29th February | 2020 | Saturday | 6:08:12 AM

अपराको अपार योगदान

रमा लुइँटेल   POSTED ON : माघ १८, २०७६ (१०:०९ AM)

अपराको अपार योगदान

उनी अपरा एकादशीको दिन जन्मिइन् । परिवार धार्मिक थियो, त्यसैले उनको नामै अपरा राखियो । आफ्नो नाम अपरा हुनुको कारण खुलाइन् उनले । उनको परिवारमा प्रायः कुरा हुन्थ्यो, नसक्नेलाई सक्नेले सहयोग गर्नुपर्छ भन्ने । त्यो दानका रूपमा वा अन्य कुनै तरिका हुन सक्थ्यो । परिवारको यो संस्कार अपराको मन र मस्तिष्कमा ढुंगामा कुँदिएको अक्षरजस्तै भएर बस्यो । 

उनको मस्तिष्कले सधँै भन्थ्यो, ‘अभावमा हुर्किएकाका लागि केही मद्दत हुने काम गर्नैपर्छ । मस्तिष्कले अह्राएको यो काम गर्न मन सधैँ आतुर हुन्थ्यो । मस्तिष्कको निर्देशन र आतुर मनले उनलाई बेचैन बनाउँथ्यो । त्यसैले उनले सामुदायिक विद्यालयका विद्यार्थीका लागि खानामार्फत केही मद्दत गर्ने निधो गरिन् । त्यसकै प्रतिफल हो, ‘फुड फर लाइफ’ अर्थात् जीवनका लागि खाना । अपराले बुढानीलकण्ठमा इसिडीदेखि कक्षा ५ सम्मका बालबालिकालाई खाजा उपलब्ध गराउँदै आएकी छन् । अब थपिन लागेकोमा टोखा नगरपालिकाका सामुदायिक विद्यालयलाई भने इसिडीदेखि कक्षा १० सम्मै खाजा उपलब्ध गराउने उनको योजना छ ।

दैनिक १८ सयलाई खाजा

अपरा अहिले बुढानीलकण्ठ क्षेत्रका १३ वटा सामुदायिक विद्यालयमा विद्यार्थीलाई खाजा खुवाउँछिन् । आधारभूत शिक्षा केन्द्रदेखि कक्षा पाँचसम्मका बालबालिकाले अहिले फुड फर लाइफबाट खाजा खान्छन् । त्यो खाना पौष्टिक हुन्छ । स्वस्थकर खाजा खुवाउनु उनको एउटा मुख्य उद्देश्य हो । एउटै भान्छामा पाकेको खाजा खाने विद्यार्थी १८ सय छन् । एक महिनापछि टोखा नगरपालिकाका केही सामुदायिक विद्यालयका बालबालिकाले पनि ‘फुड फर लाइफ’ को स्वस्थकर खाजा पाउनेछन् । त्यसपछि उनले खाजा खुवाउनेको संख्या ६ हजार पुग्नेछ । यो विद्यालयमा भने आधारभूत तहदेखि कक्षा १० सम्मका विद्यार्थीले उक्त संस्थाको भान्छामा पाकेको खाना खान पाउनेछन् । 

कुन दिन के खुवाउने भन्ने मेनु छ । दात, भात तरकारी, खिचडी, जाउलो इत्यादि । भान्छामा पाक्ने खाना शाहाकारी हुन्छ । पोषणविद्को सल्लाहमा पकाइन्छ । जनस्वास्थ्य अभियन्ता डा अरुणा उप्रेतीको सल्लाहअनुसार उम्रिएका चनाको तरकारी र चिउरा पनि भर्खरै मेनुमा राखिएको छ । ‘बाबुनानीले यो खुब मन पराएछन्, यसपटक म आफैँ फिल्ड जान भ्याइनँ,’ साथीहरूले ल्याएको खबर अपराले सुनाइन् । बालबालिकालाई खुवाउन सकिने अर्को खाजा हो, रोटी तरकारी । रोटी पकाउन अपराले एकैपटक धेरै रोटी पाक्ने रोटीमेकर किन्ने तयारी गरेकी छन् । सानो रोटी मेकरमा पाकेको रोटीले सबै बालबालिकालाई पुग्दैन । भन्छिन्, ‘एक घण्टामा दश हजारसम्म पाक्ने हेरिरहेका छौँ ।’ 

