26th March | 2019 | Tuesday | 2:26:51 AM

कविता : ह्रास हुँदैछ मानवता

मुना दाहाल   POSTED ON : फाल्गुन १८, २०७५ (७:१७ AM)

कविता : ह्रास हुँदैछ मानवता

मेरो देशमा अहिले 

मानवता हराएको छ ।

मृत्युशोकमा कसैको 

हर्सोल्लास मनाउन थालिएको छ

अस्पताल लानुको सट्टा

दुर्घटनामा परेको घाइतेलाई 

सेल्फी हान्नेहरूको हुल

देख्न थालिएको छ 

मेरो देशले अहिले 

नयाँ फड्को मारेको छ

यता आगलागीले सबै 

सखाप पारेको छ बस्ती 

वारुणयन्त्रअगाडि उभिएर

मुसुक्क मुस्कुराउँदै 

एक स्न्याप लिनेहरूको

लर्को लागेका छन् 

मेरो देशले यति धेरै 

फड्को मारेको छ 

सबलांगलाई अपांग पारेर 

सडकबाटै भाग्नेको 

लेखाजोखा हराएको छ 

पैसा र पदको दम्भमा

 मिल्छन् सबै कुरा 

मेरो देशमा संवेदना हराएको छ 

दुःखद् खबर सुन्दा हाँस्नेहरू

अरूको पीडामा अनुभूत गर्न 

सिक्दैनन् कहिल्यै पनि 

विकासको फड्को यही हो 

मेरो देशको 

बदलाको भावना जागेको छ 

सहानुभूति र संवेदनाको ठाउँमा

कसैको मृत्युको क्षणमा

उत्सव मनाउन थालिएको छ

खुसिले रमाउँदै ताली बजाएर 

आफू अजम्बरी रहने विश्वासमा 

अशीष्टता ओकल्न थालिएको छ 

वरदान पाएका छन् र तिनले ?

अष्टचिरञ्जीवीको 

वाक् स्वतन्त्रताको उपयोग गर्दै 

आएका छन् तिनले 

त्यसैले त नयाँ नेपाल हो यो 

जहाँ सबैले छुट पाएका छन्

बेल्न, लेख्न र मृत्युशोकमा रमाउन

त्यसैले त म भन्छु 

मेरो देशले लामै फड्को मारेको छ ।


Views: 131

सम्बन्धित सामग्री: