7th December | 2019 | Saturday | 5:51:00 AM

मुस्ताङको मुखिया प्रणाली

कुमार यात्रु   POSTED ON : जेठ २७, २०७६ (१०:१४ AM)

मुस्ताङको मुखिया प्रणाली

हिमालपारिको जिल्ला मुस्ताङ प्राकृतिक सुन्दरतामा जति भरिपूर्ण छ, त्यतिकै मात्रामा संस्कृति, संस्कार र प्रथाजनित परम्परामा पनि त्यति नै धनी रहेको छ । आदिवासी जनजाति थकाली समुदायको आदि पितृभूमि थाक सातसय मुस्ताङमा स्थानीय समुदायले त्यहाँको मुखिया प्रणालीलाई आप्mनो पहिचानकै एक स्वरूपका रूपमा हुर्काएर अगाडि बढाएका छन् । त्यहाँको सम्पूर्ण प्रशासन, स्थानीय स्वराजलाई यही तेह्र मुखिया प्रणालीले दरिलो र गर्विलो बनाएको छ । 

मुखिया प्रणाली थाक सात सयको मौलिक सभ्यता र परम्परा हो भन्ने विचार व्यक्त गर्दै स्थानीय मार्फा गाउँका मुखिया सुरज लालचनले यस गाउँका चारजना मुखिया चुनिएको बताउँछन् । उनको कार्यकाल आगामी साउनमा सकिने रहेछ । जिम्मेवारीअनुसार तीन महिना जति उनले पूर्ण काम गर्नुपर्छ ।

यो त मुस्ताङको मुखिया प्रणाली शक्तिशाली सामाजिक राज्य व्यवस्था हो । त्यहाँका कसैले पनि मुखियाको आदेशको अवज्ञा गर्न सक्दैनन् । थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन मुस्ताङका मुखियाहरू भएकै कारणले त्यहाँको वन जंगलको सुरक्षा भएको धारणा व्यक्त गर्छन् । उनले मुखिया प्रणालीका कारण स्थानीय सरकारहरूको पनि समन्वय र सहयोग गर्न सहज भएको दाबी गर्छन् । 

मुखियाहरू भएकै कारण स्थानीय सरकारको न्यायिक समितिमा पनि मुद्दाको संख्या शून्य भएको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनको धारणा छ । त्यहाँ कुनै प्रकारको सामाजिक विवाद भएमा सबैभन्दा पहिले मुखियाकोमा पुग्ने गर्दछन् । अहिलेसम्म मुखियाकहाँ नमिलेको विवाद कुनै पनि छैन । यसै कारण स्थानीय तहमा मात्र नभएर अड्डा अदालत र प्रहरीमा पनि मुद्दाको चाप नगन्य रहेको उनी बताउँछिन् । 

थाक सात सयमा १३ मुखियाहरू मुस्ताङका स्वजातीय प्रशासक हुन् । यी १३ मुखियाबाट हरेक तीन वर्षमा प्रमुख मुखिया र मिर मुखिया चुन्ने परम्परा छ । उनीहरूले थाक सात सयका पुराना सनद सवाल, रीतिस्थितिका कागजात र विधि विधान निर्माण गर्ने गर्दछ । जसलाई प्रथाजनित कानुन मान्न सकिन्छ । 

मुखिया प्रणालीसम्बन्धी अध्ययन गरेका अधिवक्ता शंकर लिम्बू यो प्रणाली आदिवासी जनजातिको पुरानो परम्परा भएको र अन्य आदिवासी जनजातिका यस्ता परम्परा लोप भएर गए पनि मुस्ताङमा जीवित र चलायमान हुनुमा त्यहाँका आदिवासी समुदायको सचेतना र चासोले काम गरेको धारणा राख्छन् । थारूहरूको बडघर प्रथा र थकालीको मुखिया प्रणालीले यस परम्पराको बिँडो थामेको हुँदा अन्य आदिवासीको प्रथालाई पनि पुनस्र्थापना गर्न आवश्यक भएको तर्क उनको रहेको छ ।

मुस्ताङस्थित मार्फा गाउँका मुखिया इन्द्रलाल हिरचानको मुखिया प्रणालीको निर्णय प्रक्रियामा समाजका सबै नागरिकको समान हैसियत र समान सहभागिता रहने बताउँछन् । यो प्रणाली यतिका वर्षसम्म जीवन्त हुनुमा समुदायको अपनत्व र लोकतान्त्रिक परिपाटी नै हो भन्छन् उनी । मुखिया प्रणालीमा कसैलाई पनि अन्याय र कसैलाई पनि विभेद हुँदैन भन्ने ग्यारेन्टी गरिएको हुन्छ । यो प्रणालीमा धनी, गरिब र आफन्त तथा पराइमा कुनै विभेद नहुने भएको हुँदा यो प्रणाली लोकप्रिय छ भन्ने उनको तर्क छ । 

नीलगिरि र धवलागिरि हिमालको बीच भएर बग्ने कालीगण्डकी उपत्यकाको यो प्रचलनले आदिवासी समुदायलाई परिश्रमी, लगनशील र मिहिनेती बनाएको छ । सधैं स्वावलम्बन र स्वरोजगारको पाठलाई पनि मुखिया प्रणालीले प्रेरणा दिएको हुन्छ । मुस्ताङको स्याउ र ओखरको बगैँचा, आन्तरिक र बाहृय पर्यटकका लागि खुलेका होटलहरू मुखियाकै संरक्षणमा फस्टाएका हुन् । राज्यको पुनर्संचनापछि जिल्लामा गठित पाँचवटा स्थानीय तहलाई अरू दरिलो बनाउन र उनीहरूलाई सामाजिक एकताप्रति उत्तरदायी बनाउन आदिवासीहरूको प्रथाजनित कानुन बचाउन १३ मुखिया प्रणालीले सहयोग गरिरहेको छ । 

मुखियाले समाजको हितमा स्थानीयको सहमतिमा सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, न्यायिक तथा सम्पूर्ण परम्परागत संस्कार आदिको व्यवस्थापन, तथा संरक्षण र सञ्चालनमा प्रमुख भूमिका निर्वाह गर्दै आएका छन् । यस प्रणालीलाई अरू परिमार्जनसहित कानुनी मान्यता दिनु हालको आवश्यकता देखिन्छ । (इन्डिजिनियस फिचर सेवा)




Views: 546

सम्बन्धित सामग्री:

कल्पनाको ढाका सपना

रमा लुइँटेल : आश्विन १८, २०७६ (९:३२ AM)