8th April | 2020 | Wednesday | 10:38:13 AM

सुमनको डाक्टरी मन

रमा लुइँटेल   POSTED ON : फाल्गुन १०, २०७६ (११:३२ AM)

सुमनको डाक्टरी मन

धेरैजसो डाक्टरहरू सुविधासम्पन्न ठाउँमा बसेर काम गर्न चाहन्छन् । नेपाली डाक्टरहरूको पहिलो रोजाइमा पर्ने सहर काठमाडौं हो । त्यसपछि पोखरा, विराटनगरजस्ता सहरमा उनीहरूको रुचि हुन्छ । 

डाक्टर सुमन कर्माचार्य चाहिँ फरक छन् । उनी गाउँमा रमाउन र त्यहाँ बासिन्दामा स्वास्थ्य चेतना फैलाउन चाहन्छन् । डा. सुमन यस्तै काममा व्यस्त छन् । रामेछापको साँगुटारमा जन्मिएका सुमन तामाकोशी अस्पतालका डाक्टर हुन् । उनी अस्पतालमा आएका बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधिमात्रै दिँदैनन्, स्वस्थ जीवन बाँच्न आवश्यक मन्त्रसमेत दिन्छन् । स्वस्थ रहन डा. सुमनले दिएको टिप्स जस्ताको त्यस्तै लागू गरेर सद्दे भएका पुराना बिरामी कहिलेकाहीँ अस्पतालमा टिकट नै काटेर उनलाई धन्यवाद भन्न आइपुग्छन् । झण्डै तीन दशकदेखि गरिब जनताको स्वास्थ्य उपचारका लागि सहर छोडेर गाउँ रोजेका उनलाई आफ्नो जीवन सार्थक भए झैँ लाग्छ । 

एक दिन साहित्यकार तथा लेखक जगदीश घिमिरे असल र जाँगरिलो मान्छे खोज्न रामेछाप पुगे । सोधीखोजी गर्दा गाउँका जान्ने बुझ्नेले सुमनको नाम लिए । घर पनि देखाइदिएछन् । बेला सुमन हेल्थ असिस्सटेन्ट कोर्स पढ्दै थिए । नेपाल विद्यार्थी संघमा आस्थावान थिए । जगदीश सुमनको घरमा पुगेका रहेछन् । त्यतिबेला जगदीशले यस्तो भनेका थिए रे– राजनीति भनेको समाजसेवा हो, मिलेर काम गरौं, समाज परिवर्तनको लागि राजनीतिमार्फत धेरै काम गर्न सकिन्छ । 

आज, भोलि भन्दाभन्दै महिना र वर्ष बित्यो सुमनले हेल्थ असिस्टेन्ट पढाइ सके । जगदीशको त्यो बोली सुमनको मस्तिष्कमा मनमा ढुंगामा खोपिएको अक्षर जस्तै भएर बसेको थियो । हेल्थ असिस्टेन्ट कोर्ष उत्तीर्ण गरेपछि उनी होस्टेलमा बसेर एमबीबीएस बढ्दै थिए । एक दिन जगदीश घिमिरेले होस्टेलमै फोन गरे । उनले टेलिफोनमा भनेछन्, ‘बिदाको बेला रामेछाप गएर काम गर्नू । विद्यार्थी हुँदा पैसाको खाँचो हुन्छ । काम गर्दा आर्थिक रूपमा सहयोग हुन्छ ।’ 

त्यसो त सुमनले हेल्थ असिस्टेन्ट उत्तीर्ण गरेपछि केही समय रामछापमै काम गरेका थिए । त्यस बेलादेखि सुमनको जगदीश घिमिरेसँगको संगत र भेटघाट बाक्लो भएको थियो । बिदाको बेला उनी तामाकोशी स्वास्थ्य चौकीमा काम गर्न पुग्थे । पढेको विषयलाई स्वास्थ्य चौकीमा भेटिने बिरामीमा लागू गर्न पाउँदा उनी पढाइमा अब्बल हुन थाले । 

अस्पतालबाट हेल्थ असिस्टेन्ट 

एसएलसीपछिको पढाइ सबैका लागि जीवनलाई मार्गदर्शक हुन्छ । मिहेनेती स्वभावका सुमन विज्ञान पढ्न काठमाडौं हुइँकिए । उनको गाउँबाट झण्डै चार दिन हिँडेपछि मात्रै काठमाडौं आइपुगिन्थ्यो । उत्साहका साथ काठमाडौं आएका उनी त्रिचन्द्र क्याम्पस भर्ना भए । 

