19th October | 2019 | Saturday | 7:26:31 AM

डा. विष्णु केसीको साहित्य यात्रा

विनोद दाहाल   POSTED ON : श्रावण १८, २०७६ (१०:२७ AM)

डा. विष्णु केसीको साहित्य यात्रा

त्यसो त उनको वास्तविक विष्णुकुमार खत्री हो तर साहित्यमा डा. विष्णु केसी भनेर चिनिएका छन् । उनका पुर्खा गौतम रहेछन् । पुस्तान्तर हुँदै जाँदा केसी भएछन् । उनै परे मेरो रोजाइमा यस पटकको अन्तरङ्गका लागि । म उनलाई खोज्दै गैरीधारा पुगेँ, उनको शैक्षिक प्रतिष्ठान अनुपम उच्च माविमा । उनी कार्यालयको काममा व्यस्त थिए । मैले एकैछिन प्रतीक्षा गरेपछि हाम्रो भेट भयो । अन्तरङ्ग कुराकानी सुरु ग¥यौँ । 

विष्णु प्राध्यापन पेशामा संलग्न छन् । लेखन उनको पेशा त होइन तर लेख्छन्, यो उनको रुचिको काम हो । डा. विष्णु २०३० साल मंसिर २७ गते रामेछाप जिल्लाको हिलादेवी ७ नाक्सिवासमा जन्मिए । नरबहादुर र सीता खत्रीका जेठा छोरा हुन् उनी । उनका एकजना भाइ र एक जना बहिनी छन् । धापाखेल ललितपुकी भारती खड्कासँग उनको बिहे भयो । हाल कपन, काठमाडौंमा बस्दै आएका विष्णुका एक छोरा सिद्धार्थ गौतम खत्री छन् । 

डा. केसी हाल पशुपति बहुमुखी क्याम्पस चाबहिलमा प्राध्यापनरत छन् । यसबाहेक उनी लेखन र अन्यत्र पनि शिक्षणमा तल्लीन छन् । काठमाडौं, गैरीधाराको अनुपम विद्यालयका उनी अध्यक्ष हुन् । यसैगरी उनी सोही शैक्षिक संस्थाको उच्च मावितर्फ प्रिन्सिपल पनि छन् । 

विष्णुले रामेछापको हिलेदेवीकै पशुपति निमाविमा प्राथमिक तह पढे । उनले सप्तलिङ्गेश्वर मावि गुन्सी, भदौरेमा केही समय पढे तर कुशेश्वर मावि बेथानबाट एसएलसी उत्तीर्ण गरे । गाउँको विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आए । बानेश्वर बहुमुखी क्याम्पसबाट आइए र पशुपति बहुमुखी क्याम्पस चाबहिलबाट बिए पास उत्तीर्ण गरे । यसपछि उनले रत्नराज्य लक्ष्मी क्याम्पसबाट नेपाली विषयमा एमए गरे । उनले विद्यावारिधि नेपाल संस्कृत विश्वविद्यालयबाट गरेका हुन् । 

विष्णु सरकारी जागिरतिर मोहित भएनन् । आफूले स्नातक तह पढेको पशुपति बहुमुखी क्याम्पसमा चाबहिलमा २०५७ सालदेखि अध्यापनरत छन् । उनको घरको आर्थिक स्थिति सामान्य थियो । आफ्नै कुटो कोदालोबाट खान पुग्थ्यो । यसलाई उनी घरको कमजोर आर्थिक स्थिति भन्न चाहन्छन् । अहिले उनले अलिक आर्थिक उन्नति पनि गरेका छन् । उनलाई यसमा गौरव लाग्छ । 

विष्णु आफ्नो मिहिनेत र लगनशीलताले यो उन्नति गरेको बताउँछन् । उनले राजधानी उपत्यका आफ्नो स्थायी बसोबासको राम्रै व्यवस्था गरेका छन् । यो उनले जागिर र लेखनबाटै गरेको उन्नति हो । आफ्नै श्रमको फल हो । 

विष्णु सानैदेखि प्रकृतिसँग रमाउन चाहन्थे । गाउँका पाखापर्वततिर घुम्न जान्थे । वनस्पति र वातावरणसँग घुलमिल गर्थे । उनको यही भावनाले उनलाई विस्तारै साहित्यतर्फ खिच्यो । उनी प्रौढ साहित्य पनि सिर्जना गर्छन्, सङ्ख्यामा यस्ता पुस्तक धेरै छन् तर बालसाहित्यमा उनी बढी नै रमाउँछन् । बाल्यकालको यो आकर्षणबाट सुरु भएको लेखनमोह झाङ्गिँदै गयो । पछि नेपाली भाषा पढाउन थाले स्कुल र क्याम्पसहरूमा । त्यहाँ साहित्यका विभिन्न विधा पढाउनु प¥यो । यही क्रममा उले लेखनमा पनि रफ्तार बढाउन थाले ।

लोकशैलीका बालसाहित्यकार कृष्णप्रसाद पराजुलीसँग उनको भेट भयो । उनको सल्लाह, सुझाव र सान्निध्यबाट विष्णु साँच्चै साहित्यकार हुन पुगे । आजभन्दा २२ वर्षअघि २०५४ सालमा ‘उदय’ पत्रिकामा कविताका रूपमा उनको पहिलो रचना छापियो । यसपछि उनको लेखन निरन्तर छ, कतै अवरोध आएको छैन । आनन्दका लागि लेख्छु भन्छन् विष्णु । आत्मरतिका लागि लेख्छन् रे । भन्छन्, ‘लेखिसकेर पढ्दा आनन्द आउँछ । आफूलाई आनन्द आयो भने मात्र अरूलाई पनि आनन्द आउँछ भन्ने ठान्नुपर्छ ।’ 

लेखनले समाज परिवर्तन गर्न सक्छ भन्छन् विष्णु । लेखन एउटा कला हो र कलाले मानवमन छिटै परिवर्तन गर्न सक्छ भन्ने ठान्छन् । लेखनले मानिमा परिवर्तन ल्याउन सकिन्छ । मनमा आनन्द आयो भने त्यसबाट मानिसको मस्तिष्क प्रभावित हुने उनको धारणा छ । लेखनमा उनको कुनै स्वार्थ छैन र आयआर्जन पनि उनको साहित्य लेखनको उद्देश्य होइन । पाठ्यपुस्तक लेखनबाट अतिरिक्त आयआर्जन गरेको उनको भनाइ छ । उनी गद्य कविता लेख्छन् । गीत पनि लेख्छन् र समालोचना पनि । बालसाहित्यमा उनी कथा, नाटक, निबन्ध, कविता लेख्छन् । उनका सम्पादित, मौलिक लेखन र पाठ्यपुस्तक समेत गरी झण्डै दुई दर्जन जति पुस्तक प्रकाशित छन् । 

विष्णुले आफ्नो लेखनबाट समाज प्रभावित भए नभएको खोजी गरेका छैनन्, उनी लेखिरहेका छन् र प्रकाशित गरिरहेका छन् । उनका अनगिन्ती विद्यार्थीहरू निश्चय नै प्रभावित भएको होलान् भन्ने उनलाई लाग्छ । धेरैको प्रतिक्रिया पनि पाउने गरेका छन् उनले । आफ्नो लेखनबाट आफू सन्तुष्ट छन् तर चाहेजति लेख्न नसकेको बताउँछन् । उनको बिहान लेख्ने बानी छ तर बिहान सबेरै उनी अध्यापनमा जान्छन् र अबेर फर्किन्छन् । यसबाट उनलाई लेख्ने समय मिलाउनै मुस्किल हुन्छ । पेशाले लेखनमा बाधा पु¥याएको ठान्छन् उनी । 

विष्णुले प्रत्यक्षरूपमा राजनीति गरेनन् तर उनी दश कक्षाको विद्यार्थी छँदा २०४६ सालको जनआन्दोलन भयो । उनका गुरुहरू पक्राउ परे । उनले विद्यालयमा नेपाल विद्यार्थी सङ्घको कार्यालय खोले । एलएलसीपछि पनि ठाउँ ठाउँमा घुमे, पार्टीको झन्डा पनि बोके । उनको घर र मावली दुबै राजनीति प्रभावित परिवार हुन् । यसको प्रभाव उनमा पनि प¥यो । विद्यार्थी जीवनपछि उनी राजनीतिमा सक्रिय भएनन् तर प्रभाव छँदैछ । 

विष्णु आफू प्राध्यापनरत पशुपति बहुमुखी क्याम्पसमा प्राध्यापक सङ्घको एकाइ सभापति छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ चाबहिलका सल्लाहकार पनि छन् । त्यसो त उनले प्रजातन्त्रवादी प्राध्यापक सङ्घको केन्द्रीय कार्यसमितिमा उपसभापतिको प्रत्यासी भएर प्रतिस्पर्धा पनि गरिका हुन् । उनमा प्रजातान्त्रिक राज्यव्यवस्थाप्रति असीम आस्था छ तर भाषण गरेर हिँड्दिनँ भन्छन् । उनले कतै राजनीतिक नियुक्ति लिएका छैनन्, खोजेका पनि छैनन् । अहिलेको राजनीतिक अवस्था हेर्दा कुनै उत्साहित हुनुपर्ने अवस्था छैन भन्ने विष्णुको ठहर छ । भन्छन्, ‘सिद्धान्तनिष्ठ राजनीति भएन, व्यक्तिवादी सोच र आर्थिक दृष्टिले मात्र राजनीतिज्ञहरूले काम गरे ।’ अन्तरहृदयबाट प्रशंसा गर्न सकिने राजनीतिक अवस्था नभएको उनको निष्कर्ष छ । निरुत्साहित बन्नु पनि हुँदैन र यसमा सुधार गर्नुपर्छ भन्छन् विष्णु । नेपालको राजनीतिमा आशा गरिएका मान्छे कुनै न कुनै काण्डमा फसेका छन् भन्छन् । 

विष्णुलाई सङ्घीय राज्य प्रणाली नेपाल सुहाउँदो लागेको छैन । पद र सरकारी सुविधा लिनेलाई मात्र यो व्यवस्था उचित भएको उनको ठहर छ । उनको विचारमा स्थानीय तह भए हुन्छ तर प्रादेशिक निकायहरू राष्ट्रलाई आर्थिक भारमात्र हुन् । यो प्रणाली धेरै नटिक्ने देखेका छन् उनले । यसमा परिमार्जन गर्नुपर्ने उनको सुझाव छ । देशको बौद्धिक व्यक्ति भएका नाताले उनी समसामयिक राजनीतिप्रति यति बोलेको हुँ भन्छन् । 

यति राजनीतिक विषयपछि कुरा फेरि साहित्यतिरै मोडियो । राजनीति मेरो पनि ठूलो चासोको विषय होइन । चाहे जति लेख्न नसकेको गुनासो छ विष्णुको आफैँसँग । धेरै लेख्न मन छ तर पेशाले बाधा पु¥याएको छ । पाठ्यपुस्तक लेखनबाहेक साहित्यमात्र लेखेर बाँच्न सक्ने अवस्था आइनसकेको धारणा राख्छन् विष्णु तर पनि लेखिरहने धोको छ । लेखनमा उनी आफूलाई सफल ठान्छन् । पाठ्यपुस्तक लेखनबाट आर्थिक लाभ गरेको पनि बताउँछन् । 

विष्णु यति गरेको श्रेय पनि आफ्नो परिश्रमलाई दिन्छन् । उनी अहिले अनुपम शैक्षिक प्रतिष्ठानसँग आबद्ध छन् । विद्यालयतिर उनी अध्यक्ष छन् र उच्च मावितर्फ प्रिन्सिपल । उनी हाल कपन साहित्य समाजको उपाध्यक्ष, बालसाहित्य समाजको केन्द्रीय सदस्य, गुणनिधिपन्त स्मृति प्रतिष्ठानको सचिव, पारिजात बचेराबासको सदस्य र नेपाली वाङ्मय प्रतिष्ठानका महासचिव छन् । 

विष्णुले २०६० सालको साइन सम्मान, २०६१ सालको पशुपति बहुमुखी क्याम्पसको सेवा सम्मान, २०६७ सालको पशुपति बहुमुखी स्रष्टा सम्मान र २०७१ सालको डिबी त्यागी हिरक जयन्ती सम्मान प्राप्त गरेका छन् । 

पछाडि फर्किएर हेर्दा पश्चाताप गर्नुपर्ने कुनै काम गरेको छैन भन्छन् विष्णु । वातावरण पाएको भए योभन्दा पनि अझै बढी उन्नति गर्थें भन्ने लाग्छ उनलाई । अहिले आर्थिक अवस्था, मानसम्मान, सबैतिरबाट राम्रो छ त्यसैले जीवनसँगै रमाएको छु भन्छन् । आर्थिक उन्नति पनि आफ्नो पेशाबाटै गरेको हुँ भन्छन् । 

विष्णुले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको खण्डकाव्यकारिता’ विषयमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । यही शोधको परिमार्जित पुस्तक प्रकाशन उनी आफैँले गरे । यसबाट पनि आफूले राम्रै आर्थिक लाभ लिएको उनी बताउँछन् । 

विष्णुका भावी योजनाहरू पनि लेखनसँगै सम्बन्धित छन् । उनी लेखनलाई अझै अघि बढाउने सोचमा छन् । अहिलेको फुटकर लेखनलाई प्रबन्ध काव्यतर्फ लैजाने सोचमा छन् । खण्डकाव्य र महाकाव्यसम्मको यात्राको आकाङ्क्षा छ । उनका समालोचना, कविता, गीत र बालसाहित्यहरू धेरै अप्रकाशित छन् । तिनको प्रकाशनको व्यवस्था मिलाउने चाहना पनि छ । 

उनी लेख्न चाहने नयाँ पिँढीलाई निरन्तर अभ्यास गर्न सल्लाह दिन्छन् । लेखनमा स्थापित हुन पहिले त व्यक्तिमा प्रतिभा हुनुपर्छ । दोस्रो व्युत्पादन र तेस्रो अभ्यास हुनुपर्छ भन्ने ठान्छन् उनी । अभ्यासले पनि केही मानिसहरू स्थापित लेखक बन्न सकेको उनको धारणा छ । आफूले चाहेको कुराको पछि लागिरहनु पर्छ अनि मात्र सफलता हात पर्छ भन्छन् विष्णु । यो आफ्नो निजी अनुभव पनि हो । 

विष्णुको साहित्य सिर्जना फुल्दै सुवासित हुँदै जओस्, समकालीन समाज र भावी पुस्ताका लागि समेत लाभादायी हुन सकोस् । हार्दिक शुभकामना ।  


Views: 593