27th June | 2019 | Thursday | 3:43:17 PM

सङ्घर्ष हो जीवन

रमा लुइँटेल   POSTED ON : जेठ १८, २०७६ (७:१२ AM)

सङ्घर्ष हो जीवन

राजधानी काठमाडौं सहरको पूर्वी भेग, चुच्चेपाटी पेट्रोल पम्पसँगैको बेकरी क्याफे । गौशाला, चाबहिलको ट्राफिक जाम छिचोलेर क्याफे पुग्दा सोनिका स्कुटरमा बसेकी थिइन् । नजिकै थिए दुईवटा मेच र टेबुल । अर्डर लिन श्रवण क्षमता नभएका कर्मचारी उभिएका थिए । मलाई देख्नेबित्तिकै सोनिका मुस्कुराइन् । मभन्दा केही मिनेट छिटो क्याफे पुगेकी उनले स्कुटरमै बसीबसी केही मिनेट गर्मी र ट्राफिक जामको कुरा गरिन् । मैले उनका सबै कुरामा सहमति जनाएँ । स्कुटरमै बसेर कुरा गर्ने प्रस्ताव राखिन् । उनको समस्या बुझेर मैले हुन्छ भनेँ । 

केही छिनको भलाकुसारीपछि सोधेँ, सोनिकाजी स्कुटर चलाएको कति भयो ? एक–डेढ वर्ष भएको रहेछ । प्रश्नसँगसँगै स्कुटरमा आँखा कुदाएँ । एकातिर ह्वीलचेयर थियो, अगाडितिर एउटा झोला । सायद, झोलाभित्र ल्यापटप थियो होला । मनमा धेरै प्रश्न एकैपटक दौडिए । उनको कुरा गर्ने शैली, आत्मविश्वास, कम्मरमाथिको शारीरिक अवस्था हेर्दा उनमा अपाङ्गता छ भन्ने लाग्दैन । सोनिकासँग भेट्दा मलाई एकैपटक विषयमा प्रवेश गरेर सोध्न मन लागेन । फेरि स्कुटरकै कुरा दोहो¥याएँ, स्कुटरले मोबिलिटी बढाउँछ हगि ¤ 

उनले सहमति जनाइन्, ‘कतै जानु परे अरूको भर पर्नु पर्दैन, समयमा पुगिन्छ ।’ उनले चढ्ने स्कुटर अरूभन्दा थोरै भिन्न छ, चार पाङ्ग्रे । त्यसैले, सडकमा पनि यसले अरूले भन्दा केही बढी ठाउँ लिन्छ । सानोतिनो ठाउँमा घुसाएर अरूलाई उछिन्न मिल्दैन । सोनिका स्कुटर बिस्तारै कुदाउँछिन् । स्कुटर बेपत्ता हुइँक्याएर उनलाई धेरै टाढा पुग्नु छैन । उनले आप्mनो गन्तव्यको अन्तिम विन्दु तय गरिसकेकी छिन् । त्यो बिन्दु हो, आपूmजस्तै अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि सङ्घर्ष गर्ने, उनीहरूलाई मनोवैज्ञानिकरूपमा सक्षम बनाउने । 

मेरुदण्डमा चोट लागेको हुनाले सोनिकाको कम्मरमुनिको भाग चल्दैन । उनको प्रस्तुति र आत्मविश्वासले १५ वर्ष अघिको त्यो बिर्सन नसक्ने दिन सम्झाउन केही सहज भएको अनुभव भइरहेको थियो । 

बिर्सन नसक्ने त्यो दिन 

दशैंको टीकाको अघिल्लो दिन । खसी त्यस्तै आठ÷दश धार्नीको हुँदो हो । दिदीभाइ मिलेर खड्कुलोभरी त्यो मासु पकाए । दशैंको मासु आँगनमा दाउरा बालेर पकाउने चलन थियो । खड्कुलोमा मासु नपकाएसम्म दसैं आएजस्तै नलाग्ने । मनभरी उल्लास थियो । टीकाको दिन नयाँ लुगा लगाउने, मामाघर जाने । यस्तै–यस्तै कुरा गर्दागर्दै मासु पाकेको पत्तो भएन । समय गएको पनि पत्तो पाएनन् उनीहरूले । 

आमा मामाघर जानुभएको थिएन् । त्यहाँ हजुरबाको बरखी थियो । केही दिनदेखि आमा त्यता भएकाले घरधन्दा, गाईवस्तु सबैको जिम्मा सोनिकाकै थियो । 

