20th July | 2019 | Saturday | 9:20:57 AM

मर्यादा बढाउन सङ्घर्ष

रमा लुइँटेल   POSTED ON : असार ७, २०७६ (७:१४ AM)

मर्यादा बढाउन सङ्घर्ष

एक दिन आमाको तिघ्रा हुँदैै गोली गाँठासम्म बगेको रगतमा राधाको आँखा पुग्यो । छक्क पर्दै आमालाई सोधिन्, ‘आमा ¤ रगत कसरी आयो, कहाँबाट आयो ?’ आमा एक छिन छक्क परिन् र भनिन् ‘भगवानले यस्तो गरेका हुन्, तँलाई पनि भोलिपर्सि यस्तै हुन्छ ।’ 

घाँस दाउरा काट्दा राधाको हात कहिले काँही काट्थ्यो । रगत आउँथ्यो, दुख्थ्यो । थोरै रगत बग्दा पनि उनलाई के न भए जस्तो हुन्थ्यो । उनी मनमनै सोच्थिन् । त्यति धेरै रगत बग्दा आमालाई किन कतै नदुखेको होला ¤ के जति रगत आए पनि आमालाई दुख्दैन ¤ त्यतिबेला उनी सात वर्षकी थिइन् । महिनावारीको कुरा के थाहा हुनु र ¤ दिन बित्दै जाँदा उनले आमालाई महिनै पिच्छे रगत आउँदो रहेछ भन्ने चाँहि अनुमान गरिन् । 

यसपछि राधाले आमालाई ध्यान दिन थालिन् । आमा चार दिन भान्सामा काम गर्दिन थिइन् । पूजा गर्दिन थिइन् । बा र अरू ठूला मान्छेबाट अलिक टाढै बस्थिन् । भाँडा छुट्टै माझ्थिन् । सुकाउँथिइन् । चिसो भए पुछ्थिन्, त्यसपछि मात्रै भान्सा कोठामा लगिदिन्थिन् । आमा किन कहिले काहीँ मात्रै यसो गर्छिन् ¤

बाल मस्तिष्कमा थुप्रै जिज्ञासाहरू आउँथे । आजभोलि भन्दाभन्दै राधा किशोरावस्था प्रवेश गरिन् । एक दिन अचानक आमालाई जस्तै भयो । उनी छक्क परिन् । महिनावारीबारे उनले केही पनि बुझेकी थिइनन् । आमाले त भगवानले गरेको भनेकी थिइन्, तँलाई पनि यस्तै हुन्छ भनेकी थिइन् । महिनावारी के हो, किन हुन्छ, कसरी हुन्छ भन्ने केही थाहा थिएन । 

महिनावारी भएको पहिलोपटक घरभन्दा परको गोठमा दिदीहरूलाई लुकाइन्थ्यो । चार, पाँच दिन भान्सामा पस्न पाउँदैन थिए । यी सब गतिविधि उनलाई पटक्कै मन परेको थिएन । जब राधाले आफूलाई महिनावारी भएको थाहा पाइन्, उनी घर छोडेर भागिन् । दुई घण्टा हिँडेर दिदीको घर पुगिन् । त्यहाँ हिँड्डुल गर्न बर्जित थिएन । त्यहाँको वातावरण उनलाई सहज भयो । पाँच दिन दिदीकैै घरमा बिताएपछि भिनाजु पु¥याउन आएको उनी सम्झिन्छिन् । 

सिनोनिम अफ इमरर्जेन्सी 

महिनावारी बारे नबुझेकोमा अशिक्षित र कृषक आमाबासँग राधाको कुनै गुनासो भएन । सुरु सुरुमा त राधालाई उनीहरूको बुझाइप्रति निकै नरमाइलो लागेको थियो । किन छुन नदिएको होला ? किन लुकाएको होला ? उनी भित्रभित्रै चिढिन्थिन् । रिसाउँथिन् । कराउँथिन् । जब राधाले महिनावारीबारे बुझिन् त्यसपछि उनलाई यस्तो लाग्यो– आमाबाको दोष होइन रहेछ, सामाजिकीकरणको प्रक्रियामा उहाँहरूलाई त्यस्तै सिकाइएको रहेछ । 

अहिले ‘मर्यादित महिनावारी’ अभियानमा सक्रिय भइरहँदा राधा आमाबाको अज्ञानता सम्झिन्छिन् । भन्छिन्, ‘लेखपढ गरेको मान्छेले एउटा बोल्छ, व्यवहार अर्को गर्छ, मेरा आमाबाले न पढ्ने मौका पाउनुभयो न त संसार देख्ने, जे सिकाइएको थियो त्यही गर्नुभयो ।’

चितवनमा जन्मिएकी राधा भरतपुर अस्पतालमा नर्स भएर काम गर्न थालिन् । यो पेशा राधाका लागि ‘मर्यादित महिनावारी अभियान’ मा लाग्न मार्ग निर्देशक बन्यो । अस्पतालमा आएका त्यस्ता केही समस्याहरूले उनलाई महिनावारी र मातृस्वास्थ्यका बारेका काम गर्न हुटहुटी बढायो । राधाकी आमाले चिनेकी एकजना महिला जसको खसेको पाठेघर १७ वर्षदेखि लठ्ठीले ठेलेर भित्र पठाउने गरिएको रहेछ । घाँस–दाउरा गर्न जाँदा गनाएपछि र झिँगा भन्किएको देखेपछि आमाले उपचारका लागि राधाले काम गर्ने अस्पतालमा पु¥याएकी थिइन् । 

कुराकानीकै क्रममा राधाले अर्को समस्या पनि सुनाइन् । मनाङबाट ल्याइएकी एक महिलामा रक्तश्राव अधिक भएको थियो । उनी कोमामा थिइन् । गर्भमै शिशुको मृत्यु भइसकेको थियो । त्यो दृश्यले राधाको मनमा ज्वारभाटा उठ्यो । सरकारी जागिर महŒवहीन लाग्यो । अस्पतालमा पाएको तारिफ र प्रशंसा क्षणिक लाग्न लाग्न थाल्यो । त्यतिखेर राधा भरतपुर अस्पतालकी चल्तापूर्जा नर्स थिइन् । उनी चौबीस घण्टै अस्पतालमा हुन्थिन् । सहकर्मी र चिकित्सकहरूले उनलाई ‘सिनोनिम अफ इमर्जेन्सी’ भन्थे । अर्थात जहाँ आपत् त्यहाँ राधा । 

एक दिन उनले भरतपुर अस्पताल छाडिन् । भनिन्, ‘मैले आफ्नो अवश्यकता शहरमा होइन, गाउँमा देखेँ, सब कुरा छोडेर जुम्ला गएँ ।’ 

जुम्लाले बुझायो जीवन 

राधाका बा बडा हाकिमको घरमा भान्से थिए । गाउँमा हुर्किएका उनले सुख बुझ्ने मौका पाएनन् । दुःख राम्ररी बुझेका थिए । छोराछोरीले यो भएन, त्यो भएन, दुःख भयो भन्दा उनी जुम्लीहरूसँग आफूलाई तुलना गर्थे । त्यहाँको भौगोलिक विकटता सुनाउँथे । अभावका कुरा गर्थे । बाबु ‘नपत्याए जुम्ला गएर हेर्नु’ भन्थे । सानो छँदा बाले पटक पटक नाम लिएको जुम्लालाई नै कर्मभूमि बनाउने योजना बनाइन् राधाले । शहरको जीवन छोडेर जुम्ला पुगिन् । 

माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा पुगेको थियो । गाउँमा समानान्तर सरकार थिए । आज देखेको मान्छेसँग छुट्टिने बेलामा अन्तिम बिदाइ भए झैँ गर्नुपथ्र्यो । किन ? राधाले भनिन् ‘किनभने भोलिसम्म बाँच्ने आशा एकदमै कम हुन्थ्यो ।’ त्यति बेलाको जुम्लाको अवस्था छोटोमा सुनाइन् । 

सुरक्षित मातृत्वका लागि काम गर्न जुम्ला गएकी राधा चार वर्ष त्यहाँ बस्दा उनले देश बुझ्ने मौका पाइन् । महिलाको आर्थिक–सामाजिक र स्वास्थ्य अवस्था बझ्ने अवसर पाइन् । सेवा गरेर केही योगदान गर्ने मौका पाइन् । 

त्यही समय हो, एउटा अत्यन्त जटिल परिस्थितिले एउटा पठनीय कृति सिर्जना ग¥यो । उनले सुरक्षित मातृत्वमा मात्रै होइन, नेपाली साहित्य भण्डारमा पनि योगदान पु¥याइन् ।

एक दिन रात परेपछि जुम्लाको खलंगामा सशस्त्र माओवादीले आक्रमण ग¥यो । अँध्यारोमा दोहोरो भिडन्त भयो । उनले पनि त्यो त्रासदी भोगिन् । त्यस रातको त्रास उनले शब्दमा उतारिन् । ती शब्दले ‘खलंगामा हमला’ नामको कृतिको रूप पाए, जुन कृति प्रतिष्ठित मदन पुरस्कारबाट सम्मानित भयो । 

मर्यादित महिनावारी अभियानकी राधा तीनै राधा पौडेल हुन् जसले ‘खलंगामा हमला’ लेखिन् । 

राधालाई अचेल यस्तो लाग्छ– उनी जुम्ला नगएकी भए उनले न देश बुझ्थिन् न त महिलाको व्यथा नै । त्यति बेलाको जुम्ला अहिले सम्झिँदा राधा आफैंभित्र शीताङ्ग हुन्छिन् । स्वास्थ्यकर्मी भएकाले सेना, प्रहरी, माओवादी र सर्वसाधारण जुम्ली सबैसँग उनको सम्बन्ध रामै्र थियो । त्यसलाई उनी पेशाले दिएको अवसर भन्छिन् । भन्छिन्, ‘स्वास्थ्य समस्या सबैलाई हुने भएकाले मैले अरूले जस्ता सीमिततामा बाँधिनु परेन ।’ 

गोकर्णको सम्झना 

पढाइको आवश्यकतामा राधाले थेसिस लेख्नु पर्ने थियो । महिनावारीका कारण महिलामाथि भएको विभेद र उनीहरूले गुमाउनु परेको मर्यादाले विचलित थिइन् उनी । त्यसैले उनी महिनावारीका बारे बुझ्न काठमाडौं उपत्यकाको गोकर्ण पुगिन् । त्यहाँको एउटा गाउँमा परिवारका तीन जना महिलाले एउटै कपडा प्रयोग गरेको पाइन् । त्यो थाहा पाएपछि, उनीभित्र महिनावारीलाई मर्यादित बनाउन अभियान चाहिएको निष्कर्षमा पुगिन् । अध्ययनको सिलसिलामा महिनावारीप्रतिको भ्रम र बुझाइले उनमा एक खालको हुटहुटी नै ल्यायो । उनले ‘सुरक्षित महिनावारी अभियान’ लाग्ने अठोट गरिन् ।

यसपछि राधा प्याड उत्पादन गर्नतिर पनि लागिन् । ‘न्यायका लागि सक्रिय महिला मञ्च’ ले अहिले ‘कुहिने प्याड’ उत्पादन गर्छ । एक प्याकेटको एक सय रुपैयाँ पर्छ । एक अनुसन्धान अनुसार बजारमा पाइने प्याड कुहिन कम्तीमा दुई सय वर्ष लाग्छ । मञ्चले उत्पादन गरेका प्याड चाँडै कुहिने किसिमका छन् । 

पीडाले जन्माएको अभियान 

शारीरिक प्रक्रियालाई लिएर महिलाको मर्यादामाथि नै प्रश्न गर्ने परम्पराप्रति राधाको आपत्ति छ । महिनावारी भएकी महिलालाई परिवार सानो पुरुष सदस्यले पनि निरीह ठान्छ । थुप्रै अनुभव र अनुभूति सँगालेकी आमालाई उसले कमजोर ठान्छ । वर्षौं जेठी दिदीभन्दा आफूलाई शक्तिशाली ठान्छ । 

‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ यो उनको अभियानको नाम हो । बलात्कार, महिलामाथि हुने यौन दुव्र्यवहार, सबै खालका हिंसा अन्त्यका लागि मर्यादित महिनावारीको बारेमा छलफल गर्नै पर्ने राधाको निष्कर्ष छ । शान्ति स्थापनाको लागि पनि मर्यादित महिनावारीका बारेमा बहस चलाउनुपर्ने उनको भनाइ छ । महिला सशक्तीकरण, समानता, समता– यी शब्द महिला अधिकारकर्मीले धेरै प्रयोग गर्छन् । राधा भन्छिन्, ‘जबसम्म मर्यादित महिनावारीको कुरा हुँदैन, तबसम्म न सरकार सफल हुन्छ, न त गैरसरकारी संस्था नै ।’ आफ्नो अभियानलाई उनी आफ्नो पीडाबाट जन्मिएको भन्छिन् । 

आफ्नो भोगाइ नेपालका ८० प्रतिशत महिलाको भोगाइसँग मिल्छ भन्छिन् राधा । काठमाडौं बस्दा उनलाई उकुसमुकुस हुन्छ । जुन वर्गका लागि उनी काम गरिरहेकी छिन् त्यो वर्ग काठमाडौं शहरमा छैन । त्यसैले उनलाई काठमाडौैं बस्नुभन्दा ग्रामीण क्षेत्रका दिदीबहिनीका भोगाइ सुन्न मन लाग्छ ।

धेरैजसो ग्रामीण क्षेत्रमा हुने राधालाई मैले गत बुधबार सबेरै फोन गरेँ । उनी पूर्व निर्धारित कार्यक्रम स्थगित भएकाले काठमाडौंमा नै रहिछन् । फोन संवादपछि मैले उनलाई भेटेँ । भेट्ने बित्तिकै उनले भनिन्, ‘कम मान्छेले मात्रै मलाई पहिलो फोनमा काठमाडौं फेला पार्नुहुन्छ, तपाईं त्यसमा पर्नुभयो ।’ 


Views: 322

सम्बन्धित सामग्री:

कथा–उपहार

राजेश अधिकारी : असार २३, २०७६ (४:५७ AM)