22nd July | 2019 | Monday | 6:25:16 PM

महानगरका सडकमा ब्रुमर

बिनु लुइँटेल   POSTED ON : बैशाख ४, २०७६ (६:५८ AM)

महानगरका सडकमा ब्रुमर

क्रमिक रूपमा नेपालले पनि विकासका सम्भावनाहरू सोच्ने र तिनलाई व्यवहारमा उतार्ने काम गरिरहेको छ । यही अभ्यासका क्रममा अहिले काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्ने बु्रमरको प्रयोग सुरु गरेको छ । पानी पर्दा हिलोले छपक्कै हुने काठमाडौं उपत्यकाका सडक घामलाग्दा धुलोले पुरिएका देखिन्छन् । घरबाहिर निस्किँदा मुख छोप्न मास्क प्रयोग नगर्ने मानिस उपत्यकामा कमै भेटिन्छन् । काठमाडौंका सडकहरूमा उड्ने धुलोले दिनप्रतिदिन मानव स्वास्थ्यमा गम्भीर असर पार्दै आएको छ भने धुलो कम गर्ने जिम्मेवारी पाएका सम्बन्धित निकायहरू असफल देखिँदै आएका छन् । काठमाडौं उपत्यकामा भएका धेरै समस्या र त्यसबाट सर्वसाधरणले खेप्नु परेको सास्तीमध्ये एक हो कुहिरिमण्डल धुलो । 

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक हाल धुलाम्मे छन् । जाडो सकिएसँगै फेरि काठमाडौंका सडकमा घाम लाग्दा बुङ्बुङ्ती धुलो उड्न थालेको छ । पानी पर्दा हिलो हुने त छँदै छ घाम लाग्दा काठमाडौंवासीले सास्तीमात्रै खेप्नु परेको छैन, वायुप्रदूषण पनि हृवात्तै बढेको छ । स्थानीय निकायको चुनावपछि जनप्रतिनिधिले आफ्नो कार्यभार समालेसँगै उपत्यकालाई मास्कमुक्त बनाउने योजना अगाडि सारेका थिए । तर, स्थानीय निकायको चुनावपछि जनप्रतिनिधिले कार्यभार समालेको दुई वर्ष पुग्नै लाग्दा पनि उपत्यकाको अवस्था भने जस्ताको तस्तै छ ।

सर्वसाधरणको चौतर्फी दबाबपछि काठमाडौं महानगरपालिकाले भने धुलो नियन्त्रण गर्ने उद्देश्यले बु्रमरको प्रयोग सुरु गरेको छ । आधुनिक शहरहरूमा बु्रमरलाई चिल्ला सडकमा रहेका ससाना धुलाका कण सफा गर्न प्रयोग गरिन्छ तर हाम्रोजस्तो ठूला खाल्डाखुल्डी, बाक्लो धुलो वा हिलो हुने सडकमा बु्रमरको प्रयोग गर्न निकै चुनौतीको सामाना गर्नुपर्ने देखिएको छ । जताततै खाल्टाखुल्टीले भरिएको सडकमा बु्रमरको प्रयोग गर्ने महानगरको उद्देश्य पूरा त भएको छ तर त्यसको प्रभावकारिता भने सोचे आनुरूपको हुन सकेको छैन । 

काठमाडौं महानरपालिकाले गत फागुन २८ गते इटालीबाट पाँचवटा बु्रमर काठमाडौं ल्याएको थियो । मेलम्ची खानेपानी आयोजनाले जताततै भत्काएर धुलाम्मे बनाएका सडकको मर्मतसम्भार गर्नुअगाडि नै महानगरले बु्रमर सडकमा उतारेको छ । एउटा इटलियन ब्रमुर को मूल्य २ करोड १५ लाख १७ हजार ४३६ रुपैयाँ परेको छ । बिक्रेताले काठमाडौं महानगरपालिकालाई एकमुष्ट पाँचवटा बु्रमर किनेका कारण केही छुट पनि दिएको थियो । जसअनुसार १० करोड ८ लाख २४ हजार रुपैयाँमा ती बु्रमरहरू काठमाडौंसम्म आइपुगेका थिए । जसअनुसार एउटाको मूल्य १ करोड ८० लाख रुपैयाँभन्दा बढी परेको छ । 

गत चैत १२ गतेबाट काठमाडौं महानगरमा सञ्चालनमा आएका बु्रमरले अहिले काम गरिरहेका छन् । बु्रमरले काम सुरु गरेको दिन काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा अब धुलो देख्नु नपर्ने बताएका थिए । तर, गर्मी बढ्दै र घाम चर्किँदै जाँदा धुलो नदेखिनेभन्दा पनि धुलोभित्रका मान्छे चाहिँ देख्न गाह्रो पर्ने भएको छ । धुलोको कारणै पत्ता नलगाई नै बु्रमरलाई सडकमा उतार्दा धुलो कम हुन सकेको छैन । मेयर शाक्यले भनेजसरी महानगर अहिले पनि धुलोरहित बन्न सकेको छैन । धुलोरहतिको कुरोमात्रै होइन कम भएको महसुस पनि हुन पाएको छैन । 

विकसित देशहरूमा धुलोका कण उठाउने बु्रमरको प्रयोग काठमाडौंको सडकका धुलोका थुप्राहरू पन्साउन र उठाउन निकै समस्या परेको छ । महानगरले बु्रमर सञ्चालन गरेकै दिन पाँचमध्ये एउटा बु्रमरमा समस्या आएको थियो । त्यसको पनि मर्मत गरेपछि अहिले सबै बु्रमरले काम गरिरहेकै छन् । तिनलाई तिनको पूर्ण क्षमताअनुसार काममा प्रयोग गर्नुपर्ने आवश्यकता छ । 

यी बु्रमरले सडकमा फालिएका प्लाष्टिकका बोटलहरू पनि संकलन गर्नुका साथै ६० सेन्टिमिटर अग्लो सडक पेटीको धुलो पनि संकलन गर्ने सक्षमता राखेका छन् । बु्रमरमा एउटा अगाडि, एउटा बीच भागमा र दुईवटा छेउमा धुलो सफा गर्ने ब्रस छन् भने ५ सय मिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्ने क्षमता यिनमा रहेको छ । 

अहिले महानगरभित्र बु्रमरले संकलन गरिरहेको धुलो महानगरले ट्रकमा राखेर टेकूमा थुपार्दै आएको छ । तर, यसरी थुपारिएको धुलो कहाँ व्यवस्थित गर्ने भन्ने योजना महानगरसँग नहुँदा धुलो थुपार्ने ठाउँको अभाव देखिन थालेको छ । कुनै पनि योजना र तयारीविना सञ्चालनमा आएका बु्रमरले कति समय काम गर्न सक्छन् भन्ने प्रश्न यतिबेला सबैमा उठ्न थालेको छ । 

महानगरले बु्रमर ल्याएसँगै यिनको कहाँ कहाँ सञ्चालन गर्ने भनेर त्यसको क्षेत्रसमेत तोकेको थियो । आफ्नो रुटअनुसार बु्रमरले काम गरिरहेका भए पनि धुलो र प्रदूषणको अवस्था भने महानगरभित्र जस्ताको तस्तै देखिन्छ । बु्रमर आउनुअगाडि जसरी मुख छोपेर हिँड्नुपर्ने अवस्था थियो अहिले पनि उस्तै अवस्था रहिरहेकै छ । अघिल्लो दिन चिल्ला देखिएका सडक भोलिपल्ट बिहान भत्किएर लथालिंग बन्ने र ती सडकमा बु्रमरले काम गर्न नसक्ने हुँदा धुलोको मात्र कत्ति पनि कम भएको देखिँदैन । 

बु्रमरको एउटा ब्रसले न्यूनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफा गर्नसक्ने क्षमता छ । बु्रमरमा ५ सय लिटर पानी र ४.६८ घन मिटर धुलो बोक्ने क्षमतासमेत छ । महानगरले हाल भएका बु्रमरसँगै थप दुईवटा बु्रमर चीनबाट ल्याउने तयारी गरेको छ । अनुदानस्वरूप चीन सरकारले दिने भनिएका दुईवटा बु्रमर छिट्टै काठमाडौं भित्रिने तयारीमा रहेका छन् । अनुदानका बु्रमर भए ल्याउनु स्वाभाविक हुन्छ नत्र किनेर ल्याउने हो भने सोचेरमात्र ल्याउनुपर्ने हुन्छ । यी बु्रमरको काम र मर्मत खर्च हेरेरमात्र अरू खरिद गर्नु बुद्धिमतापूर्ण हुन्छ । अरू क्षेत्रमा जस्तै यिनमा पनि कमिसनको चक्कर लगाउन थालियो भने यी पनि काम गर्नेतिरभन्दा थन्किनेतिर पर्लान् भन्ने डर हुन्छ । ब्रुमर थुपार्नेभन्दा पहिले जताततै भत्किएका सडक मर्मत गर्नु महानगरपालिकाको मुख्य काम हो । 

बु्रमरको कार्यक्षमता बढाउनका लागि सडकको अवस्था पनि राम्रो हुनुपर्ने देखिन्छ । खाल्टाखुल्टी र सडक वरिपरि थुपारिएका बालुवा, इटा आदि व्यवस्थापन गर्ने र हिलोमुक्त बाटोमा बु्रमर प्रयोग गर्ने हो भने काठमाडौंको धुलो केही हदसम्म कम हुने निश्चित छ ।

सडकको धुलो हटाउन ल्याइएका बु्रमरले उल्टै सडक ढाक्ने गरी धुलो उडाइरहेका छन् । बु्रमरले उठाएको धुलो व्यवस्थापन गर्न पनि दीर्घकालीन योजना चाहिएको छ । यसतर्फ नसोच्ने हो भने बु्रमर सञ्चालन गर्नुको पनि कुनै अर्थ नरहने देखिन्छ । सर्वसाधारण जनताले यसलाई पनि महानगरपालिकाको एउटा नौटंकी ठान्नेछन् र यसमा पनि अरू विभिन्न कुरामै जसरी कमिसनको गन्ध देख्नेछन् ।


Views: 583

सम्बन्धित सामग्री:

कथा–उपहार

राजेश अधिकारी : असार २३, २०७६ (४:५७ AM)