन्छन् । जनमतसंग्रहमा आप्mनो जिल्ला ओखलढुंगामा बपिी कोइरालाकै निर्देशन बमोजिम उनले बहुदलको प्रचारप्रसारको काम गरेका थिए । 

उनी प्रखर राजनीतिक चेतना भएका विद्यार्थी नेता थिए तर राजनीतिलाई उनले निरन्तरता दिएनन् । उनले पारिवारिक दबाबका कारण आफूलाई जागिर आवश्यक भएको बताए । उनी सानै छँदा उनका पिताको निधन भएको थियो । आमा, भाइबहिनीलगायत परिवारजनको भरणपोषणको जिम्मेवारी उनैमा थियो । त्यसैले राजनीतिक जीवन छोडेर पीपीइसीको सेवाबाट जागिरे उनले जागिरे जीवन सुरु गरे । त्यसपछि विभिन्न मन्त्रालय, आयोग हुँदै २०६६ सालमा पर्यटन मन्त्रालयमा कार्यरत रहिरहेको अवस्थामा उनले प्रशासनसेवाको उपसचिव पदबाट स्वैच्छिक अवकाश लिए । 

राजनीति र जागिर भिन्नाभिन्नै कुरा हुन् भन्छन् उनी । उनको विचारमा राजनीति र जागिर अलग कुरा हुन् । राजनीतिलाई पेशा बनाइयो वा जागिर बनाइयो भने राजनीति समाप्त हुन्छ । जागिरलाई राजनीति बनाइयो भने अनाचार नै आचार बन्नपुग्छ । प्रशासन नै शासन बन्न पुग्छ । कहिले त शासन नै प्रशासनमा झर्न पुग्छ । त्यसबाट समाज भ्रष्ट हुन्छ । राजनीति र प्रशासन मिलेर देशलाई बरवाद गर्छन् । त्यसैले नेता जागिरे बन्नु हुँदैन र जागिरे नेता बन्नु हुँदैन । राजनीति पेशा बन्नु हुँदैन र पेशा राजनीति बन्नु हुँदैन भन्ने तर्क गर्छन् उनी ।

उनले झण्डै आठ वर्ष बाँकी हँुदा जागिरबाट राजीनामा दिए । जागिर खाने उमेर बाँकी नै थियो । अहिले सिर्जनामा उनी रमाइरहेका छन् । त्यसैले समय नपुग्दै जागिर छोडेकोमा उनलाई कुनै पश्चाताप छैन । उनी जागिरमा रहिरहेका भए उनको बढुवा हुन्थ्यो, आयवृद्धि हुन्थ्यो तर यतिका कृति प्रकाशन सम्भव थिएन । आज सिर्जनाले जुन गति लिएको छ त्यो पनि सम्भव थिएन । स्वेच्छाले जागिर छोडेका हुन् उनले तर लेखेजति सबै प्रकाशन गर्नसक्ने हो भने सिर्जनाले उनलाई सधैं जीवित राख्ने काम उनले सम्पन्न गरिसकेका छन् । त्यसैले उनलाई आफूले ठीक समयमा जागिर छोड्ने निर्णय गरेछु भन्ने लागेको छ ।

लामो समयसम्म उनले प्राध्यापन पनि गरे । २०३९ सालदेखि २०६७ सालसम्म पशुपति बहुमुखी क्याम्पसमा उनले प्राध्यापन गरे । केही समय अधिवक्ताको रूपमा पनि काम गरे तर उनी त्यस क्षेत्रमा पनि रमाउन सकेनन् । सानैदेखि आफूभित्र रहेको साहित्यिक भावको परिपक्व अभिव्यक्तिमै हाल उनी रमाइरहेका छन् । 

स्थितिगत्यात्मक साहित्य 

साहित्यलाई उनी जीवन र जगत्को अभिव्यक्ति मान्छन् । उनले २०५७ सालमा स्थितिगत्यात्मक साहित्यिक अभियानको घोषणा गरेको र त्यसैका आधारमा अहिले साहित्य सिर्जना गरिरहेको पनि प्रकाश पारे । साहित्य जीवन र जगत्को अभिव्यक्ति हो । यसमा पनि आत्मा, शरीर र यी दुईबीच सन्तुलन कायम राख्ने पद्धतिको समन्वयन र सन्तुलन हुनुपर्छ । आत्मास्थिर पक्ष हो भने पद्धति र शरीर पक्ष गतिशील पक्ष हो । यी दुवै पक्षको सन्तुलनबाट नै जीवन्त साहित्य बन्न सक्छ भन्ने मान्यता हो यो । त्यस प्रकारको साहित्य सिर्जनामा उनको वर्तमान ध्यान केन्द्रित भएको उनले बताए । 