आइएस्सीको आखिर वर्ष थियो, सुमन अस्पताल नै भर्ना हुनुपर्ने गरी बिरामी परे । उपचार गराउँदै गर्दा अस्पतालमै गाउँका एक जना हेल्थ असिस्टेन्टसँग उनको भेट भयो । सुमनकोे बारेमा चासो लिएका ती हेल्थ असिस्टेन्टले भने, ‘तिम्रो कागजपत्र सबै मलाई दिनू, पढ्ने व्यवस्था म मिलाऊँला ।’ उनको यो वचनले सुमनको जीवनलाई निश्चित मार्गमा डो¥यायो । 

यसरी सुमन हेल्थ असिस्टेन्टका विद्यार्थी भए । यो पढाइ पूरा गरेपछि तीन वर्ष रामेछापमा काम गरे । उनी पढ्न काठमाडौं पस्थे, सीप सिक्न सहर पुग्थे तर सेवा गर्न आफ्नै गाउँ पुग्थे । कहिले गरिबका छोराछोरीको शिक्षक बने त कहिले तिनकै डाक्टर । भन्छन्, ‘जहाँ पुग्दा पनि मलाई आफ्नै ठाउँमा पुगेर काम गर्नुपर्छ भन्ने लाग्थ्यो ।’ त्यही भावनाका कारणले सुमन रामेछापवासीको मात्रै होइन, गरीबका डाक्टर भए । 

त्यो रामेछाप, यो रामेछाप 

२०३६ सालतिरको कुरा हो । सुमनको घरबाट काठमाडौं आइपुग्न साढे तीन दिन हिँड्नुपथ्र्यो । जति बेला उनी साइन्स पढ्न काठमाडौं आए, त्यतिबेला त्यो बाटोमा मोटर चल्ला भन्ने रतिभर पनि थिएन । अहिले, त्यो बाटोमा सरसरी मोटर गुडेको देख्दा उनलाई अचम्म लाग्छ । 

अस्पतालमा आउने र शिविरमा आउने बिरामी र स्वास्थ्य क्षेत्रमा पनि धेरै परिर्वतन भएको छ । स्वास्थ्य समस्याको स्वरूप बदलिएको छ । उनले काम सुरु गर्दा महिलाहरू परिवार नियोजनको कुरा गर्न लजाउँथे । पाठेघर खसेका महिला डुङडुङ गनाउँदै आइपुग्थे । 

अहिले अवस्था बदलिएको छ । महिला साक्षरता बढेको छ । परिवार नियोजनका साधन सजिलै प्राप्त हुन्छ । विवाह गर्ने उमेरप्रति युवायुवती र परिवारजन सचेत भएका छन् । मानिसको स्वास्थ्यलाई सामाजिक र आर्थिक परिवेश र परिस्थितिसँग जोडेर हेर्ने यी डा. सुमन समस्याहरू सिफ्ट हुँदै गएको बताउँछन् । उनले उपचार गरेका अधिकांश महिला मनोरोगी फेला पारेका छन् । उपचारका क्रममा कुरा गर्दै गयो, विस्तारै उनीहरू आफ्ना कुरा सुनाउँछन् । कमाउनका लागि पति विदेशिएको बताउँछन् । छोराछोरी र सासु–ससुराको जिम्मेवारी आफूले सम्हालेको सुनाउँछन् । कोही त छोराछोरी पढाउन गाउँ छोडेर सदरमुकाम बसेका हुन्छन् । अरू पुरुषसँग बोल्दा समाजले गर्ने प्रश्न र शंकाले उनीहरू त्रासमा छन् । त्यसैले निम्तिएको छ उनीहरूमा मानसिक रोगको समस्या । 