मासु पाकेपछि उनको मनमा भोलिपल्टका लागि घाँसको जोहो गर्ने विचार आयो । साँझ पर्नै लागेको थियो । डोको बोकेर सोनिका घाँस भएको पाखोतिर लागिन् । पाखो नजिकै पुगेपछि उनलाई बिछट्टै अल्छी लाग्यो । त्यति उत्साहित भएको मन एकतमास भयो । नजिकैको कमला खोलाको किनारमा बसेर उनले एकतमास खोलामा हेरिन् । जमेको पानीमा डुब्न लागेको घामको प्रतिविम्ब देखिन् । त्यसलाई नियालिरहिन् । साँझ झमक्कै पर्न लागेको थियो । एक डोको घाँस काटिन् । खेतीसँगैको गोठमा डोको बिसाइन् । नजिकैको धारामा हातगोडा धोइन् र पिङ खेल्न गइन् । 

पिङ भनेपछि उनी सानैदेखि भुतुक्क हुन्थिन् । सानी हुँदा दलिनमा पिङ हाल्न लगाएर खेल्थिन् । मच्चाउन उनलाई खुबै मन लाग्ने, जति मच्चायो त्यति रमाइलो । सोनिकाले त्यहाँ भएकामध्ये सबैभन्दा ठूली र मच्चाउन सक्ने साथी छानिन् । लिङ्गे पिङ यति मच्चियो कि, यसअघि त्यति मच्चाएको उनले सम्झेकी छैनन् । त्यसो त उनी अघिल्ला दशैंहरूमा पनि मच्चाउन सक्ने साथी खोज्दै पिङ खेल्थिन् । दुवै मिलेर पिङ खुब मच्चाए । उनको हात थाक्यो । सङ्गीलाई मेरो हात थाक्यो भनेको सम्झना छ । त्यसपछि के भयो थाहा छैन । 

पिङमुनि कान्लो, कान्लोभन्दा मुनि पिच सडक थियो । उनले घटना सुनाइन्, ‘त्यही सडकमा बज्रिएछु, पानी छ्यापेको अलि अलि थाहा छ ।’ त्यसपछि के भयो उनले थाहा पाइनन् । सिन्धुलीको भिमान स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार भएछ, त्यसपछि जनकपुर अस्पतालमा । थप उपचार त्यहाँ सम्भव भएन । सोनिकालाई एम्बुलेन्समा राखेर महाराजगञ्जस्थित शिक्षण अस्पताल पु¥याइयो । शिक्षण अस्पतालमा दुई महिना बसिन् । अस्पतालमा बिताएका ती दुई महिना सोनिकाका आँखा ओभानो भएनन् । न भोक लाग्यो, न त प्यास । जीवनप्रतिको आशा त रत्तिभर थिएन । उनले पीडाका ती दिन सम्झिन्, ‘बाँच्नुको अर्थ देख्दिनँ थिएँ, मर्न मात्रै मन लाग्थ्यो ।’ उनको सास फलफूलको जुसले धानिएको थियो । 

ठुल्ठूलो स्वरमा कराउँथिन् । सायद उनी डिप्रेसनमा गएकी थिइन् । निद्रा लाग्ने औषधि दिइएको थियो । आफन्त आए÷गएको पत्तो हुँदैन थियो । चासो पनि लाग्दैन थियो । चिकित्सकले शल्यक्रिया गर्ने कुरा गरे । विदेशी चिकित्सकसँग पनि छलफल भयो । उनीहरूले शल्यक्रियाबाट पनि अवस्था सुधार नहुने निष्कर्ष निकाले । पुनस्र्थापना केन्द्र जान सल्लाह दिए । उनी अस्पतालबाट पुनस्र्थापना केन्द्र पुगिन् । त्यहाँ उनको दिनचर्या फेरियो । पुनस्र्थापना केन्द्रले जीवनप्रतिको दृष्टिकोण परिवर्तन गरिदियो । सोनिकाले सन्तोषको सासमा भनिन्, ‘पुनस्र्थापना केन्द्रले मलाई पुनर्जन्म दियो ।’ 

हाल उनी अपाङ्गता भएका व्यक्तिहरूलाई जीवनप्रतिको दृष्टिकोण बदल्न परामर्श दिन्छिन् । 

कहिले हाँसो, कहिले रोदन 

पुनस्र्थापना केन्द्रमा मनोविद्हरूले उनलाई कहिले हँसाए त कहिले रुवाए पनि । उनको जीवनको योजना बुझे । लक्ष्यमा केन्द्रित हुन प्रेरित गरे । जीवन बुभ्mने दृष्टिकोण बुझाए । विगत सम्झेर चिन्तित नहुन सल्लाह दिए । आफूसँग जे छ, त्यसमै रमाउन र खुसी हुन सिकाए । मनोविद् र परामर्शदाताका परामर्श उनले अन्तष्करणबाट ग्रहण गरिन् । बुभ्mदै जाँदा उनले आप्mनो यथार्थ धरातलमा रमाउन सिकिन् । आत्मनिर्भर कसरी बन्ने, गम्भीर अपाङ्गता भएका व्यक्तिलाई हुनसक्ने स्वास्थ्य समस्याबाट कसरी जोगिने, आत्मविश्वास कसरी बढाउने जस्ता पक्षमा विचार गर्न जानिन् । 

