27th May | 2019 | Monday | 4:09:12 PM

चार वेदको महासागरमा पौडिँदै

रमा लुइँटेल   POSTED ON : फाल्गुन २५, २०७५ (८:३३ AM)

चार वेदको महासागरमा पौडिँदै

मैले तिलकप्रसाद लुइँटेललाई पत्रिकाकै अफिसमा निम्तो दिएँ । कपनबाट चावहिल हुँदै बानेश्वर आइपुगे । ठाउँ ठाउँको ट्राफिक जाम छिचोलेर ललितपुरबाट काठमाडौं पुग्दा म आधा घण्टा ढिलो भएकी थिएँ । मैले ढिलो हुनुको कारण बताउँदै सरी भनेँ । उनले हाँसेर माफी दिए । 

तिलक पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मेका हुन्, अहिले काठमाडौंको कपनका स्थायी बासिन्दा । उनलाई तेह्रथुम जन्मथलो हो भन्नेसम्म थाहा छ । त्यसपछि उनी भारतको असम पुगे ।

कुरा असमको हो । तिलकका बुबाआमाको आर्थिक अवस्था निकै कमजोर थियो । दैनिक ५–६ किलोमिटर हिडेर स्कुल जानुपथ्र्यो । एकजोर चप्पल पसिन थिएन । उनी खाली खुट्टा स्कुल जान्थे । प्रजापति हाइस्कुलमा कक्षा सातमा पढ्दै गर्दा बुबाआमाको आर्थिक भार कम गरिदिन उनले पढाइ छाडे । पढ्न छोडेर खेतबारीमा काम थाले । गाईभँैसी चराउन थाले । कुणोँ–पराल गर्न थाले । बुबाआमालाई आर्थिक भार पारिनँ भन्नेमा उनी केही सन्तुष्ट भए । तर, उनको यो सन्तुष्टि धेरै टिक्न सकेन । स्कुल गइरहेका साथीहरूसँग जब उनले आफूलाई तुलना गर्थे, अनि उनको पेट पोल्थ्यो । आफ्नै उमेरकाहरूमा देखिएको प्रगतिले उनलाई ब्याकुल बनाउन थाल्यो । 

फेरि उनले पढ्ने निधो गरे । छोडेको त्यही विद्यालयमा गएर पढ्ने उनको मन थिएन । त्यसैले उनले त्यो कठिन परिस्थितिमा गम्भीर निर्णय गरे । गाउँ नजिकैका एक जना दाइ उनको घरमा आएका थिए । उनी ऋषिकेशतिर बसेर पढ्दै थिए । ती दाइसँगै भागेर उतै पढ्न जाने निर्णय गरे । जान त जाने तर कसरी ? अर्को समस्या थियो । बाले घरायसी गर्जो टार्न भैँसी बेचेका थिए । भैँसी बेचेको सातसय पचास रुपैयाँ तिलकका बाले डस्ना मुनि राखेका थिए । तिलकले समस्याको समाधान देखे । दह्रो मुटु बनाए र पल्टाए डस्ना । उनको दिमाग शून्य भयो । सबै पैसा निकाल्ने कि अलिक थोरै, केही सोचेका थिएनन् । डराएका हातले जति तान्यो त्यतिमै चित्त बुझाए, हातमा दुईसय पचास परेको रहेछ । ‘ओठतालु सुकेको थियो, होसहवास गुम भएको थियो,’ उनले त्यो समय सम्झे । उनलाई थाहा थियो, सबै पैसा निकाल्दा घरमा आइलाग्ने अप्ठ्यारो । ‘मैले आफू हराएको र पैसा हराएको पीडा एकैपटक दिन नखोजेको पनि हुन सक्छ,’ त्यो समय सम्झन खोजे । 

उनको १४ वर्षे उमेरले सोच्न सक्ने जति सबै कुरा सोच्यो । राखेको पैसा झिक्दा काममा बाधा पर्छ भन्ने उनलाई थाहा थियो । चोर्नु हुँदैन भन्ने सिकेका थिए । तैपनि बाबुको पैसा चोर्दै थिए । असमको सिमाना नकटेसम्म उनको ओठतालु सुकेको थियो । भन्न खोजेको कुरा मुखमा आउँदैन थियो । अर्कै सुन्थे । अर्कै बोल्थे । के बोलिराखेको छु भन्ने पनि थाहा थिएन । 

छोरो हराएपछि खोजतलास भएछ । देख्नेले फलानोसँग गएको छ भनेपछि तिलकका बाबुआमा ऋषिकेश नै पुगेछन् । त्यहाँ भएको कुरामा चित्त बुझाएर फर्के । 

