24th April | 2019 | Wednesday | 10:24:15 PM

कविता : विदेशिएको मन

सीताआस्था ढुंगेल   POSTED ON : चैत्र १६, २०७५ (७:२५ AM)

कविता : विदेशिएको मन

विमानस्थलमा

टिलपिल टिलपिल

भरिएका आँखाहरू,

भिजेका परेलीले 

आफन्तको अनुहार हेरेर

मुस्कुराउने कोसिस गर्दै थिए ।

र, सपना फलाउन

मायासँगै

छाडेर मुटुको टुक्रा यतै

आफ्नै आँगनमा

खुशी टुसाउने आशामा भोलि

रित्तिएको झोला

भरिएको मन

नपोखी आँसु 

गयो ऊ

आँखैमा रोकेर

हात हल्लाउदै

कर्तव्यको बोझ बोकेर ।

छिर्दै हुन्छन् दैनिक 

लामका लाम मान्छेहरू त्यहीँबाट

अबिर लगाएर 

र, दोसल्ला ओढेर ।

एक  हुल युवा 

त्यो भीडभाड छिचोलेर 

त्यो जमात पन्साएर 

आफ्नै देशको माटोमा 

रमाउँन पाउँथ्यो भने ऊ

सरकार धन्यवाद पाउँथ्यो होला 

कतिकति पोल्टा भरी भरी  

घरमा आमा भन्दै थिइन्

‘अब त छोरो विदेश गयो,

साहुजी !

साँहु ब्याजै पठाउँछ 

पर्खिंदै गर्नु है !’

उता प्रिया सोच्दैछिन् 

मखमली मनले 

मन थामेर बस्छु

सन्तानका लागि हो

सक्षम र महान बनाउने सपना 

उनले र मैले देखेको सपना 

कल्पनाको धरातल

कसिलो बन्नेछ अनि 

खस्किँदैन, भत्किँदैन 

विदेशी माटोमा पोखेको पसिना

एक्लोपनको गहिराइ

कति दुख्छन् होला युवा सपना !

सम्झिएर यता

उड्दा उड्दै आकाशको बाटोमा ! 

निस्सार बेगको यान 

ठोक्किएर मेघाच्छादित् वायुसँगै 

त्यही मनसँगै, तिनै सपनासँगै !


Views: 411

सम्बन्धित सामग्री:

कविता : म रोएकी छैन

मुना दाहाल : बैशाख ७, २०७६ (७:१८ AM)