26th March | 2019 | Tuesday | 1:30:44 AM

जोगीले बनाएका लेखक : मधुसुदन पाण्डेय

विनोद दाहाल   POSTED ON : चैत्र २, २०७५ (७:२४ AM)

जोगीले बनाएका लेखक : मधुसुदन पाण्डेय

राजधानीको शान्तिनगरमा आयोजित कविता वाचनको एउटा कार्यक्रमबाट घर फर्किंदा उनको र मेरो बाटो एउटै प¥यो । कुरा गर्दै हिँड्यौँ । त्यही बेला मेरो मनले पटक उनीसँग अन्तरंग गर्ने विचार ग¥यो । उनलाई आफ्नो कुरो राखेँ । उनले सकारात्मक ठानेर स्वीकृति दिए । दुवै जनाले आआफ्नो घरमा खाना खाएर एकघण्टा पछि उनको घर कपन, राधाकृष्णचोकमा भेट ग¥यौँ । 

पुख्र्यौली थलो दाङ हो उनको तर यहाँ बसेको ३१ वर्ष भएछ । एकै ठाउँमा । ठूलो क्षेत्रफल, बगैँचा, एउटै हातामा साना ठूला तीन–चारवटा घर । जसले उनको भौतिक सम्पन्नता मौनै बोलिरहेका थिए । उनले एकछिन बगैँचाबीच प्लास्टिकका सेता  कुर्सीमा राखेपछि भित्र लगे उनको अध्ययनकक्षमा । त्यहाँ साना ठूला ११ वटा दराजमा टनाटन किताब थिए । केही किताब दराजबाहिरै पनि थुपारिएका थिए । दराजमा विधागत र लेखकका नाम अनुसारका किताब नाम टाँसेर राखिएका रहेछन् । पुस्तकालय शैलीको यो क्रममा उनी जुनसुकै किताब पनि खोज्नासाथ भेटाउन सक्थे । उनको यो शैली अनुकरणीय लाग्यो । 

उनी अहिले पूर्णकालिक लेखक हुन् । कहिलेकाहीँ यात्रामा निस्कनुबाहेक उनी निरन्तर लेखिरहन्छन् । त्यसैले उनको २१ वर्षको लेखन अवधिमा ८८ वटा पुस्तक प्रकाशन भइसकेका छन् । यसबाट उनी कुनै पौराणिक पात्रजस्ता लाग्छन् । उमेरको चौथो दशकमा मात्र लेख्न थालेका हुन् तर उनको लेखनको गतिको तीव्रता निकै अनौठो छ । यस्तै गतिमा अबको केही वर्षमै उनका पुस्तक संख्या १०० पुग्ने छ । 

उनी अर्थात मधुसुदन पाण्डेय । दण्डीराम र विष्णुदेवी पाण्डेयका तीनजना छोरामा कान्छा हुन् । उनका दुई जना बहिनी छन् । उनको पुख्र्यौली थलो दाङ हो । २०११ साल असार १७ गते अदुवारीमा जन्मिए । पछि उनीहरू गडवा, आँटीपाखर सरे । 

मधुसुदनको आइएसम्मको पढाइ दाङकै विभिन्न शिक्षालयबाट पूरा भयो । उनको प्राथमिकस्तरको पढाइ श्री प्राथमिक पाठशालाबाट पूरा भयो । उनले गंगा मावि रामपुरबाट २०२८ सालमा एसएलसी उत्तीर्ण गरे । दाङकै महेन्द्र क्याम्पसबाट २०३० सालमा आइए पूरा गरे । यसपछि स्नातक अध्ययनका लागि उनी भारतको गोरखपुर गए अनि २०३५ सालमा गोरखपुर युनिभर्सिटीबाट बिएको पढाइ पूरा गरे । 

जागीरमा त्यागपत्र 

मधुसुदनले केही वर्ष जागीर खाए । २०३८ सालदेखि २०४० सालसम्म उनी वीरगञ्ज चिनी कारखानामा कानुन सहायक भए । दुई वर्षपछि फेरि उनी नेसनल ट्रडिङ लिमिटेड, काठमाडौंमा वरिष्ठ सहायक भए । यो पदमा उनी १० वर्षसम्म रहे अर्थात २०४० देखि २०५० सालसम्म । यस अवधिमा उनले नेपाल ल क्याम्पसबाट बिएल र कीर्तिपुर बहुमुखी क्याम्पसबाट एमएको पढाइ पूरा गरे । यसरी काठमाडौंले उनलाई एकसाथ जागीर र पढाइ दुवैको अवसर दियो । 

