19th September | 2019 | Thursday | 1:57:43 PM

कथा–उपहार

राजेश अधिकारी   POSTED ON : असार २३, २०७६ (८:४२ AM)

कथा–उपहार

भान्सा कोठाबाट हस्याङ् फस्याङ् गर्दै हातमा बिहानीको चिया लिएर चमेली सानो मालिकको कोठाको ढोका ढक्ढक् पार्छे । एकछिन पछि हाई हाई  गर्दै आँखा मिच्दै सानो मालिकले ढोका खोल्दै चमेलीलाई चिया कोठाभित्र टेबलमा राख्न इशारा गर्छन् । निन्याउरो अनुहार पार्दै चमेली सानो मालिकको अनुहारमा एकटकले हेर्दै रुन्चे स्वरले भन्छे “सानो मालिक ! मेरो महिनावारी बंद भयो” त्यस घरको छोराको नाम आभाष भएपनि चमेली उसलाई सानो मालिक भनेर सम्बोधन गर्थी ।  शरीरमा बज्र परे झैं आभाष अनुहारमा भय र आश्चयमिश्रित भावमा चमेली तिर फर्कदै भन्छन् “हैन के भन्छे यो बिहान बिहानै ?” चमेली आँखामा टलपल आँशु पार्दै भय र पश्चाताप मिश्रित भावमा आफ्ना पाइलाहरु कोठा बाहिर बढाउँछे । आभाष चियाको सुर्को तान्दै बिस्तराबाट बुइगलतिर फर्केर एकनाशले टोलाइरहन्छ ।   


   राजेश अधिकारी

सुन्दर अनुहार, ठुला चंचले नयन, लामो केश र गहुँगोरो बर्णकी करीव सत्र बर्षकी चमेली डेढ बर्ष अघि इलामको पर्मेजुंगबाट झापाको बिर्तामोडस्थित एउटा सभ्रान्त परिवारमा घरेलु कामदारको रुपमा आएकी थिई । परिवारमा तीन सदस्य भएको त्यस घरमा खाना बनाउनु, घर सफा गर्नु, भाँडा बर्तन सफा गर्नु, लुगा धुनु उसका दैनिक काम थिए । सम्पूर्ण घरको काम सकेर चमेली बिर्तामोडको एउटा नारी तालीम केन्द्रमा कपडा सिलाई बुनाई पनि सिक्न जान्थी । महिनामा एकपल्ट उ जस्तै पल्लो घरकी मधेसी मुलकी कामदार  धनियासंग पाथिभरा सिनेमा हलमा सिनेमा हेर्न पनि जान्थी । त्यस घरबाट पाएको तलबले आफ्नो खर्च पुर्याएर बाँकी पैसा उसले घरमा बनिबुतो गरेर जीविका धान्ने आफ्ना बाबुआमालाई पनि पठाउथी । विधिको विधान यस्तै रहेछ, जवान केटी चमेली लाउनेखाने, घुम्नेफिर्ने र धेरै पढेर ठूलो मान्छे हुने रहरहरु अन्तस्करणमा दबाउँदै गरीबीको कारणले गर्दा अर्काको घरमा जुठोचुलो गर्न बाध्य थिई ।            

बिर्तामोडकै एक कलेज बिबिएस पढ्दै गरेको उन्नाइस बर्षे आभाष बिर्तामोडमा लत्ताकपडाको ठूलो ब्यापार गर्ने बाबुको एक्लो सन्तान थियो । हेर्दा निक्कै आकर्षक देखिने धनी बाबुको एक्लो छोरो आभाषलाई केही कुराको कमी थिएन । आफ्नै गाडी लिएर साथीभाईसँग घुम्न जानु, नियमित रेस्टुरेंट जानु, सिनेमा हेर्नु, चुरोट तान्नु जस्ता सोख र कुलत आभाषमा थिए । लाडप्यारमा हुर्किएको एक्लो छोरोको हरेक फर्माइस पूरा गर्न आभाषका बाबुआमा कुनै कसर बाँकी राख्दैन थिए । फलस्वरूप आभाशले आफ्नो पढाईलाई बाबुआमाले सोचे जस्तो राम्रो गर्न सकेन । साथीहरुको लहै लहैमा लागेर आभाषको एउटी आफ्नै कलेजकी केटीसँग प्रेमसम्बन्ध गाँसिएको थियो तर  त्यो केटीको अरु नै केटासँग बिहे भएपछि आभाष  बियर र चुरोटको कुलतमा परेको थियो ।            

एकदिन आभाषका बाबुआमा छिमेकी सहित आठदश जनाको समूह बनाई चारधामको तीर्थयात्रामा भारततिर गएका थिए । घरमा सिर्फ चमेली र आभाष मात्रै थिए । त्यहीदिन साँझमा आभाष बियरको नशाले लडखडाउदै घरभित्र पसेको थियो । आभाषले आफुलाई सम्हाल्न सकिरहेको थिएन । चमेलीले आभाषलाई हातमा समाएर उसको कोठामा पुर्याएकी थिई । आभाष नशाले चुर भएर जुत्ता पनि नखोली बरबराउदै बिस्तरामा ढ्याम्म लडेको थियो । बाबुआमा नभएको बेला आभाषका यी सबै हरकत देखेर चमेली हडबडाएकी थिई, डराएकी थिई । नसाको  हालतमा आभाषलाई भान्साकोठामा आउन असमर्थ देखेर चमेलीले बेलुकाको नौ बजेतिर आभाषको लागि थालिमा खाना पस्केर उसैको कोठामा लिएर गएकी थिई ।

पूर्णतया मदिरापानको नशा नउत्रीसकेको हालतमा चमेलीको हातमा खानाको थाली सयनकक्ष्यमै ल्याएको देखेर आभाष केही विचलित देखियो।आज उसले चमेलीलाई निकै निहालेर हेर्यो । चमेलीको लजालु  मुहार, पातलो कम्मर र चन्चले नयन देखेर आभाषले चमेलीमा आफ्नी बिछोडिएकी प्रेमीकाको स्वरुप पायो।उसले बिस्तारै चमेलीको हात समात्यो र बिस्तरामा बसाल्यो । चमेलीको केशराशि र गाला सुम्सुम्याउन थाल्यो । चमेली लाज र डरले थरथर कांप्दै रातोनीलो भई । उफान र उद्वेगले भरिएको आभाषको बलियो पाखुराको जकड्याइंमा चमेली फुत्किन चाहेर पनि सकिन । दुबै एकाकार भए, दुबै परमसुखको शान्त सागरको गहिराईमा डुब्दै थिए । जुनेली रातको मध्यप्रहरमा त्यो भब्य सुनसान महलमा दुई प्राणी मात्रै शान्ति, आनन्द र अचेतन अवस्थामा हराइरहेका थिए । 

दुई हप्ता पछि आभाषका बाबुआमा तीर्थयात्रा सकेर घर फर्किए । आभाषको बिहे गरिदिने कुरो चल्यो । होक्से गाउँकी सभ्रान्त परिवारकी छोरीसँग आउने मङ्सिर महिनामा बिहे हुने कुरो पक्का भयो । हेर्दा हेर्दै मङ्सिर पनी आयो।मङ्सिरमा आभाषले बेहुली भित्र्यायो । बेहुली भित्र्याए देखि नै नातीनातिना  खेलाउने सपना बुन्दै आभाषका बाबुआमा हर्षविभोर थिए। बेहुली पनि सुन्दर तथा सम्पतिवाल श्रीमान पाएर खुशीले गद् गद् थिई ।

त्यस रातको गल्तिले गर्दा चमेलीको महिनाबारी बन्द भएको पनि तीन महिना भैसकेको थियो। चमेली डर र चिन्ताले  आधामासु भइसकी । न गर्भ बसेको कसैलाई सुनाउन मिल्छ न उ एक्लै गर्भपतन गर्न नै सक्छे । पश्चातापको आगोमा जलेर एक्लै रोएर बस्नु सिवाय उसको उपाय पनि केही थिएन ।चमेलीको अबैद्य गर्भ रहेको सुइँको आभाषकी आमाले लख कटिन् । यो कुरो उनीले आभाशका बाबुलाई पनि सुनाइन।यो कुकृत्यको शंका आभाषमाथी गरियो । समाजमा इज्जत जाने डरले चमेलीलाई भुत्ल्याएर घरबाट घोक्रेठ्वाक लगाइयो । बिचरा एउटी गरीव र असहाय नारी यौनपिपासू पुरुषप्रधान समाजमा बलात्कृत हुँदा पनि न्याय पाउनु र पीडकलाई दण्ड दिलाउनुको साटो लाचारीबस घर निकाला भइन् । 

बिवाह पछी आभाषको घरमा सबै खुशी देखिए पनि आभाष त्यति खुशी देखिँदैन । आभाष आजकल  एकान्तमा बसेर एक्लै टोलाउने, बोलाउँदा झर्किने र प्राय सधैँ नशामा डुबिरहने गर्छ । पहिलाको जस्तो साथिभाईसंग घुम्ने, सिनेमा हेर्ने, रेस्टुरेंट जाने जस्ता  कामबाट उ टाढै बस्छ । आमाबाबु र श्रीमती पनि उसमा आएको यस्तो आकस्मिक  ब्यबहारदेखि दिक्क छन् र  चिन्तित देखिन्छन् । उसकी श्रीमती पनि आफ्नो श्रीमानसंग घुम्न, सिनेमा हेर्न, रेस्टुरेंट जान मन गर्छे तर आभाष आफ्नी श्रीमतीको यस्ता ईच्छा र कुन्ठाहरुलाई नकारिदिन्छ । श्रीमान–श्रीमतीबिच यौनईच्छा, संतानप्राप्तिको चाहना हुनु स्वाभाविक हो तर उसकी श्रीमतीले आफ्नो श्रीमानको ब्यबहारले गर्दा आफ्नो  कुन्ठा आफ्नै छातिमा दबाएर राखेकी छे,  मनका उद्वेग र उफानरूपी ज्वारभाटाहरुलाई रोदनमिश्रित हाँसोले सिंचेर बाँचिरहेकि छे ।

समयरुपी घोडा आफ्नो वेगमा अगाडि  दौडदै गयो  । आभाषको बिहे भएको पनि चार बर्ष पुगिसकेछ । साहूको भन्दा पनि ब्याजको लोभ हुन्छ भनेझैँ आभाषका बाबुआमा नातीनातिनाको आगमनको पर्खाइमा ब्यग्र थिए तर छोराबुहारीबाट यत्रो लामो समयमा पनि कुनै सन्तान जन्मेको थिएन । सन्तानप्राप्तीको लागि आभाषका बाबुआमाले छोराबुहारीलाई डाक्टर र धामीझाँक्रीलाई पनि देखाए तर केही सीप लागेन ।   

उता आभाषको घरबाट निकालिएपछि चमेली घरसमाजमा आफ्नो इज्जत जाने डरले आफ्नो घर नगई  आफ्नो टाढाको फुपू  नाता पर्नेको घर बाहुनडाँगी गई । आफ्ना बाबुआमाले उसलाई धेरै खोजे, चारैतिर खबर पठाए तर चमेलीको अत्तोपत्तो पाएनन । चमेलीबाट यथार्थ कुरा सुनेर चमेलीलाई उसकी फुपू  पर्नेले आफ्नै घरमा बास र सहारा दिई।  केही महीनापछि बिचरा उत्पीडित कुमारी आमाले एउटी छोरीलाई जन्म दिई अबैद्य सन्तानको रुपमा।फुपूको सहयोगमा चमेलीले आफ्नो जीविकोपार्जनको लागि एउटा सानो पसल थापी।पसलमा बस्दाखेरी पनि चमेली आफ्नी सानी छोरीलाई सँगै लिएर जान्थी। यसरी नै चमेलीको दिनचर्या चल्दैथियो ।

एक दिन अचानक आभाष मोटर दुर्घटनामा पर्यो । उसको टाउकोमा गहिरो चोट लाग्यो र उसलाई दमकको आम्दा अस्पतालमा भर्ना गरियो । उता चमेली पनि निमोनियाको ज्वरोले थलिई र उसलाई पनि उसकी फुपूले सानी छोरी सहित  सँगै लिएर दमककै आम्दा अस्पतालमा भर्ना गरिन् । आम्दा अस्पतालमा सम्योगबस आभाष र चमेलीको सैया आमने सामने परेछ तर चिरपरिचित दुईटै आत्माहरु अति सामीप्यमा भएर पनि एक अर्कापट्टी अनजान थिए, बिकर्षित थिए । उपचारको क्रममा आभाषको चोट ठीक हुदै गयो तर चमेलीको स्वास्थ्य दिनप्रतिदिन बिग्रदै गयो अस्पताल भर्ना गरेको तेस्रो दिन आभाषलाई अस्पतालले छुट्टी दिने भयो।

आभाष, उसकी पत्नी र उसका आमाबाबु अस्पतालको सैयाबाट  निस्कनै के लागेका थिए , सामनेको सैयातिरबाट आर्तनाद सहितको रुवाबासीको माहोल सुनियो ।  कुरा बुझियो कि अस्ति एकैदिन अस्पताल भर्ना भएकी बिरामीको देहलीला समाप्त भएछ । “ हरे दैव यी सानी बालिका नफक्रदै टुहुरो भई,यसको लालन पालन अव कसले गर्ला ?“ लाशलाई अंकमाल गर्दै एउटी आइमाई एउटा सानी बालिकालाई  काखमा लिएर फूटीफूटी रुदैथिन्  । एउटी सानी बालिका पनि आमाको लासलाई समातेर आँखाबाट बलिन्द्र आँशुको धारा बगाउदै भक्कानिदै रुदै थिई। त्यो कारुणिक दृश्य देख्दा जो कोहिको पनि मुटु पग्लन्थियो। 

यो बियोगको दृश्य देखेर आभाष , उसकी श्रीमती र उसका आमाबाबु किंकर्त्तब्यमुढ र स्तब्ध हुन्छन । आभाषकी श्रीमतीलाई  छिमेकी र आफन्तले बाँझी आइमाईको उपनामले पुकारेको सुन्दा उसको कलेजो फाट्थ्यो। यो पीडाको अनुभव बिरलै स्त्रीजातीलाई मात्र  हुन्छ । आभाषकी श्रीमती एक्कासी त्यो अबोध बालिकालाई च्याप्पै समातेर बोक्छे र बालिकाको अनुहारभरी जताततै चुम्बन गर्दै आफ्नो छातीमा लगाउँछे । दैवसंयोग नै भनूँ या नियमित आकस्मिकता, आभाषको परिवारमा पनि सन्तान  नभएको र त्यो बालिकाको पनि कोही अभिभावक  नभएको परिस्थितिमा अस्पताल प्रशासन र पुलिस प्रशासनको सिफारिसमा झापा जिल्ला कार्यालयको स्वीकृतिमा र आभाषको परिवारको अनुरोधमा ती अबोध बालिकालाई आभाष दम्पतीलाई भरणपोषण र  लालनपालन गर्नेगरी जिम्मा लगाइयो । दैवी आनन्दशाली प्रकृतिको अनुपम उपहार पाएर आभाषको परिवारमा खुसीको बिगुल बज्यो,अन्धकारभेदी उज्वल दीप जल्यो र स्वर्गानन्दीय पुष्प बासनाको अनुभूति भयो ।          



Views: 713