चोरेको पैसा बोकेर १४ वर्षको उमेरमा ऋषिकेश हरिद्वार पुगे । संस्कृत पढ्न थाले । सम्पूर्णानन्द विश्वविद्यालयबाट उनले आचार्यसम्मको पढाइ पूरा गरे । 

जसरी पनि पढ्नु थियो 

तिलकलाई जसरी पनि पढ्नु थियो । एकै दिनमा तीन ठाउँमा विधिवत रुपमा कक्षा लिन्थे । लालबहादुर शास्त्री विश्वविद्यालयले वेद पढाउँथ्यो । त्यहाँ बिहान जान्थे । दिउँसो संस्कृतको कक्षा हुन्थ्यो । युपी बोर्डको इन्टरमेडियट कक्षामा समेत भर्ना भए । तीन वटा कोर्स एकैपटक पुरा गर्दा काम गर्न सम्भव थिएन । कति दिन त उनी पानीले मात्रै धानिए । कहिलेकाहीँ चना मात्रै खाए । कहिले साथीभाइले मायाले आफ्नो भाग कटाएर दिन्थे । 

पढ्नका लागि उनी जम्माजम्मी आठ वर्ष भारत बसे । पढिसक्दा पनि घर फर्कन उनीसँग पैसा थिएन । बाटो खर्चको जोहो गर्नु उनको अर्को आवश्यकता थियो । त्यसका लागि उनले पञ्जावको एउटा फलाम फ्याक्ट्रीमा चौकीदारी गर्न थाले । उनलाई काम के हो भन्ने मतलब थिएन । घर जाने पैसाको जोहो गर्नु थियो । अन्य कामदारलाई ती फ्याक्ट्री मालिकले ६ सय रुपैयाँ तलब दिन्थे । तर, शिक्षित तिलकले खाने, बस्ने सुविधासहति ६ सय रुपैयाँ पाउँथे । 

फ्याक्ट्री मालिकले भनेको कुरा तिलक अहिले पनि सम्झन्छन् । ती मालिक भन्थे, ‘तिमी लेखपढ गरेको मान्छे, मैले सक्ने भए अर्कै काम लगाइदिन्थे तर त्यो सम्भव छैन । त्यसैले केही सुविधा दिन्छु ।’ त्यहाँ काम गरुन्जेल उनको एउटै धेय थियो, बाटो खर्च जम्मा गरेर घर पुग्ने । निजी खर्च कटाएर जम्मा गरेको एक हजार रुपैयाँ लिएर सद्दे बालाई ‘बिरामी’ बनाएर त्यहाँबाट हिँडे । 

२०४६ सालको आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको थियो । कामको खोजीमा रहेका तिलकलाई नजिकका मान्छेले घर नजिकको विद्यालयमा शिक्षक बन्ने प्रस्ताव अघि सा¥यो । उनले केही केही महिना त्यहाँ पढाए । तर, त्यसलाई निरन्तरता दिन पाएनन् । कारण थियो, राजनीतिक कारणले विदामा बसेका ती शिक्षक २०४६ को परिवर्तनपछि पुनर्बहाली भए । 

काठमाडौं यात्रा 

पढाइ पूरा गरेर फर्केपछि उनी कामको खोजीमा इलाम पुगे । त्यहाँ पनि भनेजस्तो काम भेटेनन् । गरीबीले छोडेको थिएन । आसामबाट हिँडेर इलाम पुगे । तिलक रातभर हिँडेको सम्झिन्छन् । इलाममा भनेजस्तो नभएपछि उनी ताप्लेजुङतिर हानिए । केही दिनको त्यहाँको बसाइले उपलब्धि दिने देखेनन् । ताप्लेजुङका साथीले काठमाडौं जाने सल्लाह दिए । सबैको सपनाको सहर काठमाडौं, सल्लाह ठिकै लाग्यो । 

तिलक उपत्यका खाल्डोमा भित्रिन मोटर चढे । हिड्ने बेलामा उनकी दिदीले ‘काठमाडौमा भान्जा छ, उसलाई पनि भेट्नू’ भनिन् । छिमेकी ड्राइभरको मोटर चढेर काठमाडौ आएका तिलक केही दिन आफन्तको डेरामा बसेपछि भान्जा भेट्न हिँडे । भान्जा साँखुभन्दा केही पर नाङ्लेभारेमा बस्दा रहेछन् । सोध्दै खोज्दै त्यहाँ पुगेका उनले त्रिशुलीमा गएर अंग्रेजी पढाउनुपर्ने अवसर पाए । भान्जाका साथीले उनलाई यो प्रस्ताव राखेका थिए । संस्कृत पढेका तिलकले अंग्रेजी पढाने आँट गर्नु ठूलो कुरा थियो । आँट त गरे तर आत्मविश्वास कम थियो । त्रिशुली पुगेर पढाउने पाठ्यसामग्री हेरेपछि त्यसलाई पार लगाउन नसक्ने देखे । 

