29th February | 2020 | Saturday | 5:32:56 AM

अमरको अमर चाहना

विनोद दाहाल   POSTED ON : माघ ११, २०७६ (१०:४३ AM)

अमरको अमर चाहना

उनको उपनाम हो ‘अमर’ अनि वास्तविक नाम सुरेन्द्र महर्जन, काठमाडौंका खाटी नेवार । उनी काठमाडौंको मुटु पुतलीसडकमा २०२९ सालमा जन्मिए । उनका बुबाआमाले आफ्नो थर डंगोल र महर्जन दुवै प्रयोग गरे । अर्थात् जुजुभाइ डंगोल महर्जन र मायादेवी डंगोल महर्जन । सुरेन्द्रले आफूलाई महर्जनले मात्र चिनाए, डंगोल छोडिदिए । 

पुतलीसडकवरपरको खेत र फाँटमा रमाएर उनको बाल्यकाल बित्यो । हेर्दाहेर्दै पुतली सडकवरिपरिको खेत घरैघरले भरियो । उनलाई सपनाजस्तो लाग्छ । 

उनी १७ वर्षका थिए, २०४६ सालमा नयाँ ज्योति साप्ताहिकमा उनको ‘आजै थाहा पाएँ’ शीर्षकको कविता प्रकाशित भयो । यसबाट यति उत्साहित भए कि उनको मन आकाशमा चरो उडेजसरी उड्यो । त्यसपछि अहिलेसम्मको ३० वर्षे लेखन यात्रा अविच्छिन्न छ । 

उनले के लेखे भन्ने होइन के लेखेनन् भनेर प्रश्न गर्नुपर्छ । साहित्यका सबैजसो विधामा उनको कलम चलेको छ । अक्षरको साहित्यभन्दा अलिक पर ललितकलासम्म पनि पुगेका छन् । ललितकलाको एउटा शाखा चित्रकलामा उनी राम्ररी रमाउन पुगे । उनको यही बहुमुखी प्रतिभाको कदरस्वरूप कौशिकी द्वैमासिकले आफ्नो ६३औं अंक ‘सुरेन्द्र महर्जन अमर विशेष’ का रूपमा प्रकाशन गरेको थियो । उक्त विशेषांक पढेपछि यो पंक्तिकारले उनीसँग अन्तरंग गर्न चाहेको हो । निकै प्रयासपछि उनीसँग भेट भयो । 

हो, सुरेन्द्र अद्भूत प्रतिभा रहेछन् । उनको प्रतिभा पर्गेल्नमात्र पनि त्यति सहज भएन । मैले पहिले उनको कुन विधामा पस्ने भनेर निकैबेर सोच्नुप¥यो । अन्ततः साहित्यिक व्यक्तित्वको पत्र पल्टाउन थालेँ । २०४६ सालमा कवितामा चोपेको उनको कलम तिखारिँदै जाँदा हालसम्म चौबीसवटा सग्ला पुस्तकहरू प्रकाशित भइसकेका रहेछन् । अरू फुटकरको कुरा त परैको ¤ उनको लेखनले प्रायः सबैजसो विधालाई सँगै हिँडाइरहेको छ । पछाडि छोडिएकाहरू पनि धेरै पछाडि छैनन् । अनि, यसैगरी लघु र दीर्घ सबै विधा उनको प्राथमिकतामा छन् । 

सुरेन्द्र सम्पन्न परिवारका छोरा हुन् । सगोलमै सही, काठमाडौंको छाती पुतलीसडकमा कहलिएको व्यापारिक महल न्यू प्लाजाको स्वामित्व उनमा पनि छ । सरदर नेपालीभन्दा माथिको हैसियत हो यो । सुरेन्द्रमा यो सम्पन्नताको अलिकति पनि अहम् छैन । उनको समर्पण साहित्य र कलामै हो । गायन र अभिनयसम्म पनि पुगेका छन्, उनी । साहित्यमा कविता, गीत, गजल, मुक्तक, हाइकु, तान्का, लघुकथा, कथा, र उपन्यासका सर्जक हुन् सुरेन्द्र । 

यी सबै विधाको विधान उनलाई थाहा छ । राम्ररी बुझेर लेखेका छन् उनले । साहित्यका अरू विधाका तुलनामा उपन्यास स्थूल विधा हो । उपन्यास कथाको बृहत्तम रूप हो । यसमा एउटा मूल कथाबाट अनेकौं शाखा कथा सिर्जना हुन्छन् । थोरै पात्रको थोरै पक्ष चित्रण कथा हो भने धेरै पात्रको धेरै पक्ष चित्रण उपन्यास हो । यो घटनामूलक विधा हो । यसको लेखन निकै सुझबुझपूर्ण हुन्छ । यसको सिर्जनाबाट पनि दच्किएनन्, सुरेन्द्र । उनले अनुष्का, मिष्डकल, अद्भूत र स्माइल ड्रीम गरी चारवटा उपन्यास लेखे । 

उनको एउटा कविता संग्रह, चारवटा गीत संग्रह, गीति एल्बम् सातवटा, हाइकु संग्रह र संयुक्त लेखनसमेत सार्वजनिक भइसकेका छन् । उनले गीति नाटक र चलचित्रका कथा पनि लेखेका छन् । कविता भावमूलक विधा हो । यसमा पात्र र कथानकको विधान अनिवार्य हुँदैन । कथा घटनामूलक विधा हो यसमा पात्र र कथानक अनिवार्य हुन्छ । 

यस अर्थमा मानिस कि कवि हुन्छ कि कथाकार, अर्थात् कि आख्यानकार वा गैरआख्यानकार । एक विधाको सिद्धहस्त साहित्यकार अर्को विधामा असफल भएको पनि देखिएको छ । सुरेन्द्रले धैर्य गरेर यो दुस्साहस गरेका छन् । अहिलेसम्मको यात्रामा उनी सफल दखिन्छन् । 

उनको चित्रकला पनि कोठामा थन्क्याउनुपरेको छैन । जुनबेला, उनी २३ वर्षका थिए, यो उमेरमा धेरैजसो केटाहरू बरालिएर हिँडिरहेका हुन्छन् । सुरेन्द्रले भने क्यान्भासमा कुची चलाउन थालेका थिए । २०५२ सालमा उनले आफ्ना चित्रकलाको प्रदर्शनी गराए, नेपाल नाफा हल नक्सालमा । उनका मूर्त र अमूर्त सुन्दर कलाको सिर्जना लगातार छ । उनले आइएसम्म मात्रै पढे । उनको स्वाध्ययन भने औपाचारिक पढाइको क्षितिज पार गरेर फैलियो । 

सुरेन्द्रले आफ्नो मातृभाषा नेपालभाषामा गीत र कविताहरू लेखेका छन् । नेपालीमा त उनको कलम दौडिरहेकै छ । यसका साथै अंग्रजी भाषामा पनि उनले गीत लेखेका छन् । गीत वा कवितामा भावको सघनता हुनुपर्छ, भाषा त त्यसको सम्प्रेषणको माध्यममात्रै हो भन्छन्, सुरेन्द्र । 

उनका गीतमा कतै प्रेम छ त कतै संयोग र कतै वियोग । उनी आफ्नो मनस्थितिका आधारमा गीत लेख्दा रहेछन् । आफू कुनै कारणले दुःखी भएका बेला दुःखान्त र खुसी भएका बेला सुखान्त । आखिर मानिसलाई संवेगले प्रभावित गरेकै त हुन्छ । उनी लेखनमा विधान्तरण गरिरहन्छन् । उनले एउटा गीति नाटक पनि सिर्जना गरेका छन्, ‘भाग्य’ । उनी पुस्तकहरूको समीक्षा र समालोचना पनि गर्छन् । यस्ता रचनामात्र पनि उनका डेढ दर्जन जति प्रकाशित छन् । 

यस्ता अनेकौं सिर्जनाका कारण सुरेन्द्र राष्ट्रियस्तरका पत्रपत्रिकामा पनि छाउने गरेका छन् । उनका अन्तर्वार्ता पनि छापिएका छन् । उनी प्रकाशकहरूबाट रुचाइएका लेखकमा पर्छन् र समय–समयमा उनीहरूको प्रशंसा पाइरहेका हुन्छन् । आफ्ना यस्तै कमको परिणाम उनले अनगिन्ती मानसम्मान, पुरस्कार र प्रशंसापत्रहरू पनि पाएका छन् । अहिलेसम्म डेढ दर्जन जति मानसम्मान र पुरस्कारबाट उनी सम्मानित भइसकेका छन् । 

सुरेन्द्रले पहिलोपटक २०५५ सालमा ‘भविष्यको सपना’ शीर्षकको कविता संग्रह प्रकाशित गरे । त्यसको पाठक प्रतिक्रिया राम्रो पाए तर शब्द शुद्धिमा ध्यान दिनुपर्ने सुझाव केही पाठकबाट पाए । उनी यसतर्फ अहिलेसम्म पनि सचेत छन् । उनी गीतसंगीतमा लगानीको चुनौती देख्छन् । लगानीले प्रतिफल नदिने उनले बुझेका छन् तर यतातिरको चाहनाले नै धेरैलाई आकर्षित गरेको छ । 

सुरेन्द्र बाल्यकाल सम्झन्छन् । आमाले हात समातेर स्कुल पु¥याएर छोडेर आउनासाथ उनी पनि भागेर घर आइपुग्थे । आमाको कुटाइ पनि खान्थे । सायद यो धेरै बालबालिकाको नियति हो । शहीद शुक्र मावि, पद्मोदय मावि र सरस्वती निकेतन चहारेर उनले एसएलसी पूरा गरे । रत्नराज्यलक्ष्मी कलेजबाट आइए पढे । त्यसपछि उनी औपचारिक शिक्षाको बन्धनमा बाँधिन चाहेनन् । फुक्काफाल भएर गीतसंगीत, साहित्य र चित्रकलामै गहिरिन थाले । उनी सफल पनि बन्दै गए । 

त्यसपछि, त उनी यतै रमाए र डुबुल्की मार्दै गए । एक प्रकारले उनी अहिले मैले ठीकै गरेँछु जस्तो ठान्छन् तर उनी अर्कोतिर मन अमिलो बनाएर सम्झने पनि गर्छन् । मैले किन कलेजको औपचारिक पढाइ त्यागेँ । डाक्टर, इञ्जिनियर र पाइलट किन बनिनँ । आर्थिक क्षमता थियो, बाबुआमाको चाहना पनि त्यही थियो । तर, आखिर जे हुनुथियो भयो । यही त हो नियतिले मानिसलाई जता डोहो¥याउँछ मानिस त्यतै हिँड्नुपर्छ भनेको । सुरेन्द्र मन बुझाउँछन् । 

‘सुरेन्द्र साहित्यलाई मानवमनको भाव र अभिव्यक्तिको माध्यम मान्छन् । दुःख, हर्ष, पीडा, चाहना आदि यसैका माध्यमबाट अभिव्यक्त हुन्छन्,’ सुरेन्द्र भन्छन् । लेखनमा उनी प्रगतिशीलता, शृंगारिकता, प्रकृति चित्रण हुँदै पुनः प्रगतिशीलतातिरै फर्किएका हुन् कि जस्तो देखिन्छ । उनी यसलाई स्वीकार गर्छन् । सामाजिक विभेद अन्त्यको चाहनाले आफूलाई यसतर्फ आकर्षित गरेको उनी ठान्छन् । उनी आफ्ना सिर्जनाबाट सन्तुष्ट छन् । सबै विधा र सिर्जनालाई बराबरी माया गर्छु भन्छन् । त्यसैले उनको कलम सबै विधामा उत्तिकै सबल, सफल र सक्रिय छ । 

