15th September | 2019 | Sunday | 8:12:22 PM

राष्ट्रिय गान आन्दोलनको उपज हो , म निमित्त हुँ

विनोद दाहाल   POSTED ON : भदौ २१, २०७६ (९:४२ AM)

राष्ट्रिय गान आन्दोलनको उपज हो , म निमित्त हुँ

चल्तिको नाम व्याकुल माइला, खास नाम हो प्रदीपकुमार राई । जन्म थलो ओखलढुंगाको साविक थाक्ले हिलेपानी र हालको मानेभञ्ज्याङ गाउँपालिका, २०२९ साल चैत २५ गते । बुबा मानबहादुर राई, आमा धनलक्ष्मी । माइला छोरा भएरै त बोलिचालीका ‘माइला’ अनि साहित्यमा ‘व्याकुल माइला’ । 

हामी भेट्यौँ चाबहिल, लामपोखरी विराज कार्यालयमा । मैले उनलाई नजिक बुझ्ने मौका पाएँ । कति सरल ¤ खान्दानी राई परिवारका सन्तति रहेछन् व्याकुल माइला । बाजे वीरसिंहले कपास खेती गरेर खाँडीको लुगा बुन्ने काम गरेछन् । डाँडा वारिपारिसम्मका साहु भएछन् । प्रधानपञ्च समेत भएका बाजे २०३६ सालमा जनतम संग्रह घोषणा भएपछि बहुदलतिर मिसिएछन् । 

व्याकुल माइलाका पिता मानबहादुरले राजधानी काठमाडौंसम्म आएर पढेका थिए । ऊ बेलाको नर्मल तालिम लिएर गाउँ फर्केपछि शिक्षण पेशा अँगाले । आफ्ना भाइहरूलाई शिक्षाको महŒव बुझाए, पढाए । २०४८ सालपछि बनेको संसदको राष्ट्रिय सभामा राजा वीरेन्द्रबाट मनोनित भएका लघुधन राई मानबहादुरका भाइ हुन् । 

प्रदीपकुमार राईले गाउँकै महादेव प्राथमिक विद्यालयमा तीन कक्षासम्म पढे । सात कक्षासम्म पढ्न तल सुनकोसी नदी छेउसम्म डेढ–दुई घण्टा हिँडेर हर्कपुर निमावि गए । भगवती मावि मानेभञ्ज्याङबाट एसएलसी उत्तीर्ण गरे । यसपछि आए राजधानी पढाइको धोको लिएर । 

कानुनमा स्नातक गरेर अब अधिवक्ता भए तर किन हो कानुन व्यवसायी भएनन् । पढाइको धोको पूरा भएन । उनले उनले जनप्रशासन र समाजशास्त्रमा स्नातकोत्तर पूरा गरे । २०६४ सालमा खोटाङकी नानुकला राईसँग बिहे भयो । उनीहरूकी एक छोरी छन्, निष्ठा । 

मुलुकमा गणतन्त्र आयो । १९८० सालमा चक्रपाणि चालिसेले लेखेको राष्टिय गान ‘श्रीमान गम्भीर नेपाली.......’ विस्थापित हुने भयो । गणतन्त्र नेपालको राष्ट्रिय गान राखिने भयो र यसका लागि सार्वजनिक रूपमा आहृवान गरियो । 

व्याकुल माइलाले यसमा प्रतिस्पर्धा गरे । उनको रचना छनोट भयो । आफ्नो रचना छनोटमा पर्ला भन्ने उनलाई लागेको थिएन । नतिजाले त अक्क न बक्कको स्थितिमा पुगे । राष्ट्रिय गान ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली.....’ का रचियता भए । उनी राष्ट्रको साझा प्रतिभा बने, सार्वजनिक व्यक्तित्व भए । उनी राष्ट्रिय गानका रचनाकारकै चिनारीमा विभिन्न देश पुगेका छन् । 

छनोटमा परेर पनि राष्ट्रिय गानबारे केही विवादहरू भए । उनी यसलाई स्वाभाविक ठाने । भन्छन्, ‘नयाँ कुरा आउँदा वहस हुनु स्वाभाविक हो ।’

प्रदिपकी आमा उनी सानै छँदा बितिन् । उनले थाहा पाएनन् । पछि उनका पिताले उनलाई सुनाए । अनि पो बेस्सरी रोएछन् । अहिले उनी आफूले रचना गरेको राष्ट्रिय गान बज्दा भावुक हुन्छन् । आमा सम्झिन्छन् । भन्छन्, ‘राष्ट्रगान युद्ध र आन्दोलनमा धेरैले जीवनको बलिदान दिएको परिणामबाट आएको हो र मैले त एउटा निमित्त बन्ने सौभाग्य मात्र पाएको हुँ ।’ 

