8th December | 2019 | Sunday | 8:10:48 AM

वैदेशिक रोजगारमा एउटा खुट्टा गुमाएका केवललाई, अर्काे खुट्टाको डर

सरिशा अछामी   POSTED ON : आश्विन ७, २०७६ (१२:१५ PM)

वैदेशिक रोजगारमा एउटा खुट्टा गुमाएका केवललाई, अर्काे खुट्टाको डर

काठमाडौं । केही कमाउने र परिवारलाई खुशी दिने उद्देश्यका साथ विसं २०६२ सालमा मलेशिया गएका थिए ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनका केवलप्रसाद बानियाँ  ।

मलेशियामा राम्रै दैनिकी गुजार्दै थिए । समय अनुकूल थियो  । बेला–बेलामा घरमा पैसा पनि पठाउँथे । हिसाबकिताब राम्रै चल्दै थियो । आर्थिक अवस्थाको भार कम हुँदै  थियो तर समय सधैँ एकैनासको हुँदैन रहेछ । उनले पनि यस्तै नियति भोग्नुपर्यो । एक्कासि जिन्दगीमा आएको पीडाले जिन्दगी नै उथलपुथल बनायो । जिन्दगी  जीउन सुरु गर्दै गर्दा पीडामा डुब्नुप¥यो । रोजगारीमा आफ्नो भविष्य खोज्दै गरेको केवलको जिन्दगीमा अचानक एउटा रोगले उनलाई ग्रसित बनायो  । अनि खुट्टा काट्नुपर्ने अवस्थासमेत आयो । तर एउटा खुट्टा गुमाइसकेको उनलाई अर्काे खुट्टामा पनि उस्तै समस्या देखिएको पीडा सुनाए । अर्काे खुट्टा पनि काट्नुपर्ने हो कि भन्ने डर भएको दुःख व्यक्त गर्छन् 

विसं २०३६ साउन १६ गतेका दिन ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनमा जन्मिएका हुन् केवलप्रसाद बानियाँ । आमा खेममाया बानियाँ र बुवा कृष्णबहादुर बानियाँका सुपुत्र केवलका लागि बाल्यकाल राम्रै थियो । उनले ओखरबोटे प्राविमा कक्षा ५ सम्म पढे । रजा माविबाट एसएलसी पास गरे । सिनाममा प्लस टु पढ्न सुरु गरेपनि उनलाई पारिवारिक जिम्मेवारी आइपर्यो । त्यसपछि उनी झापा झरे । ‘जीवनमा एउटापछि अर्को गर्दै घुम्तीहरू आए, पत्तै नहुँदो रहेछ, कति छिटो समयले कोल्टे फेर्दो रहेछ’  केवल भन्छन् जब पीडा भगवानले दिन्छ तब सहन नसक्ने गरी दिने रहेछन् । 

झापादेखि मलेशियासम्म यात्रामा विसं २०६० सालमा झापा झरेका केवलप्रसाद बानियाँले सञ्जोग सिर्जना कला प्रतिष्ठानमा संगीत सिक्न सुरु गरे । सोही वर्ष उनले विवाह पनि गरे । विवाह पछि जिम्मेवारीको बाँध पूरा गर्न उनले आफ्नो देश छोडे  अनि जिन्दगीका अनगिन्ती संघर्ष सुरु भएको उनको भनाइ छ ।

युवा अवस्थामा जोस, केही गर्ने जाँगर र उत्साह बोकेर विसं २०६२ साल असारमा बानियाँ मलेशियातिर लागे । मलेसियाको जोहोरबारुको सिइआई कम्पनीमा काम गर्न थाले । ३ वर्षसम्म काम गरेँ । काम पनि राम्रो थियो, कमाइ पनि राम्रो । बानियाँले मलेशियामा बिताएका दिनहरू स्मरण गर्दै भने – ‘विसं २०६५ सालतिर म बिरामी परेँ । सुल्तान इस्माल हस्पिटल गएँ । ३ दिनजति बसेर उपचार गरेँ तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि क्वालालम्पुर लाने कुरा हुँदै थियो । त्यसबीचमा उनलाई पेजावतपेंगराहमा उपचार गराइयो ।  उपचारका क्रममा बानियाँले सोच्दै नसोचेको सत्यसँग नजिक हुनुपर्याे । त्यति बेलै डाक्टरहरूले खुट्टा काट्नु पर्छ भने । तर उनले आफ्नो खुट्टा जोगाउन तत्काल आर्टरीको शल्यक्रिया गरे । एक दुई दिन निको भएको जस्तो भयो अनि पुनः दुखाइ बढ्न थाल्यो । अस्पताल जाँदा फेरि पनि खुट्टा काट्नुपर्छ भनेपछि उनको मनले मानेन आफन्त र साथीहरूको सहयोगमा तत्काल नेपाल फर्किएको बताए ।