सक्छु कि भन्ने आँटले मात्रै त्यहाँ पुगेका उनी किताब देखेपछि तिर्सिए । अंग्रेजीका शिक्षक भएनन् । त्रिशुलीकै अर्को विद्यालयमा अवसर पाए । श्रीकृष्ण माध्यमिक विद्यालय तारुकाका शिक्षक भए विद्यालय बाहेकको समयमा उनी विद्यार्थीलाई कोचिङ पढाउथे । यही क्रममा भेट भएका बुद्धि रेग्मीसँग आफ्नो बिहेको योजना सुनाए । एक्लो जीवनलाई निरस ठानेका उनले आफ्नो न्यूनतम आवश्यकता बताए । उनले केटीको पढाइमा उनको मुख्य ध्यान थियो, रुप गौण । केही दिनपछि बुद्धि काठमाडौ आए । बुद्धिसँगै काठमाडौं आएका थिए तिलक पनि । बुद्धिले कुरा गरेकी केटीमा तिलक मन्जुर भए । घट्टेकुलोकी ती युवती पनि तिलकसँग मन्जुर भइन् । भदौमा सुरु भएको बिहेको प्रसंग मंसिर महिनामा टुंगियो । उनले गीता सुवेदीसँग लगनगाँठो कसे । 

तिलकले अबको यात्रा काठमाडौंको आरोह अवरोहसँग पौठेजोरी गर्दै तय गर्नुपर्ने थियो । अवसर र सम्भावनाको सहर काठमाडौं हेर्दा जति सहज लाग्छ, यथार्थ फरक छ । यहाँ बाँच्नको लागि गर्नुपर्न संघर्ष अन्य सहरमा भन्दा पृथक छ । त्यो पृथकतालाई चिर्न उनले बिहान, दिउँसो, साँझ काम गर्न थाले । काठमाडौंको वृहस्पति विद्यासदनमा नौ वर्ष शिक्षक भए । नेपाली भाषाको किताब सम्पादन गर्थे । ट्युसन र भाषासम्बन्धी अन्य कामले उनलाई काठमाडौं बास जोड्न सक्ने बनायो । यसलाई तिलक लामो संघर्ष र उतारचढावपछि हात लागेको सफलता भन्न चाहन्छन् । एक दिन डा प्रसन्नचन्द्र गौतमले तिलकसँग एउटा प्रस्ताव राखे । त्यो प्रस्ताव थियो, त्यो थियो ऋग्वेदलाई नेपालीमा अनुवाद गर्ने । अरू तीन वटा वेद अनुवाद गरिसकेका तिलकले यो प्रस्ताव स्वीकार गरे । भन्छन्, ‘वेदको अनुवादले मलाई नेपाल बुझ्न सिकायो, समाज बुझ्न सिकायो, सबैभन्दा बढी आफँैलाई बुझ्न सिकायो ।’

वेद के हो ? 

वेद चार प्रकारका छन् । ऋग्वेद, यर्जुवेद, सामवेद, अथर्ववेद । ऋग्वेद भनेको समाजशास्त्र हो । यसमा समाजको वयान छ । मान्छे समाजमा कसरी बस्नुपर्छ भन्ने नियम यसमा भेटिन्छ । असल र खराब मान्छे कस्तो हो भन्ने कुरा ऋग्वेदमा पाइन्छ । उनी भन्छन्, ‘समाज र मान्छेबीचको सम्बन्ध बुझ्न चाहनेले ऋग्वेद पढ्नैपर्छ ।’ पूजापाठ यर्जुवेद अन्तर्गत गरिन्छ । सामवेदले संगीतलाई बुझाउँछ । मन्त्रहरू यस अन्तर्गत उच्चारण गरिन्छन् । आकारका दृष्टिले यो वेद अरूभन्दा सानो छ । 