पुनस्र्थापना केन्द्रमा बिताएका केही महिनाले उनको सोच बदल्यो । आन्तरिक शक्ति दियो, आत्मबल बढायो । जीवनलाई नयाँ शैलीबाट हेर्ने दृष्टिकोण दियो । यसपछि सोनिका आफूजस्ता अपाङ्गता भएकाहरूलाई परामर्श दिन थालिन् । आप्mनोभन्दा जटिल समस्या भएका समकक्षी र समवयीहरूलाई भेटिन् । यस्ता भेटहरूले उनलाई झन् बलियो बनायो । ‘मेरो समस्या त धेरै ठूलो होइन रहेछ, मेरोभन्दा जटिल समस्या भोग्नेहरू धेरै रहेछन् भन्ने थाहा पाइन् । अपाङ्गता भएका जति धेरैलाई उनले भेट्न थालिन्, त्यति नै उनीलाई आफू बलियो भएको महसुस गर्न थालिन् । उनलाई आप्mनो समस्या सामान्य लाग्न थाल्यो । 

जीवन महँगो पो छ त 

सोनिकाको कम्मरमुनिको भागमा संवेदना छैन । छुँदा, घोच्दा, पोल्दा पनि केही थाहा हुँदैन । दिसा, पिसाब आएको थाहा हँुदैन । 

यो सोनिकाको मात्रै समस्या होइन, मेरुदण्डमा चोट लागेर कम्मरमुनिको भाग नचल्ने अधिकांशको समस्या हो । पाइपको माध्यमले पिसाब झिक्नुपर्छ । पिसाब झिक्ने एउटा पाइपकै ३५ रुपैयाँ पर्छ । दिनमा चार, पाँच पटक पाइप प्रयोग गर्नुपर्छ । दिसा गर्न पनि पञ्जा आवश्यक पर्छ । कहिलेकाही औषधि पनि चाहिन्छ । उनले समस्या सुनाइन्, ‘खानपिनको आधारमा आफैँले समय अड्कल्ने हो, समय अड्कल्न सकिएन भने लिकेज हुन्छ ।’ लामो यात्रामा निस्कनु परे डाइपर लगाउनुपर्छ । पिसाब सङ्क्रमणबाट जोगिन चिकित्सकको निगरानीमा बस्नुपर्छ । घाउ हुन नदिन औषधि लगाउनुपर्छ । 

यति समस्या सुनाएर सोनिकाले भनिन्, ‘हाम्रो जीवन त महँगो पो छ त ।’ 

सोनिका पन्ध्र वर्षदेखि पुनस्र्थापना केन्द्रमा परामर्शदाता छिन् । आफूजस्ता धेरैलाई उनी आत्मनिर्भर बनाउन चाहन्छिन् । आफ्नो काम आफैँ गर्न सक्नेमात्रै होइन, आर्थिकरूपमा समेत आत्मनिर्भर । उनले आफ्नो जीवन अपाङ्गता भएकाहरूका लागि समर्पण गरेकी छन् । उनी आफ्नो लक्ष्यप्रति प्रतिबद्ध छिन् । अपाङ्गता भएका व्यक्तिहरूको जीवन बदल्न सकिने निष्कर्षका साथ उनले कामको यही क्षेत्र रोजेकी हुन् । 

सोनिका ‘स्पाइनल कर्ड स्पोर्ट एसोसिएसन’ की महासचिव हुन् । नेपालको प्रतिनिधित्व गर्दै उनी केही वर्षअघि चीन गएकी थिइन् पौडी खेल्न । अहिले पनि देशभित्र आयोजना हुने ह्वीलचियर बास्केटबल प्रतियोगितामा सहभागी हुन्छिन् । भन्छिन्, ‘खेलकुद हाम्रो लागि राम्रो शारीरिक व्यायाम हो ।’ सरकारले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ । अपाङ्गता भएकाहरूलाई खेलकुदबाट धेरै लाभ हुने र जीवन सहज हुने उनको अनुभव छ । 

सोनिकाका अनुसार भएका कानुनको कार्यान्वयन भएमात्रै पनि अपाङ्गता भएकाहरूलाई जिउन सजिलो हुन्थ्यो । उनी राज्यबाट मासिक छ सय रुपियाँ पाउँछिन् । उनको प्रश्न छ, ‘मासिक ६ सय रुपियाँले मेरो खर्च कसरी धान्नु ?’ आफूजस्तो अपाङ्गता भएकालाई शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने उनको धारणा छ । 

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, आत्मसम्मान र आत्मनिर्भरताको लागि अनवरत लागिरहेकी सोनिका ढकालले प्रगतिका पाइला बढाउँदै जाऊन् । शुभकामना । 


Views: 207

सम्बन्धित सामग्री:

बाको मनै चिराई

मुना दाहाल : असार ७, २०७६ (७:०६ AM)