यसपछि उनको सेवाको क्षेत्र फेरियो । उनी प्राध्यापन पेशामा लागे । २०५० सालमा स्याङ्जाको वालिङ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख बने । क्याम्पस प्रमुख हुनुको प्रतिष्ठा थियो, सन्तोष पनि थियो । सबै राम्रै थियो । चार वर्षपछिको एक दिन उनले यो पदबाट अचानक राजीनामा गरे । यसपछि उनी फेरि आए काठमाडौं जहाँ घर छँदैथियो । यहीँ बसेर उनी निरन्तर लेख्न थाले । यसरी सुरु भयो उनको लेखन यात्रा । 

सबैजना लेखक 

२०४३ सालमा उनी ३२ वर्षका थिए । पुराना राजनीतिज्ञ नीलाम्बर पन्थीकी छोरी किरण पन्थीसँग उनको लगन गाँठो कसियो । नीलाम्बर २०१५ सालको संसद सदस्य हुन् । पछि उनी २०४८ सालमा पनि त्यो पदमा दोहोरिएर पुग्ने सीमित व्यक्तिमा परे । किरण पन्थीमा पनि स्वभावतः पितृगुण  आयो । पद्मकन्या कलेजको स्ववियु सभापति भइन् र २०४२ सालमा नेपाली कांग्रेसद्वारा सञ्चालित सत्याग्रहमा जेल पनि परिन् । 

मधुसुदन र किरण सहधर्म–सहकर्ममा छन् । उनीहरू दुबैजना लेखक हुन् । मधुसुदनले पहिले पढाए । किरण अहिले पनि पढाइरहेकी छिन् । मानविकी संकायबाट इतिहास, संस्कृति तथा पुरातŒव विषयमा स्नातकोत्तर किरण हाल चाबहिलस्थित ब्रिलियन्ट कलेजमा अध्यापन गर्दैछन् ।

उनीहरूका दुईजना छोराछोरी छन् आकृति र आशीष । आकृति अमेरिकामा एमबिए गर्दैछिन् भने आशीष अष्ट्रेलियामा एमआइटी अध्ययन गरिरहेका छन् । उनीहरू पनि लेख्दारहेछन् । मधुसुदनले छोराछोरीले लेखेका पुस्तक पनि देखाए । ‘हाम्रो चारजनाको  परिवारमा चारैजना लेखक हौँ,’ उनले गर्वले भने । उता मावलीतिरको कुरा गर्ने हो भने हजुरबा नीलाम्बर, छोरी किरण र नातिनातिनासहित उनीहरू तीनपुस्ता नै लेखक । उनको लेखकीय अभियानमा समर्पण पाएँ मैले । 

जोगीले देखाएको बाटो 

मधुसुदनले २०५४ सालदेखि मात्र लेख्न शुरु गरेका हुन् जुनबेला उनी ४३ वर्षका थिए । उनी वालिङ क्याम्पसमा प्रमुख थिए । उनी त्यसैमा रमाएका थिए । अरूतिर सोचेका थिएनन् । एकदिन एउटा जोगी उनको कार्यकक्षतिर आउँदै गरेको उनले देखे । कुनै घर ठानेर आयो होला जस्तो उनलाई लाग्यो र यो त क्याम्पस हो बाबा भने । अनौठो यहीँनेर भयो । 

त्यसबेला त्यहाँ कार्यालय सहयोगी र उनी मात्र थिए । क्याम्पस हो भनेपछि जोगीले मलाई थाहा छ भन्यो । मधुसुनले जोगीलाई बस्न सोफा देखाए । सोफामा बसेर जोगीले मधुसुदनलाई तिमीले किन पढेका हौ भनेर सोध्यो  । उनले खासै केही नसोची उत्तर दिए– बाबुबाजेको नाम राख्न । 

मधुसुदनको जवाफ सुनेर जोगी हाँस्यो ।  छोराछोरीले बाबुबाजेको नाम राख्दैनन्, मेटाउँछन् भनेर उल्टो कुरा ग¥यो । बाबु मरेपछि मालपोतमा गएर जग्गा आफ्नो नाममा सार्छन् । बिमा, गाडी, घरजग्गा आदि आफ्नो नाममा ल्याउँछन्  । यसरी बाबुको नाम मेट्दै जान्छन् । जोगीले यस्तो अर्थ लगायो । 

