18th August | 2019 | Sunday | 2:52:19 AM

कविता – ध्वाँसे आकाशले मन पिरोलेको छ

मुना दाहाल   POSTED ON : श्रावण ७, २०७६ (३:०५ PM)

कविता – ध्वाँसे आकाशले मन पिरोलेको छ

नगर्जिएका मेघहरुले झन् त्यसै तर्साउँदैछन् 

हरियाली बनाउनमा तल्लिन देखिन्छन् ।

यी मेघहरु मेरा, उनका र उस्का चिरपरिचित हुन ।

यिनले कहिले हतास, कहिले निरास बनाउँदैछन्

 उ र म, उनी र तिनीहरु 

अनि 

हामी सबै भित्र भित्रै डराउँदैछौँ

तर,

बाहिर अव्यक्त गर्ने अदम्य साहस बटुल्दैछौं ।

धर्ती फुटाएर आकाश जुटाएर, टुटाएर कहिले नरम,  गरम,  कहिले कडा चट्टान बनेको बन्यै छ ।

घाँटी ठड्याएर, मुन्टो उठाएर 

यसो माथि माथि नियाल्दैछौं ।

कतै यी दृष्टि बन्धकी राख्नु पर्ने हुन कि त,  

भन्दै धर्तीको धुलो सबै नै उडेर  आकाशमै

कालो मुस्लो मडारिदैछ ।

 आँखाको डिलसम्म आएका आँशुले झै

 झर्न झर्न लागेको हो कि भन्दै

बादलहरूले ढाकेको आकाश हेर्छु ।


शुन्यताले छाप छोडेको देख्छु ।

मौन बसेको धर्तीभरि 

छरपस्ट पार्दै गरेको बर्खाको भेललाई सम्झिन्छु ।

मन मुटु त्यसै त्यसै त्रसित र हतास बनिदिन्छन् । 


कयौ आफन्तहरू यही मुस्लो बनि उठ्दै र फुट्दै तछाड मछाड गर्दै कुदेका बादलहरुले यही धर्तीमा

बर्षेनी लुप्त बनाइदिएको छ ।


यहाँ कस्ता कस्ता पहलमान विशाल वैभव र शक्तिशालीहरु हुन या कुण्ठित र क्रुर मनहरु 

यी सबैलाई 

सँधैभरी भय र त्रासले डेरा जमाइदिएको छ ।

अहँ यो मनको डर कदापि हट्दैन ।

 ऊ.... त्यो पर... 

शदियौँ पुरानो बुढो बढेमानको वरपिपलका वृक्ष झैँ नडगमगाई स्थिर रहि शून्यतामा

त्यसै त्यसै विलिन गराउँछ कि भन्ने

आशंकाले मनभित्र दरै डेरा जमाएको छ ।


जसरी जंगली काँडा बिजेर खिल पल्टेर नझिक्न मिल्ने न त्यसै सन्चो हुने त्यसै गडेर बसेको छ ।

उस्तै दुरुस्तै गरि फसेको छ ।

माथि माथि आकाशमा हेर्छु ।

विछट्टै घोचेको छ मुटु, फेरि जोड जोडले धड्किदिन्छ  र सासै अड्किन्छ ।

किन हो थाहा छ ? 

प्रत्येक वर्षमा मेरा आफन्तहरु यही 

कहिले कालो कहिले ध्वाँसे हुँदै उठेका 

यिनै बादलसंगै बर्षिने 

 उ त्यो माथि डाँडामा देखिएका पहाडको टुप्पोदेखि मधेशका समथर घरहरु सबै खण्डहर बनाउँदै

बगरमा परिणत गरेर बगाएको दुई नेत्रले देखेकोछु ।

गोठ र ग्वालीबाट सोत्तर सोहोरे झैगरी बटुलेर वर्षै्पिच्छे  मेरा आफ्ना आफन्तहरु सबै यही कालो मुस्लोले सोहोरेर लगेको देखेको छु ।

 अहिले पनि यी मन मुटुहरू आत्तिदैछ ।


असार पन्ध्रको धान दिवसको दिनमा दही च्यूरासँगै सुरु भएको वर्षातको त्यो अन्धाधुन्धले झरेका आकाशको बाटोबाट आएको साउनले भेल 

यी दुवै नै मेरा लागि डरको बढेमानको पोको बोकेर आउने हुन् ।

हिमालपारीका दोर्जे र पासाड़ दाजु दिदीहरूका घर हिऊँ पग्लेर बस्नेठाँऊ छैन ।


पहाडमा हरिकृष्ण काका, ओखरबारे मावली र मानेभन्ज्याड़को फूपुको घरखेत पहिरोले लगेछ 

बास गाँस र कपासका लागि माइतिघर मण्डलामा धर्ना दिदैछन् ।

 राजधानीबासीहरु उसैगरी कुर्लिएकाछन् ।

सरकारको असारेखेती सुरु भएकोछ ।

अलि अलि सद्दे सडक पनि भत्काउने सिजन चलेकोछ ।

खोलो जस्तै र पोखरी भै जमेको पानीमाथि कालोपत्रे अलकत्रा छरेको छ ।


भैंसेपाटी ललितपुर ।


Views: 366

सम्बन्धित सामग्री:

हिम्मतवाली हर्मिता

रमा लुइँटेल : श्रावण २५, २०७६ (९:०१ AM)

हराएको आत्माविश्वास

–चेतना : श्रावण १५, २०७६ (१:५० PM)