18th July | 2019 | Thursday | 3:08:26 AM

अहो ! स्नेहाको अपार जनावरस्नेह

रमा लुइँटेल   POSTED ON : फाल्गुन ११, २०७५ (७:४९ AM)

अहो ! स्नेहाको अपार जनावरस्नेह

ललितपुरको भैँसीपाटीस्थित स्नेहाज केयर पुग्दा एक महिला जनावरलाई कुँणो पकाउँदै थिइन् । यिनी कामदार हुनुपर्छ । मैले यस्तै ठानेर सोधेँ– स्नेहाजी कता हुनुहुन्छ ? उनी मतिर फर्किन र असन म नै हुँ भनिन् । मेरो अनुमान फेल खायो, म जिल्लिएझैँ भएँ, एकछिन म अवाक भएँ । स्नेहाज केयर सेन्टरकी संस्थापक स्नेहा श्रेष्ठलाई मैले अलिक फरकरूपमा सोचेकी थिएँ । 

आफूलाई सम्हाल्दै स्नेहालाई नियालेँ । सामान्य ग्रामीण गृहिणीझैँ थिइन् । साधारण देखिने स्नेहाको कामबारे थोरबहुत पूर्वजानकारी लिएकी थिएँ । मैले कुराको मेलो सुरु गरँे । 

दिन कसरी बित्दैछन् ? 

उनी दिनभर स्नेहाज केयरमै व्यस्त हुन्छिन् । हिृवलचियरमा बसेका कुकुरलाई एकाबिहानै घुमाउँदा उनको खुशी अतुलनीय छ । उनले स्थापना गरेको केयर सेन्टरमा १५० वटा कुकुर छन् । गाई र बाछाबाच्छी २५ वटा छन् । स्नेहाले यी कुकुर र गाई सडकबाट उठाएर ल्याएकी हुन् । अपागंता भएका कुकुर र गाई उनी सडकबाट आफ्नो केयर सेन्टरमा पु¥याउँछिन् । केही दिन अघिमात्रै उनले तातो अलकत्रामा परेको गाईलाई केयर सेन्टरमा ल्याएकी रहिछन् । चोट लागेका, घाउ भएका, खुट्टा भाँचिएका कुकुरको हेरचाहमा स्नेहा व्यस्त छिन् । 

जनावरप्रतिको मायाले उनी जनावरकै सेवक भइन् । ललितपुरका गाई, कुकुर र बाछाबाछी प्राथमिकतामा परेका छन् । उनलाई आफ्नो सेन्टर टुँडिखेलजत्रो रअझै त्योभन्दा ठूलो बनाउने धोको छ तर त्यसका लागि उनीसँग सिमितता छ । 

चार वर्षअघि स्नेहाले आफ्नै नामबाट स्नेहाज केयस सेन्टर खोलिन् । स्नेह अर्थात् प्रेम, माया । स्नेहाले जनावरलाई गरेको प्रेमको कुरा सुन्दा यस्तो पनि हुनसक्छ र भन्ने लाग्छ । त्यो प्रेम कसरी उब्जियो उनैलाई थाहा छैन । ‘म त एनिमल लभर भएछु,’ उनले आफूलाई केही थाहै नपाएजसरी भनिन् । एकाएक मौनता छायो । एकैछिन सन्नाटा छायो । सन्नाटा तोडेर फेरि सोधेँ– स्नेहाजी सुनाउनुहोस् न तपाईं कसरी एनिमल लभर हुनुभयो ? 

त्यसो त उनी सुरुमा जनावरलाई माया गर्ने मान्छे थिइनन् । यसको अर्थ उनी जनावरलाई घृणा गर्ने मान्छे पनि होइनन् । उनलाई कुकुर मन पर्दैन थियो । कुकुरको रौं देखेर उनी घिनाउँथिइन् । कुकुरप्रति यस्तो धारणा भएकी स्नेहालाई उनका जीवनसाथीले ब्राण्डेड कुकुर पाल्ने सोख सुनाए । पारिवारिक सल्लाहपछि उनले कुकुर ल्याउन स्वीकृति दिइन् । स्नेहाका श्रीमान्ले एकैपटक दुई वटा कुकुर किनेर ल्याए । ती कुकुर उनले मोटर ग्यारेजमा राखिन् । उनी तिनलाई दुई छाक खान दिने गर्थिन् । स्याहार सुसारको तरिका थाहा थिएन । जति धेरै माया, स्याहार पायो त्यति छिटो कुकुर हुर्कन्छ भन्ने उनले बुझेकी थिइनन् । कुकुर ल्याएको १५ दिनपछि एउटा म¥यो । 