छात्रजीवनमा उनी तत्कालीन पञ्चायती व्यवस्थाको विरोधमा, 

‘प्रजातन्त्र यहाँ दिन्छु चुँडाली दिन्छु बन्धन, राष्ट्रज्योति सम्हालेर जगाइदिन्छु दन्दन, पिजडा पिजडै नै हो सुनै सुनको भए पनि, कैदी भै बस्न खोज्दैन ज्यूँदो मान्छे कुनै पनि’ भन्ने खालका क्रान्तिकारी कविता लेख्थे भने युवा बयमा, ‘दुवैको चाहना बोल्छ खुल्दैन तर यो गला,........’ भन्ने खालका शृंगारिक कविता लेख्थे । यसै गरी ‘नारी काली महाकाली गौरी जे हुन् गलाउँछिन्, ज्वालामुखी फुटेजस्तै भित्रैदेखि जलाउँछिन्, वर्षाकी मेघ हुन् नारी आँसु झार्ने घरिघरि, हिउँदकी घाम हुन् नारी तापौँ जस्तो सधैँभरि’ भन्ने खालका महिलावादी कविता लेख्ने कविमा हाल यो परिवर्तन कसरी आयो भन्ने जिज्ञासा ममा पैदा भयो र सोधेँ । 

उनले यसको जवाफमा भने, ‘साहित्यमा शृंगार लगायतका नवरस प्रसिद्ध छन् । म ती सबै रसमा कविता लेख्ने कवि हुँ । यीबाहेक शान्तसरमा पनि धेरै कविता छन् । अभियान कुनै नयाँ वाद होइन, यसले त सबै वादभित्रका निर्विवादित एवं सारभूत कुरालाई मात्र अंगीकार गर्दछ । कारण जीवन र जगत् कुनै वादले प्रतिपादन गरेका विषय होइनन् ।’

उनले अर्थशास्त्रमा स्नातकोत्तर र विद्यावारिधि गरे । यसका साथै उनले कानुनमा स्नातक, सार्वजनिक प्रशासनमा स्नातकोत्तर र संस्कृतमा स्नातकोत्तरसम्मको अध्ययन पनि गरेका छन् । तर, उनी अर्थशास्त्रको विद्यार्थीका रूपमाभन्दा नेपालीसाहित्यकै सर्जक भएर चिनिएका छन् । 

उनले आफू नेपाली साहित्यलाई समृद्ध बनाउँन निरन्तर इँटा थप्ने काममा लागिरहने बताए । अमेरिका, युरोप र एशियाका विभिन्न नौवटा मुलुक र स्वदेशका अधिकांश जिल्लाको भ्रमण गरेका कवि भट्टराई हाल विभिन्न संघसंस्थाका सदस्य, पदाधिकारी तथा सल्लाहकार रहेका छन् । उनी आफ्नो जीवनयात्रालाई यसरी फर्किएर हेर्छन् र भन्छन्, ‘जीवनको उचाइ सीमारहित हुन्छ । सफलता असीम हुन्छ । त्यसलाई आप्mनो क्षितिजभित्र ल्याएर सीमाबद्ध गरी हेर्नुपर्ने हुन्छ । यसरी हेर्दा कतै म अत्यन्त असफल छु भने कतै अत्यन्त सफल छु । औसत जीवन मेरो सफल छ । सापेक्षित जीवन अत्यन्त सफल छ ।’ 

हामी नेपाली हिराको खानीमाथि बसेर भीख मागिरहेको एउटा भिखारी जस्तै बन्न पुगेको उनको अन्दाज छ । उनी भन्छन्, ‘हामी भीक्षा मागिरहेका छौं तर हामीलाई कसैले यसका लागि बाध्य बनाएको होइन । हामी आफैं यस्ता बनेका हौं ।’ नयाँ पिँढीलाई सल्लाह दिँदै उनी यसो भन्छन्, ‘समृद्धिको यात्रा नेपाली चेतनाबाट आरम्भ हुनुपर्छ । मन र मष्तिष्कबाट आरम्भ हुनुपर्छ । समृद्धि कसैले ल्याएर दिनेछैन । त्यस प्रसंगमा उनले यस्तो कविता सुनाउँदै कुराकानीको बिट मारे ः 

जल्दो बल्दो बन्नु नै हो जवानी । 

बल्दै जाऊ बल्नु हो जिन्दगानी ।।

सित्तै गन्ने छैन कोही कसैले ।

बल्दो आगो ताप्न खोज्छन् सबैले ।। 

उनको लेखकीय अभियान उनले चाहेजस्तै बनोस् र सफलताको शिखर चुमोस् । हार्दिक शुभेच्छा । 




Views: 346

सम्बन्धित सामग्री:

कथा–उपहार

राजेश अधिकारी : असार २३, २०७६ (४:५७ AM)