‘मेनु’ अनुसार पाकेको खाजा बट्टामा प्याक गरिन्छ । त्यो बट्टा खोल्न नमिल्ने गरी बन्द गरिएको हुन्छ । विद्यालय पुगेपछि बट्टा खोल्ने जिम्मेवारी निश्चित व्यक्तिलाई मात्रै दिइएको हुन्छ । यसो गर्नुको उद्देश्य हो, खानाको सुरक्षा । ठीक एक बजे खाजा विद्यालय पुग्छ । तातो तातो खाजा बालबालिका खुसी हुँदै खान्छन् । त्यो दृश्यले उनलाई अपार आनन्द दिन्छ । 

अपराले केही महिनाअघिको दिन सम्झिन् । एउटा सामुदायिक विद्यालयमा पढ्ने एक बालक कक्षामा निदाइरहेका थिए । ती बालक किन निदाए भनेर उनले सोधखोज गरिन् । बुझ्दै जाँदा, ती बालक घरेलु श्रमिक रहेछन् । राति अबेरसम्म काम गर्दा उनको निद्रा नपुग्ने रहेछ । घरधनीहरू बिहान अबेर उठ्दा खानाको बन्दोबस्तो नहुने ती बालकले प्रधानाध्यापकलाई सुनाएका थिए रे । अनिदो र भोकोे पेट आएका ती बालकले खाजा देखेपछि व्यक्त गरेको खुसी अपरा शब्दमा व्यक्त गर्न सक्दिनन् । 

भन्छिन्, ‘एक मन दुःख लाग्यो, अर्को मन खुसी भयो । दुःख लाग्नुको कारण थियो, बालकको अवस्था । खुसी लाग्नुको कारण थियो खानाले बालकको अनुहारमा छाएको खुसी ।’ यस्ता घटना थुप्रै छन् । यी घटनाले अपरालाई काममा प्रतिबद्ध हुन प्रेरणा दिन्छन् । अझै धेरै गर्न बाँकी भएको अनुभूति गराउँछन् । 

त्रिकोणात्मक सम्बन्ध 

यो कामलाई अपरा अभियान भन्न रुचाउँछिन् । खानाको माध्यमबाट शिक्षा प्रवद्र्धन गर्न खोजेकी हुन् उनले । सामुदायिक विद्यालयमा पढ्ने धेरै विद्यार्थी राम्रो खाना पाउँदैनन् । उनी जुन जुन विद्यालयमा खाजा पु¥याउँछिन्, त्यहाँ पढ्ने अधिकांश बालबालिका अत्यन्तै न्यून आय भएका अभिभावकका सन्तान छन् । बालगृहमा बस्ने बालबालिका पनि त्यहाँ छन् । हुनेखानेको रोजाइमा सामुदायिक विद्यालय पर्दैनन् । हुँदा खानेका छोराछोरी पढ्छन् त्यहाँ । खाजा खानेबेला ती बालबालिका कि भोकै बस्थे, कि त चाउचाउ र बिस्कुट खान्थे । तर, अहिले उनीहरूको खान्की बदलिएको छ । साथसाथै उनीहरू हृष्टपुष्ट देखिन थालेका छन् । 

भोकका कारण बालबालिकाको पढाइमा असर पर्नुहुँदैन । शारीरिकमात्रै होइन, मानसिक विकासका लागिसमेत स्वस्थ र पौष्टिक खानेकुरा आवश्यक छ । त्यसैले उनले फुड फर लाइफ संस्थामार्फत सामुदायिक विद्यालयमा पढ्नेका लागि खाजाको क्षेत्र रोजेर काम गर्न थालेकी हुन् । पढ्ने बेलामा ‘मेरो खाजा छैन, के खाने होला,’ भन्दै बसेका बालबालिकाले के पढ्लान्, कसरी पढ्लान् ? उनको प्रश्न छ । भन्छिन्, ‘त्यसैले यो क्षेत्र छानेकी हुँ ।’ 

अर्को कुरा, बालबालिका परिर्वतनका वाहक हुन् । विद्यालयमा खाएको वा जानेको पौष्टिक र सन्तुलित खानाको महŒवबारे उनीहरूले आफन्त र परिवारलाई बताउँछन् । भन्छिन्, ‘एकजनाले तीनजनालाई बताउँदै गए भने यसको महŒव व्यापक हुन्छ ।’ अर्को पत्रु खाना अर्थात् ‘जंक फुड’ निरुत्साहित गर्नु पनि उनको उद्देश्य हो । स्वादमा मीठो भए पनि यसले स्वास्थ्यमा दीर्घकालीनरूपमा असर पार्छ । त्यसैले उनी यो कामलाई ‘खाना खुवाउने काममात्रै’ भन्न चाहन्नन् । भन्छिन्, ‘स्वस्थ मन र शरीरका लागि सन्तुलित र पौष्टिक खाना ।’