नाम राख्ने भए छोराछोरीले मेट्न नसक्ने काम गर्नुपर्छ । छोराछोरीले मेट्न नसक्ने काम भनेको कीर्ति हो । कीर्ति राख्न लेख्ने काम गर्नुपर्छ । लेख्यौ भने नाम रहृयो नत्र मेटियो । छोराछोरीले नाम राख्दैनन् । 

यति भनेर जोगी सोफाबाट उठ्दै विदा हुन लाग्यो । मधुसुदनले केही रकम भिक्षामा दान गर्ने विचार गरे । अँहँ, जोगीले लिन मानेन । त्यति भनेर भिक्षा नलिई जोगी बाटो लाग्यो । त्यो जोगी आकर्षक कदको थियो, ६ फिट आग्लो हुँदो हो । जोगी हिँड्यो । मधुसुदन छक्कै परे । उनले बाटोमा देखिउन्जेल जोगीलाई हेरिरहे । 

यो घटनाले मधुसुदनको यात्राको मार्ग बदलिदियो । जोगीले भिक्षा लिएन । भिक्षा लिएर गएको भए उनले एउटा साधारण जोगी ठान्ने थिए । यतिमै सकिन्थ्यो होला । 

यो घटनाले मधुसुदन भावुक भए । जोगी गयो तर ऊप्रति एकाएक सम्मानको भाव जागृत भयो । के मलाई त्यति कुरा भन्नै आएको थियो त्यो जोगी ? उसले किन त्यसो भन्यो ? मधुसुदनको मनमा यी प्रश्न उठे, निकै गहिरो तरिकाले । 

मधुसुदनले एकाएक जागीर छाड्ने निर्णय लिए । केही दिनमै उनले क्याम्पसप्रमुख पद र प्राध्यापन पेशाबाटै राजीनामा गरे । यहीँबाट सुरु भयो उनको लेखन यात्रा । 

मधुसुदन त्यो जोगीलाई विधाताले पठाएको दूत ठान्छन् । त्यसपछि उनको लेखन खुरुखुरु अघि बढेको छ, कुनै रोकावट छैन । जागीर त उनले सोच्दै सोचेनन् ।  

बितेको २१ वर्ष अवधिमा मधुसुदनका सबै गरेर ८८ वटा कृति प्रकाशित भए । यीमध्ये ३७ वटा मौलिक, ४१ वटा अनुदित, ७ वटा सम्पादित कृति छन् । अरू केही पत्रिकाको सम्पादन गरेका छन् उनले । उनी आफैँ सम्पादक प्रकाशक भएको ‘नागरिक आवाज’ साहित्यिक पत्रिका ११ अंकसम्म प्रकाशित भइसकेको छ । 

मधुसुदन लेखक, अनुवादक र सम्पादक हुन् । कथा, कविता, हाइकु, जीवनी, दर्शन, नियात्रा तथा उपन्यासहरू लेखेका छन् उनले । उनी संघ संस्थामा पनि संलग्न छन् । यात्री वाङ्मय प्रतिष्ठान र नागरिक सरोकार समूहमा उपाध्यक्ष छन् । उनले राप्ती साहित्य पुरस्कार, त्रिज्योति सम्मान, सुश्री भद्राकुमारी घले व्यक्ति सम्मान, लेखक संघ दाङद्वारा सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । 

विचार प्रवाहमा मधुसुदन  

हामी लगभग दुई घण्टाजति गफियौँ । यसबीचमा कफी खाँदै केही प्रश्नहरू सोधेँ । ‘साहित्य के हो ?’ छोटो उत्तर दिने शैली रहेछ उनको । ‘व्यक्तिको भावको प्रष्फुटन नै साहित्य हो’ उनले छोटोमा सटिक जवाफ दिए ।

‘तपाईंले किन लेख्नुभयो ?’ अर्को तीर ताकेँ उनीतिर । ‘चाहेर हुने होइन, १६ वर्ष जागीर खाएँ । नियतिले लेख भन्यो, लेखेँ ।’ 

उनले नियतिलाई आफ्नो लेखनको जसअपजस पन्साए । 

‘अब पनि लेखिरहनुहुन्छ कि अरू कुनै काम गर्नुहुन्छ ?’ 

