10th April | 2020 | Friday | 3:30:07 PM

डाक्टर जसले सरुवारोग रोजे

रमा लुइँटेल   POSTED ON : माघ ४, २०७६ (१०:२९ AM)

डाक्टर जसले सरुवारोग रोजे

राजधानी काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा डा. शेरबहादुर पुन बिरामीसँग रोगका बारेमा छलफल गर्दै थिए । रोगको अवस्था बुझाउँदै थिए । बिरामीसँग जति कुरा ग-यो, त्यति धेरै विषय भेट्छन् उनी । बिरामीको रोग अनुसन्धानको विषय हुन्छ । उनी बिरामीलाई रोगको कारण, अवस्था, रोग लाग्न नदिने सावधानीबारे मात्रै बताउँदैनन्, उनका लागि बिरामी ज्ञानका स्रोतसमेत बन्छन् कहिले त । 

कहिलेकाहीँ बिरामीले डाक्टरप्रति व्यक्त गर्ने भाव र व्यवहार उनका लागि प्रेरणा बनिदिन्छन् । उपचारपछि सद्दे भएका एक बिरामीले एक दिन उनलाई भने, ‘डाक्टर बिरामीका भगवान हुन् ।’ अरू केही बिरामीले उनलाई यस्तो भनेको उनी सम्झन्छन्, ‘डाक्टरको बोलीवचन र व्यवहार औषधिभन्दा पनि शक्तिशाली हुन्छ ।’ 

बिरामीको यो वाक्यले उनी केही घोत्लिए । उनलाई लाग्यो–हो त बिरामीले डाक्टर भेट्ने बित्तिकै सबै कुरा बिर्सन्छ । आफ्ना सबै दुःख, पीडा बिसाउँछ र हलुङ्गोे महसुस गर्छ । त्यसैले उनी भन्छन्, ‘बिरामीले यस्तो महसुस गर्दा उनीमा ऊर्जा मिल्छ, ससिमित खुशी हुन्छन् ।’

अनुसन्धानमा रमाउने डा. पुन लेखपढमा बसेपछि सबै थोक बिर्सिन्छन् । सानोतिनो प्रयासले उनलाई बिथोल्दै सकिँदैन । चिया त पटक पटक तताउनुपर्छ । खाना पनि धेरैपटक तताउनु परेको छ । बिहान ६ बजेदेखि रातको एक दुई बजेसम्म लगातार घोत्लिँदा नयाँ उपलब्धि हासिल भएका छन् । हिँड्दै गर्दा कुनै विषयले उनलाई छोयो वा त्यो विषयमा थप अध्ययन गर्नुपर्ने लागे उनी त्यही टिपोट गर्न थाल्छन् । नमुना संकलन गर्छन् । डेंगीको भाइरस ल्याउने लामखुट्टेले ल्याउने चिकेन गुनिया भाइरस भारतमा फैलिएको थियो, उनले त्यसको बारेमा अध्ययन गरेका थिए । डा. पुनले नै पत्ता लगाएका थिए चिकेन गुनिया भाइरसको बारेमा । 

अमेरिकामा फैलिएको कीटजन्य रोग जसलाई लाइम डिजिज भनिन्छ । यो रोगका बारेमा पनि उनले पत्ता लगाएका थिए । यो रोग लागेपछि बिरामीलाई अत्यन्तै पीडा हुन्छ । हात गोडा झम्झमाउने र मुटुमा समस्या देखिने हुन्छ । नसासम्बन्धी समस्या देखिन्छ । यस्तो लक्षण देखिएपछि बिरामी नसारोग विशेषज्ञ कहाँ पुग्छन्, कोही मुटु विशेषज्ञ कहाँ । त्यहाँ लक्षणको आधारमा उपचार हुन्छ । कारण पत्ता लगाइँदैन । डा. पुन भन्छन्, ‘कारण पत्ता लगाउन पनि सजिलो छैन ।’ यस्ता रोगका बारेमा उनले अनुसन्धान गरेका छन् । यो रोग लागेका बिरामीको न मृत्यु हुन्छ, न त उनीहरू सजिलो गरी बाँच्न पाउँछन् । 

