19th October | 2019 | Saturday | 8:21:02 PM

कल्पनाको ढाका सपना

रमा लुइँटेल   POSTED ON : आश्विन १८, २०७६ (९:३२ AM)

कल्पनाको ढाका सपना

धेरैलाई अचम्म लाग्नसक्छ, नेपालमै राम्रो कपडा बन्छ भन्ने सन्दा । सीप र क्षमता हुनेहरूले नेपालमै राम्रा र आकर्षक कपडा उत्पादन गरिरहेका छन् । नेपाली हातबाट बुनिएका ती कपडा विदेशमा समेत निर्यात भइरहेका छन् । 

ढाकाको कपडा बुन्नु सजिलो काम होइन । त्यही कठिन काम सजिलै बनाएकी छन् कल्पना लिम्बूले । उनको मिहिनेत र लगनशील स्वभावबाट जो कोही प्रभावित हुन्छ, आफूमा ऊर्जा थपिएको महसुस गर्छ । लामो समयसम्म उनी विभिन्न पेशामा थिइन् । पछिल्लो समय उनी सफल उद्यमीको श्रेणीमा पुग्न सफल भएकी छिन् । भन्छिन्, ‘यो सफलता कामप्रतिको सम्मान र लगनशीलताले नै हो ।’

त्यसो त उनी सबै काम समान देख्छिन् । उनी यस्ती महिला हुन्, जसले आफ्नो कामलाई व्यापारको रूपमामात्रै लिएकी छैनन् । आफ्नो परम्परा र संस्कृति लोप हुनबाट जोगाउन सक्दो प्रयास गरिरहेकी छिन् । नेपाली कपडा बजारमा पु¥याउन प्रयत्नशील छिन् ।

ठूलो परिवारमा जन्मिएकी कल्पना परिवारकी साइली छोरी हुन् । परिवारमा ६ जना दिदीबहिनी र एक भाइ थिए । सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरको थर्पु गाउँमा २०१९  उनको जन्म भयो । पाँचथरको थर्पु गाउँमा जन्मिएकी कल्पनाले कक्षा सातसम्म पढिन् । त्यो विद्यालयमा कक्षा ७ सम्ममात्रै पढाइ हुन्थ्यो । त्यसकारण पढाइ त्यही बिट मार्नुपर्ने बाध्यता आइप¥यो । उनी घरकै काममा व्यस्त हुन थालिन् । उनी साह्रै मिहिनेती थिइन् । जिम्मा दिएको काम राम्रोसँग पूरा गर्न केही कसुर बाँकी राख्दिनथिइन् । 

पन्ध्र वर्षको उमेरमा बिहे गरेर कल्पना ताप्लेजुङ पुगिन् । विवाहपछिको जीवन झन् संघर्षपूर्ण भयो । केही वर्ष उनी गाउँमै खेतीपातीको काममा व्यस्त भइन् । आमा बनेपछि कल्पनामा अझै जिम्मेवारी थपियो । सत्र वर्षकै उमेरमा उनले पहिलो सन्तान जन्माइन् । ‘जिम्मेवारी थपिएपछि काम त थप गर्नुपर्ने भइहाल्यो नि ¤’ यसो भनिरहँदा उनको अनुहारमा खुशीका रेखा देखिए ।  

छोराछोरी पढाउन र अर्को कुनै व्यवसाय थाल्न कल्पना ताप्लेजुङबाट मोरङ झरिन् । मोरङको बेतौनामा केहीवर्ष गाइभैँसी पालन गरिन् । छोराछोरी हुर्काउन, पढाउन धेरै संघर्ष गर्नुप¥यो । तीन वर्ष मोरङमा रमाएकी कल्पनालाई थप मिहिनेत गर्ने र केही योगदानन हुने काम गर्न मन लाग्यो त्यसैले उनी सबैको सपनाको सहर काठमाडौं पसिन् । 

काठमाडौं पसेपछि 

काठमाडौं प्रवेशको उनको मुख्य उद्देश्य थियो, छोराछोरीलाई राम्रो शिक्षा दिने र नयाँ व्यवसाय थाल्ने । २०४८ सालमा काठमाडौं आएकी उनलाई सुरुमा त के काम गर्ने भन्ने अन्यौल भयो । सहर न हो, बसेर खाना कहाँ सकिन्थ्यो र ¤ उनले बानेश्वरमा कपडा पसल खोलिन् । कामप्रतिको लगाव छाडिनन् । चीनबाट कपडा ल्याउँदै बेच्ने काम समेत थालिन् । त्यतिमात्रै होइन, फर्निचर पसल पनि खोलिन् । व्यापार गरिरहँदा उनलाई खान लगाउन पुगिरहेकै थियो । तर, ती सबै काम छाडेर अरूले गरिरहेको भन्दा पृथक व्यवयाय गर्ने निधो गरिन् । पूर्वका विभिन्न स्थानमा तानबाट कपडा बुन्ने प्रचलन अझै छ । अझ लिम्बू समुदायको पुख्र्यौली पेशा नै हो घरेलु तानमा कपडा बुन्नु । 

उनी सानो छँदा आमा घरमा सधैँ तान बुन्थिन् । घरमा पनि तीन–चार वटा तान थिए । आमाले कपडा बुनेको हेर्थिन् कल्पना । बिग्रिन्छ भन्दै उनकी आमा तान छुन दिन्नथिन् । आमा नभएको मौका छोपेर कल्पना तानमा बस्थिन् । बाल्यकालमा जानी नजानी सिकेको त्यो सिपलाई उनले काठमाडौंमा उपायेग निधो गरिन् । नेपालमा परम्परागत व्यवसाय लोप हुँदै गएको अवस्थामा त्यसलाई बढावा दिन उनले कपडा उद्योग खोलिन् । भन्छिन्, ‘सजिलो थिएन तर माइतीको सहयोगले अघि बढ्न सकेँ ।’

उद्यमी भएपछि 

कल्पनाले २०६४ सालमा ‘द हाइल्याण्ड आर्ट’ नामक कम्पनी दर्ता गरिन् । दर्ता त गरिन् तर उनी ढाका कपडा बुन्न उनी निपूर्ण थिइनन् । अलि अलि जानेको भरमा मात्र काम गर्न निकै गाह्रो भयो । उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘धागो कहाँ पाउँछ, तान कसरी प्रयोग गर्ने, गाउँमा देखेकाले मात्रै कहाँहुन्थ्यो र ¤ आमा बितिसक्नुभएको थियो, गाउँघरमा पनि तान मासिइसकेका थिए ।’ 

उनलाई जसरी पनि यो काम गर्नु थियो । त्यसैले कपडा बुन्ने तालिम लिन उनी उपत्यकाको विभिन्न ठाउँ पुगिन् । उनले सिटीइभिटिमा टेक्सटायल अध्ययन गरिन् । भन्छिन्, ‘मान्छेले चिताउनुपर्ने रहेछ, पूरा नहुने केही रहेनछ ।’ कपडा बुन्न कल्पनाले तालिम त लिइन् । तान किन्न पैसा थिएन । सहकारी संस्थाबाट १५ हजार ऋण लिएर तान किनेकी थिइन् । त्यसपछि उनी व्यावसायिक रूपमा नै कपडा उद्योगमा समर्पित भइन् । 

कपडा बुन्न कच्चा पदार्थ जुटाउनु र त्यसमा पनि गुणस्तरीय कपडा तयार पार्नु सजिलो काम थिएन । सबै चुनौतीलाई उनले पार लगाइन् । हार खाइनन् । प्रतिबद्ध भएर निरन्तर लागि रहिन् । आफूले बुनेको कपडाको बजार खोज्ने अनुभव थिएन । 

विगत सम्झँदै कल्पना भन्छिन्, ‘रातदिन नभनी कपडा बुन्यो, किन्ने मान्छे कोही हुँदैन थियो, मन आत्तिन्थ्यो, अलमलिन्थ्यो ।’ कतै प्रदर्शनी हुँदा, विदेशी आउँदा कल्पना आफूले बुनेको ढाका कपडा बेच्न पठाउँथिन् । खासै व्यापार हुँदैन थियो । ऋण लिएर खोलेको व्यवसाय त्यतिकै छाड्ने कुरा भएन । छोराछोरी पढाउनु पर्ने, घर व्यवहार पनि त्यही तानमा अडेको थियो । 

विश्वबजारमा ढाका कपडा पु¥याउँछु भन्ने अठोटका साथ लागिरहिन् । भन्छिन्, ‘सबैले बर्सिसकेको ढाका सबैले सम्झने बनाउन दिनको १८ घण्टासम्म काम गरँ ।’

कामको तिर्सनाले उनी भोकप्यास समेत बिर्सन्थिन् । मिहिनतअनुसार व्यवसाय राम्रो हुँदै गयो । एक वर्षको अन्तरालमा उनले ४ वटा तान किनिन् । ढाकाको कपडामा चित्र उर्ताने कला आवश्यक थियो । उनले कलाका कक्षाहरू समेत लिइन् । उनी आफूले सिकेको सिप  कारखानामा अरूलाई पनि सिकाउँथिन् । ढाकाको कपडा बुन्दा रङ ‘म्याचिङ’ मा ध्यान दिनुपर्छ । कुन रङमा अर्को कुन मिल्छ भन्ने थाहा पाउनु पर्छ । रङ ‘म्याचिङ’ को ज्ञान उनले अमेरिकी रङ डिजाइनरसँग लिएकी थिइन् । 

व्यवसाय फस्टाउँदै गयो । आफूले मात्रै काम गरेर धान्न नसक्ने गरी बढ्दै गयो । त्यसपछि उनले एकल, अशक्त र अपागंता भएका महिलालाई ढाका कपडा बुन्ने सीप सिकाउन थालिन् । सिकेकामध्ये केहीलाई उनले उद्योगमै रोजगारी दिइन् । विस्तारै उद्योगमा कर्मचारी थपिँदै गए । कल्पनाले ढाकामा बुट्टा भरेर विभिन्न पहिरन बनाउन थालिन् । ढाकालाई टुक्रा पारी बुट्टा बनाएर पहिरनलाई आकर्षक बनाउन सक्ने खुबी छ कल्पनामा । 

बजार विस्तारपछि

कल्पनाले बिस्तारै ढाकाको मार्केट बुझ्दै गइन् । विभिन्न ४० स्थानमा फेसन शो आफूले बुनेका ढाकाका कपडा देखाइन् । उनले बुनेका ढाकाका कपडाको बजारमा माग बढ्दै गयो । अहिले त फिल्मका हिरो–हिरोइनले समेत कल्पनाले बुनेका ढाकाका कपडा खोज्छन् । कल्पना मख्ख पर्दै भन्छिन्, राष्ट्रपतिज्यूले रक्षामन्त्री हुँदादेखि नै मैले तयार पारेको ढाका साडी लगाउनु हुन्थ्यो ।’ छक्का पञ्जा २ सिनेमा लगायत विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नेहरूले कल्पनाले तयार गरेका ढाका लुगा लगाएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली ढाकाको माग बढ्दो छ । 

कल्पनाले बुनेका धेरै कपडाहरू क्यानडा, अमेरिका, जापानलगायतका देश पुगेका छन् । यसमा उनलाई गर्व लाग्छ । भन्छिन्, ‘धेरै मुलुकमा म आफैँ कपडा लिएर गएकी छु । अहिले अनलाईबाट माग आउँछ ।’ उनले फेसबुकमा अफिसियल पेज बनाएकी छिन् । बुनेका कपडाको फोटो पेजमा हाल्ने बित्तिकै त्यहीबाट अर्डर आउँछ । 

कल्पनाको आर्टबाट कोट, टोपी, टाइ, फेटा, हाते रुमाल, टिसर्ट, ज्याकेट, पर्स, पर्दा तन्ना, टेबलपोसलगायत तयार हुन्छन् । कुर्था, पछ्यौरा, सारी, झोला, मोबाइलका खोल, पस्मिनाका सामानाहरू तयार पार्छिन् । 

जनशक्ति अभाव

परम्परागत ढाका व्यवसायलाई सरकारले नै बढावा दिएको छ । कल्पना भन्छिन्, ‘ढाकाको मार्केट छ, जनशक्ति कम छ ।’ सरकारले यसको प्रबद्र्धनमा सहयोग गरेर नेपाल आत्मनिर्भर हुने धारणा उनको छ । कल्पनाले ‘द हाइल्याण्ड आर्ट’ खोलेर व्यवसाय सुरु गरेको १२ वर्ष भइसक्यो । कल्पना कुशल व्यवसायीमात्रै होइनन् उनी ढाका कपडामा विशेष दक्षता हासिल गर्न सफल भएकी छिन् । उनले अहिलेसम्म तीन हजारभन्दा बढीलाई सीप सिकाइसकेकी छिन् । दुई हजारलाई रोगजार दिएकी छिन् । 

टेक्सटायल सम्बन्धी विद्यालय खोल्ने र ढाका कपडा र व्यवसाय बारेमा पुस्तक निकाल्ने कल्पनाको सोच छ । पुस्तक निकाल्नकै लागि अनुसन्धानमा छिन् । काम के गर्ने, कसरी समृद्धि ल्याउने भनेर चिन्तित बनेकाहरूलाई कल्पना ढाकाको प्रचारप्रसार र प्रबद्र्धनमा लाग्न सल्लाह दिन्छिन् । भन्छिन्, ‘यो व्यवसायले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्छ ।’


Views: 291