25th August | 2019 | Sunday | 6:38:28 PM

कविता –संझिरहन मन लाग्छ

पार्वती निरौला   POSTED ON : श्रावण ७, २०७६ (४:४० PM)

कविता –संझिरहन मन लाग्छ

कहिले काहीँ तिमीलाई

सुटुक्क मनको आँखी झ्यालबाट 

चिहाउन मनलाग्छ


र फेरी मनकै एक कुनामा 

थुनेर मुस्काउन मन लाग्छ

तिम्रा यादहरुलाई शून्य कोठामा 

छरपस्ट फिँजाएर एकपटक रोइदिन मन लाग्छ 


मेरो स्वीकृती बिनै 

तिमी निश्चल आकाश जस्तै सम्झनाको 

मझेरिमा खुत्रुक्क उपस्थित हुन्छौं 

र बिदा माग्छौं 

मलाई तिमीसँग जीवनका हर 

दुख सुख साट्ने मन छ 

हरेक मोडमा खड्किएको तिम्रो याद 

आँसु खसाल्दै सुनाउने मन छ 

तर तिमी,

सधैं बिवशतामा जकडिएको 

वास्तविकता दर्शाउँछौ 

तिमीलाई हृदयको माझमा राखेर होला

आश्वासनका हरेक झुटको पनि माया लाग्छ 

तिम्रो बिवशताको माया लाग्छ 

र त बिदा दिन्छु 

हो तर साच्चै 

कहिलेकाँहि 

जीवनका हरेक बाधा तोडेर 

तिम्रो संसारमा आउन मन लाग्छ 

एकान्तमा तिम्रो अनिश्चित आगमन पर्खन 

मन लाग्छ 

थाहा छैन तिमी आउने हौ कि होइनौ 

तर पनि बाटो हेरिरहन मन लाग्छ 

साच्चै 

जीवनमा साथ पाएर पनि एक्लो 

म तिमीलाइ पर्खिरहन मन लाग्छ 

तिम्रा यादहरुलाई 

बन्द कोठा भित्र फिजाएर रुन मन लाग्छ ।

हो साच्चै तिमीलाई 

यसरी नै सम्झिरहन मन लाग्छ ।


Views: 559

सम्बन्धित सामग्री:

हिम्मतवाली हर्मिता

रमा लुइँटेल : श्रावण २५, २०७६ (१२:४६ PM)

हराएको आत्माविश्वास

–चेतना : श्रावण १५, २०७६ (५:३५ PM)