खाना भन्नेबित्तिकै पेट भर्ने कुरामात्रै हो भन्ने बुझाइ छ । अपरा अब यो बुझाइ बदल्न आवश्यक ठान्छिन् । उनले यो बुझाइ परिर्वतन गर्न जनचेतना आवश्यक छ । ‘फुड फर लाइफ’ लाई जनचेतना अभिवृद्धिमा समेत सक्रिय बनाउने उनको योजना छ । पौष्टिक र सन्तुलित खानाप्रति आमधारणा गलत रहेको बुझेकी छन् उनले । घरमै उपलब्ध सामग्रीबाट तयार पारिने खाना नै बढी पौष्टिक र सन्तुलित हुन्छ । उम्रिएको गेडागुडीको तरकारी र चिउरा वा रोटी । यो अत्यन्तै स्वस्थकर खाना हो । यो परिकारलाई खाजाका रूपमा मात्रै होइन, बिहान बेलुका नै खान सकिने उनी बताउँछिन् । 

आमाको गर्भमा रहँदादेखि मृत्युपछि समेत खानेकुरा आवश्यक भएको विश्लेषण उनको छ । गर्भमा रहेको शिशुको वृद्धि र विकास आमाले खाएको खानेकुरामा भर पर्छ । आमाले पौष्टिक र सन्तुलित खानेकुरा खाए स्वस्थ शिशु जन्मन्छ । त्यसैगरी मृत्युपछि पनि मान्छेलाई खाना आवश्यक छ । हिन्दु परम्परामा प्रतीकात्मकरूपमा मृत्युपछि मान्छेलाई दिइने खाना ‘पिण्ड’ हो ।

अपरा भन्छिन्, ‘त्यसैले खानालाई महŒव दिने गरौँ, व्यस्तताको निहुँका पत्रु खानेकुरालाई प्राथमिकतामा नराखौँ । 

कसरी सम्भव छ यो काम ? 

पाँच वर्षअघि खोलिएको ‘फूड फर लाइफ’ लाई सुरुमा निकै असजिलो थियो । विषय बुझाउन निकै गाह्रो थियो । तर, असजिलो भयो भन्दैमा न अपराले हार मानिन् त न उनको समूहले नै । केही वर्षसम्म उनले सहयोगी मनहरूसँग हात फैलाइन् । उनीहरूले नाइँ भनेनन् । बैंकहरूले सहयोग गरे । निजी विद्यालयका विद्यार्थीहरूले पनि खाजाका लागि रुपैयाँ संकलन गरिदिएका थिए । आफन्त साथीभाइले जति सकिन्छ त्यति दिए । त्यो सहयोगले एकजनालाई एक दिनका लागि ३० रुपैयाँमा खाजा खुवाउन सक्ने अवस्था बन्यो । 

अब नेपाल सरकारबाट पनि सहयोग पाउने निश्चित भएको छ । नेपाल सरकारले सामुदायिक विद्यालयहरूमा खाजाका लागि एक विद्यार्थीबापत १५ रुपैयाँ दिन्छ । त्यो पैसा कि आमाले पाउँछन् कि त विद्यालयले लिएर खाजा उपलब्ध गराउँछ । अपराले सम्बन्धित मन्त्रालयसँग प्रस्ताव राखिन्, ‘१५ रुपैयाँ हामीलाई दिनुस्, हामी १५ रुपैयाँ थपेर स्वस्थ र पौष्टिक खाजा खुवाउँछौँ ।’ यो प्रस्तावमा मन्त्रालय सकारात्मक भएपछि अब बाँकी १५ रुपैयाँ जुटाउनमात्रै शक्ति खर्चे पुग्ने भएको छ । बाँकी समय उनले सन्तुलित र पौष्टिक खानाको बारेमा चेतना जगाउन खर्च गर्ने भएकी छन् । 

अपराले नेतृत्व गरेको संस्थाले बालबालिकालाई स्वस्थ र सन्तुलित खाजामात्रै खुवाएको छैन, २९ जनालाई रोजगारी दिएको छ । यसलाई अपरा आफ्नो कामको अर्को सफलता ठान्छिन् । एक कामबाट चौतर्फी प्रभाव पार्न लागिपरेकी यी युवतीलाई सफलताको शुभकामना । 


Views: 155

सम्बन्धित सामग्री:

सुमनको डाक्टरी मन

रमा लुइँटेल : फाल्गुन १०, २०७६ (११:३२ AM)