कुकुर मरेपछि स्नेहा पछुताइन् । तर, त्यसलाई व्यक्त गरिनन् । कुकुरका बारेमा बुझ्दै जाँदा उनले थाहा पाइन्, कुकुरलाई त दिनको चारपाँच पटक खुवाउनुपर्ने रहेछ । बस्ने राम्रो व्यवस्था हुनुपर्ने रहेछ । 

बाँचेको कुकुर घरमा एक्लै हुन्थ्यो । स्नेहा बिहानै अफिस जान्थिन् । बेलुका घर फर्किदा एकदमै न्यास्रिएको जस्तो व्यवहार देखाउँथ्यो । उसको यस्तो स्वभाव देखेपछि कुकुरलाई साथी चाहिने रहेछ भन्ने थाहा पाइन् । अनि अर्को कुकुर ल्याउने निर्णय गरिन् । दोस्रोपटक कुकुर किनेर ल्याएपछि स्नेहाले आफू साँच्चै जनावरप्रेमी भएको अनुभव गरिन् । 

उनी कुकुरसँग धेरै समय बिताउन थालिन् । बिहानै आफ्ना साथमा हिँडाउन थालिन् । नौ बजेसम्म सुत्ने मान्छे कुकुरकै लागि बिहानै उठ्ने बानी भयो । दिनमा केहीबेर नहिडाए खुट्टा बिग्रन्छ भन्ने थाहा पाइन् । त्यसैले हिँडाउन थालिन् । कुकुरलाई कसरी माया गर्न सकिन्छ भन्दै उनी गुगल सर्च गर्न थालिन् । अफिसबाट घर फर्किदा स्नेहालाई लिन कुकुर गेटसम्र्म पुग्थ्यो । घरबाट अफिस जाँदा गेटसम्म पु¥याउन जान्थ्यो । घरभित्र लिएर जान्थ्यो । स्नेहाको खुब ख्याल गथ्र्यो त्यो कुकुरले । 

कुकुर मन नपराउने छिमेकी 

स्नेहाका कुकुर मन नपराउने छिमेकी थिए । उनीहरू सधँै कुकुरका बारेमा गुनासो गर्र्थे । छिमेकीले कुकुरले धेरै भुक्यो, यसको काम छैन गनगन गर्थे । यस्ता सानातिना निहुँमा उनको छिमेकीसँग मनमुटाव हुन्थ्यो । दिनहुँ छिमेकीले कुकुरको कम्प्लेन गर्थे । कुकुर उनका लागि परिवारको सदस्यजस्तै भएको थियो । त्यतिबेलासम्म स्नेहाले सडकका कुकुरलाई माया गर्दिन थिइन् । आफ्नै घरका कुकुरको बारेमा मात्रै सोच्ने गर्थिन् । 

एउटा दिन उनी कहिल्यै बिर्सन सक्दिनन् । सधैँ गेटमा लिन आउने कुकुर त्यो दिन लिन आएन । स्नेहा आत्तिन् । कता गयो, के भयो भन्ने भयो उनलाई । कता छ, के छ भन्दै खोज्न थालिन् उनी । आश्चर्य हुँदै उनी भित्र पस्दा कुकुर रगतमा लत्पतिएको अवस्थामा भेटिन् । उनले आँसु खसाल्दै वियोगान्त कुरा सुनाइन् । उनलाई त्यो कुकुरको यति धेरै माया थियो कि भनेर साध्य थिएन । छिटो निको होस् भन्दै भाकल गरिन् । उनको कामना पूरा भएन । परिणाम उल्टो आयो । जीवनमा आफ्ना बाबुको निधनमा पाँच दिन नुन बारेकी उनले कुकुरका लागि १३ दिन नुन खाइनन् । 