मलेसियामा खुट्टा काटेको भए बिमाको रकम पनि पाइन्थ्यो होला भन्ने अहिले उनलाई लाग्न थालेको छ । नेपाल फर्किएपछि नर्भीक अस्पतालमा उपचारको लागि गए । विसं २०६५ साउन १८ गते नर्भीक अस्पताल गए । त्यहाँ मोटो रकम बुझाउनु पर्याे । तर खासै राम्रो उपचार पाएनन् । त्यसैदिन शिक्षण अस्पताल गए । त्यहाँ उनी ३ दिन बसे । ‘खप्नै नसक्ने पीडा हुनथाल्यो शिक्षणमा शल्यक्रिया गर्ने तयारी गर्दागर्दै आयुर्वेदका चिकित्सकतर्फ पनि होमिए । आफ्नो खुट्टा बचाउन हरकोसिस गरे । आयुर्वेदले निको हुन्छ भनेपछि केही हप्ता आयुर्वेेदमा होमिएको उनले बताए ।  

भक्तपुरको जनकल्याण आयुर्वेद चिकित्सालय पुगे । आयुर्वेदले निको हुन्छ भनेपछि आयुर्वेदमा भरोसा गरे । उपचार होला, सञ्चो भएर घर फर्किन पाइएला भन्ने नै आशामा आयुर्वेदतर्फ ४÷ ५ दिन अल्मलिए ।  तर त्यहाँका वैद्यको उपचारले खुट्टा निको भएन झन् पीडा थपिदियो ।

उनलाई कुनै अस्पतालमा त उपचार होला नै भन्ने आशा थियो । काठमाडौंका ठुला अस्पतालदेखि आयुर्वेदिक अस्पतालसम्म धाए । तर, उनको विश्वास काठमाडौँको वीर अस्पतालमा पुगेपछि टुट्यो । वीर अस्पतालको बसाइ जीवनकै सबैभन्दा पीडादायी थियो । पलपलमा मलाई असाध्यै दुःख लागेर आउथ्यो । खोई दैवले किन यति साह्रो दुःख दियो, केही सोच्नै सक्दिनँ बानियाँले भने ।

वीर अस्पताल पुगेको चौथो दिनपछि उनको खुट्टा काटियो ।  १५ दिन लामो अस्पताल बसाइपछि उनी घर फर्किए । वीर अस्पतालबाट हिृवल चियर र वैशाखीको सहारामा बाहिरिँदै गर्दा उनी धेरैबेर रोए । आफ्नो एउटा अंग गुमाएको पीडामा रोए । आफ्नो नियतिलाई सम्झिएर रोए ।  उनी रोईमात्रै रहे । मनको बह त्यही आँसुसँग पखालेर उनी बाटो लागे । 

डाक्टरका अनुसार उनको रोग लागेको छोटो समयमा नै शरीरभरी कालो दाग बन्दै जाने र फैलिएर रोग लागेको छोटो समयमा नै मुत्यु हुने गरेको रोग हो । शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिस एन्ड ट्रान्सपलान्ट सेन्टरमा वरिष्ठ डाक्टरका अनुसार धेरै उभिएर काम गर्ने व्यक्तिलाई उक्त रोग लाग्ने गरेको उनको भनाइ छ । मेलेसियामा उभिएर काम गरेकै कारण यस्तो समास्या भोग्नु परेकोमा दुःख व्यक्त गर्छन् । 

