25th April | 2019 | Thursday | 1:28:16 PM

आखिर सबैले एकदिन मर्नु नै छ !

सविना कार्की   POSTED ON : माघ २१, २०७५ (८:१८ AM)

आखिर सबैले एकदिन मर्नु नै छ !

केही समय अघिको कुरा हो । एक दिन म पहिलो पटक पशुपतिनाथ मन्दिर घुम्न र दर्शन गर्न गएकी थिए । परिवारका सदस्य सँग मन्दिर जान पाउँदा  निकै खुशी थिए । धर्मप्रति परिवारमा सबैको रुचि थियो ।  पहिलेदेखि म मा पनि धार्मिक आस्था थियो । माघको महिना थियो । बिहानको नृत्यकर्म सकेसँगै हामी पशुपति मन्दिर दर्शनका लागि गएका थियौँ ।  दर्शनका लागि निकै लामो लाइन बस्नुपर्ने अवस्था थियो । आफू अलि सानै भएर होला मेरो चञ्चलताले लाइन बस्नुभन्दा पनि चारैतिर घुम्दै बस्न र मानिसहरुको भीड हेर्न रुचाएछु ।

मन्दिर परिसरमा एकाबिहानै घण्टीको आवाज प्रष्टै सुनिएको थियो । साथमा भजनकीर्तनको सुमधुर ध्वनी गुञ्जयमान थियो । तर जब हिड्दै गेट बाहिर आइपुगे । एकाएक मानिसहरु चिच्याउदै गरेको आवाज  कानमा गुन्जियो । तर कहाँको आवाज भने थाहा थिएन । चारैतिर हेर्न थाले । त्यहाँ जानको लागि दगुर्न थाले । कुन स्थानमा हो भन्ने केही थाहा थिएन । 

यसैबीच सानो बस मन्दिरभित्र प्रवेश गर्यो । ‘हुँइ... हँुइ... आवाज निकाल्दै  भित्र पसेको त्यो बस के होला भन्ने कौतुहलता लाग्न थाल्यो । बस सँगसँगै पछिपछि लागे । त्यो बस पशुपतिको गेट बाहिरको बाटो हँुदै केही तल पुग्यो । त्यहाँ पुगे पछि सबैले  एम्बुलेन्स आयो बाटो छोड भनेको सुने । बल्ल थाहा भयो त्यो एम्बुलेन्स हो भन्ने कुरा ।

एम्बुलेन्स रोकियो । झन चासो देखाउदै हेर्न थाले । ‘त्यहाँ भित्र के होला’ भन्ने मनमा प्रश्न खेलिरहे । वरिपरि सबैको आँखाबाट आशु झरिरहेको थियो । केही समयपछि एम्बुलेन्सबाट मरेको मान्छे निकाले । 

त्यसअघि मैले कहिल्यै मृतक शरीर देखेकी थिइन । मनमा डर पनि पलाउन थाल्यो । तर पनि मनलाई बलियो बनाउँदै त्यो भीडमा पस्ने प्रयत्न गरे । सानी थिएँ, मेरो उमेरका त्यहाँ कोही थिएनन् । सबै बुढापाका मानिस मात्र देखिन्थे । त्यो भीडबाट सुटुक्क पस्ने र सबैभन्दा अगाडि पुग्ने सोचे । तर त्यो सम्भव थिएन । फेरी मृतक मेरा आफन्त पनि थिएनन् । तर पनि मानिसको चेपबाट छिरेरै भएपनि सबैभन्दा अगाडि पुगे । 

केहीसमय अघि रुनेहरु पनि त्यही देख्न थालेँ । खासमा मान्छेको लाश जलाउने ठाउँ पो रहेछ । मैले धेरै बेरसम्म भौतारिएर खोज्दा पनि ठम्याउन गाह्रो भएको ठाउँ एम्बुलेन्सको पिछा गर्नाले पत्ता लगाए । मनमनै धन्यवाद दिए । 

त्यहाँ धेरै मानिसहरु थिए । थुप्रै समुहमा रहेका मानिसहरु लाश जलाउनकै आएका रहेछन् । त्यसअघि कहिल्यै पनि त्यसरी चिट्टामाथि जलाएको देखेकी थिइन । 