राष्ट्रिय गानका रचनाकारको परिचय पाउनअघि व्याकुल माइला एउटा अस्थायी जागिरमा थिए । लोकसेवा आयोगले लिने शाखा अधिकृतको लागि तयारी गर्दै थिए । नयाँ परिचयले उनलाई जागिरमा जान असहज लाग्यो । यसपछि उनले जागिरको मानसिकता त्यागे । 

अहिले उनी अध्ययन, लेखन र सामाजिक काममा छन् । विद्यावारिधि गर्ने योजना बनाउँदै छन् । कविशिरोमणि लेखनाथ पौड्यालकै झैँ व्याकुल माइला पनि आफ्ना काका अभि राई ‘भावुक’ बाट प्रभावित भएर लेख्न थाले । भन्छन्, ‘काका राम्रो लेख्नुहुन्थ्यो, तरलवादी आन्दोलनको सहभागी लेखक पनि हुनुहुन्थ्यो, पछि बिस्तारै लेख्न छाड्नुभयो ।’ व्याकुलले प्रजातन्त्र पुनस्र्थापनापछि लेख्न थाले । प्रजातन्त्रपछिको चेतनाको प्रतिफल ठान्छन् उनी आफ्नो लेखनलाई ।

किन लेख्नुहुन्छ ? मैले सोधेँ । 

उनले बिस्तारै बताउँदै गए– साहित्यकारको काम लेख्ने हो, लेख्नै पर्छ । समाजले सिर्जनाको अपेक्षा गरेको हुन्छ । आफूमा समाजलाई काम लाग्ने भावना आउँदा लेख्ने गर्छु । खोजमूलक लेख, गीत र कविताहरू लेख्ने गर्छु । 

उनले आख्यान लेखेका छैनन् । सबै विधामा हात हाल्नु उचित हुँदैन भन्ने उनको मान्यता नै आख्यान नलेख्नुको कारण हो । उनी आफ्नो लेखनबाट सन्तुष्ट छन् तर धेरै लेख्न बाँकी रहेको बताउँछन् ।

प्रदीपकुमार उनको खास नाम हो । उनी राजनीति र समाजसेवामा यही नामबाट चिनिए । जब साहित्यमा कलम चलाउन थाले उनलाई एउटा कुनै साहित्यिक नाम राख्न पाए हुन्थ्यो जस्तो लाग्यो । अनि ‘व्याकुल माइला’ भए । अहिले यो नामले नेपालमा उच्च सम्मान प्राप्त गर्न सकेको छ, यसैमा उनी खुसी छन् । 

व्याकुल माइलाले २०४७ साल अर्थात प्रजातन्त्र पुनस्र्थापनापछि लेख्न थालेका हुन् । यहाँसम्म आइपुग्दा उनी आफूलाई सफल लेखकका रूपमा पाउँछन् । उनी सन्तुष्ट पनि छन् । पछुतो मान्नु पर्ने काम केही छैन । आफ्नो सिर्जनामा गौरव गर्छन् । 

लेखनमा लागेर केही गुमाएका छैनन् बरु प्राप्ति भने धेरै भएको छ भन्छन् । आफूलाई अरू कसैसँग तुलना गर्न चाहँदैनन्, कसैलाई कसैसँग तुलना गर्नु उनी अनुचित ठान्छन् । वरिष्ठ कविहरूका रचनासँग आफूले लेखेको राष्ट्रिय गानको तुलना गर्न पनि चाहँदैनन् । उनका कृतिहरू थोरै छन् । अब उनी केही कविता संग्रहको लागि तयारीमाछन् । 

साहित्यलाई भाव अभिव्यक्तिको माध्यम ठान्छन् व्याकुल माइला । साहित्य विशिष्ट भाषिक कला, शैली र विधि हो । उनका अनुसार लेखनले समाज प्रभावित हुन्छ, ज्ञानबाटै समाज परिचालित हुन्छ र समाजलाई प्रभावित गराउने स्रोतमध्ये साहित्य एक हो । उनले आफ्नो लेखनले समाजमा कस्तो प्रभाव पारेको छ भनेर हेरेका छैनन् । राष्ट्रिय गान त विशेष सिर्जना हो । यो बाहेकका रचनाबाट समाजमा के कस्तो प्रभाव परेको छ भनेर उनले हर्न चाहेका छैनन् । 

व्याकुल माइलाले राजनीति पनि गरे । भन्छन्, ‘म जिन्दगीमा मन्त्री बन्ने सपना बोकेर हिँडेको मान्छे हुँ ।’ राष्ट्रिय गानको रचनाकार भएपछि आफ्नो सपनामा बाधा पुगेको उनको ठहर छ । उनी आफ्नो राजनीतिक विचार के हो भन्ने सबैलाई थाहा छ भन्छन् तर हाल उनी सबैको साझा व्यक्ति बन्न सन्तुलन मिलाइरहेका छन् । उनको रचना राष्ट्रिय गानमा छानिँदाको केही सकस रचनाको दुर्बलताभन्दा पनि लेखकको कनिष्ठता हो कि जस्तो ठान्छन् । अहिले जिम्मेवार भएर लेख्नुपर्ने दायिŒव रहेका कारणले संयम र सावधानीपूर्वक सार्थक र जनउपयोगी लेखनमा सन्तुलन मिलाउनुपर्ने दवाव महसुस गर्छन् । 

व्याकुल माइला वर्तमान राज्यप्रणालीप्रति पनि केही टिप्पणी गर्छन् । संघीयतालाई उनले नराम्रो ठानेका छैनन् । यो सुरुवात हो र यो राम्रो राज्यप्रणाली हो भन्ने उनलाई लागेको छ । यसैका लागि यत्रो आन्दोलन भएको हो । त्यसैले यसका प्रयास, सम्भावना र सकारात्मकतातिर हेर्नुपर्ने सुझाव छ उनको । अनि यसैगरी साहित्यका वाद वा गुट र उपगुटका सन्दर्भमा उनी विचार र दर्शनबाट प्रभावित हुनु र विविध सोच हुनुलाई स्वाभाविक ठान्छन् । 

आफ्नो रचना राष्ट्रिय गानका रूपमा छनोट हुँदा होसहवासै उडेजस्तो भयो रे उनलाई । सातो गएजस्तो भयो । बिस्तारै यसले उनको जीवनमा परिवर्तन पनि ग¥यो । उनी राष्ट्रकै निधि बन्न पुगे । उनी परस्कृत भए । सुरुमा नेपाल सरकारले उनलाई पाँच लाख रुपैयाँ दियो । त्यसपछि उनलाई आजीवन मासिक २५ हजार रुपैयाँ ‘जीवन निर्वाह भत्ता’ दिँदै आएको छ । यसले आफूमा परिवर्तन ल्याएको स्वीकार्छन् उनी । भन्छन्, ‘मेरो जीवनमा राष्ट्रगानले व्यापक परिवर्तन ल्यायो । यसबाट म सामाजिक बनेँ ।’ 

व्याकुल माइलाको रचना राष्ट्रिय गानमा छनोट नभएको भए उनी अहिले के गर्दैहुन्थे होलान् ¤ जीवन निर्वाहका लागि संघर्ष गर्दै हुन्थे रे भन्छन्, ‘वकालत गरिरहेको हुन्थेँ र एउटा स्थापित कानुन व्यवसायी बनिसकेको हुन्थेँ ।’ वकिल नभए पनि अहिलेको अवस्थालाई उनले ठूलो प्राप्ति ठानेका छन्, यसलाई कुनै उपमा दिनै सकिँदैन भन्छन् । सम्मान र पुरस्कार जस्ता कैयौं मानमनितो उनलाई उनलाई राष्ट्रिय गानबाटै प्राप्त भएको हो । उनको नामै पर्याप्त छ । 

नयाँ राष्ट्रिय गान २०६४ साल भदौ १८ गतेबाट नेपालको राष्ट्रगानका रूपमा लागू भयो । रचनाकार व्याकुल माइलालाई सम्मान गर्नेहरूको भीड लाग्न थाल्यो । अन्तर्वार्ता, भूमिका लेखन, लेख रचनाका लागि अनुरोध, उनका बारे शोध लेखन इत्यादि । विभिन्न संघसंस्थाबाट प्राप्त मायाको चिनो, सम्मानपत्र र प्रशंसापत्र कोठामा अटाई नअटाई छन् । सुप्रबल जनसेवाश्री मानपदवी (२०६८) सालमा र सुकीर्तिमय राष्ट्रदीप (२०७४) बाट सम्मानित भएका छन् । जनस्तरबाट पाएको सम्मानको लेखाजोख नै छैन । 

व्याकुल माइला रघुनाथ पोखरेल, यदुनाथ पोखरेल, ज्ञानदिलदास, सिद्धिचरण श्रेष्ठ जस्ता सम्मानित साहित्यकारहरूकै जिल्ला ओखलढुंगाका हुन् । त्यहाँको सम्मान अभिवृद्धि गराउने अर्का एक प्रतिभा बने उनी । उनी नयाँहरूलाई लेख्न प्रेरित गर्छन् । भन्छन्, ‘लेखन भनेको रहर र लहड मात्र होइन, यो भावनाको अभिव्यक्ति मात्र पनि होइन, यो समाजको मार्गदर्शक पनि हो ।’ समाजलाई सही बाटो देखाउनका लागि लेख्नुपर्छ भन्छन् । 

समाजमा उद्घाटन हुन बाँकी रहेका कुराहरू लेख्नुपर्छ, लेखन भनेको जिम्मेवारीपूर्ण काम हो । सोहीअनुसार अध्ययन चिन्तन, अनुसन्धान र साधना गरेर लेख्नुपर्ने सुझाव उनी नयाँ पुस्ताका लागि दिन चाहन्छन् । राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको थप उन्नतिको कामना !


Views: 582