19th September | 2019 | Thursday | 1:58:25 PM

शास्त्रदत्तको देशशास्त्र

विनोद दाहाल   POSTED ON : असार १४, २०७६ (११:२० AM)

शास्त्रदत्तको देशशास्त्र

शास्त्रदत्त पन्त विद्वान लेखक हुन् । उनी सावर्णिराज उपनामले पनि चिनिन्छन् । विसं १९९७ साल वैशाख १९ गते बाग्लुङ जिल्लाको बडहरे गैरागाउँमा कर्मप्रसाद पन्त र नरेन्द्रकुमारी पन्तका छोराका रूपमा उनी जन्मिए । 

उनका दुई दाजुभाइ र तीनजना दिदी बहिनी छन् । असीको छेउछाउको वयसन्धि छ उनको तर म उनको सामाखुसीस्थित घरमा पुग्दा उनलाई त्यति उमेर खाएको मानिस भनेर पत्याउन मन लागेन । २०२५ सालमा आफ्नै जिल्ला बाग्लुङमै टीका र लालकुमारी मल्लकी छोरी पियूषप्रवाहिणीसँग उनको बिहे भएको रहेछ । अहिले बिहेको स्वर्ण वर्ष व्यतीत भइसकेको छ । एक छोरा युगेश कलाकारिता र व्यापारमा रमाएका छन् भने अर्का राजेश मेडिकल डाक्टर (इन्टेरियर मेडिसिन) छन् । उनकी छोरी निकुञ्ज पनि व्यवसायमा छिन् । 

शास्त्रदत्त प्रसिद्ध लेखक हुन् । यति थाहा पाएर पनि मैले उनलाई पेशाका बारेमा प्रश्न गरेँ । उनले पनि सिधै म लेखक हुँ भनेन् । उनले आफ्नो पेशा राष्ट्रप्रति चिन्तन हो भने अनि आफू जागरुक समाज बनाउने अभियानमा रहेको बताए । उनले स्वदेशका ६३ जिल्लाको भ्रमण गरेका छन् । यसैगरी विभिन्न प्रसंगमा उनले झण्डै २५ देशको पनि भ्रमण गरेका छन् । 

शास्त्रदत्तले विद्यामन्दिर हाई स्कुल बाग्लुङ, त्रिभुवन इन्टर कलेज पाल्पा, त्रिचन्द्र कलेज काठमाडौं, त्रिभुवन विश्वविद्यलाय काठमाडौंमा पढे । विस्कन्सिन युनिभर्सिटी म्याडिसन यु.एस.ए., अलबानी स्टेट युनिभर्सिटी यु.एस.ए., आइ.टी.आई. मिडिलहेड सिड्नी अस्ट्रेलिया, टी.इ.एफ.एल, अक्सफोर्ड युके, टी. फर टी. युके, फरेस्ट म्यानेजमेन्ट फिनल्याण्ड, एग्रिकल्चर, एच.एम.जी., साहित्यरत्न, रा. वि. पीठ आदिबाट उनले आफ्नो पढाइलाई अगाडि बढाए ।

विकेन्द्रीकरण (स्थानीय स्वायत्त शासन) विषयमा विद्यावारिधि गरे । राजनीतिशास्त्रअन्तर्गत, एम.ए.मा अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय संगठन, प्रशासनसहित राजनीति शास्त्र पनि पढे । बि.ए. सम्म दर्शनशास्त्र, राजनीतिशास्त्र र अंग्रेजी विषय लिएर पढे ।

शास्त्रदत्तले २०१६ सालमा  अध्यापन सुरु गरे । उनी त्यसबेला १९ वर्षका थिए । त्रिभुवन विश्वविद्यालय, धवलागिरि महेन्द्र कलेज, विद्यामन्दिर हाई स्कुल, धवलागिरि वीरेन्द्र हाई स्कुल, नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेज लगायतका शैक्षिक प्रतिष्ठानहरूमा उनले अध्यापन गरे । 

नेपाल एड्मिनिस्ट्रेटिभ स्टाफ कलेजमा वरिष्ठ प्रशासकलाई प्रशिक्षण दिने कार्यमा पनि उनी संलग्न भए ।

आर्थिक रूपमा सरदर निम्नमध्यम वर्गको परिवार हो उनको । आफ्नो पारिवारिक श्रमले खेती गरे खान पुग्ने अवस्था थियो । उनी जन्मेहुर्केको गैरागाउँलाई नेपालको काशी उपमा दिइएको थियो । त्यही गाउँको स्कुलमा उनले प्रारम्भिक पढाइ पूरा गरे । वीरशाली, सुकृतिदत्त, बद्रीदत्त, ईश्वरीदत्त जस्ता शिक्षाप्रेमी र समाजसेवीबाट संस्कृत वाङ्मय र धर्मदर्शन विधाको उच्च शिक्षाको निरन्तर विस्तार भएको थियो त्यहाँ । आदिकवि भानुभक्त आचार्यले बद्रीदत्तबाट धर्मदर्शन र वीरशालीबाट कविता लेखन गैरागाउँमै बसेर सिकेका थिए । 