नेपालमा डेंगी फैलनु अघि उनले यसबारेमा सचेत गएका थिए । धरानबाट उपचारका लागि अस्पतालमा आएकी एक संक्रमितलाई उपचार गरेपछि उनले त्यसबारेमा अस्पतालमा छलफल चलाए । बाटोमा लार्भा देख्न थाले । सावधानीका उपाय बताएका थिए । 

अनुसन्धान नयाँ तथ्य पत्ता लगाउनमात्रै होइन, पत्ता लागेका रोगको प्रवृत्ति थाहा पाउन पनि अत्यावश्यक छ । नेपालमा भने अनुसन्धान प्राथमिकतामा पर्दैन । मेडिकल कलेजहरूले पनि अनुसन्धानलाई प्राथमिकतामा राखेका छैनन् । 

अनुुसन्धान नहुँदा विशेषगरी सरुवा रोगका बिरामी मर्कामा पर्ने गरेको डा. पुन बताउँछन् । अन्य रोगमा विशेषज्ञता हासिल गरेका चिकित्सक उत्पादन भइहेका छन्, मुटुरोग विशेषज्ञ, मिर्गौलारोग विशेषज्ञ, नसारोग विशेषज्ञ इत्यादि । सरुवा रोगलाई सामान्य चिकित्साका डाक्टरले नै हेर्ने गरेका छन् नेपालमा । सरुवा रोगको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान नभएका कारण एउटै रोगका लागि धेरैवटा एन्टिवायोटिक प्रयोग भइरहेको छ । जसले बिरामीको शारीरिक र आर्थिक अवस्थामा नकारात्मक प्रभाव पारेको छ । अनुुसन्धान यति आवश्यक छ कि टाइफाइड हुँदा दिइने एन्टिवायोटिकलाई प्रतिरोध गर्न क्षमता विकास भए वा नभएको थाहा पाउनु पर्छ । 

झण्डै दुई दशकअघि जतिबेला डा. पुन युवा मेडिकल अफिसर थिए त्यतिबेला अस्पतालमा इन्सेफलाइटिसले एक दिनमा तीन–चारजनाको मृत्यु हुन्थ्यो । रेबिज लागेका बिरामी पनि त्यत्तिकै आउँथे । । हैजा र झाडापखालाका बिरामीलाई पन्छाउँदै हिँड्नु पथ्र्यो । अहिले अवस्था केही बदलिएको छ तर बुझ्न र बुझाउन धेरै बाँकी भएको उनको अनुभव छ । 

हेलचक्र्याइँ नगर्नुस् : 

एक दिन कुकुर टोकेका बिरामी ‘टिटनसको सुई लगाए डाक्टर साब’ भन्दै आइपुगे । डा. पुनले ती बिरामीलाई टिटनस सुईमात्रै पर्याप्त नहुने बुझाए । टेकू अस्पतालमा ज्वरो र झाडा पखालापछि आउनेमा कुकुरले टेकेका बिरामी हुन् । कुकुरले टोकेका जति बिरामी उनले अस्पतालमा भेट्छन्, उनीहरूसँग कुरा गर्दा उनले पाएका छन्, ‘रेबिजका बारेमा धेरैलाई थाहा छ, जति थाहा छ, त्यति नै हेलचक्र्याइँ पनि पाएका छन् उनले । काठमाडौं उपत्यकाभित्र हेलचेक्र्याइँ गर्नेको संस्था कम छ । काँठ क्षेत्र र उपत्यकाबाहिर हेलचक्र्याइँको मात्रा बढी छ । ‘ए कुकुरले टोक्यो’, ‘घरमै पालेको छ हो नि’, ‘दुई–चार दिन हेरौं न, कुकुरको छाउराले टोकेको त हो नि, सुई लगाउनु नपर्ला’ इत्यादि । 