उनले कुकुरको मृत शरीर अस्पताल पु¥याइन् । चिकित्सककले विषका कारण मृत्यु भएको पुष्टि गरे । यो घटनापछि स्नेहा डिप्रेसनमा गएजस्तै भइन् । घरबाट बाहिर निस्कन छोडिन् यतिसम्म कि उनी अफिस जान छोडिन् । उनलाई कहिलेकाहीँ कुकर गाडेको ठाउँ खोतलौँ र शरीर आइसमा राखौंजस्तो पनि भयो । 

सधैँ निराश भएर बस्नुको पनि कुनै अर्थ हुँदैन थियो । चित्त बुझाउन थालिन् । आफूलाई भुलाउन बाटोमा भेटिने कुकुरलाई बिस्कुट खुवाउन थालिन् । उनले एकदिन खुट्टा भाँचिएको कुकुर भेटिन् । शरीरमा घाउ भएर स्याउस्याउ कीरा परेको कुकुर फेला पारिन् । त्यस्ता कुकुरलाई आफ्नै मोटरमा राखेर अस्पताल पु¥याउँदै उपचार गराउन थालिन् । उपचार त भयो । अब के गर्ने, कहाँ छाड्ने, फेरि उस्तै हुने हो कि भन्ने समस्या भयो । दैनिक शुल्क तिरेर एउटा केनल क्लबमा राख्ने सल्लाह भयो । उनले यसो पनि गरिन् केही दिन तर त्यस्ता कुकुरको संख्या बढ्दै भयो । उनले उपाय सोचिन् । त्यही उपायको परिणाम हो स्नेहाज केयर सेन्टर । 

यस्तो काम गर्नुको उद्देश्य कुकुर राख्नुमात्रै होइन, जनावरलाई माया गर्नुपर्छ भन्ने चेतना विकास गराउनु हो । ‘कुकुरलाई माया नगर्नेलाई माया गर्ने बनाउन पनि मैले यो केयर खोलेकी हुँ’ उनले कारण सुनाइन् । यो केयर सेन्टरमा स्नेहाले १७ जनालाई रोजगारी दिएकी छन् । चेतनाको कुरा छँदैन । मुख्य कुरा चाहिँ उनको आत्मसन्तुष्टिको हो । आफ्नै आत्माले अह्राएको काम गरेको स्नेहा बताउँछिन् । यो केयर खोल्दा उनको मनमा एउटा कुरामात्रै थियो । त्यो हो, सडकका बिमारी कुकुरलाई टन्न खान दिने र सफा राखिदिने । 

केयर सेन्टरमा उनको उद्देश्य फराकिलो बन्दै गएको छ । 

कुरा अझै गहिरिँदै गयो । यस्ता विरामी र अपागंता भएका भएका कुकुर र गाईको यति प्रेमपूर्ण स्याहारको मार्मिक रहस्य उजागर हुँदखै गयो । उनले सुनाइन्, ‘मेरो बुबालाई १७ वर्ष पक्षघात भएको थियो । उहाँले कहिल्यै मर्ने इच्छा गर्नु भएन । हामीलाई पनि बुबा कहिल्यै घाँडो हुनुभएन । बुबाको सजिलोको लागि मात्रै हामीले सोच्यौँ । अपागंता भएका जनावर स्याहार गर्दा मेरो मानसपटलमा बुबा छाइरहनुहुन्छ ।’ 

उनका अशक्त कुकुर हिृवल चेयमा बस्छन्, घुम्छन् । कुकुरको हिृवलचेयर नेपालमा पाइँदैन । उनी विदेशबाट मगाउँछिन् । हिृवलचियरका कुकुरलाई मर्निङवाक गराउँछिन् । ढाडमा चोट लागेका कुकुर हिँड्न सक्दैनन् । खुट्टामा चोट लागेका कुकुरलाई उपचार गर्दा केही दिनपछि हिड्न सक्छन् । पक्षघात भएका लागि छुट्टै व्यवस्था छ । सेन्टरमा पक्षघात भएका कुकुर १५ वटा छन् । 