जब मानिसलाई समस्या पर्छ । आफन्तको साथको झनै धेरै आवश्यकता पर्छ । उनलाई साथ दिने श्रीमती पनि साथमा थिइनन् । आफू लगातार बिरामी हुनेभएपछि श्रीमतीले पनि आधा जिन्दगीमै छोडेर गइन् । जब उनी अस्पतालको बेडमा पुगे उनको औषधिको व्यवस्था गर्नुभन्दा अर्कैको अंगालो प्यारो भएकाले छोडेर गएको गुनासो गर्छन् । साथ र सहयोगको बेलामा छोडेर गएको श्रीमतीको के कुरा गर्नु भन्दै सम्झन नचाहेको उनले बताए ।

म त बिरामी भएर फर्किएको थिएँ ।  उनलाई कसरी छुट्ने भन्ने पीर रहेछ । बिरामी भएका बेला एक्लै छोडेर गइन् । उनी विदेशमा भएको समयमा बहिनी बिरामी परेकी थिइन् । आफ्नो जिन्दगीको पीडामात्र होइन । बहिनी र बाबुको मुत्युको पीडा पनि सहन बाध्य हुनुप¥यो ।  त्यतिबेलै केवलकी बहिनी राधिका बानियाँको मृगौलामा खराबी आयो ।  उनले बहिनीलाई मृगौला दिन खोजे । तर, उपचारकै क्रममा बहिनी बितिन् । बुवा र दिदीको वियोग त उनले विदेशमै हुँदा सहनु परेको थियो ।

दोस्री श्रीमतीको साथ 

समयले कोसँग कहाँ भेटाउँछ भन्ने कसैलाई थाहा हुँदैन रहेछ । विसं २०६८ सालमा केवलप्रसाद बानियाँलाई पनि यस्तै एउटा संयोग जु¥यो ।  उनको भेट गोमादेवी घोर्साईसँग भयो । केवलका साथी थिए डिल्ली घोर्साई ।  डिल्लीले नै आफ्नी बहिनीसँग विवाह गर्न भनेपछि केवल र गोमा एक भए । हाल उनीहरूको एक छोरा छ । 

 १० वर्ष सम्म एउटा खुट्टाले जिइरहेका उनी हाल उनको अर्को खुट्टामा पनि समस्या भएपछि केवल उपचारको क्रममा हाल काठमाडौँ आएका छन् । अर्काे खुट्टामा पनि ४ वर्षदेखि समस्या आएको उनले बताए । त्यसैको उपचारका लागि उनी अहिले काठमाडौँ नै बसेका छन् । उनको साथमा अहिले श्रीमती  छन् तर,उपचार गर्नको लागि खर्च छैन । उपचार गर्दागर्दै जायजेथा सकियो । उनी भन्छन् अब त साथीसंगी, इष्टमित्र र आफन्तकै सहारामा जिइरहेको छु । आगामी दिनमा पनि मिडियाकर्मी, साथीभाइ, इष्टमित्रले सहयोग गर्ने अपेक्षाले जिइरहेको उनले गुनासे पोखे । 

सहयोगको अपेक्षा

आफूले कमाएको सम्पत्ति सकिएपछि  मिडिया, साथीसंगी, इष्टमित्र र आफन्तको सहयोगले  अर्काे खुट्टा बचाउनको लागि अपिल गरेका छन् । लामो समयदेखि उपचारको क्रममा रहँदा साथीभाइको सहयोग उपचार भइरहेको छ । आफ्नो अपांगता र श्रीमतीको साथमा भएको सानो छोराको कारण कतै काम गर्न नसकेको कारण सहयोगले बाँच्ने आशा पलाएको उनको भनाइ छ । खुट्टा काटिएको केही वर्षपछि अर्काे खुट्टामा पनि उस्तै समस्या देखिएको छ । दुवै खुट्टा गुमाएपछि बाँच्न सकिँदैन भन्ने डर लागेको छ । एउटा खुट्टाले जीवन बिताउन गाह्रो भएको समयमा अर्काे खुट्टामा पनि समस्या आएको कारण उपचार गर्न आर्थिक अवस्था कमजोर भएपछि सहयोगको अपेक्षा गरेको उनी बताउँछन् ।


Views: 1155

सम्बन्धित सामग्री:

कल्पनाको ढाका सपना

रमा लुइँटेल : आश्विन १८, २०७६ (९:३२ AM)