19th January | 2020 | Sunday | 7:47:28 AM

हराउँदै गएको मानवता खोज्दै

रमा लुइँटेल   POSTED ON : पुष २६, २०७६ (१०:२३ AM)

हराउँदै गएको मानवता खोज्दै

उनलाई धेरै दिनसम्म त्यो दृश्यले निदाउन दिएन । दृश्य थियो– नयाँ बसपार्क नजिक भेटिएकी गर्भवती महिलासम्बन्धी, जसको कपाल लट्टा परेको थियो । अर्धनग्न थिइन् । नजिक पुग्दा उनको शरीरमा जुम्रा देखिन्थे । उनलाई देख्दा लाग्थ्यो, उनी केही वर्षदेखि नै सडकमा छिन् ।

ती बेवारिसे महिलालाई देखेपछि सुमित्राको मनमा एउटा प्रश्न उब्जियो । यी महिलालाई कसले गर्भवती बनायो ? तर, यसको जवाफ त थिएन । ‘त्यो दृश्य र त्यसपछि मनमा उब्जिएका प्रश्नले म यो (मानवसेवा) क्षेत्रमा समर्पित हुने निश्चय गरेँ,’ उनले आफू बेबारिसेको सेवामा लाग्नुको कारण खुलाइन् । 

त्यसो त उनी सडक, पेटीमा मागेर बसेका मान्छेलाई देख्दा यिनको संरक्षण र सुरक्षा कसरी गर्न सकिन्छ भन्दै धेरैपटक घोत्लिएकी थिइन् । हेटौडामा जन्मिएकी सुमित्रा, जसले २०७२ सालदेखि काठमाडौंलाई कर्मथलो बनाइन्, त्यतिबेलादेखि नै उनले सडकमा भेटिने मान्छेको सेवामा लाग्ने निर्णय गरिन् । 

अभाव र स्वभाव  

सुमित्राले सेवाको काम थालेदेखि एउटै प्रश्न झेल्दै आएकी छिन् । त्यो हो– यस्ता मान्छेहरूको संरक्षण र सेवा कहिलेसम्म गर्ने ? सुरु सुरुमा त उनी यो जवाफमा यसो भन्थिन्– जहिलेसम्म सक्छु तहिलेसम्म ।

सधैँ यो उत्तर पर्याप्त भएन । व्यवस्थित ढंगबाट काम गर्न अध्ययन र अनुसन्धान आवश्यक थियो । वास्तवमा सडकमा मान्छे किन आउँछ ? सडकमा आएका मान्छे मनोरोगी किन हुन्छन् ? 

उनको निष्कर्ष छ– सडकमा मान्छे मुख्य दुई कारणले आउने रहेछन् । उनको अध्ययनले भन्यो– पहिलो, अभाव र दोस्रो, स्वभाव । अभाव विभिन्न खालको हुने उनी बताउँछिन् । ‘मान्छेलाई मुख्य गरी दुई खालको अभाव हुँदोरहेछ, एउटा मायाको, अर्को सम्पत्तिको । 

मान्छे स्वभावको दास हो । सबै कुरा भएर पनि मान्छे आफ्नो स्वभावका कारण धेरै दुःखी छ । अभावले दुःखी हुनु स्वाभाविक होला । स्वभावले निम्त्याएको दुःखका कारण मान्छे मनोरोगबाट ग्रसित हुँदैछ । अध्ययनले देखाएको अर्को महŒवपूर्ण पक्ष हो– सडकमा भेटिने ती बेबारिसेहरूको अवस्था । उनीहरूको अवस्थाबारे अध्ययनको निष्कर्ष छ– अवस्था कहालीलाग्दो छ । 

केही महिनाअघिको कुरा हो, संस्थामा आएकी एक जना दिदीसँग सुमित्राले सोधिन्– तपार्इं सडकमा आउँदा त मनोरोगी हुनुहुन्न थियो, पछि कसरी तपाईंलाई यो रोग लाग्यो ? 

ती महिलाले जवाफले सुमित्राको शरीरमा काडा उम्रियो । अवाक भइन् । 

‘मनोरोगी नभई सडकमा बाँच्नै सकिँदैन ।’ 

उनको भनाइको तात्पर्य थियो– मनोरोगी नभएको भए म सडकमा ज्यूँदो रहने थिइनँ । आफूलाई चिनेर सडकमा बाँच्न सकिँदैन । आफूलाई बिर्सेरमात्रै सडकमा बाँच्न सकिन्छ । 

सुमित्राले सडकमा जीवन बिताउनेहरूबाट थाहा पाएको जडी कुरा यही हो । 

म को हुँ ? म यहा किन छु ? 

