19th September | 2019 | Thursday | 9:21:04 PM

राजनीति छाडेर समाजसेवा

विनोद दाहाल   POSTED ON : जेठ ३२, २०७६ (११:१२ AM)

राजनीति छाडेर समाजसेवा

त्यसो त उनका पुर्खा ललितपुरका हुन् । प्रकारान्तरले उनी गोर्खाली बन्न पुगे । अहिले ललितपुरसँग उनको साइनो सपना केही छैन, छ त केवल नेपाली दाजुभाइको नाता छ । गोरखाका न्यायप्रेमी राजा राम शाहले आफ्नो राज्य गोरखाको व्यापार प्रवद्र्धनको लागि पाटने २४ कोठी महाजनहरूलाई व्यापारका लागि झिकाएछन् । उनका पूर्वज पनि त्यसरी झिकाइएकाहरूमा परेछन् र त्यहाँ गएर उतैका रैथाने भएछन् । प्रतापराज वन्त यसरी त्यहाँ लगिएका महाजनकै सन्तति हुन् । 

प्रतापले समाजसेवाको क्षेत्रमा निकै अग्लो छवि बनाएका छन् । पिता यमराज र माता चिनीमाया छोरा प्रताप २०१८ साल फागुन ११ गते गोरखा जिल्लाको हालको भीमसेन थापा गाउँपालिका–५, धरमपानी मिलनबस्तीमा जन्मिए । अर्थशास्त्र र समाजशास्त्र वा मानवशास्त्रमा स्नातकोत्तर प्रताप अहिले श्रीमती दुर्गा मानन्धर र छोराहरू प्रशान्तराज र प्रज्ज्वलराज तथा बुहारीहरूसँग काठमाडौंको सामाखुशीमा बस्दै आएका छन् । उनले दिएको समयमा म त्यहाँ पुग्दा उनी घरको बरण्डामा उभिएर बाटो हेरिरहेका रहेछन् । म पुगेपछि हाम्रो अन्तरंग सुरु भयो । 

अहिले उनी पूर्णकालिक समाजसेवी हुन् । उनी सधैँ यसमै व्यस्त छन् । जागिरमा छैनन् । सम्पन्नता देखिन्छ बसाइमा । एउटा ठूलो तीनतले घरको उनको बसाइले उनको सम्पन्नता प्रमाणित गर्दछ । बसेको घर पनि भाडाको रहेछ । उनकी श्रीमती दुर्गा पनि अहोरात्र समाजसेवामै तल्लीन छिन् । बिरामी भेट्न अस्पतालहरू जाने, असहायलाई सहयोग, समाजसेवी संघसंस्थाहरूलाई दान, चन्दा, संस्थाको सदस्यता वृद्धि आदि । 

प्रताप बिहान एउटा कार्यक्रममा सहभागी भएर फर्किएका थिए । अर्को एउटा कार्यक्रममा सहभागिता रद्द गरेर बसेका रहेछन् । हाम्रो कुराकानी सकिएपछि फेरि अर्कोमा जाने तयारीमा थिए उनी । यसबाट उनको व्यस्तता र सेवाभाव प्रमाणित हुन्थ्यो । मलाई जिज्ञासा भयो । मैले पहिलो प्रश्नै यही गरेँ ‘तपाईंको जीवन निर्वाह चाहिँ कसरी भइरहेको छ त ?’ 

उनका पुर्खा नै महाजन । उनका हजुरबाका पालासम्म पनि उनका दुईसय घर रैती थिए रे । बेठबेगारी र ठेकी कोसेलीको कुरै थिएन । बगैँचाका फलफूल सबैका साझाजस्ता हुँदारहेछन् । यो त पुर्खाको कुरो भयो । राणाकालमा पटक पटक सर्वस्व हरण भएर पनि २०३२ सम्ममा उनका बाबुबाजेका चारसय घर रैती भइसकेका थिए । त्यही बेला उचित मूल्यमा तिनकै नाममा जग्गाजमिन पास गरिदिएको उनलाई थाहा छ । त्यसपूर्व रैतिबाट जग्गाजमिन खोस्नाले तिनको विचल्ली भएको पनि उनले देखेका थिए । त्यसैबेला तिनलाई परेको अन्याय मन परेको थिएन । त्यो अन्याय हटाउने अठोट उनले गरिसकेका थिए । अझै पनि उनी घरका सम्पन्न छन् ।

पछि उनले राम्रो जागिर गरे कन्सल्टेन्सीहरूमा । भन्छन्, ‘नेपाल सरकारका शाखा अधिकृतको सात हजार तलब हुँदा म ७९ हजारको जागिर खान्थेँ ।’ प्रतापले चामुण्डा प्राथमिक विद्यालय खाम्चोकमा १ र ५ कक्षा पढे । उनले २ र ४ कक्षा पढेनन् । तीन कक्षा भारतको हुग्ली पश्चिम बंगालको विद्यासागर विद्यापीठमा पढे । फेरि कक्षा ६ र ७ गोरखाकै दुल्लभ निमावि, घ्याम्पेसालमा पढे । त्यसपछि १० कक्षासम्म सदरमुकाम गोरखा पाटेचौरको शक्ति माविमा पढे ।

उच्चशिक्षाका लागि उनी पोखरा गए । त्यहाँ पृथ्वीनारायण क्याम्पसमा भर्ना भएर आईकम पढ्न थाले । पहिलो सेमेस्टर त्यहाँ पढेपछि उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट बाँकी तीन सेमेस्टर पूरा गरे । उनले बिकम काठमाडौंकै पिपुल्स् क्याम्पसबाट पूरा गरे । प्राइभेटबाट पनि अर्थशास्त्र र राजनीतिशास्त्रमा बिए गरे । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट अर्थशाास्त्र, समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर गरे । 

प्रतापले सक्रियताका साथ राजनीति पनि गरे । २०३६ सालको विद्यार्थी आन्दोलनबाटै उनको राजनीतिक जीवन सुरु भयो । क्याम्पसहरू अनिश्चित कालका लागि बन्द भएपछि उनी आफ्नै जिल्ला गोरखा पुगे । वास्तवमा उनको राजनीतिक र सामाजिक जीवन एकैपटक सुरु भएको यही समयमा हो । उनी दुल्लभ मावि घ्याम्पेसालका शिक्षक बने । त्यहाँ ६ महिना स्वास्थ्य र अर्थशास्त्र पढाए अनि थप पढाइका लागि फेरि राजधानी फर्किए । प्रतापले ६ महिना पढाएको मासिक २५५ रुपैयाँका दरको रकम गरिब तथा जेहनदार विद्यार्थीको लागि विद्यालयलाई नै समर्पित गरे । 

उनले २०३७ सालमा रामचन्द्र प्रावि स्थापना गरी आफैँ स्वयमसेवक प्रधानअध्यापक भएर काम गरे । त्यहाँ १९ महिना सेवा गरेपछि उनी आफ्नो पारिश्रमिक लिनुको सट्टा १५ हजार ऋण लिएर स्नातक पढ्न काठमाडौं आए । पढाइसँगै उनी डिआरसिई नामक संस्थाको अनुसन्धान सुपरीवेक्षक भएर काम गर्न थाले । उनी त्यसबेला मासिक ३००० र दैनिक भ्रमणभत्ता १०० पाउँथे जुन त्यो बेलाको आकर्षक तलब मानिन्थ्यो ।

उनलाई यहीबेला गाउँबाट शिक्षकका लागि प्रस्ताव लिएर मानिसहरू आए । उनी पुनः गाउँ फर्किए र पढाउन थाले । आठ महिना पढाएको मासिक ५९० र प्रधान अध्यापक भत्ता ५० रुपैयाँ यस पटक पनि त्यही शान्ति प्राविलाई समर्पपण गरेर उनी पढाइका लागि फेरि काठमाडौं आए । 

प्रतापले यस्ता धेरै काम गरेका छन् । आर्थिक अभावका कारण खारेजीमा पर्न लागेका विद्यालयलाई सहयोग गरेर जोगाउने काम पनि उनले गरेका छन् । यसक्रममा शान्ति प्राविलाई माविसम्म लैजान उनले आर्थिक सहयोग गरे । उनले देउसी भैलो अभियानबाट पनि केही रकम जोहो गरेर यसका केही विद्यालयहरूको हित प्रवद्र्धन गरे । 

उनी विद्यालयका लागि चन्दा संकलन गर्न नेपालीहरू अधिक संख्यामा रहेको भारतको पश्चिम बंगालको कलकत्तासम्म पनि पुगे । उनको यो प्रयासबाट धेरै विद्यार्थीहरू लाभान्वित भए ।  