साहित्य भनेको भावना हो, भाषा त त्यसको माध्यममात्र हो । उनले नेपाली र नेपालभाषा दुवैमा सिर्जना गर्ने गरेका छन् । उनी आफ्नो मातृभाषा नेपालभाषा (नेवारी) लाई औधी माया गर्छन् । नेपालीमा अझै बढी कलम दौडाउँछन् । उनी अंग्रेजीमा पनि पोखिन चाहन्छन् । उनी कुनै एउटै भाषाको उत्थानका लागि रडाको मच्चाउनुको औचित्य देख्दैनन् । भन्छन्, ‘सबै भाषाको समग्र उत्थान आवश्यक छ ।’ 

साहित्य स्वतन्त्र हुनुपर्छ भन्ने तर्क छ, सुरेन्द्रको । साहित्यमा अनेक बन्देजले भावको सम्प्रेषण राम्ररी हुन नसक्ने उनको निष्कर्ष छ । लेखेन भने साहित्यको मृत्यु मान्छेको मनभित्रै हुन्छ भन्छन् । प्रतिलिपि अधिकार साहित्यिक चोरी भएरै आएको हो । ‘लेख्नु आफ्नो मनको भावना पोख्नु हो तर चोरी गर्दा कसरी आफू पोखिन सकिन्छ र ?’ सुरेन्द्रको प्रश्न छ । 

पुरस्कार स्थापनाले साहित्यकारमा प्रेरणा जागृत हुन्छ तर यी निष्पक्ष र निःस्वार्थ हुनुपर्ने सुझाव छ, सुरेन्द्रको । उनी पुरस्कारका लागि लेख्दैनन् तैपनि उनले पाएका पुरस्कार र मानसम्मान डेढ दर्जनभन्दा धेरै छन् । उनले एउटा साहित्यिक संस्था पनि स्थापना गरेका थिए तर केही समय निष्क्रिय बन्न पुग्यो । यस्ता काममा चुनौती रहेको ठानेका छन्, उनले ।

एकपटक उनी गम्भीर बिरामी भए । सरकार र प्रज्ञाप्रतिष्ठानले थाहा नपाएजस्तो ग¥यो । उनले आफूलाई दृश्यमा राखेर सबै साहित्यकारको आवाज बोलेका हुन्, यो । स्रष्टाहरूको सुरक्षामा सरकारले बजेट छुट्याउनुपर्ने तर्क छ । उनको जुन कुरा अहिलेसम्म हुन सकिरहेको छैन । 

गीतसंगीत र साहित्यलाई जीवन जिउने कला हुन् भन्छन्, सुरेन्द्र । परिवारमा भने अग्रज र उनका दावलका कोही पनि साहित्य र संगीत क्षेत्रमा छैनन् । नेपालमा साहित्य सिर्जनाबाट बाँच्न सकिने अवस्था उनले देखेका छैनन्, आपूmलाई एउटा सचेत लेखक साहित्यकारका रूपमा हेर्छन् । 

उनले सुरेन्द्र महर्जन नाम छँदाछँदै ‘अमर’ नाम राख्नुको कारण मरेपछि पनि अमर हुने चाहना हो रे । निकै गम्भीर रोगलाई पछारेर बाँचेका अमर शताब्दी बाँचून् र धेरै सिर्जना गरून् । उनले चाहे जसरी नै उनी अमर पनि बनून् ।


Views: 249

सम्बन्धित सामग्री:

सुमनको डाक्टरी मन

रमा लुइँटेल : फाल्गुन १०, २०७६ (११:३२ AM)