बाआमालाई थाहै नदिई हिडेकी म अनौठो दृश्य देखेर एकाएक सबैलाई भुल्न थाले । 

राम्रैसँग याद छ त्यो पल जब मानिसहरुले एम्बुलेन्सबाट मरेको लाश निकाले, सबैजना ठुलो आवाजमा रुन थाले । कोही एउटा कुँनामा त कोही अर्को कुनामा फर्कदै रुन थाले । त्यो भीडमा नरुने कोही थिएनन् ।  तर म कसैले नदेख्ने ठाउँमा गएर ध्यानपुर्वक हेरिरहकी थिए ।

 मनमा एउटै कुरा खेलिरह्यो, त्यहाँ जानेहरुको आँखाबाट आँशु झरिरहेको थियो । त्यो बीचमा म कसरी टुलुटुलु हेर्न सक्थे र । आखिर मन न हो । नरोइ बस्न सकिन । मानिस जलाउने ठाउँमा जानुअघि बाटामै एउटा पुल रहेछ । पुलको एक छेउमा बसेर म रुन थाले । 

त्यहाँको दृश्य यस्तो थियो कि । जुन म बयान नै गर्न सक्दिन । कसैले कसैलाई नरोउ भन्दै सान्त्वना दिन सक्ने अवस्था नै थिएन ।   मन्दिर दर्शन गर्न आएको कुरा पनि भुसुक्कै भुलेछु । होशमा छु कि छैन त्यो सम्म ठ्म्याउन गाह्रो भयो । त्यहाँ बस्दाबस्दै मानिसहरुले लगभग नौ–दश वटा लाश जलाए । 

मनमा अनेक तर्कवितर्क खेल्न थाले ।  बिस्तारै त्यहाँबाट टाढा जान खोजे । त्यसपछि मन्दिरतिर लागे । मन्दिरको रमाइलो फेरी अर्कै थियो । सबैजना एकआपसमा खुसी साट्दै, रमाउँदै, गाउँदै थिए । त्यो रमाइलोमा पनि म भने रमाउन सकिन किनकी  त्यो रमाइलो भन्दा मानिसको लाश जलाएको दृश्य बढी कैद भएको थियो साथै आँखाहरु झलझली मानिस जलाएको आगोमै थियो ।

 बाआमालाई खोज्दै मन्दिरभित्र प्रवेश गरे । मन्दिर परिसरमा दर्शनका लागि बस्नेहरुको भीड निकै थियो । त्यो भीडको एक छेउमा गएर उभिएँ । पशुपति क्षेत्रको त्यो विचित्र दिमागमा खेलाउन सकिन । सकुँ पनि कसरी, एउटै स्थानमा कोही गीत गाउछन्, नाच्छन्, रमाउछन्, भगवानलाई पूजा गर्छन्, कोही माग्नका लागि हात थाप्दै हिड्छन् त कोही पशुपति क्षेत्र थर्किने गरी रुन्छन् ।

 मन्दिरको छेउमा धुप बत्ती बलिरहेको थियो । तर मेरो नाकले भने मानिस जलाएको धुँवा मात्र महशुस गरिरह्यो । त्यहाँ मानिसहरु रमाउँदै हास्दै ख्यालठट्टा गर्दै गफ गर्दै थिए तर मेरो आँखा अगाडि त्यही लास घुमिरह्यो । 

सोच्न थाले, साच्चि नै मानिसको जीन्दगी के रहेछ र ? बाचुन्जेल रमाउने त हो मरेपछि शरिर धुँवा भएर उढ्ने मात्र हो । आखिर मरेर लानु के छ र ? जस्तो जन्मियो उस्तै जानु त छ । त्यसैले बाचुन्जेल सबैसँग मिलेर अघि बढ्दा नै उत्तम हुन्छ । जन्मनु र मर्नु प्राकृतिक नियम नै हो । आज जसले जति तडकभडक देखाएपनि आखिर एकदिन मर्नु नै छ । एकदिन चितामाथि जल्नु नै पर्दो रहेछ ।


Views: 326

सम्बन्धित सामग्री:

कविता : म रोएकी छैन

मुना दाहाल : बैशाख ७, २०७६ (७:१८ AM)