उनले फेरि पनि नियतिकै कुरा गरे । नियतिले अरू काम गर्न लगाएन भने लेखिरहने बताए । उनी लेखनबाट सन्तुष्ट छन् । रमाएका छन् । 

उनी अब बिस्तारै नेपालमा पनि लेखेर जीवन धान्न सकिने अवस्था बन्दै गएको देख्छन् । आफूखुसी लेखिने लेखनबाट अलिक गाह्रो भए पनि उनको विचारमा निर्देशित लेखनबाट बाँच्न सकिने अवस्था छ । उनले नेपाली साहित्यको भविष्य उज्ज्वल देखेका छन् । भन्छन्, ‘बिगार्ने र बनाउने हामी लेखकहरू नै हौँ । हामीले बिगारे बिग्रिन्छ नत्र सप्रिन्छ ।’  

लेखन प्रारम्भ  

उनी जागीर छोडेर काठमाडौं आएपछि के लेख्ने र कसरी लेख्ने, कहाँबाट सुरु गर्ने भन्नेमा द्विविधामा थिए । लेख्दै नलेखेको मानिसमा यस्तो हुनु अस्वाभाविक पनि थिएन । भुङ्ग्रोमा परेका थिए । 

उनका चिनारु थिए पत्रकार देवप्रकाश त्रिपाठी । त्रिपाठीले आफू सम्पादक रहेको पत्रिका ‘घटना र विचार’ मा लेख्न आग्रह गरे । एक दिन पत्रिकाकै कार्यालयमा एकजना व्यक्तिले उनलाई आफ्नो पुस्तकालय हेर्न जाऊँ भनेर कर गरे । यो कर उनलाई फलिफाप भयो । उनले त्यो पुस्तकालयबाट महात्मा गान्धीको ‘आत्मकथा’ लिएर आए । केही दिनमै गान्धीको आत्मकथा हिन्दीबाट नेपालीमा अनुवाद गरे । यहाँबाट उनमा अनुवादप्रति आत्मविश्वास जागृत भयो । यसपछि निरन्तर लेख्न थाले मौलिक र अनुदित रूपमा । 

एकपटक एशिया पब्लिकेसनले उनलाई एकैपटक १४ वटा किताब दिएर त्यसको अनुवादको जिम्मेवारी दियो । यती पुस्तक अनुवादका लागि उनले प्रकाशकसँग १४ महिनाको समय मागे । अनुवादको गति यसरी अघि बढ्यो कि उनले ती पुस्तक चार महिनामै पूरा गरे । एकै पटक प्रकाशनबाट उनका १४ वटा अनुदित पुस्तक प्रकाशित भए । हालै यिनको दोस्रो संस्करण पैरवि प्रकाशनबाट एकै पटक आएको छ । 

उनले पुनर्जागरण साप्ताहिक, तरुण साप्ताहिक, घटना र विचार साप्ताहिक र जनमञ्च साप्ताहिकमा स्तम्भ लेखनको काम गरे । उनका नौ सयको संख्यामा विभिन्न पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित भएका छन् । गान्धी हत्या किन, बुद्ध दर्शनको इतिहास, नेपालको इतिहासका अपुष्ट पक्षहरू, नेपालमा सत्ता संघर्षको इतिहास, विश्व प्रसिद्ध व्यक्तित्वहरू, नेपालका जनजाति, गान्धीको जीवनी, हिट्लरको यातनागृह, नोबेल प्राइज विनर्स इन लिटेरेचर एण्ड मेनी मोर उनका केही प्रसिद्ध पुस्तकहरू हुन् । 

कुराकानीको अन्त्यतिर मैले अहिले नेपाली साहित्यको गुणस्तर खस्किदै गएको हो कि भन्ने धारणा राखेँ । यसको कारण संख्यात्मक वृद्धि  पो हो कि ¤ भन्ने मेरो आशय थियो । 

यसमा उनी सहमत भएनन् । उनले एउटा उदाहरण दिए । बगैँचाका सबै फूल उत्तिकै राम्रा हुँदैनन् । यीमध्ये राम्रा छान्नुपर्छ । साहित्य पनि त्यस्तै हो । धेरैबाट छानिएर आएका अझै राम्रा हुन्छन् । उनले तर्क गरे । भावी पुस्तालाई पनि लेख्न प्रोत्साहन गर्नुपर्छ भन्ने विचार छ । 

उनको विचार सार्थक बनोस्, यही गतिमा उनका कृतिहरू पनि आऊन् । हार्दिक शुभकामना ¤   

  


Views: 39

सम्बन्धित सामग्री: