18th November | 2019 | Monday | 4:02:47 AM

गोडाको पानी खान बाध्यकारी छैन

  POSTED ON : भदौ १८, २०७६ (१:५८ PM)

गोडाको पानी खान बाध्यकारी छैन

हिमालय टाइम्स । श्रीमानको गोडाको पानी खानु नपर्ला शीरमा अचाए पुग्ला (परिष्कृत रुपमा लिंदा) । गोडाको पानी भन्दैमा डङडङी मोजा गन्हाउने र फोहोर खुट्टा नभई नुवाईधुवाई सफासित रहेको खुट्टामा यस्सो छ्वाल्ल पानी हालेर अचाए पुग्ला । (घीन नलागे अलिकति सुरुप्प पार्दा सयौ रोग नलाग्ला तर यो बाध्यकारी हुनुहुँदैन ।) कतिले यसलाई अचेल फेसबुके प्रचार प्रसार गर्न थालेका छन् । बर्ष भरी त्यही श्रीमानालाई टोकस्ने अनि एकदिन चाहिँ गोडाको पानी खाएर फेसबुकमा पोस्ट्याउने ।  यसो भनिरहँदा महिलाप्रतिको नकारात्मकता होइन, यसको अर्थ श्रीमानलाई गर्ने आदर सत्कार भनेको गोडाको पानी खाँदैमा देखिने भने हुँदैन । श्रीमान श्रीमति दुबैबीच आदर सम्मान तथा माया ममता उत्तिकै हुनु पर्दछ ।

गोडाको पानी खाँदैमा दासतामा लादेको भन्नु पनि उचित नहोला । कसैले करकापमै त्यसो गराए सायद दासता नै होला तर बहुसंख्यक नारी स्वच्छिक रुपमा गोडाको पानी खाइरहेका हुन्छन् । बरु यो खालको धार्मिक संस्कार नै गलत हो की ? दासताको कुरा चाहिं कथित क्रान्तिकारीहरुले तारे होटलमा आयोजना गर्ने सेमिनार गोष्ठीमा प्रयोग गर्ने शव्दावली होला । नत्र हाम्रो सामाजिक संरचना, पतिपत्नीबीचको उमेर, पारिवारिक परिवेश आदि हेर्दा पति सिनियर नै हुन्छ । तसर्थ जुनियरहरुलाई गरिने सामान्य व्यवहार जस्तै बोलिचाली, व्यवहार गरिन्छ । यसलाई दासता भनिहाल्न सकिन्न । केही कथित नव आधुनिक क्रान्तिकारीहरु बाहेक सबैजसोले आफ्नो पतिलाई आफूभन्दा सिनियर नै अनुभव गरिरहेका छन । 

पतिको सुस्वास्थ्य र दिर्घायुका लागि भनेर गरिने व्रत पनि ऐच्छिक हो । गर्नेले र सक्नेले गर्ने हो नसके वा नगर्नेलाई कर छैन । 

आजकल तीज एक महिना अघिबाट खाने (भोज, पार्टी), देखाउने (गरगहना र साडी वा फेसन), गर्ने (वर्षभरी डान्सको एक दुई स्टेप सिक्ने अनि तीजमा नाचेर लाईभ गर्ने), अनि क्रान्तिकारी भाषण ठोकेर आयोजना गरिने “कार्यक्रम “ भएको छ तीज । 

‘ हरितालिका तीज’ होईन केवल “तीज“ बनेको छ यो सांस्कृतिक आराधना र व्रतमूलक पर्व । दर खाने होइन तीज खाने, गहना प्रदर्शन गर्ने, फेसबुक ट्रेण्डिङ फेस्टिबल बनेको छ तीज । दुस्ख, वेदना, पीडाको उद्वोधन होइन सुख, सम्भ्रान्तता र वैभवता प्रदर्शनको मौका बनेको छ तीज । 

“.....आफ्नो माइति मुग्लानपारी....“ लाई फेसबुकले हटाईदिएको छ । अब त बाबुको मुख हेर्ने चाड पनि फेसबुकले मनाईदिन्छ । सञ्चारको अभाव, भौगोलिक दुरता वा विकटताको कारणले माइत गइराख्न नपाउने चेली, शिक्षाभावले पिछडिएको समुदायमा बुहारीले व्यहोर्नुपर्ने बुहार्तन, उकाली ओराली गर्दाका विरही भावहरु छचल्किने गीत हुँदैनन् आजकल.... (बरु हामी पनि नाच्नुपर्छ बीचबीचमा रे) । टाढा रहेका चेलीलाई दुई दिन बढी माइत बस्ने उपायको रुपमा मनाईने “बाबुको मुख हेर्ने“ पर्व पनि फेसबुकमै फोटो राखेर देखाइदिंदा पुगेकै छ । कति न बाबुले फेसबुक चलाए झैं गरी ! फेसबुक नै चलाए पनि यो पर्वको मर्म त्यो होइन । बाबुको मुख हेर्ने पर्व भनेको आफ्ना अग्रजलाई सम्झन उनीहरुको समिपमा पुग्ने र दुखसुखका कुरा सुन्ने हो । 

खै के भन्नु हौ जताततै क्रान्ति छ । 


Views: 691

सम्बन्धित सामग्री:

कल्पनाको ढाका सपना

रमा लुइँटेल : आश्विन १८, २०७६ (९:३२ AM)