जसले यी प्रश्नको जवाफ खोज्न थाल्छ उसले जीवन निर्थक पाउँछ । आफू बाँच्नुको अर्थ देखन छोड्छ । त्यसपछि उसले गर्ने निर्णय अप्रिय पनि हुन सक्छ, आफ्नै अन्त्य । 

सडक जीवनभित्र अत्यन्तै पीडा लुकेको पाउँछिन् सुमित्रा । शारीरिक र मानसिक दुव्र्यवहारको शिकार भएका छन् सडकमा बास बस्नेहरू । 

समग्रतामा सुमित्राको निष्कर्ष छ– समाजबाट मानवता हराउँदैछ । 

हराउँदै गरेको मानवता जोगाउन सेवा सुरु गरेकी हुन् सुमित्राले । सडकबाट उठाएर मानव कल्याण समाजमा ल्याउनु व्यावहारिक पक्ष हो । यो सँगसँगै उनले थालेको अर्को अभियान हो– मानवता प्रबद्र्धन । यो अभियानले सकारात्मक सोचसहितको मानवता भएको व्यक्ति निर्माण गर्छ । यो अभियानले मान्छेलाई खुशी भएर बाँँच्न सहयोग गर्छ । सडकमा आउनुको प्रमुख कारण मनोरोग हो । सुमित्रा भन्छिन्, ‘मनोरोगीलाई सडकमा आउन नदिने अभियान सुरु गरेका हौँ ।’

यसरी हुन्छ उद्धार

मानव कल्याण समाजको समूह साताको दुई रात भक्तपुरको सडकमा हुन्छ । त्यो समूहले नौ बजेदेखि १२ बजे मध्यरातसम्म सडकमा भेटिने बेबारिसेलाई उठाएर संस्थामा पु¥याउँछन् । त्यसपछि उसको संरक्षणसहित परिवारजनको खोजी हुन्छ । परिवारमा पुनस्र्थापना गर्न सकिने भए पुनस्र्थापन हुन्छ । नकिने भए संस्थाले संरक्षण गर्छ । प्रहरीको गस्तीमा भेटिने बेवारिसेहरू पनि मानव कल्याण समाजमा आइपुग्छन् । समाजका बारेमा थाहा पाउनले फोन गरेरै पनि उद्धार गर्न आग्रह गर्छन् । व्यक्तिको अवस्थाबारे स्थानीयले नै पनि जानकारी दिन्छन् । 

हालसम्म समाजले दुई सय जनालाई सेवा दिएको छ । तीमध्ये ७५ जनाको परिवारमा पुनस्र्थापना भयो । अन्य १५ जनाको समाजको संरक्षणमा रहँदै मृत्यु भयो । प्रहरीको सहयोगमा समाजले तिनको अन्त्येष्टि गरिदियो । संस्था सुरु गरेको लामो समय नभए पनि सुमित्रासँग अनौठा अनुभव छन् । ती अनुभवले कहिलेकाहीँ उनलाई डाँको छोडेर रुनुजस्तो बनाउँछ । झण्डै एक वर्ष अघिको एक हृदयविदारक कुरा सुनाइन् उनले । कुरा हो कुपण्डोलकी एक महिलाको जो पढाइले विद्यावारिधि हुन् । वडा कार्यालयको अनुरोधमा त्यहाँ पुग्दा उनको मन क्षतविक्षत भयो । भाँचिएको हृवीलचियर, पुरानो र मैलो लुगा र एउटा लठ्ठी ।

यस्तो अवस्थामा थिइन् ती महिला । सँगै थियो उनको घर तर घरमा आफन्त कोही थिएनन् । गोडा सुन्निएर ‘हात्तीपाइले’ भएका थिए । ठण्डी याममा पनि तरतर पसिना काँडिरहेकी थिइन् । पक्षघातले उनको अवस्था नाजुक बनाएको थियो । उद्धार गरेर समाजमा ल्याएपछि केही सुधार भएको छ । केही दिनअघि उनले आफ्नो घर हेर्ने इच्छा गरिन् । सुमित्राले घर पु¥याएन र फेरि ल्याइन् । उनी घरमै बस्न चाहन्छिन् तर स्याहार सुसार गर्ने कोही छैन । सुमित्राका अनुसान ती महिलालाई तीनजना सहयोगी चाहिन्छन् । 

केही दिनअघि दुई महिनाकी शिशु लिएर मनरोगी आमा समाजमा आइपुगिन् । अवस्था कस्तो थियो भने ती महिला शिशुमाथि रिस पोख्तिन् । कहिले आँखा घोचिदिन्थिन त कहिले कान र नाकको छेस्को घुसारिदिन्थिन् । ती महिलाको झोलामा थापाथलीस्थित प्रसुति गृहमा सन्तान जन्माएको कागजपत्र भेट्नि सुमित्राले । 