प्रतापले सामाजिक सेवाका सिलसिलामा नेपालका डोल्पाबाहेकका ७६ जिल्लाको भ्रमण गरेका छन् । उनले भारत, चीन, स्विट्जरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम लगायतका देशहरूको भ्रमण गरेका छन् । शिक्षक, अनुसन्दाता, परामर्शदाता, बुद्धिजीवी, विशेषज्ञ र राजनीतिज्ञको छवि बनाएका प्रतापले एउटा राम्रो संस्थामा अनुसन्धान अधिकृतको जागिर गरे । आफैँ संस्था स्थापना गरेर पनि उनी गाउँघरको विकासमा संलग्न भए । यही क्रममा उनी मेचीमहाकाली घुमे । 

उनले गाउँघरमा बसेर पढाउँदा पनि केवल पढाएर बसेनन्, त्यहाँका किसानहरूलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था मिलाए । उनीहरूलाई आयआर्जनको बाटो देखाए । तरकारी र नगदेबालीका खेतीका लागि प्रेरित गरे । विद्यार्थीहरूका लागि बेलुका निःशुल्क ट्युसन कक्षा चलाए । प्रौढशिक्षा चलाए । उनले स्थानीय समाजको आर्थिक, सामाजिक अवस्थाको अध्ययन पनि गरे । 

प्रताप सशस्त्र द्वन्द्व र त्यसपछिको समयमा राजनीतिमा सक्रिय भए तर यो सक्रियता लामो समय चलेन । उनको विचारमा राजनीतिक सिद्धान्त र विचार होइन, नेताहरूको प्रवृत्ति हो । भन्छन्, ‘मलाई राजनीतिक नेता कार्यकर्ताहरूको चरित्र र संस्कारप्रति वितृष्णा भएको हो, राजनीतिक विचार, दर्शन र सिद्धान्तबाट होइन नेताको प्रवृत्तिबाट चल्छ ।’ उनी नेताहरूको कार्यशैलीकै कारण आफू राजीतिबाट पर भएको बताउँछन् । सबै पार्टीसँग राम्रै सम्बन्ध छ । राजनीतिमा निरन्तरता भइरहेको भए उनका लागि कुनै उच्च पदकोे सम्भावना पनि थियो । 

अहिले पनि उनलाई राजनीतिमा फर्काउने प्रयासमा केही नेताहरू छन् तर अब उनको चाहना छैन  आफू राजीतिमा फर्किनु भनेको आत्महत्या हो भन्छन् प्रताप । उनले यो घोषणा सार्वजनिक समारोहबाटै गरेका हुन् । तैपनि कति नेताहरू अझै पनि उनलाई मनाउने प्रयासमा छन् । तथापि प्रताप राष्ट्रलाई अप्ठ्यारो परेका बेला उनको क्षमताको उपयोग कतै आवश्यक परेका खण्डमा चुप लागेर हेरिरहने पक्षमा नरहेको बताउँछन् । 

प्रताप अहिले हेड्स नेपाल नामको सामाजिक संस्था स्थापना गरेर त्यसमै सक्रिय छन् । अहिले यो संस्थामा धेरै सदस्यहरू छन् र राष्ट्रव्यापी बनाउने प्रयासमा छन् उनी । उनी यसमा स्वयम्सेवी कार्यकर्ता हुन् । हेड्स  नेपाल जनताको स्वास्थ्य, शिक्षा, कृषि र विकासमा आधारित संस्था हो । उनी यो संस्थालाई रेडक्रस, लियो, लाइन्स् जस्तै अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तार गर्ने र सो स्तरको बनाउने सोचाइमा छन् । संस्थाका सदस्यहरूमा राष्ट्रका उच्चस्तरका व्यक्तिहरूको बाहुल्य रहेको छ । उनी फ्लोरेन्स नाइटिंगेल, मदर टेरेसा, हेनरी ड्युना लगायतका व्यक्तिहरूको योगदानबाट आफू यस क्षेत्रका लाग्न प्रेरित भएको बताउँछन् । 