हचुवामा गरिने यस्तै व्यवहारले कुकुरले टोकेका बिरामीमा रेबिज देखिए मृत्युको मुखसम्म पुगेको उनले पाएका छन् । यस्ता हचुवाका टिप्पणी गाउँ वा टोलका नाइके, स्थानीय मेडिकल पसल गर्ने डा. पुन बताउँछन् । रेबिजविरुद्ध सरकारले निःशुल्क सुई उपलब्ध गराउँदा रेबिजले आक्कल झुक्कल मृत्यु हुनुलाई पनि चुनौतीको रूपमा लिएका छन् उनले । भन्छन्, ‘अब गाउँका नाइके, धाँमी झाँक्रीलाई बुझाउनु प-यो ।’ रेबिजविरुद्धको सुई लिन स्थानीयस्तरमा खोलिएका मेडिकलको भूमिका महवपूर्ण हुने देखेका छन् । 

जथाभावी टोक्दै हिँड्ने, टोक्दा पनि ठूलो घाउ बनाएर टोक्ने -याल निकाल्ने, पुच्छर लुकाउने कुकुरले टोक्दामात्रै खोप लगाउनुपर्छ भन्ने मान्यता गलत हो । भन्छन्, ‘कुकुर सानो होस् वा ठूलो, रेबिज लागेको छ भने खोप लगाउनुपर्छ । कुकुर सानो ठूलोले रेबिज लागेको छ छैन निक्र्यौल हुँदैन । 

गाली नगर्नुस

आमाबाबुले गाली गर्ने डरमा बालबालिका कुकुरले टोके पनि अभिभावकलाई भन्दैनन् । ‘किन कुकुरलाई जिस्क्याउन गएको, जिस्क्यापछि टोकिहाल्छ नि भनेर गाली गर्ने स्वभाव हुन्छ । अभिभावकबाट पाउने यस्तो प्रतिक्रियासहितको गालीका कारण बालबालिका र वृद्धवृद्धाले प्रायः भन्दैनन् । ‘किन कुकुरलाई चलाइस्, छोइस्’ भन्दै आमाबाबुले गाली गर्छन् भनेर भन्दैनन् । वृद्धवृद्धा पुराना उदाहरण देखाउँदै खोप लगाउन इन्कार गर्छन्, बेवास्ता गर्छन् । प्रौढ उमेरकाहरू कामको व्यस्तता देखाउँदै खोप लगाउन आटटाल गर्छन् । ‘घाउ निको भइहाल्यो किन सुई लगाउनु प-यो भन्छन्’ यो हेलचक्र्याइँको अन्तिम बिन्दु भएको बताउँछन् डा. पुन । 

खतरनाक

तातो रगत भएका स्तनधानी जनावर, जुन रेबिजका भाइरसबाट संक्रमित छन्, तिनले टोक्दा मान्छेको शरीरमा रेबिजको कीटाणु प्रवेश गर्छन् । रेबिज संक्रमितको लक्षण देखिएको बिरामी पानी र हावासँग डराउँछ । एकदमै रिसाउँछ । रेबिजको लक्षण देखिएको कुकुर एकोहोर भुकिरहने, -याल काट्ने, पुच्छर लुकाउने गर्छ । नशाबाट रेबिजको कीटाणुहरू स्नायुप्रणालीसम्म छिटो पुग्ने भएकाले मुखमा र औँला कुकुरले टोक्दा बढी खतरनाक भनिएको हो । यी ठाउँको नसाको सम्बन्ध स्नायुप्रणालीसँग नजिक र छिटो हुन्छ । त्यसैगरी गहिरो र धेरै ठाउँमा चोट लागेका बिरामी पनि जोखिमको नजिक हुन्छन् । आम मानिसमा रेबिज लागेको बिरामी कुकुरजस्तै भुक्छ भन्ने धारणा छ । यो धारणमा गलत भएको बताउँछन् डा. पुन । पछिल्लो १० वर्षमा रेबिजका बिरामी त्यस्तो लक्षण नदेखिएको उनको अध्ययनको निष्कर्ष छ । उनी भन्छन्, ‘शायद भाइरसको प्रजातिमा केही परिवर्तन भएको हुनुपर्छ, त्यसैले लक्षण परिवर्तन भइरहेका छन् ।’ 

अध्ययन अनुसन्धानको प्राथमिकतामा नपरेका धेरै रोगमध्ये एक हो रेबिज । यो गरिब देशको रोग हो । ग्रामीण क्षेत्रमा कुकुरले टोक्ने समस्या धेरै हुन्छ । नेपाल, भारत, बंगलादेशमा कुकुरले टोकेका बिरामी धेरै हुन्छन् । युरोप अमेरिकामा कुकुरले टोक्ने र रेबिजको संक्रमण अत्यन्तै कम छ । त्यसैले ती मुलुक आफ्नोमा नभएको समस्यामा लगानी गर्न चाहँदैनन् । नेपालमा कुनै ‘फ्लू’ देखिए त्यसमा अध्ययन अनुसन्धान गर्न विदेशीले धेरै खर्च गर्छन् । 

बेलायत सरकारको छात्रवृत्तिमा रुसबाट पढेका डा. पुनलाई सबैले चर्चा गर्ने विषयमा रुचि जागेन । कोही सर्जरीको क्षेत्रमा जाने कुरा गर्थे, कसैको कार्डियोलोजीमा ध्यान थियो, कोही बालरोग त कोही महिला तथा प्रजनन् विशेषज्ञताको कुरा गर्थे । उनलाई सबैले धेरै महŒव नदिएको विषयले तान्यो, जहाँ उनले काम गर्नसक्ने अपार सम्भावना देखे । दक्ष व्यक्तिको आवश्यकता महसुस गरे । अस्पतालले उनलाई सरुवा रोगसँग सम्बन्धित अनुसन्धानको संयोजक शाखाका संयोजक तोकेको छ । चिकित्सक र अनुसन्धानकर्ता दुवै हुँदा एकातिर काम गर्न सजिलो हुने अनुभव उनीसँग छन् । 

चिकित्सक सँगसँगै अनुसन्धानकर्ता हुँदा त्यसको प्रभाव छिट्टै पर्ने बताउँछन् । एउटा व्यक्ति चिकित्सक र अनुसन्धानकर्ता हुनु सजिलो छैन । यो नेपालमा मात्रै होइन, विदेशमा समेत त्यति भेटिँदैन, एउटै व्यक्ति डाक्टर र अनुसन्धानकर्ता । दैनिक बिरामी भेट्दा उनले अनुसन्धानका विषय पाउँछन् । अनुसन्धानबाट पत्ता लागेका विषय बिरामीमा प्रयोग गर्छन् । 

पीएचडीका लागि उनी जापान पुगे । छात्रवृत्ति नै पाएका थिए पिएचडीमा पनि । पीएचडी सकेपछि डा. पुनका सामु अर्को प्रस्ताव आयो, त्यो थियो, अर्को कोर्सको । जापानमा त्यो कोर्स (फेलोसिप) पूरा परेको प्रमाणपत्रले उनलाई अन्तर्राष्ट्रिय तहमा कामको प्रस्ताव निश्चित थियो । उनलाई नेपालका समस्यामा भिज्न तिनको समाधान गर्न केही गर्ने निश्चित गरे । उनले त्यो कोर्सको प्रस्ताव स्वीकार गरेनन् र नेपाल फर्किए । अझैं पनि उनका साथीहरू उनलाई भन्छन् ‘तिमीले त्यस्तो राम्रो फेलोसिप छोड्यौं है,’ तर, उनलाई यसमा उनलाई पछुतो छैन । 


Views: 784

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)