अहिले राष्ट्रको धर्म, संस्कार, संस्कृति र गौरव जोगाउने, राष्ट्रको स्वाधीनता र स्वतन्त्रता बचाउने र समुन्नत नेपाल कसरी बनाउने भन्ने विषयमा आफू निरन्तर घोत्लिइरहेको बताउँछन् शास्त्रदत्त । अहिले उनी सेवानिवृत्त छन् र उत्तराद्र्धको भरपूर सदुपयोग गरिरहेका छन् । 

शास्त्रदत्तलाई साहित्यमा उनलाई सानैदेखि चाख थियो । २०४४÷४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी गरेपछि नेपाललाई अत्यन्त बलियो र आत्मनिर्भर मुलुक बनाउनुपर्ने महसुस भयो उनलाई । त्यसपछि उनी लेखनको माध्यमबाटै जनतामा जागरण र चेतना विस्तार गर्न सकिन्छ भनेर यतातिर लागे । त्यसैगरी पश्चिमी प्रभावले हाम्रो समाजका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पारेको देखेर पनि जनतालाई जागृत बनाउन कलमको सहारा लिएको हुँ भन्छन् उनी ।

भावी नेपालका लागि देशले मागेअनुसारका नेता बनाउन अनि नेपाललाई विश्वको समृद्ध, सुन्दर र उच्चतम गरिमामय मुलुक बनाउन खोजमूलक, विचारमूलक र मार्गदर्शक हुने आदर्श वैदिक संस्कारको शासन पद्धतिसमेत कायम होस् भन्ने आशयले आफू लेखनामा लागेको शास्त्रदत्तको तर्क छ ।  

लेखनमा आत्मसन्तुष्टि हुन्छ, आफूले भनेअनुसार भए मन खुसी हुन्छ । नाम र धन कमाउने आशयले लेखनमा लागेको होइन, निष्काम सेवाभावले आफू लेखनमा लागेको हुँ भन्छन् शास्त्रदत्त । उनका राष्ट्रियता, प्रशाासन, योजना र राजनीति, मानवशास्त्र, धर्म र संस्कृति आदिका सयभन्दा बढी पुस्तक प्रकाशित भएका छन् । तीस वर्षको लेखन अवधिमा यो उनको चामत्कारिक सामथ्र्य हो भन्न सकिन्छ । 

शास्त्रदत्तलाई नेपालबाटै विश्वका मानिसलाई चरित्रवान बनाउने, नेपालको गौरव बढ्ने र सबैखाले हतियार र युद्धबाट भयमुक्त विश्व बनाउने अधारशिला भएका विषयहरूमा कलम चलाउन मन लाग्छ । हिमवत्खण्ड नेपाल कहिल्यै कसैको अधीनमा नपरेको र आफ्नो अपनत्व कायम गराई राख्न सफल रहेका थोरै मुलुकमा नेपाल रहेको, यसले स्वतन्त्रता दिवस पनि मनाउनु नपरेकाले यस कुरालाई अध्यात्म ज्ञान र आर्थिक स्थितिमा विश्वको उत्कृष्ट बनाउने आशयले लेखेको बताउँछन् उनी । समाजलाई नास्तिकता र भौतिक उपभोक्तावादी सोचबाट बचाउन पनि आफू लागिपरेको शास्त्रदत्तको तर्क छ । उनले प्रायोजित लेखन गरेका छैनन् । 

आफूले केही लिन होइन, समाजलाई र अन्ततोगत्वा मुलुकलाई केही दिने आशयले मात्र लेख्ने गरेका छन् । त्यसैले उनको भनाइमा उनले आत्मसन्तुष्टिका लागि मात्र पनि लेखेका होइनन् । 

लेखन मुलुकसँग मिल्दो, सही र सत्य, मौलिक विचारयुक्त भयो भने लेखनबाट पनि समाज बदल्न सकिन्छ भन्ने तर्क छ शास्त्रदत्तको । आजसम्म हाम्रोमा हुन राम्रो नसकेको कुरा यहाँको राजनीति र प्रशासन पद्धति मुलुकमिल्दो बनाउन नसकेर मात्र हो, अस्थिरताले पतन हुँदै गएको छ मुलुक । विचारमा परिवर्तन ल्याउन सकिन्छ । आज गलत विचारले समाज बदलिएको छ, यही बदलावका कारण समाजमा अनेक खाले सामाजिक अपराध, आतंक र दानवीय प्रवृत्तिको बढोत्तरी भएको हो । शिक्षामा आमूल परिवर्तन चाहिन्छ भन्ने शास्त्रदत्तको मत छ ।  

तपाईंको लेखनको प्रभाव समाजमा कस्तो प¥यो भनेर प्रतिक्रिया बुझ्नु भएको छ ? मैले सोधेँ । राष्ट्रियताको भावना जागेको छ । विदेशीको हस्तक्षेप सहनु हुँदैन भन्ने भावना बढेको छ । पौरश्त्य सभ्यता पुनस्र्थापन गर्नुपर्छ भन्ने लहर बढेको छ । नेपाललाई हर क्षेत्रमा आत्मनिर्भर र समुन्नत बनाउने उपाय खोजिँदै छ भन्छन् शास्त्रदत्त । 

उनले राजनीतिक काम पनि गरेका छन् । गर्न खोजेर पनि कलुषित भावनाले प्रेरित, केही पाउने आशाले लालायित भएका र राजनीतिलाई व्यवसाय मान्ने मात्र पाएकाले उनलाई राजनीतिप्रति घृणा जाग्यो । दलीय व्यवस्था आएपछि त कुनै दलको सदस्यता नलिए सुरक्षितै नहुने ठानेर जनताले कुनै न कुनै दल पछ्याएको पाएपछि उनलाई राजनीतिमा लाग्न मनै लागेन । ‘पहिले राजनीतिको आदर्श बुझाउन खोजेँ तर नसकेपछि त्यसबाट हात झिकेँ, वास्तवमा यो नबुझाई नहुने विषय भएको छ’ शास्त्रदत्त भन्छन् । 

राजनीतिप्रति अझै आकर्षित हुनुहुन्छ ? शास्त्रदत्त भन्छन्, ‘मेरो आदर्श एक पदमा एक पदावधि तथा ७५ वर्ष पुगेपछि राजनीतिबाट अनिवार्य सन्यास लिनुपर्छ भन्ने भएकोले व्यक्तिगतरूपमा आकर्षित हुने कुरै भएन, त्यसैले अब म राजनीतिप्रति आकर्षित छैन । सुधार्नु पर्छ भन्ने पक्षमा भने छु ।’ 

शास्त्रदत्त कुनै राजनीतिक वादप्रति पक्षपाती वा पूर्वाग्रही छैनन् । त्यसो हुने मानिसले सत्य केलाउनै सक्दैन भन्ने उनको मान्यता छ । यही कुरालाई बुझाउन ‘वाद कि व्यक्ति’ नामक किताब समेत लेखेका छन् उनले । लेखनबाट आत्मसन्तुष्टि पाइन्छ । आफ्ना विचार आफू मर्दा आफैँसँग नमर्ने, विचार र अनुभव छोडेर गए भावी पिँडीलाई उपयोगी हुनेछन् भन्ने आधारमा उनी पनि सन्तुष्ट छन् ।

शास्त्रदत्त विदेशका विश्वविद्यालयहरूमा पनि पढाए । ए.डि.पी.सी, ए.आइ.टी.मा भिजिटिङ प्राध्यापक भएर पढाए । उनी अरू धेरै संघसंस्थाहरूमा पनि संलग्न भए । शिक्षा, स्वास्थ्य, धर्म, संस्कृति, सामाजिक चेतना, खेलकुद, परोपकार आदि करिब दुई दर्जनभन्दा बढी क्षेत्रमा उनी सक्रिय दिए ।

आफ्नो लेखकीय चिन्तन चाहिँ राष्ट्र बचाउने, समुन्नत नेपाल बनाउने र भयमुक्त तथा शान्त विश्व बनाउने हो भन्छन् शास्त्रदत्त । उनी जीवनमा आफू हुनुपर्ने जति सफल भएको छैन तर विफल भएजस्तो पनि लाग्दैन भन्छन् । आफूले गरेका कामबाट पचास प्रतिशत जति सन्तुष्ट भएको उनको भनाइ छ । पछाडि फर्केर हेर्दा आफूलाई उनी गतिलोबाट अगतिलोमा बाँचेको पाउँछन् । यसको कारण बताउँदै उनी भन्छन्, ‘हामी सभ्य थियौँ, अब झन्झन् असभ्य हुँदैगएका छौँ ।’

खान लाउन पुग्नेभन्दा बढी सञ्चय गर्नु हुँदैन भन्ने मान्यता छ शास्त्रदत्तको  तर त्यो आफ्नो वृद्ध अवस्थालाई नपुग्ने गरी गलत हिसाब गरेछु, थोरै गल्ती गरेछु भन्ने उनलाई लागेको छ । वैदिक समाजवादको यो विचार मान्ने मानिसले यो बुझून् भन्ने चाहना छ उनको । यो उनको विगतप्रतिको एउटा सानो पश्चाताप हो । 

लेखनबाट प्राप्ति गरेको र गुमाएको के के हो ? आर्जन गर्ने समय गुमाएँ तर जनसम्मान, प्रेम र सद्भाव प्राप्तिको अवसर थपियो भनेर गौरव गर्छन् शास्त्रदत्त । लेखनमा उनले पैतृक सम्पत्ति खर्च गरेका छैनन् तर स्वआर्जन निकै खर्च गरेका छन् । उनले राजाबाट जाँचबुझ केन्द्रमा राजनीतिक नियुक्ति पनि पाए । अरू पनि केही प्रस्ताव उनलाई आएको थियो, केही आफ्नो आदर्शबाहिरको ठानेर इन्कार गरे ।

वर्तमान नेपाली राजनीतिलाई हेर्ने उनको दृष्टिकोण स्पष्ट छ । नेपालको आर्थिक स्थिति, जीवनस्तर, जन चेतनाको तह, वैदिक संस्कार, सभ्यता र मान्यतासँग मिल्दो छैन यो । भूराजनीतिसँग नमिल्ने राजनीति सदा अस्थिर र तरल भइरहन्छ । त्यस्तो राजनीतिमा असामाजिक तŒव र निहित स्वार्थ भएका विदेशीको बोलवाला बढ्छ भन्ने उनको ठहर छ ।  

शास्त्रदत्तका विचारमा संघीय राज्य प्रणाली नेपालको राजनीतिक दर्शन र नेपालको खाँचो दुबैसँग मिल्दो छैन । भन्छन्, ‘अनावश्यक बोझको रूपमा छ यो । यसले आर्थिक अवन्नति गराउने मात्र होइन मुलुक नै परजीवी र दास मनोदशाको बनाउँदै लैजाने छ । आत्मगौरव र स्वाभिमान हट्दै जानेछ । जब यसबारे विदेशीले चर्चा चलाए त्यसै बेला संघात्मक राज्य व्यवस्था सार्थक हुँदैन, निरर्थक मात्र छ भन्ने किताबै लेखेको थिएँ, यसलाई रोक्न खोजेको थिएँ । मैले गरेको भविष्यवाणी मिल्दै गएको छ ।’ 

यस वर्षको बजेट भाषणमा २३ प्रतिशत विकास बजेट र ७७ प्रतिशत प्रशासनिक बजेट हुनु नै अवन्नतिको प्रमाण हो भन्छन् शास्त्रदत्त । असल प्रशासन या सुशासनमा ३३ प्रतिशतभन्दा कम प्रशासनिक खर्च हुनुपर्दछ । मानव संसाधन र ऊर्जायुक्त जनशक्ति विदेश पलायन हुनुको कारण पनि आर्थिक अवन्नति नै हो भन्छन् उनी । 

शास्त्रदत्त देशलाई सदा स्वतन्त्र, सार्वभौम, सचेत र समृद्ध हुने उपायको निरन्तर खोजमा छन् । आफ्नो अनुपस्थितिमा पनि लिखित कृतिहरूको निरन्तरता कसरी हुन्छ र त्यसबाट भावी पिँढीले कसरी निरन्तर लाभ लिन सक्छन् भन्ने विषयमा घोत्लिइरहेका छन् ।  

शास्त्रदत्तका विचारमा विश्व परिवेश अशान्ति, आततायी र असामाजिक कृत्यतिर उन्मुख छ । यसको मूल कारण भौतिक उपभोक्तावादी सोच, अर्थनीति, प्रशासन र राजनीति हो । यो सोचबाट मुक्त हुन वैदिक समाजवादी शासन पद्धति, तदनुरूपको शिक्षा पद्धति जुन एक हजार वर्षपूर्व यहाँ विद्यमान थियो त्यसलाई पुनस्र्थापन गराउनुपर्छ । धन, हतियार र बलको होडबाजीको अन्त्य गराउन तमाम बौद्धिक समाज एक जुट हुनुपर्छ । त्यागको भावना बढाउनुपर्छ । यस्ता दोषबाट विश्वलाई मुक्त गराउनुपर्छ भन्ने सुझाव भावी पुस्तालाई दिन चाहन्छन् डा. शास्त्रदत्त पन्त । 


Views: 487