27th June | 2019 | Thursday | 4:58:35 PM

झ्याम्म झ्याम्म

विनोद दाहाल   POSTED ON : जेठ ४, २०७६ (७:३७ AM)

झ्याम्म झ्याम्म

रत्नपार्क मात्र होइन नारायणहिटी हाम्रो 

झ्यामम झ्याम्म

ज्ञानेन्द्रले सत्ता छोडे सबैभन्दा राम्रो 

झ्याम्म झ्याम्म 

उपर्युक्त गीत उनले दोस्रो जनअन्दोलन २०६२÷६३ मा राजधानी काठमाडौंको रत्नपार्कमा गाएका थिए । उनीसँगै स्वर, ताल र लय मिलाउँदै हजारौँ मानिसले गाए । नभन्दै उनले भनेअनुसार परिवर्तन पनि भयो । राजाले सत्ता छाडे । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भयो । देउडा गीतका महानायक नन्दकृण जोशी गीत गाइरहेकै छन् । 

तिमिल्सिना उपाध्याय ब्राहृमण कुलमा २०१५ साल साउन १५ गते सेती अञ्चलको बझाङ तलकोटमा पिता जगदीश जोशी र माता गंगामतीदेवीका आठजना छोराछोरीमा कान्छो सन्तानका रूपमा जन्मिएका हुन् नन्दकृष्ण । गाउँको सरदर सामान्य परिवारका नन्दकृष्ण बाल्यकालमा गोठालो जान्थे । गोठालो भएर वनपाखा डुल्दा अरूले गीत गाएको सुनेर उनी पनि गाउन थाले । त्यो बेला उनको समाजमा ब्राहृमणहरूले गीत गाउनु हुँदैन भन्ने मान्यता थियो । यो मान्यता चिर्दै उनी देउडा गायक बने । 

नन्दकृष्णले बझाङमै हालको दुर्गाभवानी माध्यमिक विद्यालयमा आठ कक्षासम्म पढे । त्यो बेला प्रमुख जिल्ला अधिकारी विद्यालय निरीक्षणका क्रममा त्यहाँ जाँदा उनले गीत गएरै सेती नदीमा पुल चाहियो भनेर मागे । 

कक्षा नौ र दश मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले स्थापना गरेको सत्यवादी माध्यमिक विद्यालयमा पढे । त्यहाँबाट एसएलसी उत्तीर्ण गरेपछि उनी २०३३ सालमा उच्च शिक्षाका लागि काठमाडौं आए । वाल्मीकि क्याम्पसमा भर्ना भए । त्यहीँबाट आचार्यसम्मको पढाइ पूरा गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए पनि गरे । क्याम्पस पढ्दा पनि उनले देउडा गायनलाई निरन्तरता दिइरहे । यतिन्जेलमा उनी गायक भइसकेका थिए । 

नन्दकृष्णकी आमा मागल गाउँथिन् । गाउने प्रेरणा आमाबाटै मिलेको हो । नन्दकृष्ण गायनबाटै जागरण ल्याउने अभियानमा लागे । सबैभन्दा बढी देउडा नै गाए । उनले अरू लोकगीत पनि गाएका छन् । उनी गायकमात्रै होइनन् । जागरण र क्रान्तिका अभियन्ता पनि हुन् । खोज, अनुसन्धान, व्याख्या, विश्लेषण गर्ने काम पनि उनीबाट भएको छ । उनका २२ वटा गीति एल्बम छन् । 

२०४४ साल वैशाखमा काठमाडौं चाबहिलकी प्रार्थना खनालसँग उनको बिहे भयो । उनका एक छोरा सुश्रुत र एक छोरी शृंखला छन् । परिवारका सबैजना गाउँछन् । 

त्यसो त नन्दकृष्ण गायक र खोजकर्ता मात्र होइनन् राजनीतिक व्यक्ति पनि हुन् । नेपालमा तीसको दशकपछिका सबै परिवर्तनका आन्दोलनहरूमा उनको सक्रिय संलग्नता रहृयो । उनी पटक–पटक गरी डेढ वर्ष जेल पनि बसेका छन् । हाल बझाङबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन् । अरू क्षेत्रबाट अरू काम हुने र विकासका काम राजनीतिसँगै जोडिने हुँदा आफ्नो क्षेत्रको विकासका लागि राजनीतिमा लागेको उनको भनाइ छ । उनी २०६४ सालमा पहिलो संविधानसभाको सभासदका लागि समानुपातिक उमेद्वार पनि थिए । 

राजनीति किन गर्छन् नन्दकृष्ण ? उनको विचारमा मानिस स्वाभाविकरूपमै राजनीतिक प्राणी हो । सार्वजनिक हितमा काम गर्ने चाहना नै राजनीति हो । राजनीति नभई यस्तो काम गर्न सकिँदैन । देशमा प्रजातन्त्र ल्याउने प्रयासका लागि उनी जेल बसे । २०३६, ०४६, र ०६२÷६३ सालका आन्दोलनहरूमा सक्रिय भए । जेलमा पनि उनले गीत गाएर चेतना फैलाए । हराउनै लागेको सुदूर पश्चिमको संस्कृतिलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको बनाए, त्यहाँसम्म चिनाए । देउडा सुदूर पश्चिमको विशिष्ट संस्कृति हो । उनले देउडा देश–विदेशमा चिनाए । यसमा उनी सन्तुष्टि प्रकट गर्छन् । 

नन्दकृष्णले जननायक विश्वेश्वरप्रसाद कोइरालालाई पनि देउडा सुनाए २०३५ सालमा । त्यहाँका यस्ता लोकसंस्कृतिको प्रबद्धन गर्न काम गर्नू भन्ने सल्लाह बीपीले उनलाई दिएका थिए । उनी बीपी कोइरालाबाट अत्यन्त प्रभावित भए । यसैकारण लोकतन्त्रवादी विचारको अनुयायी बने । यो सिद्धान्त कहिल्यै फेल खाँदैन भन्ने उनलाई लाग्छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तबाट प्रभावित छन् । त्यसैले उनले यस्ता सैद्धान्तिक गीतहरू पनि गाए ।

नन्दकृष्ण भाषा, संस्कृति र गीतसंगीतमै समर्पित रहँदै आएका छन् । सुरुमा उनले केही समय ताहचल क्याम्पसमा पढाए । हाल उनी कान्तिपुर एफएममा सांगीतिक कार्यक्रम ‘रैबार’ चलाउँछन् । उनले यो कार्यक्रम चलाएको १८ वर्ष भयो । नेपाल टेलिभिजनबाट ‘भलाभली’ कार्यक्रम पनि चलाउने गरेका छन् । यो कार्यक्रम चौतारी स्रष्टा संवाद नाममा सञ्चालित हुँदै आएको छ । यी दुवै कार्यक्रम सुदूरपश्चिमको लोकसंस्कृतिको प्रबद्र्धनमा समर्पित छन् । 

नन्दकृष्ण बौद्धिक गायक हुन् । उनी आफूलाई गायकमात्र भन्न रुचाउँदैनन् । विभिन्न कारणले गायनको अवमूल्यन हुन थालेको उनको ठम्याइ छ । उनी अनुसन्धाता पनि हुन् । सेती, भेरी, कर्णाली र महाकालीको लोकसंस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने श्रेय उनैलाई जान्छ । उनका गीतका क्यासेटहरू देश–विदेशका विभिन्न ठाउँमा व्यापकरूपमा पुगेको उनको भनाइ छ । उनी २०६३ सालमा नयाँ राष्ट्रिय गान छनोट समितिका सदस्य पनि थिए । २०६२÷६३ सालको अनआन्दोलनमा नागरिक आन्दोलनका अगुवाहरूमध्ये एक थिए नन्दकृष्ण जोशी । उनी देउडा गीतबाटै आन्दोलनको माहौल तताउँथे । 

तल बग्न्या करनाली माथि बग्ने रेवा 

झ्याम्म झ्याम्म

चिउणी समाई भलाभली बाउली समाई सेवा 

झ्याम्म झ्याम्म

नन्दकृष्ण देउडा गीत लोकगीत र लोकसंस्कृतिको मौलिक वृक्ष हो भन्छन् । यो हाँगाहाँगी होइन भन्ने उनको निष्कर्ष छ । भन्छन्, ‘देउडा गीतले नेपाली भाषा, संस्कृति र शैलीको चेतना फैलाउँछ र जनजीवनलाई आत्मसात गर्छ ।’ देउडा अरू लयमा गाउँदा यसको मौलिकता मर्छ भन्छन् नन्दकृष्ण । 

नन्दकृष्णले देउडाको भाका र नृत्यशैलीबारे छोटोमा सुनाए । देउडा डेढी कदममा नाचिन्छ । गीत दुई पाउको हुन्छ । एक पाउमा १४ अक्षर र दुई पाउमा २८ अक्षर हुन्छन् । गीतको लय र भाकाअनुसार पैताला चलाइन्छ । एक कदम अगाडि सारेर आधा कदम पछाडि सारिन्छ । पहिले देब्रे गोडा उचालिन्छ र दाहिने गोडा अगाडि लगिन्छ । यसले भाषाको र नृत्यको पनि विस्तार गरेको भन्छन् नन्दकृष्ण । 

हाल नन्दकृष्णको बसोबास धेरैजसो राजधानी काठमाडौंमै छ । काठमाडौंको सुकेधारामा उनको घर छ । घरको बैठक कोठाका भित्ताभरी फ्रेममा सजाइएका मान–सम्मान टाँगिएका छन् । उनी २०५८ सालमा गोरखा दक्षिणबाहु चौथोबाट सम्मानित भए । त्यसपछि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट उनले २०६९ सालमा सुप्रबल जनसेवाश्री चौथो र २०७५ सालमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री तृतीय पाए । २०५६ सालमा सुदूर पश्चिम साहित्य समाज धनगढीले उनलाई ‘देउडा सम्राट’ उपाधि दियो, ‘देउडाका नायक’ भनेर सम्बोधन ग¥यो । 

हिउँ भौति मालिका पड्डो पाटन पुरिँदैन 

झ्याम्म झ्याम्म

साइ दूरै म पनि दूरै माया दुरिँदैन 

झ्याम्म झ्याम्म

नन्दकृष्णले २०३४ साल कात्तिक १४ गते रेडियो नेपालबाट पहिलो पटक गीत गाए । उनी क्याम्पसका मञ्चहरूमा पनि गाउनकै लागि उत्रिए । उनका साथी पुरुषोत्तम दाहालले पनि धेरै पटक उनलाई क्याम्पसका मञ्चहरूमा उतारेको उनी बताउँछन् । हुन त अहिले देउडा गाउने धेरै नयाँ गायकहरू आए तर नन्दकृष्णले गाउँदाताका उनी एक्ला थिए । 

सुदूर पश्चिमको धेरै क्षेत्र अहिले पनि दुर्गम छ । त्यसमा पनि बझाङ तलकोट नन्दकृष्णको गाउँको त कुरै थिएन । त्यही दुर्गम पहाडी गाउँमा कतै कतै उनले रेडियो बजेको सुन्थे । कतै रेडियो बजेको सुने भने त्यही रोकिन्थे । जनकवि केशरी धर्मराज थापाका लोकगीत सुनेका थिए । अनि स्वरसम्राट नारायण गोपालका आधुनिक गीतहरू पनि सुनेका थिए । उनको बालमनले ती गीतहरू रुचायो तर मनमा एउटा प्रश्न पनि उब्जायो– हाम्रा ठाउँका लोकगीतहरू चाहिँ किन रेडियोमा बज्दैनन् ? 

यही जिज्ञासाले उनलाई देशको गायक बनायो । अनि गौरा, बिसु र देउडा पनि यसैगरी रेडियो र पत्रपत्रिकामा आउनुपर्छ भनेर उनी गायनमा लागे । 

नन्दकृष्णले आफ्नो किशोरवयमा तीन वटा कामको अठोट गरेका थिए– गीत गाउने, सेती नदीमा पुल बनाउने र गाउँका झैझगडा मिलाउने । यसको अर्थ उनी गायक, वकिल र इन्जिनियर बन्न चाहन्थे । मनले सोचेको सबै के पुग्थ्यो र ¤ उनी गायक बने, आफ्नो संकृति चिनाए, आफू चिनिए । किशोरवयका अरू अठोट त्यतै कतै बिलाए । गायन त कला हो । उनले आफ्नो रुचिअनुसार देउडाको खोज गरे, प्रबद्र्धनका काम गरे र गायक भए । यसको विस्तारमा उनले प्रतिबद्धताका साथ सक्दो बढी काम गरे, अझै गर्दैछन् । सुदूरपश्चिमको देउडा देशव्यापी बन्यो र देशबाहिर पनि व्यापक बन्यो । नन्दकृष्ण भन्छन्, ‘देउडामा शब्द भण्डार छ, भाषिक गहिराइ छ, इतिहास छ र नारीका पीर व्यथाहरू छन् ।’ 

नन्दकृष्णका गीत भारतको रामेश्वरमदेखि कश्मिरसम्म बजे, गाडीहरूमा उनकै गीतका चक्का बजाइए र मेला पर्वहरूमा पनि व्यापक रूपमा उनका गीतहरूले ठाउँ पाए । महाकाली, सेती, भेरी र कर्णालीका गाउँ–गाउँका कचहरीहरूमा पनि उनका गीत बज्थे, बज्दैछन् । अहिले पनि निरन्तर गाउँदै छन् । उनले गाएका ठाउँमा श्रोताहरूको भीड पन्साउन नसक्ने खालकै हुन्छ । उनी छिटै छोरी शृंखलासँग संयुक्त गायनको सिडी निकाल्दै छन् । यसमा उनका केही पुराना केही नयाँ गीतहरू समावेश हुनेछन् । उनी जेल बस्ताका केही लेखन र अन्यसमेत समेटेर पुस्तक प्रकाशनको तयारीमा पनि छन् । उनका छोरा र श्रीमती पनि गाउँदै छन् । 

नन्दकृष्ण गौरव गर्छन्, ‘सुदूरपश्चिम र कर्णालीलाई धेरै मिहिनेत गरेर नेपाल र विश्वसामु चिनाएँ, नेपालको संस्कृति चिनाएँ । गीतको मात्र होइन भाषा र संस्कृतिको पनि परिचय गराएँ ।’ अहिले गीत गाएरै पनि राम्रो आम्दानी गर्न सकिने अवस्था बनेको उनी बताउँछन् । भन्छन्, ‘सक्नेलाई ठाउँ बनेको छ तर मैले पैसालाई महŒव दिइनँ ।’ 

नन्दकृष्णले मालिका म्युजिक प्रालि स्थापना गरे । २०५२ सालदेखि २०५७ सालसम्म उनले यसलाई सञ्चालनमा ल्याए तर द्वन्द्व लगायतका कारण निरन्तरता दिन उनी असमर्थ रहे । 

‘कला प्राकृतिक हो कि अभ्यास ?’ मूलरूपमा प्राकृतिक मान्छन् नन्दकृष्ण । त्यो प्राकृतिक कला तिखार्न अभ्यास आवश्यक हुने उनको भनाइ छ । 

तँ आइगै डोटी है म आयाँ बझाङग्याबाट 

झ्याम्म झ्याम्म

क्या माया लोटी है भेटघाट नहुन्या ठौरा 

झ्याम्म झ्याम्म

नन्दकृष्णले अर्को एउटा काम पनि गरेछन् । दुवै सुदूर पश्चिमका दुई पूर्वप्रधानमन्त्री, लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा तर उनीहरूको बोलचालै थिएन । उनले बिसु पर्वमा खुलामञ्चमा एकै ठाउँ राख्न थाले र उनीहरूबीच बोलचाल गराए । यो पनि उनको अभियानकै देन हो । 

नन्दकृष्णलाई अहिले देशको अवस्था देखेर चिन्ता लाग्न थालेको छ । युवाहरूका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर भए हुन्थ्यो भन्ने उनलाई लाग्छ । उनले विदेशमा बसेर दुःख गरिरहेका नेपाली युवाहरूलाई देखेका छन् । उनीहरूको पीडा बुझेका छन् । कार्यक्रमहरू लिएर खाडी मुलुकतिर जाँदा त्यहाँ श्रमरत नेपाली युवालाई देख्दा उनको मन यसरी हुँडलिने गरेको छ । उनको चाहना पूरा भए सबै नेपालीको चाहना पनि पूरा भएको मानिने थियो । 

तेल्यालेक धरम्शाला रोसिलाको पानी 

झ्याम्म झ्याम्म

डिठपण्या भिट भैगैइ मान्दो मेरो गैलो बानी 

झयाम्म झ्याम्म । 

गीतको यति टुक्रा सुनाएर नन्दकृष्णले कुराको बिट मारे ।   


Views: 279

सम्बन्धित सामग्री:

बाको मनै चिराई

मुना दाहाल : असार ७, २०७६ (७:०६ AM)