कुकुरसँगको प्रेम 

‘कुकुरलाई कहिलेदेखि माया गर्ने भइसकेछु’ उनले आश्चर्य प्रकट गरिन् । विश्वासले माया पलाउने रहेछ । यो काममा लाग्ने पे्ररणाको स्रोत जारा नामको कुकुर हो, विश्वास भएपछि माया हुँदोरहेछ । जाराको अर्थ ? उनले भनिन्, ‘खासै अर्थ छैन’ त्यसो भए, ‘विनाअर्थको त्यो नाम, विनास्वार्थको तपाईंको माया, हो’ मैले भनेँ । उनले छोटो उत्तर दिइन्, ‘हो ।’ 

मलाई अर्को कुरा सोध्न मन लाग्यो । कुकुर कस्तो प्राणी हो । स्नेहाले भनिन्, ‘इमानदार ।’ उनले आफ्नो यो उत्तरको पुष्टि गर्न खोजेजस्तो लाग्यो । मैले भनें, ‘के भन्न खोज्दै हुनुहुन्छ ?’ उनले ज्यास्मिनको बारेमा बताइन् । ज्यास्मिनले अमेरिकामा एउटा घर भेटिसकेको छ । विदेशी उसलाई एडप्ट गर्न तयार छन् । 

स्नेहाले ज्यास्मिनलाई अमेरिका पठाइनन् । किन कि उनले उसलाई सेन्टरमा नै खुशी देखेकी छिन् । उसले सम्पूर्ण केयर सेन्टेरको हेरचाह गर्छ । विमारी गाई र कुकुरको ख्याल गर्छ । छोडेर हिड्ँदैन । स्नेहाको बुझाइमा जनावर बोल्नमात्रै नसक्ने हुन् । बाँकी सबै काम गर्छन् । 

जनवारको माया निःस्वार्थ हुन्छ । मान्छेजस्तो स्वार्थी हुँदैन । मान्छेलाई ९९ पटक सहयोग ग¥यो तर एकपटक सहयोग गरेन भने उसले ९९ लाई बिर्सन्छ । त्यो सहयोग नगरेको पटकलाई मात्रै सम्झन्छ । तर, जनावर त्यस्तो होइन, जनावरलाई एकपटक खान दिनूस्, त्यसपछि खान नदिनूस् त्यो जनावर पुच्छर हल्लाउँदै तपाइकै पछाडि आउँछ । कुनै पनि स्वार्थ छैन । कुकुरलाई राम्ररी बुझेकी स्नेहा भन्छिन्, ‘लोयलटीमा तुलना गर्ने हो भने मान्छे भन्दा कुकुर धेरै माथि छ ।’ 

जनावरलाई माया गर्न सिकौं 

नेपालमा जनावरप्रति दुव्र्यवहार धेरै छ । वर्षमा एक दिन तामझामसहित जनावर पूजा गरेर मात्रै हुँदैन । प्रत्येक दिन जनावरलाई माया र सम्मान गर्ने व्यवहारको विकास गर्नुपर्ने बताउँछिन् स्नेहा । 

गाई राष्ट्रिय जनावर हो । यसको सम्मानमा के काम भयो त ? दूध दिएसम्म आफ्नोे भन्ने र दिन छोडे बाटोमा छाडिदिने । यस्तो गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपने उनी बताउँछिन् । दूध धेरै खान्छन् भन्दै बाटोमा ल्याएर छोड्नेहरू पनि छन्, त्यस्तालाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउँछिन् । केयर सेन्टर सञ्चालनका लागि सहयोग गर्ने केही दयालु मन छन् । त्यो बाहेक आफ्नै रुपैयाँ खर्च गछिन् उनी । वर्षीया यी महिलाको जनावरप्रेम देख्दा भन्न मन लाग्छ– माया मान्छे मान्छेमा मात्रै होइन, मान्छे र जनावर, जनावर र मान्छेबीच पनि हुँदोरहेछ । क्याबात् स्नेहा । 



Views: 208

सम्बन्धित सामग्री:

कथा–उपहार

राजेश अधिकारी : असार २३, २०७६ (४:५७ AM)