अथर्ववेदले अर्थशास्त्र बुझाउँछ । यो वेदको अर्थशास्त्र समग्र राज्यको व्यवस्थापन प्रणालीसँग सम्बन्धित छ । अथर्व वेदमा औषधि विज्ञान, कला, वास्तुकला लगायत जीवनका विविधपाटाहरू भेटिन्छन् । अथर्ववेद आधुनिक विज्ञान हो भनिन्छ । तिलक भन्छन्, ‘अहिले जे पढिन्छ, पढाइन्छ त्यो अर्थशास्त्र सम्पत्ति वा वित्तसँग मात्रै सम्बन्धित छ ।’ उनका अनुसार अथर्व वेदले सम्पत्ति मात्रै बुझाउँदैन । 

वेद भनेको सम्पूर्ण मानव जीवनको जीवन पद्धति हो । एउटा मानिसका जीवनमा आइपर्ने सम्पूर्ण पक्षहरू वेदसँग सरोकार राख्छन् । व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रिय र अन्तर्राष्ट्रिय जीवनसँग अन्तरसम्बन्धित मार्गदर्शक शिक्षा वेद भएको बताउँछन् वेदका अनुवादक तिलकप्रसाद लुइँटेल । वेद हिन्दुहरूको शास्त्रमात्रै हो भन्ने बुझाइ गलत हो भन्छन् उनी । वेद विश्व मानवको मार्ग दर्शक शिक्षा हो । वेदका सबै ऋचाहरू मानव जीवनका प्रत्येक पक्षसँग सम्बन्धित छ । 

वेदका मन्त्रहरू पढ्दै जाँदा, वाक्यहरूको अध्ययन गर्दै जाँदा उनले वेदको रचनाभूमि नेपाल नै भएको आधारहरू भटे । त्यसले उनलाई अत्यन्तै खुशी दियो । उनले गर्वको अनुभव गरेँ । ‘नेपाल त कस्तो भूमि रहेछ जहाँ मानवजीवनलाई मार्गदर्शन गर्ने ग्रन्थको रचना भएको छ ।’ वेद र वैदिक साहित्य अध्ययन गर्दा नेपाल प्राचीन कालमा उन्नतिको शिखरमा पुगेको पाएका छन् उनले । वेदका मन्त्रद्रष्टा ऋषिहरू र वैदिक ज्ञानका प्रचारक ऋषिहरूको बसोबास नेपाल हो भन्न वेद अध्ययन गर्दा थाहा हुने उनी बताउँछन् । 

वेद यस्तो ग्रन्थ हो, जसको अध्ययन प्रत्येक व्यक्तिका लागि अनिवार्य छ । उमेर ढल्केपछि होइन, युवावयमै यसलाई पढ्नु आवश्यक ठान्छन् उनी । वेदको अध्ययनले जीवनका सबै पाटाहरू सहज बन्छन् । वेदको विषयवस्तु हेर्दा समग्र जीवन र सबैको जीवनसँग वेद सम्बन्धित छ भन्ने निश्चित छ । भन्छन् ‘वेद अध्ययनले मान्छेलाई चरित्र भ्रष्ट बनाउनबाट जोगाउँछ, मान्छेलाई नैतिकवान बन्न प्रेरित गर्छ ।’ त्यसैले त उनी प्रत्येकलाई उमेरमै यो ग्रन्थ पढ्न सुझाव दिन्छन् । वेद पढ्नु अघिको तिलक र पढेपछिको तिलकमा उनले भिन्नता पाए । जीवन र जगतलाई फरक ढंगले हेर्न थाले । आफ्नो भूमिलाई माया गर्न थाले । प्रत्येक विषयमा सकारात्मकता खोज्न थाले । नकारात्मक पक्षलाई कमजोर पारिदिए । आफू मात्रै होइन, उनले अरुलाई समेत साना साना कुरामा उत्कृष्टता खोज्न प्रेरित गर्न थाले । सुन्दर पक्षमा रमाउन आग्रह गरे । 

वेद पढदा संसारमा सभ्यताको विकास, उदय र पतनका बारेमा छर्लङ हुने अनुभव सँगालेका छन् तिलकले । वेदमा उनले अहिलेको आधुनिक युगले भेट्न नसकेको विषयदेखि आगोको प्रयोग गर्न सिकेको सन्दर्भ समेत छ । उमेर ५६ वर्षे तिलक भन्छन्, ‘वेद सागर भवसागर हो, यसमा पौडिन जान्नुपर्छ, जसले पौड्न जान्छ, उसले जीवन बुझ्छ, समाज बुझ्छ ।’



Views: 436

सम्बन्धित सामग्री:

मातृ महिमा !

सीता भण्डारी कँडेल : बैशाख २२, २०७६ (३:०८ AM)