प्रताप २०३५ सालदेखि नै राजनीतिक विचारबाट डोहोरिँदै आएका हुन् । विद्यार्थी संगठनमा लागे । २०४८ सालमा उनी नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको कोषाध्यक्ष भए । उनी २०५४ सालमा यही संगठनको सचिव र २०५८ तथा २०५९÷६० सालमा दुईपटक अध्यक्ष भए । यो पद पार्टीको वैकल्पिक केन्द्रीय सदस्यकै पद हो । यसैगरी उनी पार्टीको विदेशब्युरो अध्यक्ष पनि भए । उनले एशिया र युरोप हेर्ने जिम्मेवारी पाएका थिए । राजनीतिमा सक्रिय भएको यो समयमा उनले भूमिगत रूपमा काम गर्नु परेको थियो ।   

उनले आफू पोखरामा पढिरहेको समयमा फेवाताल, बेगनासताल, पातले छाँगो, महेन्द्र गुफालगायतका क्षेत्रमा घुम्न जाँदा नेपाली केटाकेटीहरू पर्यटकको पछि माग्दै हिँडेको देखेर पनि हाम्रो देशको अवस्थाको बोध गरे । उता उनका घरको वातावरण पनि समाजसेवी खालको थियो । उनकी आमा उदार स्वभावकी थिइन् । गरिबहरूलाई चाहिएको अन्न र रुपैयाँ पैसा दिन कन्जुस्याइँ गर्दिनथिन् । दसैं तिहारलगायतका चाडपर्व मान्नबाट कोही गरिब गाउँले वञ्चित हुनुपर्दैनथ्यो । उनीहरूका लागि उनको थैलीको मुख र धानको भकारी सधैँ खुलै हुन्थे । मर्दापर्दा र कोही सुत्केरी हुँदा प्रतापकी आमासहयोग गर्थिन् । प्रताप आमाका यस्तै कामबाट प्रभावित थिए । 

प्रतापकेही प्राप्तिको आसले वा केही आकांक्षाले समाजसेवामा लागेको होइन भन्छन् । आत्मा सन्तुष्टिका लागि पनि यो क्षेत्रमा लागेको होइन भन्छन् । उनको विचारमा आत्मासन्तुष्टि पनि एउटा स्वार्थ हो । निःस्वार्थ भावले निष्काम कर्म गरिरहेको छु भन्छन् । स्वदेशी तथा विदेशी गैरसरकारी संस्थाहरूलाई समाजसेवी संस्था मान्दैनन् । नेपालका ७७ जिल्लामा दर्ता भएका ५० हजार यस्ता संस्थाहरूमध्ये निःस्वार्थ सेवाभावले स्थापना भएका १०० वटा जति मात्र पनि यस्ता संस्था नरहेको उनको भनाइ छ ।  

प्रताप समाजसेवाकै लागि आफूले तीनवटा घरजग्गा र एउटा घडेरी बेचिसकेको बताउँछन् । अझै आफूसँग २० रोपनी जति जग्गा बाँकी रहेको र छोराहरूले अंश दाबी नगरेको खण्डमा त्यो पनि सेवामै खर्च गर्ने बताउँछन् । अहिले पनि कुनै सिकायतविना आफ्नो कमाइबाट बाबुआमालाई सँगै राखेर सेवा गरिरहेका छोराहरूले अंश दाबी गर्लान् जस्तो पनि उनलाई लागेको छैन । 

‘म समाजसेवामा जसरी रमाउन सक्छु राजनीतिमा तयसरी रमाउन सक्दिनँ । म आफ्नो रुचिको क्षेत्रबाट भाग्न सक्दिनँ,’ प्रताप समाजसेवाप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गर्छन् । उनी १४ वटा सामाजिक तथा परोपकारी संस्था र केही सहकारीहरूमा संलग्न छन् । यसैगरी उनी केही योजना परियोजनाहरूमा अनुसन्धाता, परामर्शदाता र परियोजना निर्देशक छन् । उनी आफूलाई एउटा सुखी र खुसी मानिस ठान्छन् तर आफू अझै पनि सफल समाजसेवी स्वीकार्दैनन् । 

आफूले गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको प्रतापको भनाइ छ । गरेका काममा उनी सन्तुष्ट छन् । गाउँलाई सम्पन्न बनाउन उनको पनि पसिना पोखिएको छ । उनको सपनाले यो गाउँमात्र होइन देशै समृद्ध बनोस्, हार्दिक शुभेच्छा ।       


Views: 2086