अर्की मनोरोगी महिला छिन् तीनजना सन्तानसहित भक्तपुरबाट उद्धार गरिएकी । उनको घर रोल्पा हो भन्ने छोराछोरीबाट थाहा भयो । उनी केही पनि बोल्दिनन् । उनलाई राम्रो उपचार र परामर्श चाहिएको छ । 

सहयोगी हातहरू

सुरुवाती दिनहरूमा संस्थाका लागि घरभाडा तिर्न नसक्ने अवस्था थियो । घरघरबाट पुराना लुगा जम्मा गर्नु पथ्र्यो । पन्ध्र जनालाई खाना पकाउने एउटै भाँडो नहुँदा पकाउँदै खन्याउँदै गर्नु परेको थियो । चामलका लागि मन्दिरका पुजारीसम्म गुहारिन् । यस्तो परिस्थिति मुकाविला गर्दै अघि बढ्दा सहयोगी मन र सहयोगी हातहरू भेला भएका छन् र थपिँदैछन् । संस्थाप्रति विश्वास बढ्दै गयो । 

चाँगुनारायण नगरपालिकाले निरन्तर सहयोग गरेको छ । भक्तपुरका अन्य नगरपालिकासँग पनि हातेमालो गर्ने तयारी छिन् सुमित्रा । चाँगुनारायण नगरपालिकासँग समाजले केही समय अघि आमाबाबुको सम्मान नगर्ने परिवारलाई सरकारी सेवा रोक्ने प्रस्ताव राख्यो । नगरपालिकाले यो प्रस्ताव स्वीकार ग¥यो । स्थानीय सरकारको यस्ता निर्णयले ऊर्जा मिल्छ सुमित्रा र उनको समूहलाई । 

८० जनाको परिवार

मानव कल्याण समाजमा अहिले विभिन्न उमेर समूहका गरी ८० जना छन् । ती मध्ये १३ जनाको त दिसा पिसाब स्याहार गरिदिनुपर्छ । सबै काम संस्थाका सदस्यहरूले नै गर्छन् । पाँच जना संस्थापक छन् । कामको पालो मिलाएका छन् । 

बिहान ४ बजे उनीहरूको दिन सुरु हुन्छ । केही सहयोग समाजबाट सेवा लिइरहेकाहरूबाट लिन्छन् । चिकित्सकले मनोरोगका बिरामीलाई खाली हात नराख्नु भनेका छन् तर काम दिन सकेका छैनन् । बगैैंचा र तरकारी बारी भए उनीहरूलाई काम लगाउन सहज हुने थियो भन्ने सुमित्रालाई लागेको छ । 

हाल भक्तपुरमा रहेको यो समाजको मुख्य उद्देश्य निःशर्त र निःस्वार्थ सेवा दिनु हो । सहयोगी इच्छुकहरूले दिएको केही रुपैयाँ र माना मुठ्ठी चलेको छ । मासिक आर्थिक सहयोग गर्नेहरू ४० जना जति छन् । जति सक्छन् त्यत्ति सहयोग गर्छन् । पाँच सयदेखि पाँच हजार रुपैयाँ दिनेसम्म छन् । जन्म दिन, विवाह, वार्षिकी इत्यादिका नाममा खाना खुवाउन आउने अचेल धेरै छन् । ती दयालु र मनकारीहरूको सहयोगले ठूलो काम गरेको छ । 

सबैभन्दा अप्ठ्यारो त औषधिमूलोको छ । धेरै जसो बिरामी मनोरोगका भएकाले चिकित्सकको ‘प्रेस्क्रिपसन’ विना औषधि खरिद गर्न मिल्दैन । औषधि महँगो पनि छ । जसोतसो संस्थाले जोहो गर्न सकेको छ । विद्यालय जाने उमेरका आश्रित बालबालिकालाई विद्यालय पनि पठाएको छ । 

सडकमा आएका मान्छेको व्यवस्थापन मात्रै हो भन्न चाहन्छिन् आफूले गरेको यो कामलाई सुमित्रा । मानवता हराउँदै गएका बेला मान्छेको मनस्थिति र सोचमा परिवर्तन गरेर मानवताले भरिएको मान्छेको बनाउने अभियान अबको लक्ष्य हो । उमेरले भरखर २८ वर्षीकी यी सुमित्रा चौलागाईको मानवसेवा सुकर्म फैलिँदै जाओस् । 



Views: 166

सम्बन्धित सामग्री: