Date:2017/10/17 |Tuesday

कविताको शीर्षक–समय र सङ्घर्ष

Posted on: March 25, 2017 | views: 201 |

जीवनको खण्डहरबाट प्रत्येक निमेशले

एउटा अविराम लय तरङ्गित गर्यो

भोका मान्छेको नयाँ तरङ्ग

अविराम संघर्षको नाँउमा ।।

आइरह्यो मान्छेका भाग्यमा समय,

विभिन्न पथ भएर आयो

विभिन्न पद्चाल लिएर आयो,

अंगालीरहे मान्छेले त्यो भाग्य,

कहिल्यै नभेट्ने सुखको ऐनामा

आफैलाई टाँसीरहे मान्छेले,

भाग्यमा परेका

दुःखहरुलाई फ्याक्न घोप्टिए

समयकै डस्विनमा ।

छि, दुर्गन्ध भयो यो भाग्य,

कालो बादल

तन्किएको तन्किएकै छ भविष्य तिर

जुन छोपीदाँे छ,

घाम छेलिदाँे छ

टाउकै माथीको निधारमा

सपनामा टाँगिएको

नवयूगको शिरबन्दी जस्तो

मान्छेको आँखा हैन

तुवाँलो भएको छ,

पतनको संस्कृति बोकेको,

सहर जस्तै

समय डस्विनमा कोचिएको छ ।

यसबेला,

अमन चयनको गीत बोकेर गाइने

सवृद्धिको जुन बोकेर सारङ्गी

मेरो आँगनमा,

पाइला टेक्न सकेका छैनन्

त्यसैले मलाई मन छैन,

च्यापिएर बस्न यो डस्विनमा

बरु अझ,

असफल समयको निकास खोल्न

भत्काएर समाह एकपटक फेरि 

जीवन जस्तै

संघर्षको आली भएर बस्न मन छ,

परिवर्तनको गलामा

माला लगाओस् बरु, समयले मलाई

तर 

असफल संस्कारका लट्टामा

लर्को नलाग्ने संकल्प संग

सीमाहिन प्रेमको अञ्जुली भएर

दुबो उम्रन मन छ ।।।


–ज्योति किरण, चारआली, झापा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं