24th April | 2019 | Wednesday | 10:28:03 PM

कविता : आउँदैछु प्यारी ‘रातो बाकसमा’

मुना दाहाल   POSTED ON : चैत्र ९, २०७५ (७:०८ AM)

कविता : आउँदैछु प्यारी ‘रातो बाकसमा’

मुरुभूमिको तातो हावामा

तिम्रो सुमधुर मुस्कान भेट्टाएको छु प्यारी ! 

खाडीको अँध्यारो खानीभित्र

बाबाको आँट र साहसले ऊर्जा दिएको छ 

आमा ! यो उजाड, उराठ र विरक्तिलो 

हावासँग हरहरिएको आँत तिम्रो ममताले भिजाएको छ 

टल्ल टल्किएका बालुवा र कंक्रिटसँग छोरा तिम्रो 

सुन्दर भविष्य अनि भाग्यको योजना बनाउँदैछु कल्पना कोर्दैछु ।

हो छोरी ! ऊँट र भेडाहरूसँग मितेरी लगाउँदैछु 

पीडासित पौँठेजोरी खेल्दै तिम्रा सुमधुर सपनाहरू 

आँखामा चन्द्रहारझैँ सजाउँदैछु ।

हजुबाको लौरीमा चाँदीको ताँतो हाल्नलाई

आकाशको बाटो आएकोछु ।

हजुरआमाको थोते गिजा भर्न र चश्माको पावर फेर्न 

शरीरको पावर बेच्दैछु ।

फुकुवा गर्नलाई बन्दकीमा राखेको आमाको बुलाकी

जीवन बन्धक बनाएको छु 

पैसा पठाउँदैछु धितो राखेको खेत छुटाउन 

आफ्नै शरीरभरि औँठाछाप लगाई 

मरुभूमिमा बेजोडको हावा चल्दा

मनभित्रको रक्तसञ्चार छचल्किन्छ

प्यारीको आवाज सुन्दा 

जिन्दगी पाकेको पिलो बल्किएझैँ बल्किन्छ 

बाआमाको स्नेह र ममताले 

सधैँ बालापनमै जीवन चलिरहोस् झैँ लाग्दछ ।

छोराछोरीको सुमधुर मुस्कानमै अडिएको छ जस्तो लाग्छ 

सम्पूर्ण अस्तित्व,

घरमाथिको मन्दिरबाट बिहानीमा 

घण्टको आवाज आउँदासम्म 

उठ्दैनथेँ म 

आमाले छिटो उठ् 

घाम शिरमाथि पुगिसके भनेर हल्लाउँदासम्म टेर्दैनथे ।

वस्तु कराउँदासम्म कानमा गोठ र टहराहरूबाट 

सिरानी छोपेर निदाउँथँे 

खाना मिठो नभए म

कुँडोमा मिल्काउँथेँ र मिठो पाए थपी थपी खान्थेँ 

अरूलाई समेत नराखी 

सबै सिध्याउँथेँ म

बल्ल अहिले आएर सबै ती मिठा दिनको 

सम्झनामा डुबुल्की मार्दैछु ।

आमाको काख र बाबाको प्यारको 

मतलव के हो 

यही खाडीबाट थाहा पाउँदैछु 

प्यारीका नसालु नयनहरू 

यिनै ऊँट र भेडाका बथानमा 

मिसाउँदैछु र सुस्ताउँदैछु ।

छोराछोरीको बालापन देख्नै नपाई 

जवानीको रगत यही मरूभूमिमा तताउँदैछु 

विडम्बना ¤

एक्लो, नितान्त एक्लो 

सबै आफन्तको मायाबाट टाडिएर 

सात समुन्द्रपारि हराउँदैछु ।

मैले पठाएको रेमिट्यान्सले देशका भ्रष्टाचारी र,

ओहोदावालाहरूको 

भोक मेटाउँदैछु विलासिताको 

छोरो पढ्ने स्कूलको शुल्क 

र, बाआमाको औषधिको सूची चारगुणाले बढेको पाउँदैछु 

गुजारा चलाउनै दैनिक 

धौ–धौ भयो भनी प्यारीले त्यो फरमाइस पूरा गर्न 

जोखिम मोलेर कमाउँदैछु दिनारत ।

केहीगरी कथमकदाचित् परदेशमै बितेँ भने 

रातो बाकसभित्र पोको परेर आउँनसक्छु म ।


Views: 564

सम्बन्धित सामग्री:

कविता : म रोएकी छैन

मुना दाहाल : बैशाख ७, २०७६ (७:१८ AM)