त्यसरी होइन, यसरी 

डा सुमन भन्छन्, ‘अब बिरामी हिँड्ने होइन, अस्पताल हिँड्नुपर्छ ।’ उनको भनाइको अर्थ अस्पतालको प्रविधि र चिकित्सकहरू टोल टोलमा पुग्नुपर्छ । यस्तो अवस्था ल्याउन भौतिक विकासलाई मात्रै प्राथमिकतामा राख्न नहुने धारणा छ उनको । विकासको बुझाइ गलत भएको उनी बताउँछन् । सडक बन्नु । घर घरमा टेलिभिजन पुग्नु । गाडी चल्नु इत्यादिमात्रै विकासको मापक होइन । जबसम्म हुने र नहुने बीचको खाडल पुरिँदैन तबसम्म विकास भएको मान्दैनन् उनी । स्वस्थ मानिसविनाको भौतिक विकास निरर्थक डा. सुमनको ठहर छ । 

नीति निर्मातालाई उनको एउटा सुझाव छ– अब अस्पताल बनाउने होइन, जनतालाई अस्पताल जानबाट रोक्ने क्षेत्रमा लगानी गर्नुस् । शौचालय बनाउनुस् । स्वस्थ खानेपानीको व्यवस्था गर्नुस् । देशभित्रै रोजगारी सिर्जना गर्नुस्, मान्छेको चेतना विकासको लागि लगानी गर्नुस् । त्यसपछि स्वतः भौतिक विकास हुन्छ । समस्याको जरामै प्रहार गर्ने कार्यक्रम ल्याउन सके धेरै अस्पताल चाहिँदैन भन्ने उनको धारणा छ । 

प्रजनन अंगमा हुने संक्रमणको दिगो समाधानका लागि घरघरमा सफा शौचालय र स्नानघर (बाथरूम) हुनुपर्छ । खानेपानी स्वस्थकर हुनुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । डा. सुमनले यी कुरा मेडिकल साइन्सका मोटा किताब पढेर भनेका होइनन् । दिनदिनै भेटिने बिरामी र उनी पुग्ने ठाउँले उनलाई यी कुरा सिकाए हुन् । 

अनुभवको आधारमा जानेका काम गर्न जिम्मेवारी तोक्नुपर्ने डा. सुमनको तर्क छ । स्थानीय सरकारले के गर्ने, गैरसरकारी संस्थाहरूले के गर्ने, नागरिक समाजले के गर्ने, सबैको भूमिका र जिम्मेवारी कार्यान्वयनको अनुगमन गर्नुपर्ने उनको भनाइ छ । रामेछापमा उनले काम गर्ने अस्पतालले स्थानीय सरकारसँग मिलेर गरेका छन् । 

डा. सुमन रामेछाप नगरपालिका र रामेछापकै खाँडदेवी गाउँपालिकाको प्रत्येक टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्छन् । जनताका स्वास्थ्य समस्या बुझ्छन् । यी स्थानीय तहसँग उनले भनेका छन्, ‘हाम्रो ज्ञान र सीप प्रयोग गर्नुस्, हामी सहयोग गर्छौं ।’ यस्तै सहकार्य उनी अन्य स्थानीय तहसँग पनि गर्न चाहन्छन्, जुन सहकार्यले गरीब जनताका स्वास्थ्य समस्या समाधान गर्न सकियोस् । चेतना जनाउन सकियोस् । शौचालय बनाउने कुरा सानोजस्तो लाग्छ, स्नानघरको पनि के कुरा ग¥या होला भन्ठान्छन् मान्छेहरू । वास्तवमा, धेरै रोगबाट जोगिन यिनै साना सुविधाले ठूलो काम गर्छन् । 

गाउँमै रम्ने मन 

सहरमा जुन सुविधा छ, त्यो गाउँमा छैन । सुविधामा रम्ने मन होइन डा. सुमनको । उनी गाउँमै रमाउँछन् । उनलाई गाउँ नै प्यारो छ । उनलाई आफ्नै ठाउँका लागि काम गर्नुपर्ने दीक्षा घरैबाट प्राप्त भएको हो । शिक्षाको महŒव बुझेका उनका बाबुले छोरीछोरी पढ्ने स्कुल बनाउन आफैँले ढुंगा र इटा बोकेको उनले देखेका थिए । शिक्षाप्रेमीहरूको पौरखले बनेको स्कूल सञ्चालन गर्न थुप्रै रूपैयाँ आवश्यक पथ्र्यो । रूपैयाँ संकलनको लागि कृष्णअष्टमीको १० दिन अघिबाट नाटक प्रदर्शन गरिन्थ्यो । टिकट काटेर देखाइने नाटकबाट उठेको रकम विद्यालय सञ्चालनका लागि खर्च गरिन्थ्यो । डा सुमनले ती नाटकमा पात्रका रूपमा अभिनय गरे । टिकट बेच्न पनि हिँडे । 

विद्यालय सञ्चालनका लागि गरेको अर्को काम सुनाए उनले । तिहारका बेला जुवातास सबैले खेल्थे । उनको गाउँमा विद्यालय सञ्चालनकै लागि जुवा खेलाइन्थ्यो । बीस रूपैयाँ जित्नेले एक रूपैयाँ स्कुलको लागि छुट्उनु पथ्र्यो । त्यसबाट संकलित रूपैयाँले डेक्स बेन्चको जोहो गरिन्थ्यो । विद्यालयको भित्तामा लिउन लगाइन्थ्यो । भौतिक विकासमा उक्त रकम खर्च गरिन्थ्यो । बालमस्तिष्कमा परेको त्यो प्रभाव एक मुख्य कारण हो डा सुमनले गाउँमै श्रम गर्नुको, गाउँकै बिरामीको सेवा गर्नुको ।

अनौठो अनुभव 

ओखलढुंगाको रुम्जाटार नजिकैको त्यो गाउँ । तीनपटक गरेर त्यहाँ पुग्न उनी ३० घण्टा जति हिँडेका थिए । स्वास्थ्य शिविरका बिरामीको परीक्षण गर्नु थियो । एक जना महिला उपचारका लागि कोठाभित्र पसिन् । सहिनसक्नु गन्ध आइरहेको थियो उनको शरीरबाट । उनले आफ्नो समस्या बताइन् । आङ खसेको रहेछ । राखिएको रिङमा मासु जेलिएको थियो । मासुमा संक्रमण भएर पाकेको रहेछ । रिङ छुनेबित्तिकै पिप हृवालहृवाल्ती बाहिर निक्स्यो । 

डा. सुमनसँग एक जना जर्मन डाक्टर पनि थिइन् । त्यो दृश्य देखेपछि उनी एकछिन अवाक भइन् । अनि भनिन्, ‘यो मेरो जीवनको बिर्सन नै नसक्ने क्षण हुनेछ ।’ ती महिलाको अवस्था देखेर उनी बेचैन भएकी थिइन् । डा. सुमनलाई पनि पिप बगेको त्यो दृश्यले धेरै रात निदाउन दिएन । छटपटी भयो । उनी बेचैन भए । 

डा सुमनसँग रमाइला र नरमाइला क्षण र अनुभवको चाङ छ । उनले आङ खस्ने समस्याको उपचार गराएर फर्किएकी एक महिलाको कुरा सुनाए । मन्थलीबाट चार घण्टाको दुरीमा थियो त्यो गाउँ । टिकट काटेर एक महिला भित्र पसिन् र नमस्कार गरिन् । 

डा. सुमनले ती महिलालाई समस्या सोधे । उनले समस्या भनिनन् । डाक्टरको प्रशंसा गर्दै उपचार गरेर गएपछि अर्को जीवन पाएको बताइन् । उनको अनुहारमा खुशी छताछुल्ल पोखिएको थियो । उनले भनिन्, ‘तिमीले गर्दा मैले अर्को जीवन पाएँ, नमस्कार मात्रै गर्न आएकी हुँ ।’ ती महिलाले पहिलेको शिविरमा आङ खस्ने रोगको उपचार गराएकी रहिछन् । 

डा. सुमन सामाजिक र आर्थिक रूपान्तरणका लागि काम गरिरहेको तामाकोशी सेवा समिति बोर्ड सदस्य पनि हुन् । उनी स्वास्थ्य समस्यालाई सामाजिक र आर्थिक अवस्थासँग जोडेर विश्लेषण गर्छन् । आँखा, दाँत, स्तन र पाठेघरको समस्यामा काम गर्ने उनको अबको योजना छ । कुराको बिट मार्दै डा. सुमनले भने, ‘अब घर घरमै पुगेर बिरामी खोज्छौँ र यी रोग हटाउँछौँ ।’ 

डा. सुमनलाई बधाई र थप सफलताका लागि शुभकामना । 


Views: 349